गोवा, २१ नोभेम्बर २०२६:
सन् १९२६ भारतीय चलचित्र जगतका लागि एउटा विशेष र ऐतिहासिक वर्षका रूपमा स्थापित भएको थियो। त्यसै वर्ष देशका विभिन्न परिवार तथा विविध सांस्कृतिक परम्परामा सातजना विशिष्ट प्रतिभाहरूको जन्म भएको थियो, जसले कालान्तरमा भारतीय चलचित्रको पर्दामा आफ्नो अमिट छाप छोड्न सफल भए।
उनीहरू थिए बंगाली चलचित्र जगतका चर्चित ‘महानायक’ उत्तम कुमार, हिन्दी चलचित्रका सर्वाधिक प्रतिष्ठित तथा कालजयी चलचित्रका सर्जक प्रख्यात निर्देशक शक्ति सामन्ता, आफ्नो सदाबहार सङ्गीत सिर्जनामार्फत पुस्तौँदेखि श्रोताहरूलाई मन्त्रमुग्ध पार्दै आएका सङ्गीतका महारथी ओ.पी. नैय्यर, ग्रामीण, ऐतिहासिक तथा पौराणिक कथावस्तुमा आधारित चलचित्रहरूमा स्मरणीय अभिनय प्रस्तुत गरी मराठी चलचित्र जगतलाई समृद्ध बनाउने पद्मश्री पुरस्कार प्रापत सूर्यकान्त मन्धारे, मलयालम चलचित्रका सदाबहार रोमान्टिक हिरो प्रेम नाजिर, आफ्नो विशिष्ट आवाज र अनुकरण गर्न कठिन अभिनय शैलीका कारण बलिउडमा छुट्टै पहिचान बनाएका अभिनेता राज कुमार, तथा चौदहवीं का चाँद, गुमराह, वक्त र हमराज जस्ता कालजयी चलचित्रका अविस्मरणीय सङ्गीत सिर्जना गर्ने प्रतिभाशाली संगीतकार रवि (बम्बई रवि)।
एक शताब्दीपछि, ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई)- ले यी विशिष्ट व्यक्तित्वहरूको जन्मजयन्तीलाई चारवटा भाषा—हिन्दी, बंगाली, मलयालम र मराठीका पाँचवटा पुनर्स्थापित चलचित्र प्रदर्शन गर्दै स्मरण गरिरहेको छ। यी चलचित्रहरू शताब्दी वर्ष पूरा गरेका ती महान् कलाकारहरूका सर्वाधिक चर्चित तथा उल्लेखनीय सिर्जनामध्येका हुन्।
यी सबै चलचित्रहरू भारतको समृद्ध चलचित्र सम्पदाको संरक्षण, संवर्द्धन, डिजिटलीकरण तथा पुनर्स्थापन गर्ने उद्देश्यले सूचना तथा प्रसारण मन्त्रालयको प्रमुख पहलका रूपमा सञ्चालित नेशनल फिल्म हेरिटेज मिशन अन्तर्गत नेशनल फिल्म डेभलोपमेन्ट बोर्डद्वारा पुनर्स्थापना गरिएको हो। यस अभियानले भारतीय चलचित्रको ऐतिहासिक तथा सांस्कृतिक विरासतलाई भावी पुस्ताका लागि सुरक्षित राख्ने महत्त्वपूर्ण कार्य गर्दै आएको छ।
चौरंगी मा उत्तम कुमार
सन् १९६५ मा निर्माण भएको उत्कृष्ट बंगाली चलचित्रको कालजयी कृति चौरंगीले बंगाली चलचित्र जगतमा उत्कृष्ट सामूहिक अभिनयको एउटा अनुपम उदाहरण प्रस्तुत गरेको थियो। बंगाली चलचित्रका सर्वाधिक लोकप्रिय तथा प्रतिष्ठित अभिनेता उत्तम कुमारले आफ्नो लोकप्रियताको उत्कर्षमा रहेको समयमा यस चलचित्रमा सत्यसुन्दर ‘सता’ बोसको भूमिका स्वीकार गरेका थिए। उत्तम कुमारले सन् १९४८ मा एक अभिनेताका