प्रधानमन्त्रीको कार्यालय
राष्ट्रिय रोजगार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री
विभिन्न सरकारी विभाग र संस्थामा भर्ना भएका लगभग 70,000 नियुक्ति पत्र वितरण
“सम्पूर्ण विश्व आज भारतको विकास यात्रामा साझेदार हुन उत्सुक छ”
“आज भारत आफ्नो राजनीतिक स्थिरताको लागि परिचित छ जसको अर्थ आजको संसारमा धेरै छ। आज भारत सरकार एक निर्णायक सरकारको रूपमा मान्यता प्राप्त छ। आज सरकार प्रगतिशील आर्थिक र सामाजिक निर्णयका लागि परिचित छ।”
“सरकारी योजनाहरूले नागरिकको हितमा बहुमुखी प्रभाव पार्छ”
“रोजगारीका लागि ‘रेट कार्ड’ दिने दिनहरू बिते, वर्तमान सरकार युवाको भविष्य ‘सुरक्षा’मा केन्द्रित छ”
“भाषाको दुरुपयोग गरेर विभाजन गरियो अब सरकारले भाषालाई रोजगारीको बलियो माध्यम बनाइरहेको छ”
“अहिले सरकार आफ्नो सेवा लिएर नागरिकको घरदैलोसम्म पुगिरहेको छ”
Posted On:
13 JUN 2023 11:52AM by PIB Gangtok
प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भिडियो कन्फ्रेन्समार्फत राष्ट्रिय रोजगार मेलालाई सम्बोधन गर्दै विभिन्न सरकारी विभाग र सङ्गठनहरूमा भर्ना भएका नवभर्तीहरूलाई लगभग 70,000 नियुक्ति पत्र वितरण गरे। देशभरिबाट छनोट भएका कर्मचारीहरू आर्थिक सेवा विभाग, हुलाक विभाग, विद्यालय शिक्षा विभाग, उच्च शिक्षा विभाग, रक्षा मन्त्रालय, राजस्व विभाग, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, परमाणु ऊर्जा विभाग, रेलवे मन्त्रालय, लेखा परीक्षा र लेखा विभाग, परमाणु ऊर्जा विभाग र गृह मन्त्रालय लगायत अन्य विभिन्न विभागमा सरकारमा भर्ना हुनेछन्। प्रधानमन्त्रीको सम्बोधनको क्रममा देशका 43 स्थानका मेलासँग जोड़िएका थिए।
भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आज 70,000 भन्दा अधिक व्यक्तिलाई भर्ना पत्र हस्तान्तरण भएकाले राष्ट्रिय रोजगार मेला वर्तमान सरकारको नयाँ पहिचान बनेको टिप्पणी गरे। उनले भाजपा र एनडीए शासित राज्यहरूले पनि नियमित रूपमा यस्तै रोजगार मेलाहरू आयोजना गरिरहेकोमा खुशी व्यक्त गरे। आजादी का अमृत काल भर्खरै शुरु भएको उल्लेख गर्दै श्री मोदीले यो सरकारी सेवामा सामेल हुनेहरूका लागि धेरै महत्त्वपूर्ण क्षण हो किनभने उनीहरूसँग आगामी 25 वर्षमा भारतलाई विकसित देश बनाउन योगदान गर्ने अवसर रहेको बताए। “वर्तमानसँगै देशको भविष्यका लागि सबै त्याग गर्नुपर्छ”, प्रधानमन्त्रीले भने। श्री मोदीले यस अवसरमा भर्ना भएका नयाँ भर्ती र उनीहरूका परिवारका सदस्यहरूलाई बधाई दिए।
प्रधानमन्त्रीले अर्थतन्त्रमा रोजगारी र स्वरोजगारका उदीयमान अवसरका बारेमा कुरा गरे। उनले मुद्रा योजना, स्टार्टअप इण्डिया, स्ट्याण्ड अप इण्डिया जस्ता उपायहरूबारे उल्लेख गरे। अहिले यी युवाहरू रोजगारी सिर्जना गर्न थालेको उनको भनाइ छ। प्रधानमन्त्रीले युवालाई सरकारी रोजगारी दिने अभियान अभूतपूर्व भएको बताए। “एसएससी, यूपीएससी र आरआरबी जस्ता संस्थाहरूले नयाँ प्रणालीसँग थप रोजगारहरू प्रदान गर्दैछन्। भर्ना प्रक्रियालाई सरल, पारदर्शी र सहज बनाउन यी संस्थाहरू केन्द्रित छन्। उनीहरूले भर्नाको समय चक्रलाई 1-2 वर्षबाट घटाएर केही महिनामा पुर्याएका छन्”, उनले भने।
