57th International Film Festival of India 2026
20 – 28 Nov 2026

पावेल पाव्लिकोव्स्कीको ‘फादरल्यान्ड’ को भारतमा पहिलो प्रदर्शनसँगै ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (इफ्फी) सुरु, युद्धपछिको विभाजित जर्मनीको कथा प्रस्तुत


‘फादरल्यान्ड’ ले इफ्फीको ‘सीमाविहीन कथाहरू’ भन्ने नारालाई प्रतिबिम्बित गर्छिन्: निर्माता इवा पुश्चिन्स्का

भारत–पोल्याण्ड मैत्रीको सबैभन्दा बलियो आधार संस्कृति : पिओत्र एन्टोनी स्विताल्स्की

पोस्ट गरियो: 20 NOV 2026 4:44PMby PIB Gangtokरिलिज आईडी: 2341772Views: 9

गोवा, २० नोभेम्बर २०२६:

युद्धले क्षतविक्षत बनाएको, विचारधाराका आधारमा विभाजित भएको र आफ्नो विगतको भारसँग जुधिरहेको एउटा राष्ट्रको यात्रा आज गोवामा ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (इफ्फी) को उद्घाटनसँगै प्रस्तुत गरियो। प्रख्यात चलचित्र निर्देशक पावेल पाव्लिकोव्स्कीको चलचित्र ‘फादरल्यान्ड’ (ओज्चिज्ना) को भारतमा पहिलो प्रदर्शनसँगै नौदिने महोत्सवको शुभारम्भ भयो। यस चलचित्रले शीतयुद्धको प्रारम्भिक समयको युद्धपछिको जर्मनीको मार्मिक चित्रण दर्शकमाझ प्रस्तुत गरेको छ।

ओस्कार पुरस्कार विजेता निर्देशक पाव्लिकोव्स्कीद्वारा निर्देशित यस श्यामश्वेत चलचित्रले नोबेल पुरस्कार विजेता जर्मन लेखक थोमस मान र उनकी छोरी एरिकाको कथामार्फत इतिहास, पारिवारिक सम्बन्ध तथा विभाजित मातृभूमिको जटिलतालाई प्रस्तुत गरेको छ। नौदिने महोत्सवको उद्घाटनका अवसरमा आईनक्सका सबै प्रदर्शन कक्ष दर्शकले भरिएका थिए, जसले चलचित्रको प्रभावशाली सुरुवात गराएको छ।

चलचित्र प्रदर्शनअघि ‘फादरल्यान्ड’ की निर्माता इवा पुश्चिन्स्का, नयाँ दिल्लीस्थित पोल्याण्ड दूतावासका नियोग प्रमुख पिओत्र एन्टोनी स्विताल्स्की र नयाँ दिल्लीस्थित पोलिस इन्स्टिच्युटकी निर्देशक माल्गोर्जाता वेजिस-गोलेम्बियाकले पणजीस्थित आईनक्समा रेड कार्पेटमा सहभागिता जनाए।

चलचित्रबारे आफ्नो धारणा राख्दै निर्माता इवा पुश्चिन्स्काले यसको निर्माण प्रक्रियाले नै इफ्फीको मूल भावनालाई आत्मसात् गरेको बताइन्। उनले ‘फादरल्यान्ड’ जर्मन लेखक र जर्मन जनताको कथा जर्मन भाषामा प्रस्तुत गर्ने चलचित्र भए पनि यसको निर्माण पूर्ण रूपमा पोल्याण्डका कलाकार तथा प्राविधिकहरूको योगदानबाट भएको बताइन्। यसले महोत्सवको ‘सीमाविहीन कथाहरू’ भन्ने नारालाई प्रतिबिम्बित गरेको उनको भनाइ थियो।

पिओत्र एन्टोनी स्विताल्स्कीले भारत र पोल्याण्डबीचको मैत्री सम्बन्ध विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको उल्लेख गर्दै संस्कृतिलाई यस सम्बन्धको सबैभन्दा बलियो आधारका रूपमा प्रस्तुत गरे। उनले पावेल पाव्लिकोव्स्कीले पोल्याण्डको परम्परागत चलचित्र निर्माण शैलीमा नयाँ दृष्टिकोण र परिप्रेक्ष्य थपेको बताए।

अतिथिहरूलाई सम्मान गर्दै सूचना तथा प्रसारण मन्त्रालयका सचिव चञ्चल कुमारले ‘फादरल्यान्ड’ ले भारत र पोल्याण्डबीचको सिर्जनात्मक सम्बन्धलाई उत्सवका रूपमा मनाउने विशेष अवसर प्रदान गरेको बताए। कार्यक्रममा इफ्फीका महोत्सव निर्देशक आशुतोष गोवारिकर, भारतीय राष्ट्रिय चलचित्र विकास निगमका अध्यक्ष जी. कृष्णकुमार तथा इफ्फीका कलात्मक निर्देशक पंकज सक्सेना पनि उपस्थित थिए।

विभाजित जर्मनीको पृष्ठभूमिमा बाबु–छोरीको यात्रा

सन् १९४९ को ग्रीष्म ऋतुमा, शीतयुद्धको सुरुवाती पृष्ठभूमिमा आधारित चलचित्र ‘फादरल्यान्ड’ ले संयुक्त राज्य अमेरिकामा १६ वर्षको निर्वासनपछि जर्मनी फर्किएका थोमस मान र उनकी छोरी एरिकाको कथा प्रस्तुत गर्छ। दोस्रो विश्वयुद्धको विनाशका निशान अझै बाँकी रहेको देशमा कालो रङको बुइक कारमा यात्रा गर्दै बाबु–छोरीको यो जोडी अमेरिकी नियन्त्रणमा रहेको फ्र्याङ्कफर्टदेखि सोभियत नियन्त्रणमा रहेको वाइमरसम्म पुग्छन्।

मानका लागि यो यात्रा केवल घर फर्किने यात्रा मात्र होइन। यो युद्ध र परस्पर विरोधी राजनीतिक विचारधाराका कारण परिवर्तन तथा विभाजन भएको आफ्नो मातृभूमिसँगको साक्षात्कार पनि हो। यात्रा अघि बढ्दै जाँदा देशको विभाजनले मान परिवारभित्रका जटिलताहरूलाई पनि प्रतिबिम्बित गर्छ। यस क्रममा आफ्नो सम्बन्ध, पहिचान, स्मृति र मेलमिलापसम्बन्धी प्रश्नहरू प्रमुख रूपमा उठ्छन्।

स्यान्ड्रा ह्युलर र हान्स जिस्लरको मुख्य भूमिका रहेको ८२ मिनेट लामो यो चलचित्र पोल्याण्ड, जर्मनी, इटाली र फ्रान्सको संयुक्त निर्माण हो। यस वर्ष चलचित्र कान्स, सान सेबास्टियन र टेलुराइडलगायतका प्रमुख अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा प्रदर्शन भइसकेको छ। यस चलचित्रका लागि पावेल पाव्लिकोव्स्कीले कान्स चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको पुरस्कार प्राप्त गरेका छन्।

इफ्फीलोइड यहाँ पढ्नुहोस्:     https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

*********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341772
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026