राष्ट्रपतिको सचिवालय
azadi ka amrit mahotsav

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको गणतन्त्र दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाममा सम्बोधन


Posted On: 25 JAN 2025 7:17PM by PIB Gangtok

मेरा प्यारा देशवासीहरू,

नमस्कार!

यस ऐतिहासिक अवसरमा तपाईंहरू सबैलाई सम्बोधित गरिरहँदा मलाई धेरै प्रसन्नता भइरहेको छ। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा, म तपाईंहरू सबैलाई हार्दिक बधाई दिन चाहन्छु। आजभन्दा 75 वर्षअघि, 26 जनवरीको दिन नै भारत गणराज्यको आधार ग्रन्थ अर्थात् भारतको संविधान लागू भएको थियो।

लगभग तीन वर्षको विचार-विमर्शपछि, संविधान सभाले 26 नोभेम्बर 1949 को दिन संविधान अङ्गिकृत गरेको थियो। यस उपलक्ष्यमा 26 नोभेम्बरको दिन वर्ष 2015 देखि संविधान दिवसको रूपमा मनाउने गरिन्छ।

गणतन्त्र दिवसको उत्सव, सबै देशवासीका लागि सामूहिक उल्लास र गौरवको विषय हो। कुनै पनि राष्ट्रको इतिहासमा 75 सालको समय, पलक-झपक जस्तै हुन्छ भन्नसकिन्छ। तर मेरो विचारमा, भारतको बितेको 75 वर्षको सन्दर्भमा, यस्तो पटक्कै भन्नसकिँदैन। यो त्यो कालखण्ड हो, जसमा, लामो समयदेखि सुतिरहेको भारतको आत्मा फेरि जागेको छ, र हाम्रो देश विश्व समुदायमा आफ्नो समुचित स्थान प्राप्त गर्नका लागि अग्रसर भएको छ। विश्वको प्राचीनतम सभ्यतामा सामेल भारतलाई ज्ञान र विवेकको उद्गम मानिन्छ। तर भारतले अन्धकारमय कालबाट गुज्रिनु परेको थियो। औपनिवेशिक शासनमा, अमानवीय शोषणका कारण देशमा घोर गरीबी व्याप्त बनेको थियो।

आजको दिन, सबैभन्दा पहिले, हामीले ती शूरवीरहरूलाई याद गर्दछौं, जसले मातृभूमालई विदेशी शासनको बेडीबाट मुक्त गराउनका लागि धेरै ठूलो बलिदान दिएका थिए। तीमध्ये केही स्वतन्त्रता सेनानीका बारेमा मानिसहरूले जान्दछन्, तर धेरैबारे उनीहरूलाई जानकारी थिएन। यस वर्ष, हामीले भगवान बिरसा मुण्डाको 150 औं जयन्ती मनाइरहेका छौं। उनी यस्ता अग्रणी स्वाधीनता सेनीमा सामेल छन्, जसको भूमिकालाई राष्ट्रिय इतिहासको सन्दर्भमा अब समुचित महत्त्व दिन थालिएको छ।

बीसौं शताब्दीको आरम्भिक दसकमा, स्वाधीनता सेनानीहरूका सङ्घर्षले सङ्गठित राष्ट्रव्यापी आन्दोलनको रूप लिएको थियो। देशको सौभाग्य थियो, महात्मा गान्धी, रविन्द्रनाथ ठाकुर र बाबासाहेब अम्बेडकर जस्ता महान विभूतिहरूले हाम्रो देशको लोकतान्त्रिक मूल्यलाई फेरि जीवन्त बनाए। न्याय, स्वतन्त्रता, समता अनि बन्धुत्त्व केवल सैद्धान्तिक अवधारणा होइन्, जसको परिचय हामीले आधुनिक युगमा प्राप्त गरेका हौं। यी जीवन मूल्य त युगौंदेखि हाम्रो सभ्यता र संस्कृतिको अङ्ग रहिआएको छ। नव-स्वाधीन भारतको संविधान र गणराज्यको भविष्यलाई लिएर जुन आलोचकले सन्देह व्यक्त गर्थे, उनीहरूलाई यिनै जीवन मूल्यको बलमा पूर्णरूपले गलत सिद्ध गर्नसकिएको छ।

