सूचना तथा प्रसारण मन्त्रालय

रचनात्मकता, मिडिया र प्रविधिको अन्तरसम्बन्धले विश्वको मिडिया परिदृश्यलाई रूपान्तरण गरिरहेको छ; वेभ्सले सिर्जनाकर्ताहरूलाई उच्च मूल्यको सामग्री बनाउनका लागि मञ्च प्रदान गर्नेछ: केन्द्रीय मन्त्री अश्विनी वैष्णव


वेभ्स 2025 ले मिडिया र मनोरञ्जन उद्योगको लागि चर्चा, सहयोग र नवाचारलाई बढावा दिनका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ: केन्द्रीय मन्त्री डा. एस जयशङ्कर

वेभ्स 2025 एक आन्दोलन हो, जसले प्राविधिक प्रगति र सामाजिक परिवर्तनमा मिडियाको उदीयमान भूमिकालाई रेखाङ्कित गर्दछ: महाराष्ट्रका मुख्यमन्त्री श्री देवेन्द्र फडणवीस

वेभ्सले वैश्विक मिडिया कम्पनीहरूलाई भारतको रचनात्मक क्षेत्रसँग संलग्न हुन सक्षम बनाउनेछ: केन्द्रीय राज्य मन्त्री डा. एल मुरुगन

सूचना तथा प्रसारण मन्त्रालयले नयाँ दिल्लीमा रहेका विदेशी मिशनका राजदूत र उच्चायुक्तहरूका लागि ‘वेभ्स 2025 माथि एक सत्र’ आयोजना गर्नेछ

सूचना तथा प्रसारण मन्त्रालय र महाराष्ट्र सरकारबीच मिडिया, मनोरञ्जन र डिजिटल आउटरिचमा सहयोगलाई मडबुत पार्नका लागि सम्झौता पत्र आदान-प्रदान गरियो

Posted On: 13 MAR 2025 7:44PM by PIB Gangtok

मिडिया र मनोरञ्जन (एमएण्डई) क्षेत्रमा वैश्विक सहयोगलाई बढाउने एक प्रमुख पहल अन्तर्गत भारत सरकारले आज नयाँ दिल्लीको चाणक्यपुरीस्थित सुषमा स्वराज भवनमा वेभ्स 2025 सम्बन्धी एक उच्च स्तरीय सत्रको आयोजना गर्यो। सूचना तथा प्रसारण मन्त्रालय (एमआईबी) द्वारा आयोजना गरिएको यो कार्यक्रमले 1 देखि 4 मई, 2025 सम्म मुम्बईमा आयोजना हुने विश्व अडियो भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) 2025 अघि अन्तर्राष्ट्रिय समुदायलाई सामेल गराउने उद्देश्य राखेको थियो।

केन्द्रीय विदेश मन्त्री डा. एस. जयशङ्कर, सूचना तथा प्रसारण, रेलवे, इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री श्री अश्विनी वैष्णव, महाराष्ट्रका मुख्यमन्त्री श्री देवेन्द्र फडणवीस र सूचना तथा प्रसारण राज्य मन्त्री डा. एल. मुरुगनले महाराष्ट्र सरकारकी मुख्य सचिव श्रीमती सुजाता सौनिक र सूचना तथा प्रसारण मन्त्रालयका सचिव श्री सञ्जय जाजूको साथमा कार्यक्रममा उपस्थित थिए। यो कार्यक्रममा लगभग 100 राजदूत र उच्चायुक्तहरू सामेल थिए।

यो कार्यक्रमको प्रमुख आकर्षण सूचना तथा प्रसारण मन्त्रालय र महाराष्ट्र सरकारबीचको सम्झौता ज्ञापनको आदान-प्रदान थियो, जसको कारण मिडिया, मनोरञ्जन र डिजिटल आउटरिचमा सहयोगलाई मजबुत बन्यो।

सत्रलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री श्री अश्विनी वैष्णवले भने, “रचनात्मकता, मिडिया र प्रविधिको अन्तरसम्बन्धले विश्वको मिडिया परिदृश्यलाई रूपान्तरण गरिरहेको छ र अभिसरणको एक नयाँ स्तरमा पुगिरहेको छ।” मन्त्रीले भने कि जीवनका सबै क्षेत्रका सिर्जनाकर्ता समुदायले उच्च मूल्यको सामग्री सिर्जना गर्न सक्छन् र यो वेभ्स 2025 को आधारभूत अवधारणा हो। हामी 1 मईदेखि 4 मई, 2025 सम्म मुम्बईमा आयोजना हुने वेभ्स 2025 को लागि प्रविधि, मिडिया र मनोरञ्जनका केही ठूला नामहरूलाई आमन्त्रित गर्दैछौँ। वैश्विक क्षेत्रमा विभिन्न भारतीय प्रयासहरूको बारेमा विस्तारपूर्वक बताउँदै मन्त्रीले सबै हितधारकहरूलाई वेभ्स 2025 मा भाग लिन र वैश्विक सिर्जनाकर्ता अर्थतन्त्रलाई बढावा दिनका लागि एक साथ आउन आमन्त्रित पनि गरे।

