राष्ट्रपतिको सचिवालय
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको 79 औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाम सन्देश
Posted On:
14 AUG 2025 7:40PM by PIB Gangtok
मेरा प्यारा देशवासीहरू,
नमस्कार!
स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा तपाईंहरू सबैलाई हार्दिक बधाई दिन चाहन्छु। हामी सबैको निम्ति यो गर्वको कुरा हो, स्वाधीनता दिवस अनि गणतन्त्र दिवसलाई सबै भारतीयले उत्साह अनि उमङ्गका साथ मनाउँछन्। यस दिवसले हामीलाई भारतीय हुनुमाथि गौरवको विशेष स्मरण गराउँदछ।
पन्ध्र अगस्तको तारिक, हाम्रो सामूहिक स्मृतिमा गहिराईका साथ अङ्कित छ। औपनिवेशिक शासनको लामो अवधिमा, देशवासीहरूका अनेकौं पिँढीले, एक दिन यो देश स्वाधीन हुनेछ भन्ने सपना देखेका थिए। देशको हरेक हिस्सामा बसोबासो गर्ने – पुरुष अनि महिला, बूढा अनि जवान, विदेशी शासनको जञ्जाल तोडेर फ्याँक्नका लागि व्याकुल थिए। उनीहरूको सङ्घर्षमा निराशा नभएर बलशाली आशाको भाव थियो। आशाको त्यही भावले स्वतन्त्रतापछि हाम्रो प्रगतिलाई ऊर्जा दिँदै आएको छ। भोलि, जब हामी आफ्नो तिरङ्गालाई सलामी दिइरहेका हुनेछौं, तब हामी ती सबै स्वाधीनता सेनानीहरूलाई पनि श्रद्धाञ्जलि अर्पित गर्नेछौं, जसको बलिदानको बलमा, 78 सालअघि पन्ध्र अगस्तको दिन भारतले स्वाधीनता हासिल गरेको थियो।
आफ्नो स्वाधीनतालाई पुनः प्राप्त गरेपछि, हामी एउटा यस्तो लोकतन्त्रको मार्गमा अघि बढ्यौं, जसमा सबै व्यस्कलाई मतदानको अधिकार थियो। अर्को शब्दमा भन्नुपर्दा, हामी भारतका जनमानसले, आफ्नो नियतिलाई स्वरूप दिने अधिकार स्वयंलाई अर्पित गऱ्यौं। अनेकौं लोकतान्त्रिक व्यवस्थामा, लिङ्ग, धर्म तथा अन्य आधारमा मानिसहरूलाई मताधिकारमाथि बन्देज हुने गऱ्थ्यो। तर हामीले त्यसो गरेनौं। चुनौतीहरू भे तापनि, भारतका मानिसहरूले लोकतन्त्रलाई सफलतापूर्वक अपनाए। लोकतन्त्रलाई अपनाउनु हाम्रो प्राचीन लोकतान्त्रिक मूल्यहरूको सहज अभिव्यक्ति थियो। भारत भूमि, विश्वको प्राचीनतम गणराज्यहरूको धरती रहिआएको छ। यसलाई लोकतन्त्रको जननी भन्नु सर्वथा उचित ठहरिन्छ। हामीद्वारा अपनाइएको संविधानको आधारशिलामा, हाम्रो लोकतन्त्रको भवन निर्मित भएको छ। हामीले लोकतन्त्रमा आधारित यस्ता संस्थाहरूको निर्माण गऱ्यौं, जसबाट लोकतान्त्रिक कार्यशैलीले बल पायो। हाम्रो निम्ति, हाम्रो संविधान अनि हाम्रो लोकतन्त्र सर्वोपरि छ।