भारतको गणतान्त्रिक मूल्यको प्रतिबिम्ब हाम्रो संविधान सभाको संरचनामा पनि देख्नसकिन्छ। त्यस सभामा देशको सबै भाग र सबै समुदायको प्रतिनिधित्त्व थियो। सबैभन्दा उल्लेखनीय कुरा के छ भने, संविधान सभामा सरोजिनी नायडु, राजकुमारी अमृत कौर, सुचेता कृपलानी, हंसाबेन मेहता र मालती चौधरी जस्ता 15 असाधारण महिलाहरू पनि सामेल थिए। विश्वको कुनै पनि भागमा जब महिलाहरूको समानतालाई एउटा सुदूर आदर्श मानिन्थ्यो, तब भारतमा महिलाहरूले, राष्ट्रको नियतिलाई आकार दिनमा सक्रिय योगदान दिइरहेका थिए।

हाम्रो संविधान एउटा जीवन्त दस्तावेज यस कारण पनि बन्नसकेको छ, किनभने नागरिकहरूका निष्ठा, युगौंदेखि हाम्रो नैतिकतापरक जीवनदृष्टिको प्रमुख तत्त्व रहिआएको छ। हाम्रो संविधान, भारतवासीहरूका रूपमा, हाम्रो सामूहिक अस्मिताको मूल आधार हो, जसले हामीलाई एक परिवार जस्तै एकताको सूत्रमा बाँध्दछ। विगत 75 वर्षदेखि, संविधानले हाम्रो प्रगतिको मार्ग प्रशस्त गरेको छ। आजकै दिन, हाम्रो संविधान सभाको प्रारूप समितिका अध्यक्ष डा. भीमराव अम्बेडकर, सभाका अन्य प्रतिष्ठित सदस्य, संविधान निर्माणसँग जोडिएका विभिन्न अधिकारी अनि यस्ता अन्य मानिसप्रति आफ्नो कृतज्ञता व्यक्त गर्दछौं, जसका कठिन परिश्रमको फलस्वरूप हामीलाई यो विलक्षण ग्रन्थ प्राप्त भयो।

मेरा प्यारा देशवासीहरू,

संविधान लागू भएपछिको 75 वर्ष, हाम्रो युवा गणतन्त्रको सर्वाङ्गीण प्रगतिको साक्षी रहेको छ। स्वाधीनताको समय र त्यसपछि पनि देशको ठूलो भागमा घोर गरीबी र भोकमरीको स्थिति रहेको थियो। तर हाम्रो आत्मविश्वास कहिले पनि डगमगाएन। हामीले यस्तो परिस्थितिको निर्माण गर्ने सङ्कल्प लियौं, जसमा सबैले विकास गर्ने अवसर पाउनसकोस्। हाम्रा किसान भाइ-बहिनीले कडा मेहनत गरे अनि हाम्रो देशलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाए। हाम्रा मजदुर भाइ-बहिनीले अथक परिश्रम गरी हाम्रो पूर्वाधार अनि विनिर्माण क्षेत्र को कायाकल्प गरिदिए। उनीहरूका शानदार प्रदर्शनको बलमा आज भारतीय अर्थव्यवस्थाले विश्वको आर्थिक परिदृश्यलाई प्रभावित गरिरहेको छ। आजको भारतले, अन्तरराष्ट्रिय मञ्चमा नेतृत्त्वको स्थिति हासिल गरिरहेको छ। संविधानमा निर्धारित रूपरेखाबिना यो व्यापक परिवर्तन सम्भव हुनसक्दैन थियो।

हालैका वर्षमा, आर्थिक विकासको दर लगातार उच्च रहेको छ, जसमा हाम्रा युवाहरूका लागि रोजगारको अवसर सिर्जना भएको छ, किसान अनि मजदुरका हातमा धेरै पैसा आएको छ तथा ठूलो सङ्ख्यामा मानिसहरूलाई गरीबीबाट बाहिर निकालिएको छ। साहसिक अनि दूरदर्शी आर्थिक सुधारका बलमा, आगामी वर्षहरूमा प्रगतिको यो गति कायम रहनेछ। समावेशी विकास, हाम्रो प्रगतिको आधारशिला हो, जसबाट विकासको लाभ व्यापक स्तरमा धेरैभन्दा धेरै देशवासीसम्म पुग्ने गर्दछ।

