राष्ट्रपतिको सचिवालय
azadi ka amrit mahotsav

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको गणतन्त्र दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाममा सम्बोधन


प्रविष्टि तिथि: 25 JAN 2026 7:50PM by PIB Gangtok

नयाँ दिल्ली, 25 जनवरी 2026।

मेरा प्यारा देशवासीहरू,

नमस्कार!

देश अनि विदेशमा बसोबासो गर्ने, हामी भारतका नागरिकहरू, उत्साहका साथ, गणतन्त्र दिवसको उत्सव मनाउन गइरहेका छौं। म तपाईंहरू सबैलाई गणतन्त्र दिवसको राष्ट्रिय पर्वको हार्दिक बधाई दिन चाहन्छु।

गणतन्त्र दिवसको पावन पर्व हाम्रो अतीत, वर्तमान अनि भविष्यमा देशको दशा अनि दिशाको अवलोकन गर्ने अवसर हुने गर्दछ। स्वाधीनता सङ्ग्रामको बलमा, 15 अगस्त 1947 को दिनदेखि, हाम्रो देशको दशा बद्लियो। भारत स्वाधीन भयो। हामी आफ्नो राष्ट्रिय नियतिको निर्माता बन्यौं।

26 जनवरी, 1950 को दिनदेखि, हामीले आफ्नो गणतन्त्रलाई, संवैधैनिक आदर्शकको दिशामा अघि बढाइरहेका छौं। त्यसै दिन, हामीले आफ्नो संविधानलाई पूर्णरूपले लागू गऱ्यौं। लोकतन्त्रकी जननी, भारतभूमि, उपनिवेशको विधि-विधानबाट मुक्त भयो र हाम्रो लोकतन्त्रात्मक गणराज्य अस्तित्त्वमा आयो।

हाम्रो संविधान, विश्व इतिहासमा आजसम्मको सबैभन्दा बृहत् गणराज्यको आधार ग्रन्थ हो। हाम्रो संविधानमा निहित न्याय, स्वतन्त्रता, समता अनि बन्धुताको आदर्शले हाम्रो गणतन्त्रलाई परिभाषित गर्दछ। संविधान निर्माताहरूले राष्ट्रियताको भावना तथा देशको एकतालाई संवैधानिक प्रावधानको सुदृढ आधार प्रदान गरेक छन्।

लौहपुरुष सरदार वल्लभभाई पटेलले हाम्रो राष्ट्रको एकिकरण गरे। गत वर्ष 31 अक्टोबरलाई, कृतज्ञ देशवासीहरूले उत्साहपूर्वक उनको 150 औं जयन्ती मनायो। उनको 150 औं जयन्तीको पावन अवसरसँग जोडिएको स्मरण उत्सव मनाइँदैछ। यस उत्सव देशवासीहरूमा राष्ट्रिय एकता तथा गौरवको भावनालाई सुदृढ बनाउँदछ। उत्तरदेखि लिएर दक्षिणसम्म तथा पूर्वदेखि लिएर पश्चिमसम्म, हाम्रो प्राचीन सांस्कृतिक एकताको तानाबाना हाम्रा पूर्वजहरूले बुनेका थिए। राष्ट्रिय एकताको स्वरूपलाई जीवन्त बनाई राख्ने प्रत्येक प्रयास अत्यन्तै सराहनीय छ।