रूपमा आफ्नो चलचित्र यात्रा शुरू गरेका थिए। त्यहाँदेखि यता तीन दशकभन्दा लामो अभिनय यात्रामा उनले दुई सयभन्दा अधिक चलचित्रमा अभिनय गर्दै दर्शकहरूलाई ‘सप्तपदी’, ‘हारानो सुर’, ‘नायक’, ‘चिडियाखाना’ र ‘अमानुष’ लगायत अनेकौँ उत्कृष्ट चलचित्रको उपहार दिएका छन्। उनले बंगाली चलचित्रको अभिनय शैलीलाई परम्परागत रङ्गमञ्चीय शैलीबाट आधुनिक शहरी रोमान्सको नयाँ आयामतर्फ डोर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

निर्देशक शक्ति सामन्ता र सङ्गीत निर्देशक ओ.पी. नैय्यरको कश्मीर की कली
‘कश्मीर की कली’ चलचित्रले निर्देशक शक्ति सामन्ता र सङ्गीत निर्देशक ओ.पी. नैय्यर दुवैलाई आ–आफ्नो क्षेत्रमा सफलताको शिखरमा पुर्याएको थियो। शक्ति सामन्ताले यस चलचित्रमार्फत कश्मीरको स्वर्गीय प्राकृतिक सौन्दर्यलाई रङ्गीन पर्दामा अत्यन्त आकर्षक ढङ्गले प्रस्तुत गर्दै चलचित्रप्रेमीहरूलाई त्यसको अनुपम छटासँग साक्षात्कार गराएका थिए। जबकि, ओ.पी. नैय्यरले यस चलचित्रका लागि यस्ता सुमधुर संगीत र धुनहरूको सिर्जना गरे, जसले आज पनि श्रोताहरूको मनलाई उत्तिकै स्पर्श गरिरहेको छ।
शक्ति सामन्ताले पनि सन् १९४८ मा सहायक निर्देशकका रूपमा आफ्नो चलचित्र यात्रा शुरू गरेका थिए भने सन् १९५५ मा चलचित्र ‘बहु’ मार्फत निर्देशकका रूपमा पदार्पण गरेका थिए। आफ्नो ब्यानर शक्ति फिल्मस् अन्तर्गत उनले जम्मा ४३ वटा चलचित्र निर्देशन गरे, जसमध्ये ३७ वटा हिन्दी र ६ वटा बंगाली भाषाका चलचित्र रहेका छन्। यी कुशल चलचित्र निर्माताले हिन्दी चलचित्र जगतलाई ‘हावड़ा ब्रिज’, ‘चाइना टाउन, ‘एन इभिनिङ इन पेरिस, ‘आराधना’, ‘कटी पतंग’, ‘अमर प्रेम’ र ‘अनुराग’ जस्ता कालजयी चलचित्रहरू उपहार दिएका छन्।
ओमकार प्रसाद नैय्यरले सन् १९५२ मा चलचित्र ‘आसमान’ मार्फत आफ्नो चलचित्र यात्रा शुरू गरेका थिए। त्यसपछि उनले ‘आर पार’, ‘मिस्टर एन्ड मिसेस 55’, ‘सीआईडी’, ‘नया दौर’ र ‘हावड़ा ब्रिज’ जस्ता चलचित्रहरूमा संगीत सिर्जना गरे। गायक मोहम्मद रफी, आशा भोसले र गीता दत्तसँगको उनको सांगीतिक सहकार्यले हिन्दी चलचित्र संगीतका केही सर्वाधिक लोकप्रिय तथा सदाबहार गीतहरू जन्मायो। घोड़ाको टापको लय र ढोलकको ताललाई आफ्नो संगीतमा विशिष्ट ढङ्गले समेटेर उनले एउटा छुट्टै साङ्गीतिक शैलीको सृजना गरेका थिए, जसलाई दर्शक तथा श्रोताहरूले निकै रुचाएका थिए।

साधी माणसंमा सूर्यकान्त मन्धारे
