नीति आयोग
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सरकार प्रमुखका रूपमा २५ वर्षको कार्यकालबाट राष्ट्रका लागि पाठहरू सिक्ने उद्देश्यले नीति आयोगले राष्ट्रिय कार्यशाला शृङ्खला शुरु गर्दैछ


नेतृत्व, कार्यसम्पादन, समावेशीकरण, सभ्यतागत पहिचान र विश्व मञ्चमा भारतको भूमिकाका विषयमा केन्द्रित रही नोभेम्बर २०२६ देखि अक्टोबर २०२७ सम्म पाँचवटा राष्ट्रिय कार्यशालाहरू सञ्चालन हुनेछन्

१७ नोभेम्बरमा भारत मण्डपममा नेतृत्व एक अभियानका रूपमा भन्ने विषयमा पहिलो कार्यशाला आयोजना हुनेछ

कच्छ, कोभिड-१९, लखपति दिदी र अन्तरिक्ष क्षेत्रसँग सम्बन्धित अनुभव तथा विवरणहरूका साथ यस शृङ्खलाको प्रारम्भ हुनेछ

पोस्ट गरियो: 15 NOV 2026 12:19PM by PIB Gangtok

नयाँ दिल्ली: १५ नोभेम्बर २०२६:

प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सरकार प्रमुखका रूपमा रहेको २५ वर्षको कार्यकालबाट पाठहरू सिक्नका लागि नीति आयोगले १७ नोभेम्बर २०२६ देखि पाँचवटा राष्ट्रिय कार्यशालाहरूको शृङ्खला शुरु गर्ने भएको छ। यस शृङ्खलाले सार्वजनिक नेतृत्वको यो २५ वर्षको अवधिको अध्ययन गर्नेछ, ताकि यसबाट प्राप्त पाठहरू राष्ट्रको साझा ज्ञानको हिस्सा बन्न सकुन्। यसले उक्त यात्रामा संलग्न व्यक्तिहरूको अनुभवलाई अभिलेखीकरण गर्नेछ र तिनलाई सबैका लागि लाभदायक ज्ञानमा रूपान्तरण गर्नेछ।

प्रधानमन्त्रीले ७ अक्टोबर २००१ मा गुजरातको मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरेका थिए। सो पदमा १२ वर्षभन्दा लामो समय सेवा गरेपछि उनले मई २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाले अनि हाल उनी आफ्नो लगातार तेस्रो कार्यकाल सम्हालिरहेका छन्। ७ अक्टोबर २०२६ मा २५ वर्ष पूरा भएसँगै यो भारतमा निर्वाचित सरकारको प्रमुखका रूपमा रहेको सबैभन्दा लामो निरन्तर कार्यकाल बन्न पुगेको छ। यस सम्पूर्ण अवधिमा शासन व्यवस्था 'प्रधान सेवक' को अवधारणामा आधारित रह्यो, जसअन्तर्गत सरकारका हरेक निकाय नागरिकहरूको सेवा गर्नका लागि अस्तित्वमा छन्। अन्त्योदयले प्रगतिको मापन समाजको अन्तिम व्यक्ति (सबैभन्दा पछाडि परेको व्यक्ति) को अवस्थाबाट गर्ने परिपाटी बसालेको छ। जनभागीदारीले विकासलाई एक जनआन्दोलनका रूपमा स्थापित गरेको छ। 'सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास' को सिद्धान्तले यसलाई एक साझा राष्ट्रिय अभियानका रूपमा अझ मजबुत बनाएको छ। सन् २०४७ सम्म विकसित भारतको लक्ष्यले यस दृष्टिकोणलाई एक दीर्घकालीन क्षितिज प्रदान गरेको छ, जसले हरेक संस्थालाई स्वतन्त्रताको शताब्दी वर्षतर्फ अघि बढिरहेको भारतका लागि योजना बनाउन र काम गर्न प्रेरित गर्दछ। यति ठूलो स्तरमा शासन सञ्चालन गर्ने सन्दर्भमा भारतले सिकेका धेरै कुराहरू ती निर्णयहरू लिने र तिनलाई कार्यान्वयन गर्ने अधिकारी, संस्था र नागरिकहरूको अनुभवमा निहित छन्। यो शृङ्खलाले उनीहरूका प्रत्यक्ष अनुभवहरूलाई अभिलेखीकरण गर्नेछ र तिनको प्राज्ञिक कठोरताका साथ विश्लेषण गर्नेछ। यसले ती अनुभवहरूलाई निजामती कर्मचारी, तालिम संस्था, विश्वविद्यालय, विद्यार्थी र आम नागरिकका लागि केस स्टडी, शोध पत्र र शिक्षण सामग्रीहरू सहित संस्थागत सिकाइ सामग्रीका रूपमा विकास गर्नेछ।

पाँचवटा राष्ट्रिय कार्यशालाहरू निम्न शासन-सम्बन्धी विषयवस्तुहरूमा केन्द्रित हुनेछन्: नोभेम्बर २०२६ मा "नेतृत्व: एक अभियानका रूपमा", जनवरी २०२७ मा "शासन: सेवा प्रवाहका रूपमा", अप्रेल २०२७ मा "विकास: समावेशीकरणका रूपमा", जुलाई २०२७ मा "सभ्यतागत पहिचान" र सेप्टेम्बर २०२७ मा "भारत: एक वैश्विक शक्तिका रूपमा" रहेका छन्।