बितेको वर्ष 7 नोभेम्बरदेखि, हाम्रो राष्ट्रिय गीत “बन्दे मातरम”को रचनाको 150 वर्ष सम्पन्न भएको उत्सव पनि मनाइँदैछ। भारत माताको दैवी स्वरूपको वन्दनाको यस गीतले, जन-मनमा राष्ट्रप्रेम सञ्चार गर्दछ। राष्ट्रियताका महाकवि सुब्रमण्य भारतीले तमिल भाषामा “बन्दे मातरम येन्बोम्” अर्थात् “हामी बन्दे मातरम भनौं” यस गीतको रचना गरी बन्दे मातरम्को भावनालाई अरू व्यापक स्तरमा जनमानससँग जोडे। अन्य भारतीय भाषामा पनि यस गीतको अनुवाद लोकप्रिय बन्यो। श्री अरोबिन्दोले “बन्दे मातरम”को अङ्ग्रेजी अनुवाद गरे। ऋषितुल्य बङ्किमचन्द्र चट्टोपाध्यायद्वारा रचित “बन्दे मातरम्” हाम्रो राष्ट्र वन्दनाको स्वर हो।

आजभन्दा दुई दिनअघि, अर्थात् 23 जनवरीको दिन देशवासीहरूले नेताजी सुभाषचन्द्र बोसको जयन्तीको दिन उनलाई सादर श्रद्धाञ्जलि अर्पित गऱ्यो। वर्ष 2021 देखि नेताजीको जयन्तीलाई “पराक्रम दिवस”का रूपमा मनाउन थालिएको छ, ताकि देशवासी, विशेष गरी युवाहरूले उनको अदम्य देशभक्तिबाट प्रेरणा प्राप्त गरून्। नेताजी सुभाषचन्द्र बोसको नारा “जय हिन्द” हाम्रो राष्ट्र गौरवको उद्घोष हो।

प्यारा देशवासीहरू,

तपाईंहरू सबैले, हाम्रो जीवन्त गणतन्त्रलाई शक्तिशाली बनाई रहनुभएको छ। हाम्रो तीनै सेनाका बहादुर जवान, मातृभूमिको रक्षाका लागि सदैव सतर्क रहने गर्दछन्। हाम्रा कर्तव्यनिष्ठ पुलिसकर्मी तथा केन्द्रिय सशस्त्र पुलिस बलका जवान, देशवासीहरूको आन्तरिक सुरक्षाका लागि तत्पर रहने गर्दछन्। हाम्रा अन्नदाता किसानले, देशावासीहरूका लागि पोषण सामग्री उत्पन्न गर्दछन्। हाम्रो देशका कर्मठ अनि प्रतिभाशाली महिलाहरूले अनेकौं क्षेत्रमा नयाँ प्रतिमान स्थापित गरिरहेका छन्। हाम्रा सेवाधर्मी डाक्टर, नर्स अनि सबै स्वास्थ्यकर्मीले देशवासीहरूको स्वास्थ्यको हेरचाह गर्दछन्। हाम्रा निष्ठावान सफाईमित्रले देशलाई स्वच्छ राख्न प्रमुख भूमिका खेल्ने गर्दछन्। हाम्रा प्रबुद्ध शिक्षकले भावी पिँढीको निर्माण गर्दछन्। हाम्रा विश्व स्तरीय वैज्ञानिक अनि ईञ्जिनियरले देशको विकासलाई नयाँ दिशा दिन्छन्। हाम्रा मेहनती श्रमिक भाइ-बहिनीहरूले राष्ट्रको नवनिर्माण गर्दछन्। हाम्रा मेधावी युवा अनि बच्चाले आफ्नो प्रतिभा अनि योगदानद्वारा देशको स्वर्णिम भविष्यप्रति हाम्रो विश्वासलाई सुदृढ बनाउँछन्। हाम्रा प्रतिभाशाली कलाकार, शिल्पकार अनि साहित्यकारले हाम्रो समृद्ध परम्परालाई आधुनिक अभिव्यक्ति दिइरहेका छन्। अनेकौं क्षेत्रका विशेषज्ञले देशको बहुआयामिक विकासलाई दिशा दिइरहेका छन्। हाम्रा ऊर्जावान उद्यमीहरूले देशलाई विकसित अनि आत्मनिर्भर बनाउन आफ्नो योगदान दिइरहेका छन्। निःस्वार्थ  भावले समाजको सेवा गर्ने व्यक्ति अनि संस्थानले, अनगन्ती मानिसको जीवनमा प्रकाश सञ्चार गरिरहेका छन्। सरकारी तथा गैर सरकारी कार्यालय अनि संस्थानमा काम गर्ने सबै कर्तव्यपरायण व्यक्तिले राष्ट्र निर्माणमा आफ्नो सेवा समर्पित गरिरहेका छन्। जनसेवाका लागि प्रतिबद्ध जनप्रतिनिधिहरूले देशवासीहरूको आकाङ्क्षा अनुरूप कल्याण एवं विकासका लक्ष्यहरू प्राप्त गरिरहेका छन्। यस प्रकारले, सबै जागरूक एवं संवेदनशील नागरिकले, हाम्रो गणतन्त्रको प्रगति यात्रालाई अघि बढाइरहेका छन्। हाम्रो गणतन्त्रलाई सशक्त बनाउने प्रयासमा कार्यरत सबै देशवासीलाई म हृदयबाट सराहना गर्न चाहन्छु। प्रवासी भारतीयले, हाम्रा गणतन्त्रको छविलाई विश्वपटलमा गौरव प्रदान गर्दछन्। म उनीहरूको विशेष सराहना गर्न चाहन्छु।