आफ्नो सम्बोधनमा केन्द्रीय मन्त्री डा. एस. जयशङ्करले भने, “वेभ्सले मिडिया र मनोरञ्जन उद्योगको लागि चर्चा, सहयोग र नवाचारलाई बढावा दिनका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ। यो कार्यक्रमले उद्योगका नेताहरू, हितधारकहरू र नवप्रवर्तकहरूलाई अवसर अन्वेषण गर्न, चुनौतीहरूलाई सम्बोधन गर्न र क्षेत्रको भविष्यलाई आकार दिनका लागि एकताबद्ध गर्नेछ।” मन्त्रीले भने, “आर्थिक र राजनीतिक पुनर्सन्तुलन सांस्कृतिक सन्तुलनतर्फ अघि बढिरहेको छ। यदि हामी साँच्चै स्थानीय छैनौँ भने हामी साँच्चै वैश्विक छैनौँ। वेभ्स 2025 ले यस प्रयासको भावनालाई समेट्छ”। केन्द्रीय मन्त्री श्री जयशङ्करले राजदूत र उच्चायुक्तहरूलाई वेभ्स 2025 अन्तर्गत वैश्विक सहयोगका अवसरहरूको बारेमा आफ्ना सरकारहरूलाई परिचित गराउन पनि आग्रह गरे।

आफ्नो विशेष टिप्पणीमा महाराष्ट्रका मुख्यमन्त्री श्री देवेन्द्र फडणवीसले भने, “भारतको वित्तीय र मनोरञ्जन राजधानी मुम्बईले वेभ्स 2025 को लागि एकदम सही पृष्ठभूमिको रूपमा काम गर्दछ, जसले मिडिया र मनोरञ्जन क्षेत्रमा सहयोग र सांस्कृतिक कूटनीतिलाई बढावा दिँदै प्राचीन र आधुनिक सांस्कृतिक प्रभावहरूलाई निर्बाध रूपमा मिश्रण गर्दछ।” उनले थपे, “वेभ्स 2025 एक यस्तो आन्दोलन हो, जसले प्राविधिक प्रगति र सामाजिक रूपान्तरणमा मिडियाको विकसित भूमिकालाई रेखाङ्कित गर्दछ। महाराष्ट्र निवेशलाई बढावा दिन र नवाचारलाई अगाडि बढाउने वैश्विक साझेदारी बनाउनका लागि प्रतिबद्ध छ।” भारतीय रचनात्मक प्रविधि संस्थानको स्थापनालाई स्वागत जनाउँदै श्री फडणवीसले मिडिया राम्रोको लागि शक्ति बन्न जारी रहनेछ भन्ने आशा व्यक्त गरे, जसले भविष्यलाई आकार दिनेछ जहाँ प्रविधि र रचनात्मकता विश्वलाई प्रेरणा र जडान गर्न मिल्छ।

आफ्नो समापन भाषणमा सूचना तथा प्रसारण राज्य मन्त्री डा. एल. मुरुगनले भने, “वेभ्स शिखर सम्मेलन 2025 ले संयुक्त उद्यम, सह-निर्माण र व्यापार विस्तारको ढोका खोल्दछ, जसले वैश्विक मिडिया कम्पनीहरूलाई भारतको रचनात्मक क्षेत्रसँग संलग्न हुन सक्षम बनाउँछ।” केन्द्रीय राज्य मन्त्रीले यो पनि भने, “भारत सरकार मिडिया तथा मनोरञ्जन उद्योगको लागि अनुकूल माहोल सिर्जना गर्न दृढ छ, जसले व्यापार गर्न सजिलो, विषयवस्तुको स्थानीयकरण र पूर्वाधार विकासलाई समर्थन गर्दछ।”

सूचना तथा प्रसारण सचिव श्री सञ्जय जाजूले आफ्नो टिप्पणीमा भने, “वेभ्स सम्पूर्ण मिडिया थथा मनोरञ्जन क्षेत्रको लागि विश्वको पहिलो अभिसरण मञ्च हो। हाम्रो लक्ष्य परम्परागत र उदीयमान मिडियाबीचको खाडललाई कम गर्नु, वैश्विक साझेदारी निर्माण गर्नु र विषयवस्तु निर्माण एवं प्राविधिक नवाचारमा भारतको समृद्ध सांस्कृतिक परम्पराहरूको उपयोग गर्नु हो।”

