गोवा, 18 नोभेम्बर 2026:
चलचित्र सुरुदेखि नै देशका सिमाना, पुस्ता र संस्कृतिहरू पार गर्दै मानिसहरूका मन छुने कथाहरू सुनाउने माध्यम रहँदै आएको छ। तर प्रत्येक चलचित्रको पछाडि सुनाइन बाँकी अर्को कथा पनि हुन्छ—त्यो हो चलचित्र निर्माताको कथा, सिर्जनात्मक प्रक्रिया, सङ्घर्षहरू र चलचित्रलाई आकार दिने मानिसहरूको कथा।
यी कथाहरूलाई उजागर गर्ने उद्देश्यले ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) ले यस वर्षको मूल नारा ‘स्टोरीज विदाउद बोडर्स’ अन्तर्गत चलचित्र जगतलाई नै केन्द्रमा राखेर एउटा नयाँ खण्ड सुरु गरेको छ। प्रख्यात चलचित्र निर्माता र कलाकारहरूको जीवनगाथा तथा कहिल्यै पर्दामा आउन नपाएका चलचित्रका कथाहरूमार्फत यस खण्डले दर्शकहरूलाई चलचित्र जगतलाई आजको स्वरूप दिन योगदान पुर्याएका विविध जीवन, अनुभव र सिर्जनात्मक यात्राहरूलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्नेछ।
चलचित्रलाई जीवन्त बनाउने कथा, ती कथा सुनाउने व्यक्तित्व र सिर्जनात्मक यात्राहरूको खोजी गर्दै ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) ले एउटा यस्तो विशेष खण्ड सुरु गरेको छ, जहाँ चलचित्र आफैँ कथा सुनाउने माध्यम पनि बन्छ र कथाको विषयवस्तु पनि। महोत्सवको इतिहासमै पहिलोपटक समावेश गरिएको यस नयाँ ‘फिल्म्स अबाउट फिल्म्स’ खण्डले सन् २०२६ नोभेम्बर २० देखि २८ सम्म गोवामा आयोजना हुने ५७औँ आईएफएफआई -मा सहभागी दर्शकहरूलाई चलचित्र निर्माणको कला र शिल्पलाई नजिकबाट नियाल्ने अवसर प्रदान गर्नेछ।
चलचित्र निर्माणको कला र शिल्पलाई विशेष महत्त्वका साथ उजागर गर्ने उद्देश्यले प्रख्यात चलचित्र निर्माताहरूको सुझावअनुसार समावेश गरिएको यस पहिलो विशेष खण्डमा पाँचवटा अन्तर्राष्ट्रिय चलचित्र प्रस्तुत गरिनेछन्। बेलायत, अमेरिका, रुस, जर्जिया, इस्टोनिया, टर्की, स्विट्जरल्यान्ड, फ्रान्स, जर्मनी र इटाली गरी दस देशका चलचित्र तथा सह-निर्माणमा बनेका यी चलचित्रहरूको प्रस्तुतिले विश्व चलचित्र जगतलाई आकार दिने व्यक्तित्वहरूको जीवन र योगदानलाई नजिकबाट नियाल्ने दुर्लभ अवसर चलचित्रका पारखीहरूलाई प्रदान गर्नेछन्।
यो यात्रा चलचित्रको भाषालाई आफ्नो सिर्जनात्मक योगदानमार्फत अमिट छाप छोड्न सफल एक चलचित्र निर्माताबाट सुरु हुन्छ।

