सूचना तथा प्रसारण मन्त्रालय

युवाशक्तिलाई सशक्त गरी कसरी विगत नौ वर्षमा सरकारको नीतिहरूले भारतलाई उत्प्रेरित गऱ्यो भन्ने सम्बन्धमा राष्ट्रिय सङ्गोष्ठी


Posted On: 27 MAY 2023 5:46PM by PIB Gangtok

“युवाशक्ति : भारतलाई उत्प्रेरित गर्दै” शीर्षकको सत्रमा समाजको विभिन्न क्षेत्रका नागरिकहरू नयाँ दिल्लीको विज्ञान भवनमा भेला भई सरकारको नीति अनि कार्यक्रमहरूले विगत नौ वर्षमा कसरी युवा सशक्तिकरणमा योगदान दिएको छ भन्ने विषयमा चर्चा गर्न उपस्थित भए। प्रसार भारतीद्वारा “राष्ट्रिय सङ्गोष्ठी – नौ साल सेवा, सुशासन, गरीब कल्याण” सम्मेलन अन्तर्गत उक्त सत्र आयोजन गरिएको थियो। स्रोतवक्ताहरूमा एस्स्प्रेसो टेक्नोलजिसका निर्देशक यशोधरा बजोरिया, ओयो रूमका सीईओ रितेश अगरवाल, पूर्व भारतीय हकी कप्तान वीरेन रस्किना, बक्सर अखिल कुमार, सङ्गीतकार अमनअलि बङ्गस अनि अभिनेता ऋषभ सेट्टी उपस्थित थिए। सत्रको सञ्चालन रेडियो जकी, रेड एफएमका रौनकले गरेका थिए।

“उद्यमीहरूलाई सहयोग संस्थानगत गरेवापत् सरकारलाई श्रेय दिनुपर्दछ”

एस्प्रेसो टेक्नोलजिसका निर्देशक यशोधरा बजोरियाले स्ट्याण्ड अप इण्डिया र स्टार्ट अप इण्डिया जस्ता योजनाले उद्यमीहरूलाई सशक्त बनाउन ठूलो भूमिका खेलेको बताइन्। सरकारको ओपन नेटवर्क फर डिजिटल कमर्सको परिणामस्वरूप महिला कृषकले आफ्नो उब्जनी बजारसम्म पुऱ्याउन सकेको उनले उदाहरण दिइन्। “कृषक उत्पादक सङ्गठन तथा स्वयंसहायता समूहहरूले कृषकहरूका साथै सुदूर इलाकाका जनमानसलाई धरातलीय सहयोग प्रदान गरिरहेको छ। जनमानसलाई यस प्रकारको सहयोग संस्थागत गरिदिएकोमा सरकारलाई श्रेय दिनुपर्दछ, जसले लघु उद्यमीहरूलाई पनि बराबरीको मैदान उपलब्ध गराएको छ।”

“सरकारको नीतिको परिणामस्वरूप विभिन्न नवप्रवर्तन उदाएका छन्, जुन हाम्रो जीवनको अंश बन्नपुगेको छ”

ओयो रूम्सका सीईओ रितेश अगरवालले आज हाम्रो दैनन्दिन जीवनको अभिन्न अङ्ग बनेका विभिन्न सेवाहरू नौ वर्षअघि अस्तित्त्वमै नरहेको बताए। “भारतले उत्तम काम गरिरहेको छ, जसलाई युवा जमातले बल प्रदान गर्दै स्टार्टअप्सहरूको विकासलाई शक्ति प्रदान गरिरहेको छ। हामी आज विश्वमा चम्किलो विन्दु बन्नपुगेका छौं।”

“सरकारले तृणमूल स्तरमा खेल पूर्वाधारहरूमाथि निवेशको दिशामा उल्लेखनीय काम गरेको छ”

भारतीय हकी टीमका पूर्व कप्तान वीरेन रस्किनाले टोक्यो ओलम्पिकमा भारतीय पुरुष हकी टोलीको निम्ति अविस्मरणीय क्षण रहेको बताए। “टोक्यो ओलम्पिकमा सबै खेलस्पर्धामध्ये मेरो निम्ति सबैभन्दा ठूलो कुरा भारतीय महिला हकी टीमको प्रदर्शनी थियो, जो चौथो स्थानमा आउँदै पदकबाट केही मात्र पछि परे। वर्ष 2016 देखि 2021 सम्म तृणमूल स्तरमा धेरै निवेश भयो। एस्ट्रो टर्फ पिचहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ, अझ धेरै गर्न बाँकी नै भए तापनि खेल पूर्वाधारहरूमा धेरै सुधार आएको छ। हकी अहिले आएर शारीरिक शक्तिको खेल बनेको छ, कौशलको विषयमा हामी विश्वका सर्वश्रेष्ठ टीमसँग बराबरी गर्नसक्थ्यौं, तर हामीले सङ्घर्ष गर्नुपरेको क्षेत्र हो फिटनेस र शक्ति। यसै क्षेत्रमा हामीले उल्लेखनीय प्रगति गरेका छौं।” स-साना गाउँका बालिकाहरूले ओलम्पिकमा प्रदर्शनी गरिरहेको देख्दा लाखौं बालिकाहरूलाई आशाका साथै गर्वबोध गराउने पूर्व कप्तानले बताए। सरकारले तृणमूल स्तरमा निवेशको दिशामा उल्लेखनीय काम गरेको पनि उनले बताए।

