गोवा, २० नोभेम्बर २०२६:
गोवास्थित ताज सिडाडे डे गोवा होराइजनमा आज वेभ्स फिल्म बजारको २०औँ संस्करणको उद्घाटन गरिएको छ। भारतीय र अन्तर्राष्ट्रिय चलचित्र उद्योगबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले दुई दशक पूरा गरेको छ। सूचना तथा प्रसारण मन्त्रालयअन्तर्गत राष्ट्रिय चलचित्र विकास निगम (एनएफडीसी) द्वारा आयोजित पाँचदिने यस बजारमा चलचित्र निर्माता, निर्देशक, लेखक, लगानीकर्ता, वितरक तथा चलचित्र उद्योगका अन्य व्यावसायिक व्यक्तित्वहरू सहभागी भएका छन्। उनीहरूले सहकार्यका अवसर खोज्नुका साथै सिर्जनात्मक परियोजनाहरूलाई विश्वव्यापी बजारसम्म पुर्याउने विषयमा छलफल गर्नेछन्।
उद्घाटन समारोहमा प्रमुख सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्रालयका सचिव चञ्चल कुमारले सन् २००७ मा १८ देशका २०४ जना प्रतिनिधिबाट सुरु भएको फिल्म बजारको सहभागिता पछिल्ला संस्करणहरूमा २,५०० भन्दा बढी प्रतिनिधिसम्म पुगेको उल्लेख गर्नुभयो। उहाँले वेभ्स फिल्म बजारले सिर्जनात्मक परिकल्पनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्ने मञ्चका रूपमा काम गरिरहेको बताउनुभयो।
प्रधानमन्त्री नरेन्द्र मोदीले वेभ्स २०२५ मा प्रस्तुत गर्नुभएको ‘भारतमा सिर्जना गरौँ, विश्वका लागि सिर्जना गरौँ’ भन्ने परिकल्पनाको उल्लेख गर्दै उहाँले भारतीय सिर्जनात्मक प्रतिभालाई अन्तर्राष्ट्रिय बजार र अवसरहरूमा थप पहुँच उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले फिल्म बजारलाई सहकार्य र नयाँ सम्भावनाहरूको खोजी गर्ने मञ्चका रूपमा वर्णन गर्दै विश्वभरका चलचित्रकर्मीहरूलाई यस बजारको अधिकतम उपयोग गर्न आमन्त्रण गर्नुभयो। यहाँ कथाहरू सहकार्यमा रूपान्तरण हुन सक्ने र सिर्जनात्मकताले दीर्घकालीन आर्थिक तथा सांस्कृतिक मूल्य सिर्जना गर्न सक्ने उहाँले बताउनुभयो।

सूचना तथा प्रसारण मन्त्रालयका सचिव चञ्चल कुमार
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै महोत्सव निर्देशक आशुतोष गोवारिकरले भारतीय चलचित्रकर्मी र अन्तर्राष्ट्रिय चलचित्र उद्योगका व्यावसायिक व्यक्तित्वहरूलाई एकै ठाउँमा ल्याउन फिल्म बजारले निर्वाह गरेको विशिष्ट भूमिकाबारे प्रकाश पार्नुभयो।
यस मञ्चले चलचित्र निर्माणको यात्राको हरेक चरणमा चलचित्रकर्मीहरूसँग सहकार्य गर्ने उल्लेख गर्दै उहाँले चलचित्र पूर्ण भएपछि मात्र फिल्म बजारले चासो देखाउने नभई निर्माण प्रक्रियाको जुनसुकै चरणमा रहेका चलचित्रकर्मीहरूलाई समेट्ने बताउनुभयो। अधुरो पटकथा होस् वा दर्शकमाझ पुर्याउन खोजिएको तयार चलचित्र, परियोजनालाई अगाडि बढाउन सहयोग गर्न सक्ने व्यक्तिहरूलाई यस बजारले एकै ठाउँमा ल्याउने उहाँले बताउनुभयो। उहाँले सामान्यतया एक कप कफी पिउने निमन्त्रणाबाट सुरु हुने कुराकानीले पनि अर्थपूर्ण सहकार्यका ढोका खोल्न सक्ने उल्लेख गर्नुभयो।

महोत्सव निर्देशक आशुतोष गोवारिकर
चलचित्रको रूपान्तरणकारी शक्तिबारे प्रकाश पार्दै उहाँले मानिसहरूलाई कुनै विषयलाई फरक दृष्टिकोणबाट हेर्न सक्षम बनाउनु चलचित्रको उपहार भएको बताउनुभयो। उहाँले प्रतिनिधिहरूलाई चार दिनको अधिकतम सदुपयोग गर्न, नयाँ व्यक्तिहरूसँग अन्तरक्रिया गर्न, आफ्ना विचारहरू विशेषगरी अधुरा परियोजनाहरू साझा गर्न र अवसरहरू खोज्ने क्रममा सकारात्मक जवाफ प्राप्त हुने आशासहित अघि बढ्न आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै राष्ट्रिय चलचित्र विकास निगमका प्रबन्ध निर्देशक धीरज सिंहले फिल्म बजार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भारत (आईएफएफआई) को अभिन्न अङ्ग रहेको बताउनुभयो। यस मञ्चले विगत दुई दशकदेखि महोत्सवसँगको सम्बन्ध कायम राखेको उल्लेख गर्दै उहाँले फिल्म बजारको दायरा र अवसरहरू विस्तार हुँदै चलचित्र उद्योगका लागि अझ ठूलो र व्यापक मञ्चका रूपमा विकास भएको बताउनुभयो।

दायाँबाट: सूचना तथा प्रसारण मन्त्रालयका अतिरिक्त सचिव प्रभात, राष्ट्रिय चलचित्र विकास निगमका अध्यक्ष जी. कृष्णकुमार, सूचना तथा प्रसारण मन्त्रालयका सचिव चञ्चल कुमार, महोत्सव निर्देशक आशुतोष गोवारिकर र राष्ट्रिय चलचित्र विकास निगमका प्रबन्ध निर्देशक धीरज सिंह।
सूचना तथा प्रसारण मन्त्रालयका अतिरिक्त सचिव प्रभातले धन्यवाद ज्ञापन गर्नुभयो। उद्घाटन समारोहमा राष्ट्रिय चलचित्र विकास निगमका अध्यक्ष जी. कृष्णकुमार पनि उपस्थित हुनुहुन्थ्यो।
वेभ्स फिल्म बजारले दुई दशक पूरा गरिरहँदा यसको भूमिका चलचित्र उद्योगलाई एकै ठाउँमा ल्याउनमा मात्र सीमित नरही कथाहरूलाई अझ टाढासम्म पुर्याउने सम्भावना सिर्जना गर्नेतर्फ पनि विस्तार भएको छ। विश्वभरका चलचित्र निर्माता, लेखक, लगानीकर्ता र वितरकहरूसँग चलचित्रकर्मीहरूलाई जोड्दै यस बजारले सम्भावनायुक्त विचारहरूलाई उपयुक्त सहकार्यकर्ता उपलब्ध गराउने र भारतका विविध कथाहरूलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ। कुराकानीलाई सहकार्यमा रूपान्तरण गर्ने र सिर्जनात्मक सम्भावनाहरूलाई पर्दासम्म पुर्याउने वातावरण निर्माणमा जोड दिइएको छ।
आईएफएफआई लोइड यहाँ पढ्नुहोस्: https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
********
MPS/TWB