उनले थपे कि वेभ्सको पहिलो संस्करणलाई अर्थपूर्ण प्रभाव पैदा गर्नका लागि धेरै ट्र्याकहरूसँग डिजाइन गरिएको छ। वैश्विक मिडिया संवादमा मन्त्री र नीति निर्माताहरू सामेल हुनेछन्, जसको समापन एक मार्गदर्शक नीति दस्तावेजको रूपमा वेभ्स घोषणा-पत्रमा गरिनेछ। थट लिडर्स ट्र्याकले उद्योग विशेषज्ञहरूसँग ज्ञान आदान-प्रदान सत्र आयोजना गर्नेछ। वेभ्स प्रदर्शनीमा कथा वाचन गर्ने नवाचार, इमर्सिभ अनुभव र गेमिङ क्षेत्रलाई प्रदर्शन गरिनेछ। भारत मण्डपले भारतको मिडिया सम्पदा र भविष्यलाई उजागर गर्नेछ। सचिव श्री जाजूले यो पनि भने कि वेभ्स बजारले व्यापार नेटवर्किङको सुविधा प्रदान गर्नेछ, जबकि वेभएक्सेलरेटरले मिडिया स्टार्टअपहरूलाई सल्लाह र वित्तपोषणको साथमा सहयोग गर्नेछ। वेभ्स कल्चरलमा भारतीय र अन्तर्राष्ट्रिय प्रतिभाको मिश्रण गर्दै विविध प्रदर्शनहरू प्रस्तुत हुनेछन्।

 

वेभ्स 2025: डिजिटल युगमा मिडिया र मनोरञ्जन एक एकीकृत शक्तिको रूपमा

मिडिया र मनोरञ्जनको रूपान्तरणकारी शक्तिलाई मान्यता दिँदै विश्व अडियो-भिजुअल तथा मनोरञ्जन शिखर सम्मेलन (वेभ्स) का सहभागीहरू 1 मईदेखि 4 मई, 2025 को अवधिमा मुम्बईमा एकत्रित हुनेछन्। यो ऐतिहासिक शिखर सम्मेलनले वैश्विक नेताहरू, मिडिया पेशेवरहरू, कलाकारहरू, नीति निर्माताहरू र उद्योग हितधारकहरूलाई एक साथ ल्याउनेछ। डिजिटल युगले चुनौती र अवसर दुवैलाई प्रस्तुत गर्दछ। कृत्रिम बुद्धिमत्ता, स्ट्रिमिङ क्रान्ति, बौद्धिक सम्पदा अधिकार, गलत सूचना र मिडिया स्थिरता प्रमुख चिन्ताहरू हुन्। आफ्नो किसिमको पहिलो कार्यक्रमको रूपमा वेभ्स 2025 ले सांस्कृतिक विविधता, नवाचार र मिडिया मञ्चहरूमा समान पहुँचलाई प्रवर्द्धन गरेर यी मुद्दाहरूलाई सम्बोधन गर्नेछ।

शिखर सम्मेलनले सामग्री निर्माण र प्रसारमा रचनात्मकता, समावेशिता र जिम्मेवारीको उच्चतम मापदण्डलाई कायम राख्नेछ। यसले नैतिक कथा वाचन र निष्पक्ष प्रतिनिधित्वको आवश्यकतालाई जोड दिनेछ।

विश्वलाई सद्भावको चश्माले हेरेर वेभ्स 2025 ले सार्थक सम्बन्ध, सहयोगी प्रगति र सांस्कृतिक एकतालाई प्रेरित गर्ने आकांक्षा राख्दछ। यो सत्र डिजिटल युगमा देशदेखि देश, मानिसहरूदेखि मानिसहरू र संस्कृतिदेखि संस्कृति बीचको सबैभन्दा ठूलो एकीकृत कारकको रूपमा मिडिया र मनोरञ्जन उद्योगको भूमिकालाई मडबुत पार्नमा एक महत्त्वपूर्ण कदम हुनेछ। वेभ्स 2025 ले साझा चिन्ता, मानवताले सामना गर्ने चुनौती, साझा अवसर, सहयोगी विकास र प्रगतिमा ध्यान केन्द्रित गरेर एकताको शक्तिलाई जोड दिन्छ। यो दृष्टिकोणले वेभ्स 2025 लाई सद्भावको लागि एक वैश्विक मञ्चको रूपमा स्थापित गर्दछ, जसले सीमाहरूदेखि पर सार्थक संवाद र कार्यवारीलाई बढावा दिन्छ।

अरेन्ज इकोनमीभित्र वेभ्स 2025 को एकीकरणले आर्थिक विकास र रोजगारी सिर्जनाको लागि मिडिया र मनोरञ्जन उद्योगहरूको लाभ उठाउने यसको भूमिकालाई उजागार गर्दछ। यो वैश्विक सद्भावको आफ्नो मिशनसँग पूर्ण रूपमा संरेखित छ, किनकि रचनात्मक उद्योगहरूले सांस्कृतिक आदान-प्रदान र एकताको लागि शक्तिशाली उपकरणको रूपमा काम गर्छन्।

मुम्बईमा वेभ्स 2025 आयोजना गरेर, शिखर सम्मेलनले विचारशील नेताहरूको लागि एक मञ्च प्रदान गर्नेछ। उनीहरूले द्रुत गतिमा परिवर्तन भइरहेको संसारमा मिडिया उद्योगले कसरी सबैभन्दा ठूलो एकता कारकको रूपमा काम गर्न सक्छ भनेर चर्चा गर्नेछन्। यो क्षेत्रले सांस्कृतिक कूटनीतिको लागि एक शक्तिशाली उत्प्रेरकको रूपमा काम गर्दछ, मानिस, संस्कृति र राष्ट्रहरूबीचको विभाजनलाई कम गर्दछ।

******


(Release ID: 2111399) Visitor Counter : 10