प्यारा देशवासीहरू,

आजको दिन, अर्थात् 25 जनवरीलाई हाम्रो देशमा “राष्ट्रिय मतदाता दिवस”का रूपमा मनाउने गरिन्छ। जनप्रतिनिधिहरूको निर्वाचनका लागि हाम्रा वयस्क नागरिकले उत्साहपूर्वक मतदान गर्दछन्। बाबासाहब डा. भीमराव अम्बेडकरले मताधिकारको प्रयोगले राजनतिक शिक्षा सुनिश्चित हुने मान्दथे। हाम्रा मतदाताले, बाबासाहबको सोच अनुरूप, आफ्नो राजनतिक जागरूकताको परिचय दिइरहेका छन्। मतदानमा महिलाहरूको बढ्दो भागीदारी हाम्रो गणतन्त्रको एउटा शक्तिशाली आयाम हो।

महिलाहरू सक्रिय अनि समर्थ हुनु देशको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण छ। उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षा अनि आर्थिक सशक्तिकरणका लागि भइरहेका राष्ट्रिय प्रयासले अनेकौं क्षेत्रमा महिलाहरूको भागीदारी बढेको छ। “बेटी बचाओ, बेटी पढाओ” अभियानबाट छोरीहरूको शिक्षाले प्रोत्साहन पाएको छ। “प्रधानमन्त्री – जनधन योजना” अन्तर्गत अहिलेसम्म 57 करोडभन्दा धेरै ब्याङ्क खाता खोलिसकिएको छ। यसमध्ये महिलाहरूको खाता करिब 56 प्रतिशत छ।

हाम्रा बहिनी अनि छोरीहरू परम्परागत रूढिलाई तोड्दै अघि बढिरहेका छन्। महिलाहरूले देशको समग्र विकासमा योगदान दिइरहेका छन्। दस करोडभन्दा धेरै सेल्फ हेल्प ग्रूप्ससँग जोडिएका बहिनीहरूले विकासको नयाँ परिभाषा लेखिरहेका छन्। महिलाहरूले खेत-खलियानदेखि लिएर अन्तरक्षिसम्म, स्वरोजगारदेखि लिएर सेनासम्म, आफ्नो पहिचान बनाइरहेका छन्। खेलकूदको क्षेत्रमा हाम्रा छोरीहरूले विश्व स्तरमा नयाँ प्रतिमान स्थापित गरेका छन्। गत वर्ष नोभेम्बरमा, भारतका छोरीहरूले आइसीसी महिला क्रिकेट वर्ल्ड कप र त्यसपछि ब्लाइण्ड दृष्टिहीन महिला टी-20 वर्ल्ड कप जीतेर स्वर्णिम इतिहास रचेका छन्। बितेको वर्ष नै चेस वर्ल्ड कपको फाइनल म्याच भारतकै दुईजना छोरीबीच खेलिएको थियो। यी उदाहरण खेल जगतमा हामरा छोरीहरूको वर्चस्वका प्रमाण हुन्। यस्ता छोरीहरूमाथि देशवासीलाई गर्व छ।