फिट इण्डिया र खेलो इण्डियाको अवधारणामा दुई रूपान्तरणकारी पहल रहेको, जसले खेलकूद संस्कार र खेल प्रशिक्षकको दुई सीलाई सम्बोधित गर्ने उनले बताए। “खेलकूदले मलाई जीवनमा धेरै कुरा सिकाएको छ, सबैभन्दा ठूलो कुरा खेलकूदले हामीलाई हार स्वीकार गर्दै सिक्न र सुधार ल्याउन सिकाएको छ।” हामीले खेलकूद शिक्षकको स्तरलाई विज्ञान शिक्षकको स्तरमा बढाएर पनि खेलकूदमा वास्तविक परिवर्तन ल्याउनसक्ने उनले बताए।

“खेलो इण्डिया र फिट इण्डिया जस्ता योजनाका साथ भारतीय खेलाडीहरूको भविष्य उज्ज्वल छ”

बक्सर अखिल कुमारले खेलाडीहरूसँग कुनै ठूलो स्पर्धाअघि प्रधानमन्त्रीले भेटघाट गरी संवाद गर्दा खेलाडीहरूलाई धेरै आन्तरिक प्रेरणा दिने गरेको बताए। खेलकूदलाई प्रोत्साहित गर्नका लागि खेलकूदको संस्कार विकास गर्न महत्त्वपूर्ण रहेको उनले बताए। तन्दुरूस्ती अनि स्वास्थ्य प्रोत्साहित गर्ने फिट इण्डिया मुभमेन्टको भूमिकाको पनि उनले सराहना गरे। आफ्नो वित्तीय स्थितिबारे चिन्ता नगरी खेलकूद अघि बढाउन खेलाडीहरूलाई वित्तीय सहायताको महत्त्वबारे पनि उनले रेखाङ्कित गरे। खेलो इण्डिया जस्ता सशक्तिकरण गर्ने योजनाका साथ भारतीय खेलाडीहरूको भविष्य उज्ज्वल रहेको उनले बताए।

“स-साना गाउँ अनि शहरका प्रतिभाहरूलाई प्रोत्साहित गर्न सरकारले महान कार्य गर्दैछ”

सरकारले युवा पिँढीका लागि धेरै काम गरिरहेको सङ्गीतकार अमनअलि बङ्गसले बताए। सरकारले स-साना गाउँ अनि शहरका प्रतिभाहरूलाई प्रोत्साहित अनि प्रेरित गरेको देख्नु आश्चर्यको विषय रहेको उनले बताए। भारतको निम्ति हाल शिखर समय रहेको र सबै प्रकारका कला एवं संस्कृतिबारे जागरूकता उल्लेखनीय रूपमा बढेको उनले बताए।

“प्रधानमन्त्रीले चलचित्र निर्माताहरूलाई भारतको विशिष्ट गाथा विश्वसमक्ष पेश गर्न भनेका छन्”

अभिनेता ऋषभ सेट्टीले लोक सम्पर्कको निम्ति चलचित्र शक्तिशाली माध्यम बन्नपुगेको बताए। “पहिले धेरै चलचित्रले हाम्रो देशलाई नकारात्मक रूपमा पेश गर्ने गर्थ्यो, मेरो विचारमा हाम्रो देशलाई सकारात्मक रूपमा प्रस्तुत गर्न महत्त्वपूर्ण छ। यही नै मेरो विचार रहेको छ, गाउँ-घरका विशिष्ट कथाहरू अघि ल्याउनु, जुन विशिष्ट विश्वास, जीवन जिउने तरिका, रीति-थिति अनि भोजनमा प्रदर्शित हुने गर्दछ। यही नै प्रधानमन्त्रीको चलचित्र उद्योगलाई सन्देश छ, हाम्रो भारतीय संस्कृति अनि कथाहरूलाई विश्वसमक्ष पुऱ्याउनुपर्नेछ।”

****



(Release ID: 1927746) Visitor Counter : 115