श्रम तथा रोजगार मन्त्रालय
डा. मनसुख मण्डावियाले दोहामा सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गरिबी उन्मूलन र सामाजिक सुरक्षा प्रगतिमा भारतको परिवर्तनकारी प्रगतिमाथि प्रकाश पारे
मानिसहरू नीतिको केन्द्रमा रहँदा र विकास साझा प्रयास बनेमा सामाजिक प्रगति हासिल गर्न सकिन्छ: डा. मनसुख मण्डाविया
केन्द्रीय श्रम मन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको ’सबका साथ, सबका विकास’ को दृष्टिकोणलाई जोड दिए, - भन्छन् भारतको यात्रा अन्त्योदयको दर्शनबाट निर्देशित छ
केन्द्रीय श्रम मन्त्रीले भने, भारतको विकास मार्गले वैश्विक दक्षिणको लागि अनुकरणीय विकास मोडेल प्रदान गर्दछ।
कतारको दोहामा सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनको पूर्ण सत्रमा भारतको राष्ट्रिय वक्तव्यको मूल पाठ
Posted On:
05 NOV 2025 7:12PM by PIB Gangtok
दोहा, 05, नोभेम्बर 2025
महामहिम, विशिष्ट प्रतिनिधिगण र सहकर्मीगण,
यस प्रतिष्ठित मञ्चमा भारतको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो।
30 वर्षअघि कोपेनहेगन घोषणापत्रले गरिबी उन्मूलन, पूर्ण रोजगारी र मर्यादित काम र सामाजिक समावेशीकरणमा केन्द्रित हुँदै जनतालाई विकासको केन्द्रमा राखेको थियो। आर्थिक वृद्धि र सामाजिक प्रगतितर्फ भारतको दृष्टिकोण यस घोषणासँग प्रतिध्वनित हुन्छ।
भारतको विकास कथा स्तरीय रूपान्तरणको हो। पछिल्ला 10 वर्षमा, निरन्तर सुधारहरू, कल्याणकारी कार्यक्रमहरूको अभिसरण र डिजिटल नवाचारको माध्यमद्वारा, लगभग 25 करोड भारतीयहरूलाई बहुआयामिक गरिबीबाट बाहिर निकालिएको छ।
महामहिम,
भारतको यात्रा अन्त्योदयको गहन दर्शनद्वारा निर्देशित छ, जसको अर्थ, रेखाको अन्तिम व्यक्तिलाई सशक्त बनाउनु हो। हाम्रो प्रगति जीवनचक्रमा आधारित ढाँचाको परिणाम हो जहाँ एक बच्चाले स्वस्थ जग पाउँछ, एक युवा वयस्कले शिक्षा र जीविकोपार्जनको लागि समर्थन पाउँछ, एक कामदारले उचित काम पाउँछ अनि एक वृद्धले वृद्धावस्थामा सम्मान र आय सुरक्षाको ग्यारेन्टी पाउँछ।

आज, 118 मिलियन स्कूले बच्चाहरूले पौष्टिक दिवा भोजन पाउँछन्, 800 मिलियनभन्दा बढी नागरिकहरूलाई खाद्य सुरक्षा प्रदान गरिएको छ। 425 मिलियन भारतीयहरूलाई स्वास्थ्य सुरक्षा प्रदान गरिएको छ र कम आय भएकाहरूलाई 37 मिलियनभन्दा बढी घरहरू प्रदान गरिएको छ।
2017-18 र 2023-24 को बीचमा, हाम्रो बेरोजगारी दर 6% बाट घटेर 3.2% पुगेको छ र महिलाहरूको रोजगारी दर लगभग दोब्बर भएको छ। लाखौँ महिलाहरूलाई स्वयं सहायता समूहहरूमा परिचालन गरिएको छ।
भारतको सामाजिक सुरक्षा कभरेज 2015 मा 19% बाट बढेर 2025 मा 64.3% पुगेको छ। हाम्रा प्रयासहरूलाई मान्यता दिँदै, अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा सङ्घले यस वर्ष भारतलाई “सामाजिक सुरक्षामा उत्कृष्ट उपलब्धिको लागि आईएसएसए पुरस्कार” प्रदान गरेको छ।
हाम्रा प्रयासहरूको केन्द्रबिन्दु यी कार्यक्रमहरूको निर्बाध वितरणमा केन्द्रित छ। ब्याङ्क खाताहरू, मोबाइल इन्टरनेट स्वामित्व र अद्वितीय नागरिक परिचयपत्रहरूको नेटवर्कको माध्यमद्वारा, हामीले प्रत्यक्ष लाभ स्थानान्तरण मार्फत अन्तिम माइलमा कुशल डेलिभरी सुनिश्चित गरेका छौँ।
महामहिम,
यस शिखर सम्मेलनमा हामीले अपनाएको राजनीतिक घोषणापत्र वैश्विक प्राथमिकताहरूसँग प्रतिध्वनित छ, विशेष गरी महिला नेतृत्वको विकास, परम्परागत औषधि प्रणाली, डिजिटल सार्वजनिक पूर्वाधार र सहकारीलाई समावेशी विकासको इन्जिनको रूपमा मान्यता।

