गोवा, २४ नोभेम्बर २०२६:
भारतीय चलचित्र जगतमा यस्ता धेरै निर्माताहरू छन् जसको सिर्जनात्मक यात्रा निकै चाँड़ो टुङ्गियो, तर उनीहरूका सिर्जनाहरूले आज पनि उत्तिकै महत्त्व राख्छन्। अवतार कौल पनि यस्तै एक चलचित्र निर्माता थिए। उनको एकमात्र फिचर फिल्म, ‘२७ डाउन’ (सन् १९७४) लाई भारतीय चलचित्रको एक महत्त्वपूर्ण कृतिका रूपमा लिइन्छ।
पब्लिकेशन्स डिभिजनद्वारा प्रकाशित ‘अवतार कौल: द (इन)कम्प्लिट स्टोरी’ नामक पुस्तकमा अवतार कौलको जीवन र चलचित्र सम्बन्धी विरासतको खोजी गरिएको छ। विनोद कौलद्वारा लिखित यस पुस्तकमा पत्र, तस्वीर, व्यक्तिगत स्मृति र विभिन्न कुराकानीहरूलाई समेटेर यी चलचित्र निर्माताको जीवन र सिर्जनात्मक यात्रालाई लिपिबद्ध गरिएको छ। यो पुस्तक २१ नोभेम्बर २०२६ मा गोवामा आयोजित ५७औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को दौरान सार्वजनिक गरिएको थियो।

२३ नोभेम्बरमा आईएफएफआईमा आयोजित एक अन्तर्क्रियाको क्रममा लेखक विनोद कौलले यस पुस्तकको प्रेरणा र अवतार कौलको कथालाई अझ व्यापक दर्शकमाझ पुर्याउने आफ्नो प्रयासबारे बताए। उनले भने अनुसार शुरुमा कुनै चलचित्र निर्मातामाथि पुस्तक लेख्ने योजना थिएन। यो त केवल आफ्ना काका (अङ्कल) बारे अझ अधिक जान्ने एउटा व्यक्तिगत प्रयासका रूपमा शुरु भएको थियो; विनोद कौल कक्षा २ मा पढ्दा उनका काकाको निधन भएको थियो।
उनले आफ्ना काकाका तस्वीर, पत्र र अन्य कागजातहरू सङ्कलन गर्न थालेको विषयमा बुझाए। समय बित्दै जाँदा यो व्यक्तिगत खोजी अवतार कौलको जीवन र भारतीय चलचित्रमा उनको योगदानलाई अझ गहिराइमा बुझ्ने प्रयासमा परिणत भयो।
विनोद कौलले बताए अनुसार उमेर बढ्दै जाँदा उनले ‘२७ डाउन’ को महत्त्व बुझ्न थाले। उनले प्रायः सोच्ने गर्थे, यति धेरै प्रतिभा भएका र यति उत्कृष्ट चलचित्र निर्माण गरेका निर्माता किन धेरै मानिसहरूमाझ परिचित हुन सकेनन्? यसले उनलाई अवतार कौलको जीवनबारे अनुसन्धान गर्न र उनको कथा नयाँ पुस्ता तथा भविष्यका चलचित्र निर्माताहरूसामु ल्याउन प्रेरित गर्यो।
'द (इन) कम्प्लिट स्टोरी' शीर्षकबारे प्रस्ट पार्दै विनोद कौलले भने अनुसार अवतार कौल र उनका कामहरूबारे धेरै कम लेखिएको थियो। यो पुस्तकले उनका कथाहरूलाई एक ठाउँमा ल्याएर, एक अर्थमा तिनलाई पूर्णता दिने प्रयास गरेको छ। यद्यपि, उनको जीवन र सिर्जनात्मक यात्रा भने अपूर्ण नै रह्यो। उनको वैवाहिक जीवन छोटो थियो र उनले एउटा मात्र चलचित्र बनाए। लेखकका अनुसार, यदि अवतार कौल अझ लामो समयसम्म बाँचेका भए उनले सायद अरू धेरै चलचित्रहरू बनाउन सक्थे।
अनुसन्धानको क्रममा आफूले भोगेको एउटा भावुक अनुभवबारे बताउँदै विनोद कौलले भने अनुसार उनले आफ्नी अमेरिकी काकी (आन्टी) एन कौलको पनि निधन भइसकेको कुरा थाहा पाए। परिवारलाई उनको मृत्युबारे जानकारी थिएन। उनले यो कुरा थाहा पाउनुलाई ठूलो धक्काका रूपमा वर्णन गर्दै भने अनुसार अनुसन्धानको क्रममा यस्ता धेरै अप्रत्याशित र भावुक अनुभवहरू बाहिर आए।
चलचित्र र साहित्यबीचको सम्बन्धबारे चर्चा गर्दै विनोद कौलले भने, यी दुई सधैँ नजिकबाट जोड़िएका छन्; धेरै चलचित्रहरूले उपन्यास, कथा र अन्य साहित्यिक कृतिहरूबाट प्रेरणा लिएका हुन्छन्। उनले पब्लिकेशन्स डिभिजनको प्रशंसा गरे, जसले यो सम्बन्धलाई उजागर गर्न र चलचित्र निर्माताहरूका कथा तथा चलचित्रसँग जोड़िएका कामहरूलाई पाठकसामु ल्याउन पहल गर्यो। उनले अवतार कौलको कथालाई अझ व्यापक दर्शकमाझ पुर्याउन मञ्च उपलब्ध गराएकोमा पनि उक्त डिभिजनप्रति आभार व्यक्त गरे।
युवा चलचित्र निर्माताहरूले अवतार कौलबाट के सिक्न सक्छन् भन्ने प्रश्नमा विनोद कौलले भने अनुसार उनीहरू आफ्ना सिर्जनात्मक छनोटहरूप्रति प्रतिबद्ध रहनुपर्छ। 'जञ्जीर', 'बबी' र 'यादों की बारात' जस्ता मूलधारका चलचित्रहरू लोकप्रिय रहेको समयमा अवतार कौलले आफ्नै रुचि अनुसरण गर्दै एउटा 'आर्ट फिल्म' बनाउने निर्णय गरे। विनोद कौलले युवा चलचित्र निर्माताहरूलाई '२७ डाउन' चलचित्रको कथावाचन, शिल्प, सन्देश र चलचित्र निर्माण शैलीको अध्ययन गर्न सुझाउ दिए।

चलचित्र सम्बन्धी विरासतको संरक्षण
'अवतार कौल: द (इन) कम्प्लिट स्टोरी' केवल एक चलचित्र निर्माताको जीवनको अभिलेख मात्र होइन; यो व्यक्तिगत स्मृतिहरूलाई भारतीय चलचित्रको एउटा महत्त्वपूर्ण अध्यायसँग पुनः जोड्ने प्रयास पनि हो। आफ्ना काकालाई बुझ्ने उद्देश्यले भतिजाले शुरु गरेको खोजी यात्रा, अहिले अवतार कौलको जीवन र योगदानलाई पुनः सार्वजनिक स्मृतिमा ल्याउने प्रयासका रूपमा विकसित भएको छ।
यस प्रकाशनमार्फत, पब्लिकेशन्स डिभिजन अवतार कौलजस्ता चलचित्रकर्मीहरूको योगदानलाई अभिलेखीकरण गर्न र उनीहरूको सिर्जनात्मक विरासतलाई पाठक, विद्यार्थी तथा चलचित्रप्रेमीहरूको नयाँ पुस्तासामु परिचित गराउन चाहन्छ।
आईएफएफआईएलओआईडी यहाँ पढ़्नुहोस्: https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
*******
MPS/TWB