राष्ट्रपतिको सचिवालय
भारतकी राष्ट्रपतिद्वारा सिक्किम पुलिसलाई “प्रेसिडेन्ट अव् इण्डिया पुलिस कलर” प्रदान
पुलिस नागरिकहरूका लागि साझेदार अनि मार्गदर्शकका रूपमा विकसित हुनुपर्दछ : राष्ट्रपति द्रौपदी मुर्मू
पोस्ट गरियो:
28 MAY 2026 12:25PM by PIB Gangtok
राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूद्वारा आज गान्तोकमा सिक्किम पुलिसलाई “प्रेसिडेन्ट अव् इण्डियाज् पुलिस कलर” प्रदान गरियो।
यस अवसरमा बोल्दै राष्ट्रपतिले यस सम्मानका लागि सिक्किम पुलिससँग पूर्व अनि वर्तमानमा आबद्ध सबै अधिकारी अनि पुलिसकर्मीलाई बधाई दिइन्। सन् 1897 मा स्थापनापछि, यस बलले सिक्किममा शान्ति, सुरक्षा अनि न्याय सुनिश्चित गर्न काम गरिरहेकोमा उनले खुशी व्यक्त गरिन्।

राष्ट्रपतिले भारतीय पुलिस तन्त्रमा धेरै लामो औपनिवेशिक शासनको छाप रहेको उल्लेख गरिन्। औपनिवेशिक दमनको युगमा, पुलिसको प्राथमिक उद्देश्य जनसेवा नभएर उनीहरूलाई नियन्त्रित गर्नका साथै शासन तन्त्रको हुकुम तामेल गर्नुरहेको बताइन्। यसको फलस्वरूप, औपनिवेशिक मनस्थितिले पुलिस तन्त्रमा जरा गाडेको र यसै मनस्थिति अन्तर्गत सहयोगको साटो जनमानसमा शासन गर्ने प्रवृत्ति विद्यमान रहेको बताइन्। यो मनस्थितिमा परिवर्तन आइरहेको उल्लेख गर्दै राष्ट्रका नागरिकहरूलाई सशक्त बनाउन, उक्त औपनिवेशिक विचारधारा पूर्णरूपमा त्याग्न आवश्यक रहेको बताइन्। यसो गरे मात्र नागरिकहरूले विकसित भारतको लक्ष्य हासिल गर्न खुल्ला मनले योगदान पुऱ्याउने उनले बताइन्।

पुलिस तन्त्रमा पारदर्शिता अनि जवाफदेयता अत्यन्तै अपरिहार्य रहेको राष्ट्रपतिले रेखाङ्कित गरिन्। नागरिकहरूले कुनै डरबिना आफ्नो उजुरी दर्ता गराउनसक्ने हिसाबले पुलिस तन्त्रलाई नागरिकमैत्री बनाउन आवश्यक रहेको उल्लेख गरिन्। यसका साथै महिला, बालक अनि समाजका कमजोर वर्गतर्फ संवेदनशील दृष्टिकोण अपनाउन प्राथमिकता दिनुपर्ने कुरामा उनले जोड दिइन्।

नागरिकहरूका लागि पुलिस साझेदार अनि मार्गदर्शकका रूपमा विकसित हुनुपर्ने राष्ट्रपतिले बताइन्। सामूहिक भूमिका अङ्गीकार गरे, जनमानस अनि पुलिसबीच विश्वास सुदृढ हुने कुरा उनले उल्लेख गरिन्। पुलिसले जनमानसको समस्या बुझ्दै सहयोग बढाए, यसले समाजमा सुरक्षाको भावना बढाउँदै कानुनको राजप्रति गहिरो सम्मान जगाउनेछ, उनले बताइन्। पुलिस तन्त्रको उद्देश्य अपराधीहरू पक्रनमा मात्र सीमित नरहेर सुरक्षित साथै सामाजिक रूपमा सचेत समाज निर्माण गर्नका लागि पनि हुनुपर्नेछ, उनले बताइन्।
सिक्किममा शान्ति अनि सद्भावना कायम गर्न सिक्किम पुलिसले उल्लेखनीय योगदान पुऱ्याइरहेको जान्नपाउँदा राष्ट्रपतिले हर्ष व्यक्त गरिन्। नागरिकहरूतर्फ पेशेवर आचरण अनि मैत्रीपूर्ण व्यवहारद्वारा सिक्किम पुलिसले सिक्किमे जनमानसको प्रेम अनि सम्मान कमाएको उनले उल्लेख गरिन्।
राष्ट्रपतिको सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोस्
*********
MJPS/SS/PRK
(रिलिज आईडी: 2266238)
आगन्तुक काउन्टर : 8