सरकारद्वारा वित्तीय समावेशनलाई सर्वोच्च प्राथमिकता दिइँदैछ, यसैले प्रधानमन्त्री जनधन योजना, प्रधानमन्त्री जीवन ज्योति बीमा योजना, प्रधानमन्त्री सुरक्षा बीमा योजना, मुद्रा योजना, स्ट्याण्ड अप इण्डिया, अटल पेन्सन योजना जस्ता वित्तीय समर्थन योजनाहरू विस्तार गरिएका छन्, ताकि धेरैभन्दा धेरै मानिससम्म विभिन्न प्रकारका वित्तीय सहायता पुऱ्याउन सकियोस्।

यो पनि एउटा अति नै महत्त्वपूर्ण परिवर्तन हो, सरकारले जनकल्याणलाई नयाँ परिभाषा दिएको छ, जसका अनुसार आवास र पिउने पानी जस्ता बुनियादी आवश्यकतालाई अधिकार मानिएको छ। वञ्चित वर्गका लागि, विशेष रूपमा अनुसूचित जाति, अनुसूचित जनजाति तथा अन्य पछौटेवर्गको सहायताका लागि सबै प्रयास गरिँदैछन्। अनुसूचित जातिका युवाहरूका लागि प्री-मेट्रिक र पोस्ट मेट्रिक छात्रवृत्ति, राष्ट्रिय फेलोशिप, विदेशी छात्रवृत्ति, छात्रावास तथा कोचिङ सुविधा प्रदान गरिँदैछन्। प्रधानमन्त्री अनुसूचित जाति अभ्युदय योजनाद्वारा रोजगार अनि आमदानीको अवसर उत्पन्न गरी अनुसूचित जातिका मानिसहरूको गरीबीलाई तेजीका साथ कम्ति गरिँदैछ। अनुसूचित जनजाति समुदायको सामाजिक एवं आर्थिक विकासका लागि विशेष योजनाहरू बनाइएका छन्, जसमा धरती आबा जनजातीय ग्राम उत्कर्ष अभियान र प्रधानमन्त्री जनजातीय आदिवासी न्याय महा-अभियान “पीएन जनमन” सामेल छन्। विमुक्त, फिरन्ते र अर्ध फिरन्ते समुदायका लागि “विकास एवं कल्याण बोर्ड” गठन गरिएको छ।

विगत एक दसकमा सडक अनि रेल मार्ग, बन्दरगाह अनि प्रचालन केन्द्रसहित भौतिक पूर्वाधारको विकासमाथि बल छ। यसबाट एउटा यस्तो प्रबल आधार विकास भएको छ, जसले आगामी दसकमा विकासलाई सम्बल प्रदान गर्नेछ।

सरकारले वित्तको क्षेत्रमा जुन प्रकारले प्रौद्योगिकीको उपयोग गरिरहेको छ, त्यो एउटा उदाहरण हो। डिजिटल भुक्तानीका विकल्पका साथसाथै प्रत्यक्ष लाभ हस्तान्तरणको प्रणालीले समावेशनलाई बढावा दिएको छ, जसबाट धेरै सङ्ख्यामा मानिसहरूलाई औपचारिक प्रणालीमा सामेल गर्नसकिएको छ। यसका कारण प्रणालीमा अभूतपूर्व पारदर्शिता आएको छ। यस प्रक्रियामा, केही वर्षको अवधिमा हामीले एउटा यस्तो प्रबल डिजिटल सार्वजनिक पूर्वाधार विकसित गरेका छौं, जुन विश्वको श्रेष्ठतम संरचनामध्ये एक रहेको छ।

दिवाला एवं दिवालियापन संहिता जस्ता साहसिक उपायको परिणामस्वरूप ब्याङ्किङ व्यवस्थामा उत्तम स्थिति आएको छ। यसबाट अनुसूचित वाणिज्यिक ब्याङ्कहरूको अनर्जक परिसम्पत्तिमा धेरै कमी आएको छ।