सूर्यकान्त मन्धारे बाल्यावस्थामै आफ्ना गुरू भालजी पेंढारकरको नजरमा परेका थिए। उनले बाल कलाकारका रूपमा आफ्नो अभिनय यात्रा शुरू गरेका थिए। पाँच दशक लामो अभिनय यात्रामा सयभन्दा अधिक चलचित्रमा अभिनय गर्दै उनले मराठी सिनेमालाई थुप्रै सशक्त र अविस्मरणीय पात्रहरू उपहार दिएका थिए। सांगत्ये ऐका, कन्यादान, मोहित्यांची मञ्जुला र मल्हारी मार्तण्ड जस्ता चलचित्रमा उनले ग्रामीण परिवेशदेखि ऐतिहासिक तथा पौराणिक चरित्रसम्मका विविध भूमिकालाई जीवन्त बनाएका थिए।
सन् १९६५ मा निर्मित चर्चित चलचित्र साधी माणसंमा उनले शङ्कर नामक एक लोहारको भूमिका निर्वाह गरेका छन्। जसको चरित्रले कुनै घमण्ड वा आडम्बरबिना नै दृढ़ व्यक्तित्व प्रस्तुत गर्ने एक मेहनती मानिसको प्रतिनिधित्व गरेको छ। यस चरित्रमार्फत श्रमको गरिमा र अरूले गलत बुझिदिँदा मनमा उत्पन्न हुने पीड़ालाई मार्मिक ढङ्गले चित्रण गरिएको छ। यस चलचित्रमा उनको जोड़ी जयश्री गडकरसँग बाँधिएको छ, जससँग उनले अन्य धेरै चलचित्रहरूमा पनि अभिनय गरेका छन्। यस चलचित्रको अर्को रोचक पक्ष के छ भने, प्रख्यात गायिका लता मंगेशकरले यस चलचित्रको सङ्गीत ‘आनन्दघन’ छद्म नामबाट रचना गरेकी थिइन्। मराठी चलचित्र क्षेत्रमा आफ्ना सङ्गीत सिर्जनाहरूका लागि उनले प्रायः यही नाम प्रयोग गर्ने गर्थिन्।

प्रेम नाजिर तुलाभारममा
मलयालम चलचित्र जगतका सदाबहार रोमान्टिक हिरो प्रेम नाजिर, जसका चलचित्रहरू सुमधुर गीत-सङ्गीत र जीवन्त कथावस्तुका लागि विशेष रूपमा परिचित छन्, उनले तुलाभारममा कारखानाका मजदुर तथा ट्रेड युनियनकर्मी रामाको भूमिका निर्वाह गरेका छन्। वेशष गरी रोमान्टिक हिरोको रूपमा चिनिने यी चर्चित कलाकारले यस चलचित्रमा आफ्नो ग्ल्यामरस छविभन्दा एकदमै अलग, अत्यन्तै सादगीपूर्ण र संयमित अभिनय प्रस्तुत गरेका छन्। यस भूमिकालाई उनको अभिनय यात्राकै उत्कृष्ट प्रस्तुतिहरूमध्ये एक मान्न सकिन्छ।
इरुट्टिन्ते आत्मावु, मुरप्पेन्नु र नदी जस्ता चलचित्रदेखि कल्लीचेल्लम्मा, विदा परयुम मुनपे र पदयोट्टमसम्म आइपुग्दा प्रेम नाजिरले आफ्नो अभिनय यात्रामा प्रेमकथाका भूमिकाबाट पौराणिक कथा तथा सामाजिक सुधारका विषयवस्तुमा आधारित भूमिकाहरूसम्म आफूलाई विस्तार गर्दै लगे। उनले दुईवटा गिनिज वर्ल्ड रेकर्ड आफ्नो नाममा गरेका छन्। ७०० भन्दा अधिक चलचित्रमा मुख्य नायकको भूमिका निर्वाह गर्नु र अभिनेत्री शीलासँग १३० वटा चलचित्रमा जोड़ीका रूपमा अभिनय गर्नु उनको ती विश्व कीर्तिमान हुन्, उनले १९८३ मा पद्मभूषण प्राप्त गरेका थिए।

वक्त-मा अभिनेता राज कुमार र सङ्गीत निर्देशक बम्बे रवि