पञ्चायतीराज संस्थामा महिला जनप्रतिनिधिको सङ्ख्या लगभग 46 प्रतिशत छ। महिलाहरूको राजनीतिक सशक्तिकरणलाई उँचाई दिने “नारी शक्ति वन्दन अधिनियम”बाट महिलाहरूको नेतृत्त्वद्वारा विकासको सोचले अभूतपूर्व शक्ति पाउनेछ। विकसित भारत निर्माणमा नारीशक्तिको भूमिका महत्त्वपूर्ण रहनेछ। उनीहरूको बढ्दो योगदानद्वारा, हाम्रो देशले महिला-पुरुष समानतामा आधारित समावेशी गणतन्त्रको उदाहरण प्रस्तुत गर्नेछ।

समावेशी सोचका साथ वञ्चित वर्गको कल्याण अनि विकासको निम्ति, अनेकौं योजनालाई कार्यरूप दिइँदैछ। बितेको वर्ष 15 नोभेम्बरको दिन देशवासीहरूले धरती आबा भगवान बिरसा मुण्डा जयन्तीको दिन पाँचौं “जनजीय गौरव दिवस” मनायो तथा भगवान बिरसा मुण्डाको 150 औं जयन्तीको उपलक्ष्यमा मनाइएको उत्सव सम्पन्न भयो। “आदि कर्मयोगी” अभियानको माध्यमद्वारा, जनजातीय समुदायका जनमानसमा नेतृत्त्व क्षमता निखार्ने काम गरियो। विगत वर्षहरूमा सरकारले जनजातीय समाजको गौरवशाली इतिहाससँग देशवासीहरूलाई परिचय गराउन सङ्ग्रहालयको निर्माणसहित अनेकौं कदम उठाएका छन्। उनीहरूको कल्याण अनि विकासलाई प्राथमिकता दिइएको छ। “राष्ट्रिय सिकल सेल एनिमिया उन्मूलन मिशन” अन्तर्गत हालसम्म 6 करोडभन्दा धेरै स्क्रीनिङ गरिसकिएको छ। एकलव्य आदर्श आवासीय स्कूलहरूमा लगभग एक लाख चालीस हजार विद्यार्थीले शिक्षा प्राप्त गरिरहेका छन् तथा अनेकौं विद्यार्थीले प्रतियोगी परीक्षाहरूमा उत्कृष्ट प्रदर्शन गरेका छन्। स्वास्थ्य अनि शिक्षाका यस्ता अभियानले जनजातीय समुदायको विरासत अनि विकासको समन्वय गरिरहेका छन्। जनजातीय समुदायको विरासत अनि विकासको समन्वय गरिरहेका छन्। “धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियान” तथा “पीएम-जनमन योजना”द्वारा पीभीटीजी समुदायसहित सबै जनजातीय समुदायको सशक्तिकरण भएको छ।