प्यारा देशवासीहरू,

वर्ष 1947 मा हामीले स्वाधीनता प्राप्त गरेका थियौं, तर औपनिवेशिक मानसिकताको कैयौं अवशेष लामो समयसम्म विद्यमान रहेको थियो। हालैको समयमा, त्यस मानसिकतालाई परिवर्तन गर्ने ठोस प्रयास हामीले देखिरहेका छौं। यस्ता प्रयासमा भारतीय दण्ड संहिता, आपराधिक प्रक्रिया संहिता र भारतीय साक्ष्य ऐनका स्थानमा भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता र भारतीय साक्ष्य अधिनियम लागू गर्ने निर्णय सर्वाधिक उल्लेखनीय छ। न्यायशास्त्रको भारतीय परम्परामा आधारित यी नयाँ अधिनियमद्वारा दण्डका स्थानमा न्याय प्रदान गर्ने भावनालाई आपराधिक न्याय प्रणालीको केन्द्रमा राखिएका छन्। यसका अतिरिक्त, यी नयाँ कानूनहरूमा महिला अनि बालकहरूका विरुद्ध अपराध नियन्त्रित गर्न सर्वोच्च प्राथमिकता दिइएको छ।

यति व्यापक परिमाणमा सुधारका लागि साहसिक दूरदर्शिता आवश्यक हुन्छ। देशमा चुनाउहरूलाई एक साथ सम्पन्न गराउनका लागि संसदमा पेश गरिएको विधेयक, एउटा अर्को यस्तै प्रयास हो, जसद्वारा सुशासनलाई नयाँ आयाम दिनसकिनेछ। “एक राष्ट्र एक चुनाउ”को व्यवस्थाद्वारा शासनमा निरन्तरताले बढावा पाउन सक्नेछ, नीति निर्धारणसँग जोडिएको निष्क्रियता समाप्त गर्नसकिनेछ, संसाधन अन्यत्र खर्च हुने सम्भावना घटाउन सकिनेछ तथा वित्तीय भार कम्ति गर्नसकिनेछ। यसका अतिरिक्त, जनहितमा अनेकौं अन्य लाभ पनि हुनसक्नेछ।

हाम्रो सांस्कृतिक विरासतका साथ हाम्रो सम्बद्धता अझ गहिरो भएको छ। यस समय आयोजित भइरहेको प्रयागराज महाकुम्भलाई त्यस समृद्ध विरासतको प्रभावी अभिव्यक्तिका रूपमा हेर्नसकिन्छ। हाम्रा परम्परा अनि रीति-रिवाजलाई संरक्षित गर्न तथा त्यसमा नयाँ ऊर्जा सञ्चारित गर्नका लागि संस्कृतिको क्षेत्रमा अनेकौं उत्साहजनक प्रयास गरिँदैछन्।

भारत भूमि महान भाषिक विविधताले समृद्ध छ। यस समृद्धिलाई संरक्षित गर्न तथा यस परम्परालाई अघि बढाउनका लागि सरकारले आसमी, बङ्गाली, मराठी, पालि र प्राकृतलाई शास्त्रीय भाषाका रूपमा मान्यता प्रदान गरेको छ। तमिल, संस्कृत, तेलेगु, कन्नड, मलयालम र ओडिया भाषा अघिबाटै यस श्रेणीमा सामेल छन्। सरकारले अब यी 11 शास्त्रीय भाषामा शोध कार्यलाई सक्रिय रूपमा बढावा दिइरहेको छ।

गुजरातको वडनगरमा भारतको प्रथम पुरातात्त्विक अनुभवजन्य सङ्ग्रहालय को काम पूरा हुन लागिरहेको कुराले मलाई धेरै प्रसन्नता भएको छ। यो सङ्ग्रहालय एउटा पुरातात्त्विक स्थलसँग जोडिएको छ। यस स्थलमा करिब 800 वर्ष इसापूर्व मानव बस्ती रहेको साक्ष्य पाइएको छ। यस सङ्ग्रहालयमा विभिन्न युगका, अलग-अलग प्रकारका कला, शिल्प अनि सांस्कृतिक सामग्री प्रदर्शित गरिनेछन्।