“आजको विकास यात्रामा भारतसँग साझेदार हुन सारा विश्व उत्सुक छ”, प्रधानमन्त्रीले भारत र यसको अर्थतन्त्रमा विश्वको विश्वासलाई उजागर गर्दै टिप्पणी गरे। आर्थिक मन्दी, विश्वव्यापी महामारी र जारी युद्धका कारण आपूर्ति शृङ्खलामा आएको अवरोध लगायतका आजका चुनौतीहरूलाई औंल्याउदै प्रधानमन्त्रीले भारतले आफ्नो अर्थतन्त्रलाई नयाँ उँचाइमा पुर्याइरहेको बताए। प्रधानमन्त्रीले उत्पादन र देशको बढ्दो विदेशी मुद्रा सञ्चितिका लागि भारतमा विभिन्न बहुराष्ट्रिय कम्पनीले प्रवेश गरेको उदाहरण दिए। श्री मोदीले देशमा गरिएको विदेशी लगानीले उत्पादन, विस्तार र नयाँ उद्योगहरूको स्थापनालाई बढ़ावा दिने र निर्यातलाई प्रोत्साहन दिन्छ, जसले धेरै द्रुत गतिमा रोजगारीका अवसरहरूलाई बढ़ावा दिएको बताए। निजी क्षेत्रमा लाखौँ रोजगारीको अवसर सिर्जना गरेको वर्तमान सरकारको नीतिलाई उजागर गर्दै प्रधानमन्त्रीले देशको कुल गार्हस्थ्य उत्पादनमा 6.5 प्रतिशतभन्दा अधिक योगदान गरेको अटोमोबाइल क्षेत्रको उदाहरण दिए। उनले विभिन्न देशमा यात्रुवाहक सवारी, व्यावसायिक सवारी र तीनचक्के सवारी साधनको बढ्दो निर्यातबाट भारतमा अटोमोटिभ उद्योगको वृद्धि हुन सक्ने बताए। उनले 10 वर्षअघि 5 लाख करोड़को अटोमोटिभ उद्योग आज 12 लाख करोड़भन्दा अधिकमा रहेको जानकारी दिए। “भारतमा विद्युतीय गतिशीलताको विस्तार पनि भइरहेको छ। पीएलआई योजनाले अटोमोटिभ उद्योगलाई पनि मद्दत गरिरहेको छ”, श्री मोदीले जोड दिँदै त्यस्ता क्षेत्रहरूले भारतमा लाखौँ युवाहरूको लागि धेरै रोजगारीका अवसर सिर्जना गरिरहेको पनि बताए।
प्रधानमन्त्रीले एक दशकअघिको तुलनामा भारत अझ स्थिर, सुरक्षित तथा बलियो देश भएको विषयमा जोड़ दिए। उनले विगतमा ठगी र जनताको दुरुपयोग सुशासनको विशेषता भएको समयको स्मरण गरे। “आज भारत आफ्नो राजनीतिक स्थिरताको लागि परिचित छ जसको अर्थ आजको संसारमा धेरै छ। आज भारत सरकारले एक निर्णायक सरकारको रूपमा मान्यता प्राप्त गरेको छ। आज सरकार प्रगतिशील आर्थिक तथा सामाजिक निर्णयका लागि परिचित छ,” उनले भने। विश्वव्यापी एजेन्सीहरूले जीवनको सहजता, पूर्वाधार निर्माण र व्यवसाय गर्न सजिलोमा कामलाई स्वीकार गरिरहेका छन्।
भारतले आफ्नो भौतिक तथा सामाजिक पूर्वाधारमा ठूलो लगानी गरेको उनले दोहोर्याए। सामाजिक पूर्वाधारको कुरा गर्दै प्रधानमन्त्रीले जलजीवन मिशनमार्फत सुरक्षित खानेपानीको उपलब्धता सुनिश्चित गरेको उदाहरण दिए। उनले जल जीवन मिशनमा करिब चार लाख करोड़ रुपियाँ खर्च भएको जानकारी दिए। स्थापनाकालदेखि नै औसतमा 100 मध्ये 15 वटा ग्रामीण बस्तीमा पाइपबाट खानेपानीको सुविधा रहेको थियो, अहिले यो सङ्ख्या बढ़ेर प्रत्येक 100 घरधुरीमा 62 पुगेको छ। अनि यो काम तीव्र गतिमा भइरहेको छ। प्रत्येक घरको लागि पाइपबाट पानीको पूर्ण कभरेज भएका 130 जिल्लाहरू छन्। यसले समयको बचत र धेरै पानीजन्य रोगहरूबाट मुक्तिको परिणाम दिन्छ। अध्ययनले सफा पानीले झण्डै 4 लाख झाड़ापखालाबाट हुने मृत्युलाई रोकेको र पानी व्यवस्थापन तथा रोगको उपचारमा खर्च भएको 8 लाख करोड़ रुपियाँको आर्थिक बचत गरेको देखाएको छ। उनले उम्मेदवारलाई सरकारी योजनाहरूको गुणात्मक प्रभाव बुझ्न आग्रह गरे।