अतीतमाथि दृष्टिपात गर्दै, हामीले देशको विभाजनबाट भएको पीडालाई कदापि भुल्नु भएन। आज हामीले विभाजन विभीषिका स्मृति दिवस मनायौं। विभाजनको कारण भयावह हिंसा देखियो र लाखौं मानिस विस्थापित हुन बाध्य बने। आज हामीले इतिहासका गल्तीहरूको शिकार भएका मानिसहरूलाई श्रद्धाञ्जलि अर्पित गर्दछौं।
प्यारा देशवासीहरू,
हाम्रो संविधानमा यस्ता चार मूल्यहरूको उल्लेख छ, जुन हाम्रो लोकतन्त्रलाई सुदृढ बनाई राख्ने चार स्तम्भ हुन्। यी मूल्यहरू हुन् – न्याय, स्वतन्त्रता, समता अनि बन्धुता। यी हाम्रा सभ्यताका यस्ता सिद्धान्त हुन् जसलाई हामीले स्वाधीनता सङ्ग्रामको समय पुनः जीवन्त बनायौं। मेरो विचारमा, यी सबै मूल्यको मूलमा, व्यक्तिको गरिमाको अवधारणा विद्यमान छन्। प्रत्येक व्यक्ति समान छन् र सबैलाई उनीसँग गरिमापूर्ण व्यवहार होस् भन्ने अधिकार हुन्छ। स्वास्थ्य सेवा अनि शिक्षा सुविधासम्म, सबैको समान पहुँच हुनुपर्दछ। सबैले समान अवसर पाउनु पर्दछ। जो मानिस पारम्परिक व्यवस्थाका कारण वञ्चित रहन गएका थिए, उनीहरूलाई मद्दतको आवश्यकता थियो।
यी सिद्धान्तहरूलाई सर्वोपरि राख्दै, हामीले 1947 मा एउटा नयाँ यात्रा शुरु गऱ्यौं। विदेशी हुकूमतको लामो अवधिपछि, स्वाधीनताको समय, भारत घोर गरीबीबाट जुझिरहेको थियो। तर, तबदेखि अहिलेसम्मको 78 वर्षमा हामीले सबै क्षेत्रमा असाधारण प्रगति गरेका छौं। भारतले, आत्मनिर्भर राष्ट्र बन्ने मार्गमा धेरै दूरी तय गरेको छ र प्रबल आत्मविश्वासका साथ अघि बढ्दै गइरहेको छ।
आर्थिक क्षेत्रमा, हाम्रो उपलब्धिहरू स्पष्ट देखिन्छ। पछिल्लो वित्त वर्षमा 6.5 प्रतिशतको सकल घरेलु उत्पाद वृद्धि दरका साथ भारत विश्वको प्रमुख अर्थव्यवस्थाहरूमा सबैभन्दा तेजीका साथ बढ्ने देश रहेको छ। वैश्विक अर्थव्यवस्थामा व्याप्त समस्याहरूका विपरीत, घरेलु मागमा तेजीसँग वृद्धि भइरहेको छ। मुद्रास्फीतिमाथि नियन्त्रण बनेको छ। निर्यात बढिरहेको छ। सबै प्रमुख सङ्केतकले अर्थव्यवस्थाको प्रबल स्थितिलाई दर्शाइ रहेको छ। यो हाम्रो श्रमिक अनि किसान भाइ-बहिनीहरूको कडा मेहनत अनि समर्पणका साथसाथै सुविचारित सुधार अनि कुशल आर्थिक प्रबन्धनको पनि परिणाम हो।