हाम्रा अन्नदाता किसान, हाम्रो समाजका तथा अर्थव्यवस्थाका मेरुदण्ड हुन्। किसानहरूको परिश्रमी पिँढीले हाम्रो देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाएको छ। किसानहरूको परिश्रमको बलमा नै हामीले कृषि आधारित उत्पादहरूको निर्यात गर्न पाइरहेका छौं। अनेकौं किसानले सफलताको अत्यन्तै प्रभावशाली उदाहरण प्रस्तुत गरेका छन्। किसान भाइ-बहिनीहरूले आफ्नो उत्पादको उचित मूल्य पाऊन्, कम ब्याज दरमा ऋण प्राप्त गरून्, प्रभावी बीमा सुरक्षा पाऊन्, खेतीका लागि राम्रो बिउ पाऊन्, सिञ्चाइको सुविधा पाऊन्, बढी उत्पादनका लागि उर्वरक उपलब्ध होस्, उनीहरूलाई आधुनिक पद्धतिसँग जोडियोस् तथा जैविक खेतीलाई बढावा दिइयोस्, यी सबै विषयलाई प्राथमिकता दिइँदैछ। “पीएम किसान सम्मान निधि”द्वारा किसान भाइ-बहिनीहरूको योगदानलाई आदर दिइँदैछ तथा उनीहरूको प्रयासलाई सम्बल प्रदान गरिँदैछ।

दसकौंदेखि गरीबीसँग जुझिरहेका करोडौं देशवासीलाई, गरीबीको सीमा रेखामाथि ल्याइएको छ। यसका साथै यस्ता प्रयासहरू पनि गरिँदैछ ताकि उनीहरू पुनः गरीबीबाट पीडित हुन नपुगोस्। अन्त्योदयको संवेदनालाई कार्यरूप दिने विश्वको सबैभन्दा बृहत् योजना “पीएम गरीब कल्याण अन्न योजना”, 140 करोडभन्दा धेरै जनसङ्ख्या भएको हाम्रो देशमा कोही पनि भोकै नरहोस् भन्ने सोचमा आधारित छ। यस योजनाबाट लगभग 81 करोड लाभार्थीले सहायता पाइरहेका छन्। गरीब परिवारका लागि बिजुली, पानी तथा शौचालयको सुविधाले युक्त 4 करोडभन्दा धेरै पक्का घरको निर्माण गरी उनीहरूलाई गरिमापूर्ण जीवन जिउने तथा अघि बढ्ने आधार प्रदान गरिएको छ। गरीबहरूको कल्याण अनि हितमा गरिएका यस्ता प्रयासले महात्मा गान्धीको सर्वोदयको आदर्शलाई कार्यरूप दिने काम गर्दछ।

विश्वको सबैभन्दा ठूलो युवा जनसङ्ख्या हाम्रो देशमा छ। गर्वको कुरा के छ भने हाम्रा युवाहरूमा असीम प्रतिभा छ। हाम्रा युवा उद्यमी, खेलाडी, वैज्ञानिक अनि पेशेवरहरूले देशमा नयाँ ऊर्जा सञ्चार गरिरहेका छन् तथा विश्व स्तरमा पनि आफ्नो पहिचान बनाइरहेका छन्। आज धेरै सङ्ख्यामा हाम्रा युवाहरूले सफलताको प्रभावशाली उदाहरण प्रस्तुत गरिरहेका छन्। हाम्रा युवा नै हाम्रो राष्ट्रको विकास यात्राका ध्वजवाहक हुन्। “मेरा युवा भारत” वा “माइ भारत” टेक्नोलजीको सहायताद्वारा सञ्चालित एउटा अनुभव आधारित शिक्षा व्यवस्था हो। यसले युवाहरूलाई नेतृत्त्व अनि कौशल विकाससहित कैयौं क्षेत्रमा उपलब्ध अवसरसँग जोड्दछ। हाम्रो देशमा स्टार्टअप्सको प्रभावशाली सफलताको मुख्य श्रेय हाम्रा युवा उद्यमीहरूलाई जान्छ। युव पिँढीको आकाङ्क्षामा केन्द्रित नीति अनि कार्यक्रमहरूको बलमा देशको विकासले गति पाउनेछ। मलाई विश्वास छ, वर्ष 2047 सम्म, विकसित भारतको निर्माणमा युवाशक्तिको प्रमुख भूमिका रहनेछ।

