57th International Film Festival of India 2026
20 – 28 Nov 2026

‘सीमाविहीन कथाहरू’: ५७औँ आईएफएफआईमा भौगोलिक तथा सामाजिक–सांस्कृतिक सीमाभन्दा परको चलचित्र उत्सव मनाइने


महोत्सवका निर्देशक आशुतोष गोवारिकरले ५७औँ संस्करणको परिकल्पना प्रस्तुत गर्दै सञ्चारमाध्यमलाई चलचित्रका विविध विधाहरूको अवलोकन गर्न र महोत्सवको विश्वव्यापी आकर्षणलाई प्रस्तुत गर्न आग्रह

पोस्ट गरियो: 20 NOV 2026 2:09PMby PIB Gangtokरिलिज आईडी: 2341780Views: 13

गोवा, २० नोभेम्बर २०२६:

५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को अवसरमा आज गोवाको पानाजीस्थित पीआईबी मिडिया सेन्टरमा सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रम आयोजना भयो। कार्यक्रममा आईएफएफआईको ५७औँ संस्करणका महोत्सव निर्देशक आशुतोष गोवारिकर र राष्ट्रिय चलचित्र विकास निगम (एनएफडीसी) का प्रबन्ध निर्देशक धीरज सिंह सहभागी हुनुभयो। कार्यक्रमको सञ्चालन प्रेस सूचना ब्युरो (पीआईबी) की महानिर्देशक (पश्चिम) स्मिता वत्स शर्माले गर्नुभएको थियो।

सञ्चारमाध्यमलाई सम्बोधन गर्दै महोत्सव निर्देशक आशुतोष गोवारिकरले ‘सीमाविहीन कथाहरू’ भन्ने विषयवस्तुमा केन्द्रित रहेर आईएफएफआईको ५७औँ संस्करणको परिकल्पना प्रस्तुत गर्नुभयो। उहाँले यस विषयवस्तुले भौगोलिक तथा क्षेत्रीय सीमाभन्दा पर परिवार र समाजभित्र रहेका विभाजनहरूलाई समेत समेट्ने बताउनुभयो। जातीय विभेद, सामाजिक भिन्नता तथा अन्य सामाजिक–सांस्कृतिक यथार्थबाट उत्पन्न हुने विभाजनहरू पनि यसमा समेटिने उहाँले उल्लेख गर्नुभयो। यस्ता सीमाहरू पार गर्ने र विभिन्न संस्कृतिका साझा मानवीय अनुभवहरू प्रतिबिम्बित गर्ने कथाहरूलाई एकै ठाउँमा ल्याउनु महोत्सवको उद्देश्य रहेको उहाँले बताउनुभयो।

महोत्सवमा समावेश विविध चलचित्रबारे जानकारी दिँदै श्री गोवारिकरले यस वर्ष एनिमेसन, वृत्तचित्र र चलचित्रसम्बन्धी चलचित्र गरी तीनवटा नयाँ विधा थपिएको घोषणा गर्नुभयो। उहाँले वृत्तचित्रको बढ्दो महत्त्व उल्लेख गर्दै वृत्तचित्र निर्माताहरूलाई थप पहिचान र अवसर प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। यसै पहलअन्तर्गत आईएफएफआईमा हालै सम्पन्न मुम्बई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (एमआईएफएफ) का विजेता चलचित्रहरूको विशेष प्रदर्शनसमेत आयोजना गरिनेछ।

महोत्सवको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिकालाई महत्त्व दिँदै श्री गोवारिकरले सञ्चार प्रतिनिधिहरूलाई पुनरावलोकन प्रदर्शनसहित विभिन्न विधाअन्तर्गतका चलचित्रहरू हेर्न र तिनको समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। साथै, आफ्नो स्वतन्त्र निर्णय र आलोचनात्मक दृष्टिकोण कायम राख्न पनि उहाँले जोड दिनुभयो। आईएफएफआईका कथा तथा चलचित्र प्रस्तुतिहरूलाई देशभरका दर्शकमाझ पुर्‍याउन सञ्चारमाध्यमको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।

उहाँले महोत्सव अवधिभर आयोजक टोली र सञ्चार प्रतिनिधिहरूबीच अर्थपूर्ण तथा अनौपचारिक अन्तरक्रियाका लागि सहजीकरण गर्ने तत्परता पनि व्यक्त गर्नुभयो। सञ्चारकर्मीहरूको व्यावसायिक जिम्मेवारीलाई ध्यानमा राख्दै अन्तरक्रियाको समयतालिका थप लचिलो बनाइएको र महोत्सवका गतिविधिहरूको समाचार सम्प्रेषणका लागि पर्याप्त समय उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

महोत्सवको विविध कार्यक्रमको महत्त्व उल्लेख गर्दै उहाँले पुनरावलोकन प्रदर्शन, छनोट गरिएका चलचित्रहरूको विशेष प्रस्तुति तथा विशेष प्रदर्शनलगायत प्रत्येक विधाले चलचित्रको समृद्धि र विविधता प्रस्तुत गर्न योगदान पुर्‍याउने बताउनुभयो। उहाँले सञ्चारकर्मीहरूलाई आफ्नो व्यक्तिगत चलचित्र रुचिभन्दा बाहिर गएर महोत्सवका विभिन्न कार्यक्रमहरूको अवलोकन गर्न तथा विशेष प्रदर्शन, रेड कार्पेट कार्यक्रम, अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन र प्यानोरमा अन्तरक्रियामा सहभागी हुन आग्रह गर्नुभयो। यस्ता कार्यक्रमले चलचित्रकर्मी तथा महोत्सवमा सहभागी प्रतिनिधिहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै दर्शकहरूलाई चलचित्रका विविध दृष्टिकोणबारे जान्ने अवसर दिने उहाँले बताउनुभयो।

कार्यक्रमका क्रममा श्री आशुतोष गोवारिकरले ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आधिकारिक पुस्तिका पनि सार्वजनिक गर्नुभयो।

यस सञ्चारमाध्यम अन्तरक्रियाले महोत्सवको परिकल्पना र कार्यक्रमका प्राथमिकताहरूबारे जानकारी गराउनुका साथै आईएफएफआईलाई चलचित्र तथा अन्तरसांस्कृतिक आदानप्रदानको अन्तर्राष्ट्रिय मञ्चका रूपमा थप सुदृढ बनाउन सञ्चारमाध्यमको सहभागिता र सामूहिक प्रयासको महत्त्व उजागर गरेको छ।

आईएफएफआई लोइड यहाँ पढ्नुहोस्:      https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341780
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026