57th International Film Festival of India 2026
20 – 28 Nov 2026

इन्डिया सिने हबले चलचित्र छायाङ्कनका अनुमतिहरू प्राप्त गर्ने प्रक्रियालाई सरल बनायो, विश्वव्यापी चलचित्र निर्माण गन्तव्यका रूपमा भारतको आकर्षण क्षमतालाई बढायो


५७औँ इफ्फीमा (आईएफएफआई) छलफल: इन्डिया सिने हबले एउटै डिजिटल प्लेटफर्ममार्फत चलचित्र छायाङ्कनका विभिन्न अनुमतिहरू प्राप्त गर्ने व्यवस्था गरेको छ।

पोस्ट गरियो: 22 NOV 2026 4:44PMby PIB Gangtokरिलिज आईडी: 2341317Views: 6

गोवा, २२ नोभम्बर २०२६:

५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) मा विश्वव्यापी चलचित्र छायाङ्कन तथा निर्माण गन्तव्यका रूपमा भारतको बढ्दो सम्भावनाबारे विशेष चर्चा भयो। यस अवसरमा नीतिनिर्माताहरू र चलचित्र उद्योगका अगुवाहरूले अन्तर्राष्ट्रिय चलचित्र निर्माणको क्षेत्रमा भारतको स्थान अझ सुदृढ बनाउने अवसरहरूबारे विचारविमर्श गरे।

‘छायाङ्कन सहज बनाउँदै: विश्वव्यापी छायाङ्कन तथा चलचित्र निर्माण केन्द्रका रूपमा भारतको उदय’ शीर्षकको प्यानल छलफलमा सूचना तथा प्रसारण मन्त्रालयका संयुक्त सचिव श्री पृथुल कुमार, स्क्रिन अस्ट्रेलियाकी प्रमुख सञ्चालन अधिकृत सुश्री ग्रेन ब्रन्डसन तथा वरिष्ठ अभिनेता, निर्देशक र निर्माता श्री अनुपम खेर सहभागी थिए।

यस छलफलमा सूचना तथा प्रसारण मन्त्रालयको पहलमा स्थापित र राष्ट्रिय चलचित्र विकास निगम (एनएफडीसी) द्वारा सञ्चालन गरिने सिंगल-विन्डो डिजिटल प्लेटफर्म इन्डिया सिने हब (आईसीएच) ले भारतमा चलचित्र निर्माण प्रक्रियालाई कसरी सहज बनाइरहेको छ भन्ने विषयमा चर्चा भयो। यस सत्रको सहजीकरण चलचित्र समीक्षक तथा पत्रकार राजीव मसन्दले गरेका थिए।

छलफलको सुरुवात गर्दै श्री कुमारले इन्डिया सिने हब पोर्टलमा राज्य सरकारहरूलाई समावेश गर्नु चलचित्र छायाङ्कनका लागि अनुमति प्राप्त गर्ने प्रक्रियालाई सरल बनाउने दिशामा एउटा महत्त्वपूर्ण कदम भएको बताए। अब चलचित्र निर्माताहरूले एउटै साझा आवेदन फाराम प्रयोग गरी एउटै डिजिटल माध्यमबाट नगरपालिका निकायहरू, ट्राफिक विभागहरू, भारतीय रेल्वे तथा भारतीय पुरातत्त्व सर्वेक्षण (एएसआई) लगायतका विभिन्न निकायहरूबाट आवश्यक स्वीकृति लिन सक्नेछन्।

उनले यस प्लेटफर्ममा करिब ३२ वटा सेवाहरूलाई समेटिएको पनि बताए। आवेदकहरूले ड्यासबोर्डमार्फत आफ्ना आवेदनहरूको प्रगति अनुगमन गर्न सक्छन् भने आवश्यक पर्ने ठाउँमा सुरक्षित भुक्तानी लिङ्कहरूमार्फत भुक्तानी गर्ने व्यवस्था पनि गरिएको छ। डिजिटल स्काई प्लेटफर्ममार्फत उपलब्ध ड्रोनसम्बन्धी अनुमतिहरूलाई पनि यसमा एकीकृत गर्ने प्रयास भइरहेको छ।

भारतमा चलचित्र छायाङ्कन गर्ने प्रक्रिया सहज हुँदै गएको उल्लेख गर्दै श्री कुमारले अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि अनुमति प्रक्रिया पूरा गर्न तोकिएको समयसीमा २८ दिन भए तापनि सन् २०१५ देखि हालसम्म औसतमा केवल १८ दिनमै अनुमति प्रदान हुँदै आएको बताए। उनले मध्य प्रदेशमा लागू गरिएको स्वतः स्वीकृतिको प्रावधानको पनि उल्लेख गरे, जसअनुसार १५ दिनभित्र कुनै निर्णयको जानकारी नदिइएमा आवेदन स्वतः स्वीकृत भएको मानिन्छ।

चलचित्र छायाङ्कन तथा सह-निर्माणका लागि भारतको बढ्दो आकर्षणबारे चर्चा गर्दै श्री कुमारले यस्ता अवसरहरूको खोजीमा भारतसँग सम्पर्क गर्ने अन्तर्राष्ट्रिय चलचित्र निर्माण टोलीहरूको सङ्ख्या वार्षिक २५–३० बाट बढेर १००–२०० पुगेको बताए। उनले चलचित्र निर्माण क्षेत्रका व्यावसायिक व्यक्तिहरू तथा सेवा प्रदायकहरूलाई यस पोर्टलमा दर्ता हुन प्रोत्साहित गरे, ताकि विश्वभरका चलचित्र निर्माताहरूले भारतमा उपलब्ध चलचित्र निर्माणसम्बन्धी स्रोतसाधनहरूबारे जानकारी प्राप्त गर्न र तिनको उपयोग गर्न सकून्।