सुशासनको माध्यमद्वारा, धेरै सङ्ख्यामा मानिसहरूलाई गरीबीबाट बाहिर निकालिएको छ। सरकारले गरीबहरूका लागि अनेकौं कल्याणकारी योजना चलाइरहेको छ। जो मानिसहरू गरीबी रेखाबाट माथि उक्लिए तापनि बलियो स्थितिमा छैनन्, उनीहरूलाई पनि यस्ता योजनाहरूको सुरक्षा उपलब्ध छ, ताकि उनीहरू फेरि गरीबी रेखामुनि नपुगोस्। यी कल्याणकारी प्रयास, सामाजिक सेवाहरूमाथि बढ्दो खर्चमा परिलक्षित हुँदछ। आयको असमानता घटिरहेको छ। क्षेत्रीय असमानताहरू पनि कम्ति भइरहेका छन्। जुन राज्य अनि क्षेत्र पहिले कमजोर आर्थिक प्रदर्शनका लागि जानिन्थ्यो, अब उनीहरूले आफ्नो वास्तविक क्षमता प्रदर्शित गरिरहेका छन् र अग्रणी राज्यहरूका साथ बराबरी गर्ने दिशामा अघि बढिरहेका छन्।
हाम्रा अग्रणी व्यवसायीहरू, लघु एवं मध्यम उद्यमी अनि व्यापारीहरूले सधैं केही गर्ने भावनाको परिचय दिएका छन्। समृद्धिको सिर्जनाको मार्गमा आउने बाधाहरू हटाउन आवश्यक थियो। विगत एक दसकको अवधिमा, बुनियादी पूर्वाधारमा भएको विकासमा, यो स्पष्ट रूपमा देखिन्छ। हामीले भारतमाला परियोजना अन्तर्गत राष्ट्रिय राजमार्ग नेटवर्कको विस्तार अनि सुदृढिकरण गरेका छौं। रेलवेले पनि नवाचारलाई प्रोत्साहन दिएको छ तथा नवीनतम प्रविधिले युक्त नयाँ प्रकारका रेलगाडी अनि डिब्बाहरू उपयोग गर्न थालिएको छ। कश्मीर घाटीमा रेल सम्पर्कको शुभारम्भ गर्नु, एउटा प्रमुख उपलब्धि हो। रहल भारतका साथ घाटीको रेल सम्पर्कले त्यस क्षेत्रमा व्यापार अनि पर्यटनलाई बढावा दिनेछ र नयाँ आर्थिक सम्भावनाहरूको द्वार खोल्नेछ। कश्मीरमा ईञ्जिनियरिङको यो असाधारण उपलब्धि, हाम्रो देशको निम्ति एउटा ऐतिहासिक कोशेढुङ्गा हो।
देशमा शहरीकरण तेज गतिले भइरहेको छ। यसैले, शहरहरूको स्थिति सुधार्न सरकारले विशेष ध्यान दिइरहेको छ। शहरी परिवहनको प्रमुख क्षेत्रमाथि विशेष ध्यान दिँदै सरकारले मेट्रो रेल सुविधा विस्तार गरेको छ। बितेको एक दसकको अवधिमा, मेट्रो रेल सेवाको सुविधाले युक्त शहरहरूको सङ्ख्या कैयौं गुणा बढेको छ। शहरहरूको कायाकल्प अनि शहरी परिवर्तनको निम्ति अटल मिशन अर्थात् “अमृत”ले धेरैभन्दा धेरै घरमा कलबाट पानीको विश्वसनीय आपूर्ति हुने र सिवरेज कनेक्सन सुविधा उपलब्ध हुने सुनिश्चित गरेको छ। सरकारले जीवनको बुनियादी सुविधाहरूमाथि नागरिकहरूको हक बन्दछ भन्ने मान्दछ। जल जीवन मिशन अन्तर्गत ग्रामीण घरहरूमा कलबाट जल पुऱ्याउने दिशामा प्रगति भइरहेको छ।