आफ्नो प्रभावशाली व्यक्तित्व, गम्भीर आवाज, सशक्त संवाद प्रस्तुत गर्ने शैली र विशिष्ट अभिनयका कारण चर्चित दिग्गज अभिनेता राज कुमारले यश चोपड़ाको बहुचर्चित चलचित्र वक्त-मा प्रख्यात सङ्गीत निर्देशक रविसँग सहकार्य गरेका थिए। यस चलचित्रमा राजा नामक चोरको भूमिकामा राज कुमारको आकर्षक अभिनय र रविको सङ्गीतमा तयार भएको लोकप्रिय गीत ‘ऐ मेरी जोहरा जबीं’ आज पनि स्मरणीय छन्।
राज कुमारले सन् १९५२ मा चलचित्र रङ्गिली बाट आफ्नो अभिनय यात्रा शुरू गरेका थिए। नौशेरवान–ए–आदिल र मदर इन्डिया जस्ता चलचित्रमा आफ्नो अभिनय क्षमता प्रस्तुत गर्दै उनी दिल एक मन्दिर (सन् १९६३) सम्म आइपुग्दा चर्चाको शिखरमा पुगे। त्यसपछि उनले वक्त, हीर राँझा, पाकिजा र तिरंगा लगायतका चलचित्रमा अविस्मरणीय भूमिकाहरू निर्वाह गरेका थिए।
रवि शंकर शर्मा, जो मलयालम चलचित्र क्षेत्रमा बम्बे रविका नामले लोकप्रिय छन्, उनले सन् १९५५ मा हिन्दी चलचित्र वचनबाट आफ्नो सङ्गीत यात्रा शुरू गरेका थिए। चौदहवीं का चाँद, गुमराह, वक्त र हमराज जस्ता चलचित्रमा उनले सिर्जना गरेको सङ्गीत विशेष चर्चित छ। परिणयम र सुकृतम चलचित्रका लागि उनले उत्कृष्ट सङ्गीत निर्देशनतर्फ राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए।

यस विशेष रूपमा तयार पारिएको शताब्दी श्रद्धाञ्जली मार्फत ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई)-ले सातजना असाधारण व्यक्तित्वहरूलाई मात्र सम्मान गर्ने छैन, तर उनीहरूले छोड़ेर गएको चिरस्थायी सिर्जनात्मक विरासतलाई समेत स्मरण गर्नेछ। उनीहरूको योगदानले आज पनि पुस्तौँलाई प्रेरणा दिँदै भारतीय सिनेमाको कालजयी समृद्धिलाई उजागर गरिरहेको छ।
जन्मको एक शताब्दीपछि पनि यी सातजना दिग्गज व्यक्तित्वका सिर्जनाहरू भारतीय सिनेमाको असाधारण विविधता, सिर्जनशील महत्वाकाङ्क्षा र कलात्मक उत्कृष्टताका सशक्त प्रमाणका रूपमा रहेका छन्। यी पुनःस्थापित उत्कृष्ट चलचित्रहरूमार्फत ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई)-ले दर्शकहरूलाई अविस्मरणीय अभिनय, मधुर सङ्गीत र उत्कृष्ट कथाहरूको पुनःअवलोकन गर्ने अवसर मात्र प्रदान गर्ने छैन, तर उनीहरूले आकार दिन सहयोग पुर्याएका चलचित्र परम्परा र सांस्कृतिक इतिहासलाई समेत पुनःस्मरण गर्ने अवसर प्रदान गर्नेछ।
सातजना विशिष्ट व्यक्तित्वको व्यक्तिगत विरासतप्रतिको श्रद्धाञ्जली मात्र नभई, यो शताब्दी समारोह भारतीय चलचित्र सम्पदाको संरक्षण गर्नुका साथै यसलाई भावी पुस्ताका लागि सहज रूपमा उपलब्ध गराइराख्नुको महत्त्वलाई पुनः पुष्टि गर्ने एउटा महत्त्वपूर्ण अवसर पनि हो।
आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्: https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
****
MPS/TWB