पहिलो राष्ट्रिय कार्यशाला, "नेतृत्व: एक अभियानका रूपमा", १७ नोभेम्बर २०२६ मा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजन हुनेछ। यसमा नेतृत्वलाई ती विशिष्ट निर्णयहरूका माध्यमबाट अध्ययन गरिनेछ जहाँ यो स्पष्ट रूपमा देखिन्छ, साथै ती निर्णय कसरी नागरिकका लागि नतिजामा परिणत हुन्छन् भन्ने पक्षलाई पनि हेरिनेछ। नीति आयोगका मुख्य कार्यकारी अधिकारी श्री अनुराग जैनले सहभागीहरूलाई स्वागत गर्नेछन् भने नीति आयोगका उपाध्यक्ष श्री अशोक कुमार लाहिरीले उद्घाटन मन्तव्य राख्नेछन्। प्रधानमन्त्रीका प्रधान सचिव डा. पी. के. मिश्रले उद्घाटन सत्रको मुख्य सम्बोधन गर्नेछन् र कोटक महिन्द्रा ब्याङ्कका संस्थापक श्री उदय कोटकले पनि मुख्य सम्बोधन गर्नेछन्। नीति आयोगका सदस्य डा. आर. बालसुब्रमण्यमले कार्यशालाको रूपरेखा प्रस्तुत गर्नेछन्।

महत्त्वपूर्ण निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रहेका व्यक्तिहरूका अनुभवमा आधारित चारवटा प्रस्तुति यस दिनको मुख्य आकर्षण हुनेछन्। गुजरात सरकारका अतिरिक्त मुख्य सचिव श्री राजीव तोपनोले सन् २००१ को भूकम्पपछि कच्छको पुनर्निर्माणबारे चर्चा गर्नेछन्। पूर्व केन्द्रीय स्वास्थ्य सचिव तथा यूपीएससीकी पूर्व अध्यक्ष सुश्री प्रीति सुडानले कोभिड-१९ महामारीको प्रतिकार्यबारे बोल्नेछिन्। ग्रामीण विकास मन्त्रालयका पूर्व सचिव श्री शैलेश कुमार सिंहले लखपति दिदी कार्यक्रमबारे जानकारी दिनेछन्। इसरोका पूर्व अध्यक्ष डा. एस. सोमनाथले अन्तरिक्ष अर्थतन्त्रको विस्तारमा आफ्नो अनुभव साझा गर्नेछन्।

नीति आयोगका पूर्व मुख्य कार्यकारी अधिकारी श्री बी.भी.आर. सुब्रह्मण्यमले विकसित भारतका लागि नेतृत्व विषयक प्यानल छलफलको सहजीकरण गर्नेछन्। प्यानलका सदस्यहरूमा उत्तर प्रदेश सरकारका शहरी विकास तथा ऊर्जा मन्त्री श्री अरविन्द कुमार शर्मा, इण्डियन इन्स्टिच्युट अफ् म्यानेजमेन्ट (आईआईएम) अहमदाबादका प्राध्यापक विशाल गुप्ता, नीति आयोगकी विशिष्ट फेलो सुश्री देबजानी घोष र हरदोईकी संयुक्त मजिस्ट्रेट सुश्री नारायणी भाटिया रहनेछन्।

क्याबिनेट सचिव डा. टी.भी. सोमनाथनले कार्यशालाको समापन गर्नेछन् र आईगोट कर्मयोगी प्लेटफर्ममा 'कर्मयोगी सङ्कल्प' को शुरुवात गर्नेछन्। यस सङ्कल्पको माध्यमद्वारा देशभरिका निजामती कर्मचारीहरूले आफ्नो नेतृत्व शैलीमा विशेष परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनेछन्।

कार्यशालामा करिब ९०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ, जसमध्ये २५० जना प्रत्यक्ष रूपमा छलफलमा सहभागी हुनेछन्। यसमा केन्द्र तथा राज्य सरकारका सचिव र वरिष्ठ अधिकारीहरूका साथै 'आकांक्षी जिल्ला' का जिल्ला कलेक्टरहरू गरी १५० सरकारी अधिकारीहरू सामेल हुनेछन्। साथै, प्रतिष्ठित शिक्षण संस्था तथा विश्वविद्यालयका २५ विद्यार्थी र राष्ट्रिय स्तरका प्रमुख योजनाहरूबाट लाभान्वित ५० जना सामुदायिक साझेदारहरू पनि सहभागी हुनेछन्। समूहगत छलफललाई क्यापासिटी बिल्डिङ कमिशनको अमृत ज्ञान कोष पहल अन्तर्गत प्रशिक्षित २५ जना सहजकर्ताहरूले मार्गदर्शन गर्नेछन्। कार्यक्रमका सम्पूर्ण गतिविधिहरू आईगोट कर्मयोगी प्लेटफर्ममा प्रत्यक्ष प्रसारण गरिनेछन्।

******

MPS/TWB


(रिलिज आईडी: 2336852) आगन्तुक काउन्टर : 7
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Marathi , Assamese , Gujarati , Odia , Tamil , Telugu , Kannada , Malayalam