मेरा प्यारा देशवासीहरू,

आजका हाम्रा युवा पिँढीले, भोलिको भारत निर्माण गर्नेछ। हाम्रा युवा पिँढीको प्रतिभा शिक्षाद्वारा निखारिनेछ। यसै कारण सरकारले शिक्षाको क्षेत्रमा निवेशलाई बढाएको छ तथा शिक्षासित सम्बन्धित प्रत्येक मानकमा सुधारका लागि समग्र प्रयास गरेको छ। अहिलेसम्मको परिणाम उत्साहवर्धक रहेको छ। बितेको दसमा, शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार तथा डिजिटल समावेशनका आयामहरूमा व्यापक परिवर्तन आएका छन्। शिक्षाका विभिन्न स्तरमा शिक्षम माध्यमका रूपमा, क्षेत्रीय भाषाहरूलाई बढावा दिइँदैछ। विद्यार्थीहरूका प्रदर्शनमा आशा अनुरूप उल्लेखनीय सुधार आएको छ। महिला शिक्षकहरूले यस परिवर्तनमा मुख्य भूमिका खेलिरहेको जान्न पाउँदा मलाई धेरै खुशी लागेको छ। बितेको दसकमा नियुक्त शिक्षकहरूमा महिलाहरूको भागीदारी 60 प्रतिशतभन्दा धेरै रहेको छ।

व्यावसायिक शिक्षा र कौशल विकासको विस्तार तथा यसलाई मुख्यधारामा सामेल गर्नु स्वागतयोग्य उपलब्धि हो। यस प्रक्रियालाई अघि बढाउँदै अब हाम्रा युवाहरूलाई योजनाबद्ध तरिकाले करपोरेट क्षेत्रमा इन्टर्नशिपको अवसर प्रदान गरिँदैछ।

स्कूल स्तरको शिक्षाको आधार बलियो बनाउनका साथसाथै हाम्रो देशमा विद्या आर्जनका विभिन्न शाखा, विशेष रूपमा विज्ञान अनि प्रौद्योगिकीको क्षेत्रमा नयाँ उँचाई हासिल गरिँदैछ। बौद्धिक सम्पदा दर्ताको दृष्टिले भारत विश्को छैटौं स्थानमा छ। वैश्विक नवाचार सूचीमा भारतको स्थान लगातार उत्कृष्ट भइरहेको छ। वर्ष 2020 मा भारत 48 औं स्थानमा थियो। स्थितिमा सुधार गर्दै, वर्ष 2024 मा भारत 39 औं स्थानमा पुग्यो।

बढ्दो आत्मविश्वासका साथ, हामीले अनेकौं प्रयासको बलमा अत्याधुनिक अनुसन्धानमा आफ्नो भागीदारी बढाइरहेका छौं। राष्ट्रिय क्वान्टम मिशनको उद्देश्य प्रौद्योगिकीको यस नयाँ क्षेत्रमा एउटा जीवन्त अनि नवीन ईकोसिस्टम विकसित गर्नु हो। एउटा अन्य उल्लेखनीय शुरुवात नेशनल मिशन अन इन्टर-डिसिप्लिनरी साइबर फिजिकल सिस्टमसित सम्बन्धित छ। यस अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स, मशिन लर्निङ, रोबोटिक्स र साइबर सिक्युरिटी जस्ता अनेकौं उन्नत प्रौद्योगिकीमा काम गर्ने योजना छ। यी प्रौद्योगिकीलाई केही समयअघिसम्म भविष्यगामी मानिन्थ्यो, तर अब यो तेजीका साथ हाम्रो दैनिक जीवनको अंश बनिरहेका छन्।