मेरा प्यारा देशवासीहरू,

भारत विश्वको सबैभन्दा तेज गतिले बढ्ने बृहत् अर्थव्यवस्था हो। विश्वपटलमा अनिश्चितता भए तापनि भारतमा निरन्तर आर्थिक विकास भइरहेको छ। हामी निकट भविष्यमा, विश्वको तेस्रो सबैभन्दा बृहत् अर्थव्यवस्था बन्ने लक्ष्य प्राप्त गर्ने दिशामा अघि बढिरहेका छौं।

विश्व स्तरीय इन्फ्रास्ट्रक्चर निर्माणमा निवेश गरी, हामीले आफ्नो आर्थिक संरचना उच्च स्तरमा पुनर्निर्माण गरिरहेका छौं। आर्थिक नियतिको निर्माण यात्रामा, आत्मनिर्भरता अनि स्वदेशी हाम्रो मूलमन्त्र हो।

स्वाधीनतापछि, देशको आर्थिक एकिकरणका लागि सबैभन्दा महत्त्वपूर्ण निर्णय जीएसटी लागू गर्नुदेखि “एक राष्ट्र, एक बजार” को व्यवस्था स्थापित भएको छ। जीएसटी व्यवस्थालाई अरू बढी प्रभावी बनाउनका लागि हालैको निर्णयले हाम्रो अर्थव्यवस्थालाई अरू धेरै शक्ति प्राप्त हुनेछ। श्रम सुधारको क्षेत्रमा चारवटा श्रम संहिता जारी गरिएको छ। यसबाट हाम्रा श्रमिक भाइ-बहिनीहरू लाभान्वित हुनेछन् तथा उद्यमहरूको विकासले पनि गति पाउनेछ।

प्यारा देशवासीहरू,

प्राचीनकालदेखि, सम्पूर्ण मानवता हाम्रो सभ्यता, संस्कृति तथा आध्यात्मिक परम्पराबाट लाभान्वित भइरहेको छ। आयुर्वेद, योग तथा प्राणायामलाई विश्व समदायले सराहना गरेका छन्, अपनाएका छन्। अनेकौं महान विभूतिले हाम्रो आध्यात्मिक एवं सामाजिक एकताको धारालाई अविरल प्रवाह दिएका छन्। केरलमा जन्मेका महान कवि, समाज सुधारक एवं आध्यात्मिक विभूति श्रीनारायण गुरु अनुसार त्यस स्थानलाई आदर्श मानिन्छ, जहाँ जाति अनि पन्थको भेदभावबाट मुक्त भई सबै मानिस बन्धुत्त्वका साथ बसोबासो गर्छन्। म श्रीनारायण गुरुको यस विचारलाई उनकै भाषामा दोहोऱ्याउने प्रयास गर्नेछु :

जाति-भेदम् मत-द्वेषम्, एदुम्-इल्लादे सर्वरुम्

सोद-रत्वेन वाडुन्न, मात्रुका-स्थान मानित।

गर्वको कुरा के छ भने आजको भारत, नयाँ आत्मविश्वासका साथ, आफ्नो गौरवशाली परम्पराहरूप्रति सचेत भई अघि बढिरहेको छ। हालैका वर्षहरूमा हाम्रा आध्यात्मिक परम्पराका पवित्र स्थलहरूलाई जनचेतनाका साथ जोड्ने काम गरिएको छ।

नियत अवधिमा गुलामीको मानसिकताका अवशेषहरूबाट मुक्त हुन समयबद्ध सङ्कल्प गरिएको छ। भारतीय ज्ञान परम्परामा दर्शन, चिकित्सा, खगोल विज्ञान, गणित, साहित्य तथा कलाका महान विरासत उपलब्ध छन्। गर्वको कुरा के छ भने “ज्ञान भारतम् मिशन” जस्ता प्रयासद्वारा भारतीय परम्परामा उपलब्ध रचनात्मकतालाई संरक्षित अनि प्रसारित गरिँदछ। यस मिशनले भारतका लाखौं अमूल्य पाण्डुलिपिमा सञ्चित विरासतलाई आधुनिक सन्दर्भमा अघि बढाउनेछ। भारतीय भाषा तथा ज्ञान परम्परालाई प्राथमिकता दिई हामीले आत्मनिर्भरताको प्रयासलाई सांस्कृतिक आधार प्रदान गरिरहेका छौं।

