57th International Film Festival of India 2026
20 – 28 Nov 2026

कारावासबाट मुक्त हुने मानिसहरूले आफ्नो जीवन पुनर्निर्माण गर्न दोस्रो अवसर पाउनुपर्छ: ५७ औँ आईएफएफआईमा 'न्यु होम' का निर्देशक निकिता ग्रुसिन


चलचित्रले सांस्कृतिक समझदारी र सहकार्यमार्फत भारत-रुस सम्बन्धलाई बलियो बनाउन सक्छ: निर्देशक निकिता ग्रुसिन

पोस्ट गरियो: 22 NOV 2026 2:14PMby PIB Gangtokरिलिज आईडी: 2341471Views: 8

गोवा, २२ नोभेम्बर २०२६:

वर्षौंसम्म कारावास जीवन बिताएर समाजमा फर्कने मानिसहरूले आफ्नो जीवन पुनर्निर्माण गर्न र विगतको बोझबाट बाहिर निस्कन प्रायः बेवास्ता गरिएको संघर्षको सामना गर्नुपर्छ भनी 'न्यु होम' का निर्देशक तथा रुसी चलचित्रकर्मी श्री निकिता ग्रुसिनले गोवामा आयोजित ५७ औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को पत्रकार सम्मेलनमा बताएका छन्। आईएफएफ २०२६ मा विश्व प्रिमियर भइरहेको १०१ मिनट लामो यो रुसी भाषाको चलचित्र महोत्सवमा रुसलाई साझेदार राष्ट्रका रूपमा सम्मान गर्न आयोजित विशेष प्रदर्शनीको एउटा भाग हो।

आफ्नो चलचित्रको प्रेरणाबारे व्याख्या गर्दै श्री ग्रुसिन कारावास जीवनपछि पुनर्स्थापना प्रक्रियामा रहेका मानिसहरूसँगको अन्तरक्रियाले आफूलाई उनीहरूले समाजमा पुनः घुलमिल हुन सामना गर्नुपर्ने कठिनाइहरूबारे सचेत गराएको बताए। यस्ता अनुभवहरूले पर्याप्त ध्यान नपाएको महसुस गर्दै उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत कथानक चलचित्रमार्फत उनीहरूका कथाहरूलाई बृहत् दर्शकमाझ पुर्‍याउन चाहेको उल्लेख गरे। यस चलचित्रले कारावासपछि आफ्नो जीवन पुनर्निर्माण गर्न र जीवनको अर्थ खोज्न प्रयासरत महिला तथा पुरुष दुवैको संघर्षलाई उजागर गरेको छ।

श्री ग्रुसिनद्वारा लिखित तथा निर्देशित चलचित्र न्यु होम (नोभी दोम)- ले सात वर्षको जेल जीवनपछि बिना पैसा, परिवार वा जीवनको स्पष्ट दिशाबिना रिहा भएकी अन्ना नामकी एक महिलाको कथालाई दर्शाएको छ। सामाजिक सेवाको सहयोगमा उनले रोजगारी, वासस्थान र एउटा सहयोगी समूह फेला पार्छिन्, जहाँ उनको भेट रोमनसँग हुन्छ। रोमनको सहयोगमा बिस्तारै आफ्नो जीवन पुनर्निर्माण गर्ने प्रयास गर्दै गर्दा, अन्नाले आफ्नो भविष्य निर्धारण गर्न सक्ने एउटा कठिन निर्णय लिनुअघि आफ्नो विगत र आन्तरिक संघर्षहरूको सामना गर्नुपर्ने हुन्छ। यस चलचित्रले पश्चात्ताप, क्षमा, पुनर्स्थापना र दोस्रो अवसरको सम्भावना जस्ता विषय वस्तुहरूलाई उजागर गरेको छ।

मुख्य पात्रको विकासबारे बोल्दै श्री ग्रुसिनले अन्नाको चरित्र कुनै एक विशेष व्यक्तिमा आधारित नरहेको स्पष्ट पारे। बरु, यस्तै परिस्थितिको सामना गरेका र आफ्नो जीवन पुनर्निर्माण गर्ने प्रयासमा रहेका धेरै मानिसहरूसँगको कुराकानीबाट उनले प्रेरणा लिएका थिए। जीवनका यिनै वास्तविक अवलोकनहरूले कथाको आधार तयार पारे, जसलाई उनले आफ्नै लेखन र सिर्जनात्मक प्रस्तुतिमार्फत विकास गरे।