आफ्नै प्रकारको विश्वको सबैभन्दा बृहत् स्वास्थ्य सेवा योजना “आयुष्मान भारत” अन्तर्गत विभिन्न कदम उठाइएका छन्। ती प्रयासहरूका परिणामस्वरूप स्वास्थ्य सेवाको क्षेत्रमा हामीले क्रान्तिकारी परिवर्तन देखिरहेका छौं। यस योजना अन्तर्गत हालसम्म 55 करोडभन्दा धेरै मानिसलाई सुरक्षा कवच प्रदान गरिसकिएको छ। सरकारले 70 वर्ष अनि यसभन्दा धेरै आयुका सबै वरिष्ठ नागरिकलाई यस योजनाको सुविधा उपलब्ध गराएको छ, चाहे उनको आय जति नै किन नहोस्। स्वास्थ्य सेवाहरूसम्म पहुँचसँग जोडिएका असमानताहरू टाढा हुनुले गरीब अनि निम्न मध्यम वर्गका मानिसहरूलाई पनि सर्वोत्तम सम्भव स्वास्थ्य सेवाहरू उपलब्ध भइरहेको छ।
यस डिजिटल युगमा, भारतमा सबैभन्दा धेरै प्रगति सूचना प्रौद्योगिकीको क्षेत्रमा हुनु स्वाभाविक हो। लगभग सबै गाउँमा 4-जी मोबाइल कनेक्टिभिटी उपलब्ध छ। रहल केही हजार गाउँमा पनि यो सुविधा चाँडै पुऱ्याइनेछ। यसबाट डिजिटल भुक्तानी तकनिकी व्यापक रूपमा अपनाउन सम्भव भएको छ। डिजिटल भुक्तानीको क्षेत्रमा भारत, कम्ति समयमै विश्वको अग्रणी देश बनेको छ। यसबाट प्रत्यक्ष लाभ अन्तरणले पनि बढावा पाएको छ भने लक्षित लाभार्थीहरूसम्म कल्याणकारी भुक्तानी कुनै बाधा अनि चुहावटबिना पुग्ने सुनिश्चित भइरहेको छ। विश्वमा हुने कूल डिजिटल लेनदेनमध्ये, आधाभन्दा धेरै लेनदेन भारतमा हुँदछ। यस्तो परिवर्तनबाट एउटा गतिमान डिजिटल अर्थव्यवस्था निर्माण गरिएको छ, जसको योगदान देशको सकल घरेलु उत्पादमा साल-दर-साल बढिरहेको छ।
आर्टिफिसियल इन्टेलिजेन्स प्राविधिक उन्नतिको अर्को चरण हो जसले हाम्रो जीवनमा आफ्नो स्थान बनाइसकेको छ। सरकारले देशको एआइ क्षमतालाई बलियो बनाउनका लागि इण्डिया-एआइ मिशन शुरु गरेको छ। यस मिशन अन्तर्गत यस्ता मोडलहरू विकसित गरिनेछ, जसले भारतको विशिष्ट आवश्यकताहरू पूरा गर्नेछ। हाम्रो आकाङ्क्षा छ, वर्ष 2047 सम्म भारत एउटा वैश्विक एआइ केन्द्र बनोस्। यस दिशामा, सामान्य मानिसहरूका लागि तकनिकी प्रगतिको सर्वोत्तम उपयोग र प्रशासन व्यवस्थामा सुधार गरी उनीहरूको जीवनलाई उत्तम बनाउन विशेष ध्यान दिइनेछ।
जनसामान्यको जीवनलाई उत्तम बनाउनका लागि, कारोबारलाई सहज बनाउनका साथसाथै दजीवनलाई सुगम बनाउमाथि पनि समान बल दिइँदैछ। विकास तब मात्र सार्थक हुँदछ, जब पछाडिएका मानिसहरूसम्म सहायता पुग्दछ र उनीहरूका लागि नयाँ अवसर उपलब्ध हुँदछ। यसबाहेक, हामीले हरसम्भव क्षेत्रमा, आफ्नो आत्मनिर्भरता बढाइरहेका छौं। यसबाट, हाम्रो आत्मविश्वास बढेको छ र विकसित भारत बन्ने हाम्रो यात्राको गति तेज भएको छ।