भारतको संविधान अब आठौं अनुसूचीमा सामेल सबै भारतीय भाषामा उपलब्ध छ। संविधानलाई भारतीय भाषाहरूमा पढ्नु र बुझ्नुले, देशवासीहरूमा संवैधानिक राष्ट्रियताको प्रसार हुनका साथै आत्मगौरवको भावना प्रबल हुनेछ।

सरकार अनि जनसामान्यबीचको दूरीलाई निरन्तर घटाउने काम गरिँदैछ। आपसी विश्वासमा आधारित सुशासनमाथि बल दिइँदैछ। अनेकौं अनावश्यक नियमहरूलाई निरस्त गरिएको छ, कैयौं अनुपालनलाई समाप्त गरिएको छ तथा जनताको हितमा व्यवस्थालाई सरल बनाइएको छ। टेक्नोलजीको माध्यमद्वारा लाभार्थीहरूलाई सुविधाका साथमा सीधै जोडिँदैछ। दैनन्दिन जीवनलाई उत्तम बनाउने लक्ष्यका साथ जीवनको सहजतालाई प्राथमिकता दिइँदैछ।

पछिल्लो दसकमा राष्ट्रिय लक्ष्यहरूलाई जनभागीदारीको माध्यमद्वारा प्राप्त गर्ने प्रयास गरिएको छ। महत्त्वपूर्ण राष्ट्रिय अभियानहरूलाई जनआन्दोलनको रूप दिइएको छ। गाउँ-गाउँमा, नगर-नगरमा, स्थानीय संस्थाहरूलाई प्रगतिशील परिवर्तनको माध्यम बनाइएको छ। विकसित भारतको निर्माण सबै देशवासीको साझा जिम्मेवारी हो। समाजमा असीम शक्ति हुने गर्दछ। सरकारद्वारा गरिएका प्रयासहरूले समाजको सक्रिय समर्थन पाए क्रान्तिकारी परिवर्तन आउँदछ। उदाहरणका लागि, हाम्रा देशवासीहरूले डिजिटल भुक्तानी व्यवस्थालाई व्यापक परिमाणमा अपनाएका छन्। आज विश्वको आधाभन्दा धेरै डिजिटल लेनदेन भारतमा हुन्छ। स-साना दोकानमा सामान खरिद गर्नुदेखि लिएर अटो रिक्साको भाडा दिनुसम्म, डिजिटल भुक्तानीको उपयोग विश्व समुदायका लागि प्रभावशाली उदाहरण बनेको छ। यस प्रकारले अन्य राष्ट्रिय लक्ष्य प्राप्त गर्नमा पनि सबै देशवासीले आफ्नो सक्रिय भागीदारी दिनेछन् भन्ने म आशा गर्दछु।

प्यारा देशवासीहरू,

बितेको वर्ष हाम्रो देशले अपरेशन सिन्दूरद्वारा आतङ्कवादको ठेगानाहरूमा सटीक प्रहार गऱ्यो। आतङ्कका अनेकौं ठेगाना ध्वस्त गरियो तथा धेरै आतङ्कवादीलाई तिनीहरूको निष्कर्षमा पुऱ्याउने काम गरियो। सुरक्षाको क्षेत्रमा हाम्रो आत्मनिर्भरताले अपरेशन सिन्दूरको ऐतिहासिक सफलताले शक्ति पायो।

सियाचेन बेस क्याम्प पुगेर मैले बहादुर सैनिकहरूलाई अत्यन्तै विषम परिस्थितिमा पनि देशको रक्षाका लागि पूर्णरूपले तत्पर अनि उत्साहित देखे। भारतीय वायु सेनाको लडाकु विमान, सुखोई अनि राफेलमा उडान भर्ने अवसर पनि मैले पाए। म वायु सेनाको युद्धकौशलबाट अवगत बने। मैले भारतीय नौसेनाको स्वदेशमा निर्मित विमानवाहक पोत आइएनएस विक्रान्तको असाधारण क्षमता देखे। म नौसेनाको पनडुब्बी आइएनएस वाघशीरमा समुद्रको गहिराईसम्म गए। थलसेना, वायुसेना तथा नौसेनाको शक्तिको आधारमा, हाम्रो सरक्षा क्षमतामाथि देशवासीहरूलाई पूरा भरोसा छ।

मेरा प्यारा देशवासीहरू,

पर्यावरण संरक्षण आजको अत्यन्तै महत्त्वपूर्ण प्राथमिकता हो। पर्यावरणसँग जोडिएका अनेकौं क्षेत्रमा भारतले विश्व समुदायलाई मार्गदर्शन गरेको कुरामा मलाई गर्व छ। प्रकृतिका साथ समन्वित जीवनशैली भारतको सांस्कृतिक परम्पराको हिस्सा रहेको छ। यही जीवनशैली, विश्व समुदायलाई दिइएको हाम्रो सन्देश  पर्यावरणका लागि जीवनशैलीअर्थात्लाइफको आधार हो। हामी यस्तो प्रयास गरौं, जसबाट भावी पिँढीका लागि धरती माताको अनमोल संसाधन उपलब्ध हुनसकोस्।

हाम्रो परम्परामा, समस्त सृष्टिमा शान्ति बनिरहोस् भन्ने प्रार्थना गरिन्छ। सम्पूर्ण विश्वमा शान्तिपूर्ण व्यवस्था स्थापित भए मात्र मानवताको भविष्य सुरक्षित रहनसक्नेछ। विश्वका अनेकौं क्षेत्रमा व्याप्त अशान्तिको वातावरणमा, भारतद्वारा विश्व शान्तिको सन्देश प्रसारित गरिँदैछ।

प्यारा देशवासीहरू,

हामी भारत भूमिका निवासी हौं, यो हाम्रो सौभाग्य हो। हाम्रा जननी जन्मभूमिका लागि कविगुरु रविन्द्रनाथ ठाकुरले भनेका थिए :

ओ आमार देशेर माटी, तोमार पोरे ठेकाइ माथा।

अर्थात्,

हे मेरो देशका माटो! म तिम्रो चरणमा आफ्नो शिर झुकाउँदछु।

म मान्दछु, गणतन्त्र दिवस देशभक्तिको यस प्रबल भावनालाई अझ सुदृढ बनाउने सङ्कल्पको अवसर हो। आउनुहोस्, हामी सबै मिलेर “राष्ट्र प्रथम”को भावनाले काम गर्दै आफ्नो गणतन्त्रलाई अझ गौरवशाली बनाऔं।

म एकपटक फेरि, तपाईंहरू सबैलाई, गणतन्त्र दिवसको हार्दिक बधाई दिन चाहन्छु। मलाई दृढ विश्वास छ, तपाईंको जीवन सुख, शान्ति, सुरक्षा अनि सौहार्दले परिपूर्ण रहनेछ। म तपाईंहरू सबैको उज्ज्वल भविष्यको मङ्गल कामना गर्दछु।

धन्यवाद!

जय हिन्द!

जय भारत!

******

एमपीएस/टीडब्ल्यूब


(रिलीज़ आईडी: 2218706) आगंतुक पटल : 11
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें: Tamil , Malayalam , Assamese , English , Khasi , Urdu , Marathi , हिन्दी , Manipuri , Bengali , Bengali-TR , Punjabi , Gujarati , Odia , Kannada