चलचित्रको मुख्य सन्देशबारे विचार व्यक्त गर्दै निर्देशकले कारावासबाट मुक्त हुने मानिसहरूले सामना गर्ने चुनौतीहरू कुनै एउटा देश वा समाजमामात्र सीमित नरहेको बताए। आफ्नो सजाय पूरा गरिसकेपछि पनि धेरैले गहिरो पश्चात्तापको भावना बोकेर हिँडिरहन्छन्, जसले उनीहरूको निर्णयलाई प्रभाव पार्छ र अघि बढ्नबाट रोक्ने गर्छ। अन्नाको यात्रामार्फत उनले व्यक्तिहरूले कसरी यस भावनात्मक बोझको सामना गर्छन् र नयाँ शुरूवात गर्ने साहस जुटाउँछन् भन्ने कुरालाई उजागर गर्ने प्रयास गरेका छन्।

पत्रकार सम्मेलनमा निर्देशकसँगै सहभागी भएकी छाँयाकार सुश्री एकातेरिना स्मोलिनाले उनीहरूबिचको सिर्जनात्मक साझेदारीबारे जानकारी दिइन्। फिल्म स्कूलदेखिको आफ्नो सहकार्यको स्मरण गर्दै उनले यसअघि पनि आफूहरूले तीनवटा लघु चलचित्रमा सँगै काम गरिसकेको बताइन्। उनीहरूको लामो समयदेखिको मित्रता र एकअर्काको काम गर्ने शैलीप्रतिको परिचितताले सेटमा स्वाभाविक समझदारी कायम गर्न मद्दत गर्‍यो, जसले सिर्जनात्मक प्रक्रियालाई सहज र फलदायी बनायो।

छायाँकन क्षेत्रमा प्रवेश गर्ने महिलाहरूले सामना गर्नुपर्ने चुनौतीहरूबारे सोधिएको प्रश्नमा सुश्री स्मोलिनाले प्रारम्भिक दिनहरूमा आफूले पनि डर र अनिश्चितता अनुभव गरेको स्मरण गरिन्। यद्यपी, उनले बिस्तारै यस्ता आशंकाहरूलाई जितेको बताउँदै इच्छुक महिला छायाँकारहरूलाई शुरूवाती डरले पछि हट्नुको सट्टा आत्मविश्वास र दृढ़ संकल्पका साथ यस पेसामा अघि बढ्न प्रोत्साहित गरिन्।

भारतीय रूसी चलचित्र क्षेत्रबीच अझ बृहत् सहकार्यका अवसरहरूबारे बोल्दै श्री ग्रुसिनले लामो समयदेखि दुई देश माझको चलचित्र सम्बन्धको सम्झना गरे। भारतीय चलचित्रहरूले सोभियत संघमा अत्यधिक लोकप्रियता हासिल गरेको र रूसी दर्शकहरूको हृदयमा अझै पनि विशेष स्थान ओगटिरहेको उनले उल्लेख गरे।

भविष्यमा भारत-रुस चलचित्र साझेदारीको सम्भावनाप्रति आशावादी विचार व्यक्त गर्दै श्री ग्रुसिनले सहकार्य केवल आर्थिक लगानी र प्राविधिक आदान प्रदानमा मात्र सीमित रहन नहुने कुरामा जोड़ दिए। सांस्कृतिक संलग्नता र दुवै देशका जनताबिचको सम्बन्धलाई उजागर गर्ने कथाहरूले अझ बलियो सिर्जनात्मक साझेदारीका लागि अर्थपूर्ण आधार प्रदान गर्नसक्ने उनले बताए।

अन्नाको यात्रामार्फत न्यू होमले राष्ट्रिय र सांस्कृतिक सीमाहरूभन्दा माथि उठ्ने एउटा मानवीय अनुभवलाई केन्द्रमा ल्याएको छ।  त्यो हो— मर्यादा, स्वीकार्यता र पुनः नयाँ शुरूवात गर्ने अवसरको खोजी। आईएफएफआई २०२६ को मूल नारा स्टोरिज विदआउट बोडर्स अनुरूप यस चलचित्रले विविध यथार्थहरूलाई नजिक ल्याउने, साहनुभूतिको भावना विकास गर्ने र साझा मानवीय अनुभवहरूमार्फत दर्शकहरूलाई जोड्ने चलचित्रको सामर्थ्यलाई रेखांकित गर्दछ। रुसको साझेदार राष्ट्र प्रदर्शनीको एउटा हिस्साका रूपमा यसको प्रस्तुतिले भारत र विश्वबिच सांस्कृतिक समझदारी सुदृढ़ गर्न तथा सिर्जनात्मक आदान प्रदानलाई प्रोत्साहन गर्न यस महोत्सवले निर्वाह गरेको भूमिकालाई समेत प्रतिबिम्बित गर्दछ।

उक्त पत्रकार सम्मेलनको सञ्चालन श्री किरण मुरलीले गरेका थिए।

***********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341471
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026