बार्नाबी थम्पसनको निर्देशनमा बनेको म्याभरिक: द एपिक एडभेन्चर्स अफ डेभिड लीन (बेलायत, अमेरिका | २०२६ | अङ्ग्रेजी | १०५ मिनेट) नामक वृत्तचित्रले प्रख्यात चलचित्र निर्देशक डेभिड लीनको जीवन र व्यावसायिक यात्रालाई उजागर गर्छ। यस वृत्तचित्रमा उनको सिर्जनात्मक दृष्टिकोण, महत्त्वाकाङ्क्षी परियोजनाहरू र चलचित्रको परम्परागत सीमालाई फराकिलो बनाउने दृढ सङ्कल्पलाई प्रस्तुत गरिएको छ। साथै, व्यावसायिक सफलताका पछाडि उनले भोगेका व्यक्तिगत सङ्घर्ष र आधुनिक चलचित्र जगतमा उनले छोडेको स्थायी प्रभावलाई पनि यसमा केलाइएको छ।
प्रख्यात चलचित्र निर्देशकको विरासतबाट अघि बढ्दै यस खण्डले हामीले सुनाउने कथाहरूलाई आकार दिने मानिसहरूको जीवन र आपसी सम्बन्धलाई उजागर गर्छ। यससँगै छनौट गरिएका चलचित्रहरूले मानवीय जीवनका विभिन्न अनुभवहरूलाई अझ नजिकबाट नियाल्ने अवसर पनि दिन्छ।
रुसको राउल गेदारोभको सिड्नी लुमेट्स बर्थडे (रुस | २०२५ | रुसी | ९२ मिनेट) नामक चलचित्रले आफ्नी हजुरआमासँग बस्दै आएका १७ वर्षीय जर्जियाली किशोर, दातोको कथा प्रस्तुत गर्छ। कुनै समय ठूलो परिवार रहेको उनको परिवार अहिले छिन्नभिन्न भइसकेको छ। लामो समयदेखि टाढा रहेकी उनकी आमा अचानक घर फर्किएपछि उनीहरूको शान्त र नियमित जीवनमा उथलपुथल मच्चिन्छ। यस कथाले पारिवारिक सम्बन्ध, हुर्कंदै जाँदाको अनुभव र कठिन परिस्थितिमा पनि आफ्नो मानवीय संवेदना जोगाइराख्न गरिने सङ्घर्षलाई उजागर गर्छ।

अर्को चलचित्रमा जीवन र अभिनयबीचको सम्बन्धलाई मुख्य विषय बनाइएको छ, जहाँ कलाकार र उसले निभाउने पात्रबीचको भिन्नता बिस्तारै मेटिँदै जान्छ।
आना उरुशाद्जेको सपोर्टिङ रोल (मेओरेखारिस्खोभानी रोली) (जर्जिया, इस्टोनिया, टर्की, स्विट्जरल्यान्ड, अमेरिका | २०२६ | जर्जियाली, आर्मेनियाली | १३९ मिनेट) नामक चलचित्रमा लामो समयको विश्रामपछि अभिनय क्षेत्रमा फर्किएका एक चर्चित जर्जियाली कलाकारको कथा प्रस्तुत गरिएको छ। उनी एक युवा निर्देशकको पहिलो चलचित्रका लागि अडिसन दिन्छन्। आफूले सधैँ निभाउँदै आएका नायकका भूमिकाभन्दा फरक र असामान्य सहायक भूमिका पाएपछि उनी बिस्तारै त्यस पात्रसँग आत्मीय रूपमा जोडिन पुग्छन्। यस अनुभवले क्रमशः उनको आफ्नै जीवनमा पनि परिवर्तन ल्याउन थाल्छ।

एक कलाकारको व्यक्तिगत जीवनयात्रापछि यस खण्डमा अब यस्तो चलचित्रको कथा प्रस्तुत गरिन्छ, जुन कहिल्यै पर्दामा आउन सकेन। यसले चलचित्र निर्माणमा त्यस समयको राजनीतिक र ऐतिहासिक परिस्थितिले पनि कस्तो प्रभाव पार्छ भन्ने देखाउँछ।
द म्याड डग अफ युरोप (फ्रान्स, जर्मनी | २०२६ | अङ्ग्रेजी | ८३ मिनेट) नामक वृत्तचित्रमा निर्देशक रुबिका शाहले सन् १९३२ मा हर्मन जे. म्यान्किविजले लेखेको तर कहिल्यै चलचित्रका रूपमा निर्माण हुन नसकेको पटकथालाई पुनः उजागर गरेका छन्। उक्त पटकथा हिटलर र नाजीवादको उदयका बेला सङ्कटको सामना गरिरहेको एक जर्मन यहूदी परिवारको कथामा आधारित थियो। राजनीतिक दबाब र व्यावसायिक स्वार्थका कारण हलिउडका चलचित्र निर्माण कम्पनीहरूले यसलाई चलचित्रका रूपमा निर्माण नगरेपछि यस वृत्तचित्रले उक्त पटकथा दबाइनुका कारणहरू र वर्तमान समयमा पनि यसको सान्दर्भिकताबारे चर्चा गर्छ।