श्री मोदीले भर्ती प्रक्रियामा वंशवादको राजनीति र नातावादको खराबीको बारेमा कुरा गरे। प्रधानमन्त्रीले एउटा राज्यमा पर्दाफास भएको ‘नगद रोजगार घोटाला’ को मुद्दामाथि प्रकाश पार्दै युवाहरूलाई यस्तो प्रणालीको बारेमा चेताउनी दिए। रेस्टुरेन्टमा मेनु कार्डको जस्तै प्रत्येक नोकरी पोस्टिङका लागि कसरी दर कार्ड तयार गरिएको थियो भन्ने कुरा बाहिर आएको विवरणमाथि पनि उनले प्रकाश पारे। उनले तत्कालीन रेलमन्त्रीले नोकरीको बदलामा जमिन अधिग्रहण गरेको ‘नोकरीका लागि जमिन घोटाला’ भएको पनि प्रकाश पार्दै उक्त मुद्दाको सीबीआईबाट अनुसन्धान भइरहेको र अदालतमा विचाराधीन रहेको टिप्पणी गरे। प्रधानमन्त्रीले वंशवादको राजनीति गर्ने र रोजगारीको नाममा देशका युवालाई लुट्ने राजनीतिक दलबारे युवालाई सचेत गराए। “एकातिर रोजगारीका लागि रेट कार्ड दिने राजनीतिक दलहरू छन् भने अर्कोतिर युवाको भविष्य जोगाउने वर्तमान सरकार छ। अब युवाको भविष्य रेट कार्डले चलाउने हो कि सुरक्षा गार्डले गर्ने भन्ने देशले निर्णय गर्छ,” प्रधानमन्त्रीले भने।
सरकारले भाषालाई रोजगारीको सशक्त माध्यम बनाएको बेला अन्य राजनीतिक दलले भाषाको नाममा जनतालाई विभाजित गर्न खोजेको प्रधानमन्त्रीले बताए। मातृभाषामा भर्ना परीक्षामा जोड़ दिँदा युवालाई फाइदा पुगेको उनले बताए।
आजको द्रुत गतिमा रहेको भारतमा सरकारी प्रणाली र सरकारी कर्मचारीको काम गर्ने तरिका द्रुत गतिमा परिवर्तन भइरहेको प्रधानमन्त्रीले बल दिए। उनले देशका आम नागरिक सरकारी कार्यालयमा जाने समयको स्मरण गर्दै यद्यपि आज सरकार स्वयं जनताको घरदैलोसम्म सेवा पुर्याएर नागरिकको घरमा पुगिरहेको बताए। सरकारी कार्यालय र विभागले जनताप्रति संवेदनशील भएर काम गर्ने क्षेत्रका जनताको अपेक्षा र आवश्यकता बुझेर काम भइरहेको उनले बताए। श्री मोदीले मोबाइल एप्समार्फत डिजिटल सेवाहरूको उदाहरण दिए जसले सरकारी सुविधाहरू प्राप्त गर्न सजिलो बनाएको छ र सार्वजनिक गुनासो प्रणाली जुन निरन्तर सुदृढ भइरहेको छ।
सम्बोधनको समापन गर्दै प्रधानमन्त्रीले भर्नाकर्ताले देशका नागरिकप्रति पूर्ण संवेदनशीलताका साथ काम गर्नुपर्ने बताए। “तपाईंहरूले यी सुधारलाई अझ अगाडि लैजानुपर्छ। अनि यी सबैसँगै तपाईंहरूले सधैं आफ्नो सिक्ने प्रवृत्ति कायम राख्नुपर्नेछ”, श्री मोदीले भने। उनले अनलाइन पोर्टल आईजीओटीलाई पनि स्पर्श गरे, जसले भर्खरै प्रयोगकर्ता आधारमा 1 मिलियनको आँकड़ालाई पार गरेको जनाउँदै उनीहरूलाई अनलाइन पोर्टलमा उपलब्ध पाठ्यक्रमहरूको पूरा फाइदा लिन आग्रह गरे। अमृत कालको “आगामी 25 वर्षको यात्रामा हामी मिलेर विकसित भारतको परिकल्पनालाई साकार पार्न अगाडि बढौँ”, भनेर प्रधानमन्त्रीले आफ्नो सम्बोधन समाप्त गरे।
पृष्ठभूमि
रोजगार मेला रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धतालाई पूरा गर्ने पाइला हो। रोजगार मेलाले युवाहरूलाई सशक्तिकरण तथा राष्ट्रिय विकासमा सहभागिताका लागि सार्थक अवसर प्रदान गर्न र रोजगारी सृजना गर्न उत्प्रेरकको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
भर्खरै नियुक्त भएकाहरूले आईजीओटी कर्मयोगी पोर्टलमा रहेको अनलाइन मोड्युल कर्मयोगी प्रारम्भमार्फत आफूलाई तालिम दिने अवसर पनि पाइरहेका छन्, जहाँ 400 भन्दा बढी ई-शिक्षा पाठ्यक्रमहरू ‘कहीँ पनि कुनै पनि उपकरण’ शिक्षण ढाँचामा उपलब्ध गराइएको छ।
*****
(Release ID: 1932059)
Visitor Counter : 94
Read this release in:
Bengali
,
Khasi
,
English
,
Urdu
,
Marathi
,
Hindi
,
Manipuri
,
Assamese
,
Punjabi
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam