गोवा, 24 नोभेम्बर 2026:
गोवामा 57 औं भारतीय अन्तरराष्ट्रिय फिल्म महोत्सवको अवसरमा “हर लेन्स, हर लिगेसी, हर लिबर्टी : वुमेन सेपिङ वर्ल्ड सिनेमा (उनको लेन्स, उनको विरासत, उनको स्वतन्त्रता : विश्व सिनेमालाई आकार दिँदै महिलाहरू)” शीर्षकमाथि आयोजित प्यानल चर्चामा भाग लिँदै विविध सांस्कृतिक पृष्ठभूमिबाट आएका महिला फिल्म निर्माताहरूले अस्मिता, सांस्कृतिक विरासत अनि रचनात्मक स्वतन्त्रताबारे आफ्नो अनुभव अनि दृष्टिकोण साझा गरे। यस सत्रमा किर्किज लेखक-निर्देशक नरगिजा डोटिभा, रोमानियाकी रोमा अभिनेत्री एवं फिल्म निर्माता एलिना सर्बन अनि मेक्सिकन-अमेरिकन लेखक निर्देशक सुजेन एन्ड्र्युस कोरियाले भाग लिएका थिए। चर्चाको सञ्चालन भारतीय फिल्म निर्माता अभिषेक जैनले गरेका थिए।

सत्रको शुरुवातमा जैनले प्यानल सदस्यहरूलाई आफ्नो व्यक्तिगत यात्राका साथै उनीहरूको सिनेमाई आवाजलाई आकार दिने सांस्कृतिक प्रभावमाथि चिन्तन गर्न आमन्त्रित गरे। किर्किस्तानमा जन्मिएकी तथा झीलनजिक सानो मछुवा गाउँमा हुर्किएकी नरगिजा डोटिभाले आफ्नो हजुरबाले पाठ गर्ने पारम्परिक किर्किज मौखिक कविताबाट कथावाचनको निम्ति प्रेरित गरेको बताइन्। विज्ञापन उद्योगमा आफ्नो करिअरपछि, उनले किर्किज साहित्य अनि सांस्कृतिक विरासत लगायत मानस महाकाव्यबाट प्रेरणा लिँदै शुरुवाती फिल्म निर्माणको परियोजनामा स्वयं लगानी गरेको बताइन्। उनको प्रथम फिल्म “स्काईलार्क”ले सीमाक्षेत्रको इतिहास अनि सर्वव्यापी मानव भावनाहरू उजागर गर्दछ।
रोमानियाको बुचारेस्टमा रोमा परिवारमा जन्मिएका एलिना सर्बनले आइएफएफआइमा आफ्नो सहभागितालाई आफ्नो पुर्ख्यौली मातृभूमिमा भावनात्मक रूपमा फर्किन पाएको बताइन्। रोमा समुदाय अनि राजस्थानसँग ऐतिहासिक सम्बन्ध रहनका साथै रोमा भाषामा भारतीय मूलका शब्दहरू विद्यमान रहेको उनले जानकारी दिइन्। बुचारेस्टमा हुर्किने क्रममा पूर्वाग्रह अनि सामाजिक बहिष्कारको सामना गरेकी सर्बनले थिएटर अनि सिनेमालाई ती रूढिवादितालाई चुनौती दिने माध्यम बनाइन्। निर्देशकका रूपमा प्रथम काम “आइ म्याटर”सहित आफ्नो कामको माध्यमद्वारा उनले रोमा विमर्शका साथै लचिलोपन अनि मर्यादाका प्रमुख कथाहरू पुनरूद्धार गर्ने प्रयास गरिरहेकी छन्।

मेक्सिकन-अमेरिकन फिल्म निर्माता सुजेन एन्ड्रयुस कोरिसाले मेक्सिकोको सुइदाद जुआरेजमा छायाङ्कन गरेकी आफ्नो प्रथम निर्देशकीय फिल्म “ला काजाडोरा (दी हन्ट्रेस)”का पछाडिको दसकौं लामो यात्राबारे जानकारी दिइन्। नारीहत्या अनि महिला विरुद्ध हिंसाको वास्तविक घटनाबाट प्रेरित उनको फिल्म, क्रोध अनि तात्कालिकताको अभिव्यक्तिबाट अघि बढ्दै निराशा, अस्तित्त्व अनि महिलाहरूको अधिकारलाई सहानुभूतिपूर्ण पडतालसम्म पुगेको छ।
प्यानलका सदस्यहरूले स्वतन्त्र फिल्म निर्माताहरूका सामु आइपर्ने संरचनात्मक चुनौतीहरूमाथि पनि चर्चा गरे, जसमा वित्तपोषणको कमी, लैङ्गिक भेदभाव अनि रूढिवादी चित्रण सामेल छन्। निर्माताहरू प्रायः व्यावसायिक रूपमा सुरक्षित कथाको पक्षमा जटिल अनि संवेदनशील विषयहरूलाई समर्थन गर्न हिचकिचाउने र महिला निर्देशकहरूलाई गम्भीरताले लिनका लागि प्रायः आफ्नो योग्यता साबित गर्नुपर्ने कोरियाले बताइन्। आफ्नो पटकथामा रोमा समुदायको रूढिवादी चित्रण अनुरूप नरहेको हुँदा वित्तपोषणका लागि बारम्बार अस्वीकृतिको सामना गर्नुपरेको सर्बनले बताइन्। केवल प्रतीकात्मक प्रतिनिधित्त्वको साटो कलात्मक योग्यताका लागि मान्यता प्राप्त गर्नुको महत्त्वमाथि दुवैले जोड दिए। कम प्रतिनिधित्त्व भएका विविध अनि सांस्कृतिक रूपमा जोडिएका कथाहरूलाई समर्थन गर्न दर्शकहरूका साथै फिल्म महोत्सवहरूले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने डोटिभाले बताइन्।

आफ्नो स्वयंको रचनात्मक अनुभवहरूबाट प्रेरणा लिँदै, प्यानल सदस्यहरूले महत्त्वकाङ्क्षी फिल्म निर्माताहरूलाई आफ्नो भावनात्मक अनि सांस्कृतिक आधारप्रति साँचो रहन प्रोत्साहित गर्नका साथै गहिरो प्रामाणिक स्थानीय कथाहरूले विश्वभरीका दर्शकलाई जोड्न सक्ने बताए।
आइएफएफआइएलओआइडी यहाँ पढ्नुहोस् : https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
************
MPS/TWB