चलचित्रलाई आकार दिने व्यक्तित्वहरूको जीवन, सिर्जनात्मक सङ्घर्ष र योगदानको यो यात्रा चलचित्र जगतका एक अत्यन्त प्रभावशाली हस्तीप्रतिको श्रद्धाञ्जलीसँगै टुङ्गिन्छ।
यस खण्डको अन्तिम चलचित्रका रूपमा फ्रान्चेस्को जिप्पेलको निर्देशनमा बनेको भित्तोरियो दे सिका – स्टेजिङ लाइफ (इटाली | २०२६ | इटालियन, फ्रान्सेली, अङ्ग्रेजी, रुसी, फारसी | १०० मिनेट) प्रस्तुत गरिएको छ। यस वृत्तचित्रले विश्व चलचित्र जगतका महान् हस्तीहरूमध्ये एक भित्तोरियो दे सिकाको जीवनलाई नजिकबाट चित्रण गर्छ। दुर्लभ अभिलेखीय सामग्री, उनका परिवारसँगको पहुँच तथा चलचित्र निर्माता र समकालीन कलाकारहरूका अनुभव र भनाइहरूका आधारमा यस वृत्तचित्रले उनको जीवन, कार्य र चलचित्र जगतमा उनले छोडेको विरासतलाई उजागर गर्छ।

यी पाँचवटै चलचित्रले चलचित्र निर्माणको झलक मात्र प्रस्तुत गर्दैनन्। बरु, यिनले क्यामेरापछाडि रहेर चलचित्र निर्माण गर्ने व्यक्तिहरू, कलाकारहरूको अभिनयमा झल्किने उनीहरूको जीवनका अनुभवहरू, कहिल्यै सुनाउन नपाइएका कथाहरू र पुस्तौँदेखि चलचित्र निर्माताहरूलाई प्रभावित पार्दै आएका विरासतहरूलाई उजागर गर्छन्। यी विविध यात्राहरूलाई एउटै खण्डमा समेटेर यस नयाँ प्रस्तुतिले आईएफएफआई- को यस वर्षको मूल नारा ‘स्टोरीज विदाउद बोडर्स’ लाई थप व्यापक अर्थ दिएको छ। यसले दर्शकहरूलाई चलचित्रको पहुँच पर्दामा देखाइने कथाहरूमा मात्र सीमित हुँदैन भन्ने कुरा स्मरण गराउँछ। बरु, चलचित्रलाई जीवन्त बनाउने सिर्जनात्मक यात्रा, ऐतिहासिक परिवेश र मानवीय अनुभवहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। ‘फिल्म्स अबाउट फिल्म्स’ खण्डको यस पहिलो प्रस्तुतिले दर्शकहरूलाई चलचित्र निर्माणको कला र शिल्पलाई नयाँ दृष्टिकोणबाट बुझ्ने र त्यससँग जोडिएर अनुभव गर्ने अवसर पनि प्रदान गर्नेछ।
सन् २०२६ नोभेम्बर २० देखि २८ सम्म गोवामा आयोजना हुने ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) ले ‘स्टोरीज विदाउद बोडर्स’ भन्ने मूल नाराअन्तर्गत भारत तथा विश्वभरका चलचित्र निर्माता, चलचित्र उद्योगका व्यावसायिक व्यक्तित्व र चलचित्रप्रेमीहरूलाई एकै ठाउँमा भेला गराउनेछ।
यस वर्ष पहिलो पल्ट सुरु गरिएको ‘फिल्म्स अबाउट फिल्म्स’ खण्डले विभिन्न देश र संस्कृतिका चलचित्र निर्माता, कलाकार तथा चलचित्र जगतका विरासतसँग सम्बन्धित कथाहरूलाई एउटै ठाउँमा समेटेर यस मूल नारालाई साकार रूप दिएको छ। यसले चलचित्र निर्माणको कलाले स्वतः भौगोलिक सीमाहरू पार गर्छ भन्ने कुरा दर्शाउँछ।
चलचित्रसँग सम्बन्धित व्यक्ति, विचार र अनुभवहरूलाई प्रस्तुत गर्दै यस खण्डले विश्वभरका चलचित्र निर्माता र दर्शकहरूलाई जोड्ने साझा सिर्जनात्मक यात्रालाई उजागर गर्छ। भारतीय तथा अन्तर्राष्ट्रिय चलचित्रहरूको विविध छनौट, विभिन्न देशका विशेष चलचित्र प्रस्तुति, पहिलो पटक प्रदर्शन गरिने चलचित्र, प्रतिस्पर्धात्मक कार्यक्रम र चलचित्र उद्योगसँग सम्बन्धित गतिविधिहरूसहित आईएफएफआई २०२६ ले उत्कृष्ट चलचित्रहरूको उत्सव मनाउने र चलचित्रमार्फत विभिन्न संस्कृतिबीच आपसी सम्बन्ध र समझदारी बढाउने आफ्नो परम्परालाई निरन्तरता दिनेछ।
*********
MPS/TWB