बितेको साता, 7 अगस्तको दिन देशमा “राष्ट्रिय हतकर्घा दिवस” मनाइयो। यस दिवसलाई मनाउनुको उद्देश्य, हाम्रा बुनकर अनि उनीहरूका उत्पादलाई सम्मान गर्नु हो। हाम्रो स्वाधीनता सङ्ग्रामको समय, 1905 मा शुरु गरिएको स्वदेशी आन्दोलनको स्मृतिमा, वर्ष 2015 देखि यो दिवस हरेक साल मनाइन्छ। महात्मा गान्धीले भारतीय कारीगर अनि शिल्पकारहरूको खुन-पसिनाबाट निर्मित अनि उनीहरूको अतुलनीय कौशलले युक्त उत्पादलाई बढावा दिनका लागि स्वदेशीको भावनालाई अझ प्रगाढ बनाएका थिए। स्वदेशीको विचारले “मेक इन इण्डिया” र आत्मनिर्भर भारत जस्ता राष्ट्रिय प्रयासलाई प्रेरित गर्दै आएको छ। हामी सबैले, आफ्नो देशमा बनेका उत्पादहरू खरिद गर्नेछौं र त्यसको उपयोग गर्नेछौं भन्ने सङ्कल्प लिनुपर्नेछ।
प्यारा देशवासीहरू,
सामाजिक क्षेत्रमा गरिएका प्रयासहरूबाट सर्वाधिक, समग्र आर्थिक विकासको बलमा भारत 2047 सम्म एउटा विकसित अर्थव्यवस्था बन्ने मार्गमा अग्रसर छ। म बुझ्दछु कि, अमृतकालको यस समयमा, अघि बढ्दै जाने राष्ट्रिय यात्रामा, सबै देशवासीले यथाशक्ति आफ्नो सर्वाधिक योगदान दिनेछन्। मेरो वितारमा, समाजका तीन यस्ता वर्ग छन्, जसले हामीलाई प्रगतिको यस मार्गमा अघि बढाउनेछन्। ती तीन वर्ग हुन् – हाम्रा युवा, महिला अनि ती समुदाय, जो लामो समयदेखि वञ्चित रहेका छन्।
अन्ततः, हाम्रा युवाहरूले आफ्नो सपना साकार गर्नका लागि अनुकूल परिस्थिति पाएका छन्। राष्ट्रिय शिक्षा नीतिको माध्यमद्वारा दूरगामी परिवर्तन गरिँदैछ। शिक्षालाई जीवन मूल्यसँग, तथा कौशललाई परम्पराका साथ जोडिएको छ। रोजगारका अवसरहरू तेजीका साथ बढिरहेका छन्। उद्यमिताको आकाङ्क्षा राख्ने मानिसहरूका लागि सरकारले सर्वाधिक अनुकूल वातावरण उपलब्ध गराएको छ।
युवा प्रतिभाहरूको ऊर्जाबाट शक्ति प्राप्त गरी, हाम्रो अन्तरिक्ष कार्यक्रमको अभूतपूर्व विस्तार भएको छ। मलाई विश्वास छ, शुभांशु शुक्लाको अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रको यात्राले एउटा सम्पूर्ण पिँढीलाई ठूलो सपना देख्ने प्रेरणा दिएको छ। यो अन्तरिक्ष यात्रा भारतको आगामी मानव अन्तरिक्ष उडान कार्यक्रम “गगनयान”को निम्ति अत्यन्त सहायक सिद्ध हुनेछ। नयाँ आत्मविश्वासले भरिपूर्ण हाम्रा युवाहरूले खेल जगतमा आफ्नो पहिचान बनाइरहेका छन्। उदाहरणका लागि, शतरञ्जमा अब भारतका युवाहरूको जस्तो वर्चस्व छ, त्यो पहिले कहिले पनि थिएन। राष्ट्रिय खेल नीति 2025 मा निहित परिकल्पना अनुरूप, हामीले यस्तो व्यापक परिवर्तनको परिकल्पना गरिरहेका छौं, जसको बलमा भारत एउटा वैश्विक खेल महाशक्तिको रूपमा उदाउनेछ।