जिनोम इण्डिया प्रोजेक्ट प्रकृतिको रहस्यको खोज गर्ने एउटा रोचक अभियान त हो नै, यो भारतीय विज्ञानको इतिहासमा एउटा निर्णायक अध्याय पनि हो। यसको प्रमुख कार्यक्रम अन्तर्गत यसै महिना 10 हजार भारतीयको जिनोम सिक्वेन्सिङलाई अनुसन्धानको निम्ति उपलब्ध गराइयो। ज्ञानका आयामहरू खोल्ने यस परियोजनाले जैव प्रविधि अनुसन्धानमा नयाँ मार्ग प्रशस्त गर्नका साथै सार्वजनिक स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउनेछ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले हालैका वर्षमा अन्तरिक्ष विज्ञानको क्षेत्रमा धेरै ठूलो उपलब्धि हासिल गरेको छ। यसै महिना इसरोले आफ्नो सफल स्पेस डकिङ प्रयोगद्वारा देशलाई एकपटक फेरि गौरवान्वित बनायो। भारत अब विश्वको चौथो देश बनेको छ, जोसँग यो क्षमता उपलब्ध छ।

एक राष्ट्रका रूपमा, हाम्रो बढ्दो आत्मविश्वास खेलको क्षेत्रमा पनि देखिन थालेको छ। हाम्रा खेलाडीहरूले सफलताको प्रभावशाली अध्याय रचेका छन्। गत वर्ष, हाम्रा खेलाडीहरूले ओलम्पिक खेलमा राम्रो प्रदर्शन गरे। प्यारालिम्पिक खेलमा हामीले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो दल पठायौं, जसले अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन गऱ्यो। एफआइडीई शतरञ्ज ओलम्पियाडमा हाम्रा खेलाडीहरूले विश्व समुदायलाई आफ्नो प्रदर्शनद्वारा प्रभावित गरे तथा पुरुष अनि महिला खेलाडीहरूले स्वर्ण पदक जीते। वर्ष 2024 मा डी गुकेशले अहिलेसम्मकै सबैभन्दा कम उमेरको विश्व च्याम्पियन बनी इतिहास रचे।

देशभरी धरातल स्तरमा प्रशिक्षण सुविधाहरूमा धेरै सुधार ल्याइएको छ र यसका बलमा हाम्रा खेलाडीहरू विजयी बनी हामीलाई गौरवान्वित गरेका छन्। यसका साथै उनीहरूले भावी पिँढीलाई पनि अझ उच्च लक्ष्य प्राप्त गर्नका लागि प्रेरित गरेका छन्।

विदेशतिर बसोबासो गर्ने हाम्रा भाइ-बहिनीहरूले हाम्रो संस्कृति र सभ्यताको सबैभन्दा उज्ज्वल पक्षलाई विश्वको विभिन्न भागसम्म पुऱ्याएका छन् र अनेकौं क्षेत्रमा आफ्नो उपलब्धिद्वारा हामीलाई गौरवान्वित बनाएका छन्। उनीहरूले नित्य रूपमा स्वयंलाई भारतको गौरव-गाथासँग जोडेर राखेका छन्। जस्तै मैले, यसै महिना प्रवासी भारतीय दिवसको अवसरमा भनेको थिए, वर्ष 2047 सम्म विकसित भारतको निर्माणमा प्रवासी भारतीयहरूको सक्रिय अनि उत्साहपूर्ण भागीदारीमाथि मलाई पूरा भरोसा छ।

प्यारा देशवासीहरू,

विभिन्न क्षेत्रमा महत्त्वपूर्ण अनि उल्लेखनीय प्रगतिको बलमा हामीले आफ्नो शिर उच्च गरी भविष्यतर्फ कदम बढाइरहेका छौं। हाम्रा युवा, विशेष गरी हाम्रा छोरीहरूले देशको उज्ज्वल भविष्य निर्माण गर्नेछन्। जब हामी आफ्नो स्वतन्त्रताको शताब्दी मनाइरहेका हुनेछौं, तब भारतको उज्ज्वल भविष्यले हाम्रा युवाहरूको सपनामा आकार लिइरहेको हुनेछ। र जब आजका बालकहरूले वर्ष 2050 को 26 जनवरीका दिन राष्ट्रध्वजलाई सलामी दिइरहेका हुनेछन्, तब उनीहरूले आफ्ना भावी पिँढीलाई हाम्रो देशको गौरव गाथा, हाम्रो अतुलनीय संविधानबाट प्राप्त मार्गदर्शनबिना सम्भव नहुने बताइरहेका हुनेछन्।