भारत र अस्ट्रेलियाबीच सहकार्यका अवसरहरूबारे चर्चा गर्दै सुश्री ब्रन्डसनले भारतका विविधतापूर्ण चलचित्र छायाङ्कन स्थलहरू, चलचित्र निर्माणसम्बन्धी प्रतिभा र दर्शकहरूसँगको गहिरो भावनात्मक सम्बन्धले यसलाई अन्तर्राष्ट्रिय साझेदारीका लागि आकर्षक गन्तव्य बनाएको बताइन्। उनले अस्ट्रेलियामा भारतीय चलचित्रहरूको बढ्दो लोकप्रियतामाथि प्रकाश पार्दै गत वर्ष त्यहाँ अस्ट्रेलियाली चलचित्रभन्दा बढी मानिसहरूले भारतीय चलचित्र हेरेको उल्लेख गरिन्। दुवै देशमा बढ्दो भारतीय मूलका जनसङ्ख्या तथा भारत र अस्ट्रेलियाबीच रहेका सुदृढ सांस्कृतिक, शैक्षिक, खेलकुद र व्यावसायिक सम्बन्धले संयुक्त रूपमा कथा प्रस्तुत गर्ने क्षेत्रमा महत्त्वपूर्ण अवसरहरू प्रदान गर्ने उनले बताइन्।

चलचित्र निर्माणका लागि सरकारी सहयोगको महत्त्वमा जोड दिँदै सुश्री ब्रन्डसनले भनिन्, “हरेक चलचित्र एउटा नयाँ उद्यम र चमत्कार हो। यसको सुरुवात एउटा सपना वा विचारबाट हुन्छ र त्यसलाई साकार रूप दिन समर्पण, लगनशीलता र अरूको सहयोग आवश्यक पर्छ।”

उनले सफल सह-निर्माण भनेको आर्थिक सहयोग र जोखिम बाँडफाँटमा मात्र सीमित नहुने बताइन्। यसले सिर्जनात्मक विचारहरू आदानप्रदान गर्ने अवसर पनि प्रदान गर्छ। भारतीय र अस्ट्रेलियाली चलचित्र निर्माताहरूले एकअर्काको कथा भन्ने शैलीबाट सिक्न र दुवै देशका दर्शकलाई मन पर्ने साझा अनुभवमा आधारित कथाहरू बनाउन सक्ने उनले बताइन्। यसमा प्रवासी समुदायका अनुभवहरूमा आधारित कथाहरू पनि समावेश हुन सक्छन्।

भारत सरकारले इन्डिया सिने हब प्लेटफर्म स्थापना गरेको पहलको प्रशंसा गर्दै श्री अनुपम खेरले चलचित्र छायाङ्कनका लागि अनुमति प्राप्त गर्ने प्रक्रिया पहिलेभन्दा निकै सहज भएको बताए। उनले भारतका विविध भौगोलिक क्षेत्र, खानपान, पहिरन र सांस्कृतिक परिवेशले चलचित्र निर्माताहरूलाई सिर्जनाका लागि असाधारण अवसरहरू प्रदान गर्ने उल्लेख गरे। चलचित्रले भौगोलिक सीमाहरू नाघ्ने कुरामा जोड दिँदै उनले भने, “भावनाको कुनै फरक राष्ट्रियता हुँदैन। तपाईंलाई चाहिने भनेको केवल छायाङ्कन गर्ने अवसर हो।”

श्री खेरले स्थापित चलचित्र निर्माताहरूले मात्र नभई नयाँ आउनेहरू, लेखकहरू, चलचित्र निर्माणमा संलग्न व्यावसायिक व्यक्तिहरू तथा निर्देशक बन्न चाहनेहरूले पनि सिंगल-विन्डो प्रणालीबाट लाभ लिन सक्ने बताए। अनुमति दिलाइदिने बहानामा चलचित्र निर्माताहरूलाई ठग्न सक्ने बिचौलियाहरूको चलखेल बढ्न सक्ने भन्दै उनले यसप्रति सचेत रहन आग्रह गरे।

यस छलफलमा सहज अनुमति प्रक्रिया, विभिन्न प्रकारका छायाङ्कन स्थल र सिर्जनात्मक सहकार्यका अवसरका कारण भारत अन्तर्राष्ट्रिय चलचित्र निर्माणका लागि लोकप्रिय गन्तव्य बन्न सक्ने कुरा उजागर भयो। विश्वभरका चलचित्रकर्मीहरूबीच विचार र अनुभव आदानप्रदान गर्ने मञ्चका रूपमा इफ्फीको भूमिकालाई जोड दिँदै यस सत्रले चलचित्र उद्योगबीचको सहकार्य र चलचित्र निर्माणका लागि अनुकूल वातावरणले विश्वभर भारतीय चलचित्रको पहुँच बढाउन तथा नयाँ अवसरहरू सिर्जना गर्न मदत गर्ने कुरा पनि प्रकाश पाऱ्यो।

आईएफएफएलओआईडी बारे यहाँ पढ्नुहोस्: https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341317
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026