हाम्रा छोरीहरू हाम्रा गौरव हुन्। उनीहरू प्रतिरक्षा अनि सुरक्षासहित हरेक क्षेत्रमा अवरोधहरू पार गरी अघि बढिरहेका छन्। खेलकूदलाई उत्कृष्टता, सशक्तिकरण अनि क्षमताको महत्त्वपूर्ण सङ्केतक मानिन्छ। विश्व शतरञ्ज च्याम्पियनशीपका लागि “फिडे महिला विश्व कप”को फाइनल म्याच, 19 वर्षकी भारतकी एक छोरी अनि 38 वर्षकी एक भारतीय महिलाबीच खेलिएको थियो। यस उपलब्धिले, पिँढी-दर-पिँढी, हाम्रा महिलाहरूमा विद्यमान विश्व स्तरको सतत उत्कृष्टतालाई रेखाङ्कित गर्दछ। रोजगारमा लैङ्गिक अन्तर घटिरहेको छ। नारीशक्ति वन्दन अधिनियमले महिला सशक्तिकरण अब नारा मात्र नरहेर यथार्थ बनेको छ।
हाम्रो समाजको एउटा ठूलो भाग, अनुसूचित जाति, अनुसूचित जनजाति, पछौटेवर्ग अनि अन्य समुदायका मानिसहरूको छ। यी समुदायका मानिसहरूले अब सीमान्त हुनुको ट्याग हटाइरहेका छन्। उनीहरूको सामाजिक अनि आर्थिक आकाङ्क्षालाई साकार गर्नका लागि सक्रिय प्रयासहरूको माध्यमद्वारा सरकारले उनीहरूको सहायता गर्दैआएको छ।
आफ्नो वास्तविक क्षमता हासिल गर्ने दिशामा भारत अब अझ बढी तेज गतिका साथ अघि बढिरहेको छ। हाम्रा सुधार अनि नीतिहरूबाट, विकासको एउटा प्रभावी मञ्च तयार भएको छ। यसै तयारीको बलमा, म एउटा यस्तो उज्ज्वल भविष्यलाई देखिरहेकी छु, जहाँ हामी सबै आफ्नो सामूहिक समृद्धि अनि खुशियालीमा उत्साहपूर्वक योगदान दिइरहेका हुनेछौं। त्यस भविष्यतर्फ, हामी भ्रष्टाचारप्रति शून्य सहिष्णुता राख्दै, अनवरत सुशासनका साथ अघि बढिरहेका छौं। यस सन्दर्भमा मलाई महात्मा गान्धीको एउटा महत्त्वपूर्ण कुरा याद आइरहेको छ। गान्धीले भनेका थिए र म दोहोऱ्याउन चाहन्छु :
“भ्रष्टाचार अनि दम्भ, लोकतन्त्रको अनिवार्य परिणाम हुनुभएन।”
हामी सबैले गान्धीजीको यस आदर्शलाई कार्यरूप दिने र भ्रष्टाचारलाई समूल नष्ट गर्नेछौं भन्ने सङ्कल्प लिऊँ।
प्यारा देशवासीहरू,
यस वर्ष हामीले आतङ्कवादको चोट झेल्नुपऱ्यो। कश्मीर घुम्न गएका निर्दोष नागरिकहरूको हत्या, कायरतापूर्ण अनि नितान्त अमानवीय थियो। यसको जवाफमा भारतले इस्पातको सङ्कल्पका निर्णायक तरिकाले दियो। अपरेशन सिन्दूरले, जब राष्ट्रको सुरक्षाको प्रश्न अघि आउँदछ, तब हाम्रा सशस्त्र बल कुनै पनि स्थिति सामना गर्नका लागि पूर्णरूपले सक्षम सिद्ध हुँदछ भन्ने देखायौं। रणनीतिक स्पष्टता अनि तकनिकी दक्षताका साथ, हाम्रा सेनाले सीमापार आतङ्कवादी ठेगानाहरू नष्ट गरिदियो। मलाई विश्वास छ, अपरेशन सिन्दूर, आतङ्कवादका विरुद्ध मानवताको लडाईमा एउटा उदाहरणका रूपमा इतिहासमा दर्ता हुनेछ।