हाम्रो आर्थिक विकास र सामाजिक विकास मार्गहरू सतत विकास लक्ष्य र जलवायु परिवर्तन सम्बन्धी हाम्रा प्रतिबद्धताहरू अनुरूप छन्। हामी संयुक्त राष्ट्र सङ्घको 17 सतत विकास लक्ष्यहरूको एजेन्डामा अडिग छौँ।
हामी पाकिस्तानका राष्ट्रपतिले हिजो आफ्नो टिप्पणीमा भारतमाथि गरेका केही अनुचित सन्दर्भहरूमा कडा आपत्ति जनाउँछौँ।
भारत विरुद्ध गलत सूचना फैलाएर सामाजिक विकासमा ध्यान केन्द्रित गर्नबाट विश्वलाई विचलित गर्न यो अन्तर्राष्ट्रिय मञ्चको दुरुपयोग हो। हामी यो अभिलेखलाई स्पष्ट पार्न चाहन्छौँ।
सिन्धु जल सन्धिमा, पाकिस्तानले निरन्तर शत्रुता र सीमापार आतङ्कवादको माध्यमद्वारा आफ्नो भावनालाई कमजोर बनाएको छ। यसले भारतको वैध परियोजनाहरूमा अवरोध पुर्याउन बारम्बार सन्धि संयन्त्रको दुरुपयोग पनि गरेको छ।
भारतीय केन्द्र शासित प्रदेश जम्मू तथा कश्मीरको सन्दर्भमा, पाकिस्तानलाई भारतको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुनै अधिकार छैन। यो विशेष गरी जब यो भारतका नागरिकहरू विरुद्ध सीमापार आतङ्कवादको कार्यमा संलग्न हुन्छ।
पाकिस्तानले विकाससँग सम्बन्धित आफ्नै गम्भीर चुनौतीहरूलाई आत्मनिरीक्षण गर्नु र सम्बोधन गर्नु राम्रो हुनेछ जसले यसलाई अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगमा निर्भर बनाएको छ। यसले अन्तर्राष्ट्रिय मञ्चहरूको दुरुपयोग गर्न बन्द गर्नुपर्छ।

महामहिम,
हाम्रा प्रधानमन्त्री श्री नरेन्द्र मोदी जीको सबका साथ, सबका विकास को मन्त्रबाट प्रेरित भएर जसको अर्थ ’हामी सबै मिलेर, सबैका लागि विकास’ हो, हामी विश्वास गर्छौं कि सामाजिक प्रगति तब प्राप्त हुन्छ जब मानिसहरू नीतिको केन्द्रमा रहन्छन्, जब नवीनता समावेशीकरणमा भेटिन्छ, र जब विकास साझा प्रयास बन्छ।
यो मञ्चले प्रत्येक देशको विशिष्ट परिस्थिति, आर्थिक आवश्यकता र सामाजिक आवश्यकताहरूलाई पहिचान र स्वीकार गर्नु पनि महत्त्वपूर्ण छ।
भारतको विकास मार्गले ग्लोबल साउथको लागि अनुकरणीय विकास मोडेल प्रदान गर्दछ। हामी सामूहिक रूपमा सामाजिक विकासको भविष्यको मार्गचित्र तयार गर्दै गर्दा, भारत आफ्ना उत्कृष्ट अभ्यासहरू साझा गर्न र वैश्विक साझेदारीलाई बलियो बनाउन तयार छ।
म संयुक्त राष्ट्र सङ्घ र कतार सरकारलाई यो समयमै भेला आयोजना गरेकोमा धन्यवाद दिन्छु जसले वैश्विक नेतृत्वलाई सामाजिक रूपमा न्यायपूर्ण र समावेशी संसार सिर्जना गर्ने प्रतिबद्धतालाई नवीकरण गर्न मञ्च दिएको छ।
धन्यवाद।

*****
एमपीएस/टीडब्ल्यूबी
(Release ID: 2186841)
Visitor Counter : 6
Read this release in:
Khasi
,
English
,
Urdu
,
हिन्दी
,
Marathi
,
Assamese
,
Bengali
,
Punjabi
,
Gujarati
,
Odia
,
Kannada
,
Malayalam