हाम्रा भावी पिँढीले विश्व पटलमा स्वाधीन भारतका आदर्शहरूलाई चरितार्थ गर्नेछन्। म राष्ट्रपिता महात्मा गान्धीको सन्देशलाई उल्लेख गर्न चाहन्छु। बापू भन्ने गर्थे, “यदि स्वराज्यको अभिप्राय हामीलाई सभ्य बनाउनु र हाम्रो सभ्यतालाई शुद्ध अनि स्थायी बनाउनु होइन भने, यसको कुनै मूल्य छैन। हाम्रो सभ्यताको सार के छ भने आफ्नो सबै मामिलामा, चाहे त्यो राजनीतिक होस् वा निजी, नैतिकतालाई सर्वोत्तम स्थान दिनुपर्नेछ।”

आउनुहोस्, आजकै दिन हामी गान्धीजीको सपनालाई साकार बनाउनका लागि, आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याऊँ। सत्य अनि अहिंसाको उनका आदर्श विश्व समुदायका लागि प्रासाङ्गिक बनिरहनेछ। उनले हामीलाई के पनि पाठ सिकाएका छन् भने, अधिकार र कर्तव्य एउटै सिक्काको दुई पाटा हुन्। साँचो कुरा के हो भने कर्तव्य नै अधिकारको वास्तविक स्रोत हो। सबैप्रति करुणाका बारेमा उनको शिक्षालाई पनि हामीले याद गर्नुपर्नेछ। उनी भन्ने गर्थे, हामीले कवल मनुष्यप्रति नभएर आफ्नो वरिपरीका पशु-पक्षी, रुख-पात, नदी अनि पाहाडप्रति पनि संवेदनाको भावना राख्नुपर्नेछ।

हामी सबैको कर्तव्य हो, जलवायु परिवर्तनको वैश्विक सङ्कटको सामना गर्ने प्रयासमा आफ्नो योगदान अवश्य रूपमा दिनुपर्नेछ। यस सन्दर्भमा दुई अनुकरणीय प्रयास गरिएका छन्। विश्व स्तरमा भारतले मिशन लाइफस्टाइल फर एन्भाइरनमेन्ट नामक एउटा जन-आन्दोलनको नेतृत्त्व गरिरहेको छ। यसको उद्देश्य पर्यावरणको संरक्षण र संवर्धनमा व्यक्ति अनि समुदायलाई बढी सक्रिय हुनका लागि प्रेरित गर्नु हो। गत वर्ष विश्व पर्यावरण दिवसको अवसरमा हामीले आफ्नो मातृशक्तिका साथसाथै जीवनदायिनी प्रकृतिको पोषण शक्तिप्रति सम्मान व्यक्त गर्दै “एउटा रुख आमाको नाम”को सन्देशका साथ एउटा अनौठो अभियान शुरु गऱ्यौं। यस अभियानको 80 करोड बिरुवा रोप्ने लक्ष्य समय सीमाभन्दा अघि नै पूरा गरियो। विश्व समुदायले यस्ता अभिनव प्रयासबाट पाठ सिक्न सक्नेछ। मानिसहरूले यस्ता प्रयासलाई स्वयंको आन्दोलनका रूपमा अपनाउन सक्नेछन्।

प्यारा देशवासीहरू,

म एकपटक फेरि, तपाईंहरू सबैलाई गणतन्त्र दिवसको बधाई दिन चाहन्छु। देशको सीमाको रक्षा गर्ने हाम्रा सैनिकका साथसाथै सीमाभित्र देशलाई सुरक्षित राख्ने पुलिस अनि अर्धसैनिक बलका जवानहरूलाई पनि बधाई दिन चाहन्छु। न्यायपालिका, लोकसेवा तथा विदेशमा हाम्रा मिशनका सदस्यहरूलाई पनि मेरो बधाई! मेरो शुभकामना छ, तपाईंहरूले आफ्नो प्रयासमा सफलता हासिल गर्नुहोस्।

धन्यवाद!

जय हिन्द!

जय भारत!


(Release ID: 2096888) Visitor Counter : 12