हाम्रो एकता नै हाम्रो जवाफी कार्वाहीको सबैभन्दा ठूलो विशेषता थियो। यही एकता, ती सबै तत्त्वका लागि सबैभन्दा ठोस जवाफ पनि हो, जसले हामीलाई विभाजित भएको देख्न चाहन्छन्। भारतको दृष्टिकोणलाई स्पष्ट गर्नका लागि, विभिन्न देशमा गएका संसद सदस्यहरूको बहुदलीय प्रतिनिधि मण्डलमा पनि हाम्रो यही एकता देखिएको थियो। विश्व समुदायले हामी आक्रमणकारी त बन्नेछैंनौं, तर आफ्नो नागरिकको रक्षाका लागि जवाफी कार्वाही गर्न रत्तिभर सङ्कोच गर्नेछैनौं भन्ने भारतको यस नीतिको पनि संज्ञान लिएको छ।
अपरेशन सिन्दूर, प्रतिरक्षाको क्षेत्रमा, आत्मनिर्भर भारत मिशनको परीक्षाको पनि अवसर थियो। हामी सही बाटोमा चौं भन्ने अब सिद्ध भएको छ। हाम्रा स्वदेशी विनिर्माण त्यस निर्णायक स्तरमा पुगेको छ, जहाँ हामी आफ्नो धेरै जस्तो सुरक्षा आवश्यकता पूरा गर्नमा पनि आत्मनिर्भर बनेका छौं। यो उपलब्धि स्वाधीन भारतको रक्षा इतिहासमा एउटा नयाँ अध्यायको सूत्रपात हो।
प्यारा देशवासीहरू,
यस अवसरमा म, तपाईंहरू सबैलाई के आग्रह गर्न चाहन्छु भने, पर्यावरणको रक्षाका लागि तपाईंहरूले सक्दो प्रयास गर्नुहोस्। जलवायु परिवर्तनको चुनौतीको सामना गर्नका लागि हामीले स्वयंमा केही परिवर्तन गर्नुपर्नेछ। हामीले आफ्नो आनी-बानी अनि आफ्नो विश्वदृष्टिमा परिवर्तन ल्याउनु पर्नेछ। हामीले आफ्नो धरती, नदी, पाहाड, रुख-पात अनि जीव-जन्तुका साथ आफ्नो सम्बन्धमा पनि परिवर्तन ल्याउनु पर्नेछ। हामी सबैको योगदानले, एउटा यस्तो पृथ्वीलाई छोडेर जाउँ, जहाँ जीवन आफ्नो नैसर्गिक रूपमा फल्दो-फूल्दो रहोस्।
प्यारा देशवासीहरू,
हाम्रो सीमाको रक्षा गर्ने सैनिक, पुलिस तथा केन्द्रिय सशस्त्र पुलिस बलतर्फ मेरो ध्यान विशेष रूपमा जाने गर्दछ। म न्यायपालिका र लोक सेवाका सदस्यहरूलाई पनि आफ्नो शुभकामना व्यक्त गर्न चाहन्छु। विदेशमा स्थित भारतीय दूतावासहरूमा कार्यरत भारतीय अधिकारी अनि प्रवासी भारतीयहरूलाई मेरो तर्फबाट स्वाधीनता दिवसको हार्दिक शुभकामना!
म एकपटक फेरि तपाईंहरू सबैलाई स्वाधीनता दिवसको बधाई दिन चाहन्छु।
धन्यवाद!
जय हिन्द!
जय भारत!
******
(Release ID: 2156546)
Read this release in:
Marathi
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam
,
Bengali
,
Assamese
,
Manipuri
,
Odia
,
English
,
Khasi
,
Urdu
,
Hindi
,
Punjabi
,
Gujarati