राष्ट्रपतिको सचिवालय
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूको 80 औं स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाम सन्देश
प्रविष्टि तिथि:
14 AUG 2026 7:53PM by PIB Gangtok
नयाँ दिल्ली, 14 अगस्त 2026
मेरा प्यारा देशवासीहरू,
नमस्कार!
स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा म तपाईंहरू सबैलाई यस राष्ट्रिय पर्वको हार्दिक बधाई दिन चाहन्छु। अबको केही घण्टापछि, हाम्रो देशको स्वाधीनताको 80 औं वर्षको शुभारम्भ हुनेछ। देश-विदेशमा बसोबासो गर्ने सबै भारतीयले यस पर्वलाई उल्लासका साथ मनाउँछन्। हाम्रो तिरङ्गा हाम्रो स्वाधीनताको प्रतीक हो। यसलाई हामीले पूर्ण शानका साथ फहराउँछौं।
15 अगस्त 1947 को दिन भारतमाता पराधीनताको बेडीबाट मुक्त भएको थियो। सबै देशवासी, स्वतन्त्र भारतको नियतिका निर्माता बने। हामी भारतका जनमानसले, आफ्नो सपनालाई साकार गर्ने अवसरको उपयोग गर्नसकौं, अनि भारतलाई सर्वश्रेष्ठ राष्ट्र बनाउने भावनाले कार्य गरौं, यसैमा स्वतन्त्रताको सार्थकता छ।
निष्ठावान विद्यार्थी अनि शिक्षक, विकासका लागि तत्पर वैज्ञानिक अनि ईञ्जिनियर, स्वास्थ्य सेवामा कार्यरत डाक्टर अनि स्वास्थ्यकर्मी, मेहनती श्रमिक अनि अन्नदाता किसानले, आफ्नो प्रयासद्वारा राष्ट्र निर्माण गरिरहेका छन्। प्रतिभावान खेलाडी, शिल्पकार तथा कलाकार, मार्गदर्शक बुद्धिजीवी, निजी अनि सार्वजनिक क्षेत्रका टीमहरूका कर्मठ सदस्य, जनहितमा सेवारत जनप्रतिनिधि, न्याय-व्यवस्थासँग जोडिएका न्यायकर्मी, कार्यनिष्ठ लोक सेवक, अर्थव्यवस्थामा योगदान दिने साना-ठूला सबै निवेशक, निःस्वार्थ समाजसेवी अनि स्वच्छता अभियानका अग्रणी कार्यकर्ता, हाम्रा सबै सफाइमित्रले देशको प्रगतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। अन्य क्षेत्रमा सक्रिय असङ्ख्य देशवासी, तथा संविधानमा निहित, मूल कर्तव्य पालन गर्ने सबै नागरिक, राष्ट्र निर्माणमा महत्त्वपूर्ण भागीदार छन्। म उनीहरू सबैलाई हृदयबाट सराहना गर्न चाहन्छु। तीनै सेनाका जवान, सबै सशस्त्र पुलिस बल अनि पुलिसकर्मीहरूको कर्तव्यनिष्ठाका लागि म उनीहरूको विशेष सराहना गर्न चाहन्छु। विश्व पटलमा भारतको मान-सम्मान बढाउने प्रवासी भारतीयहरू अनि दूतावासमा कार्यरत देशवासीहरूको म प्रशंसा गर्न चाहन्छु।
प्यारा देशवासीहरू,
स्वाधीनताको शताब्दी वर्ष 2047 सम्म विकसित भारतको निर्माणका लागि हामी अघि बढिरहेका छौं। अन्त्योदयको भावनाका साथ, हाम्रो सङ्कल्प छ, विकासको लाभ प्रत्येक व्यक्तिसम्म पुगोस्। आफ्नो समृद्ध विरासत अनि स्वाधीनता सङ्ग्रामका आदर्शहरू अपनाउँदै हामी आधुनिक विकासको मार्गमा अग्रसर छौं। “वयं राष्ट्रे जागृयाम”, यस वेदवाक्यले हामीलाई राष्ट्रको निम्ति सदैव जागरूक रहन प्रेरणा दिन्छ।
हाम्रो स्वाधीनता सङ्ग्राममा सङ्घर्ष अलग-अलग विचारधाराका मानिसहरूको लक्ष्य एउटै थियो – भारतको स्वतन्त्रता। स्वदेशी आन्दोलनको समय, वन्दे मातरम्, जन-जनको गीत बनेको थियो। राष्ट्रपिता महात्मा गान्धीको नेतृत्त्वमा अनगन्ती देशवासी स्वाधीनता सङ्ग्राममा जोडिए। बाबासाहेब डाक्टर भीमराव अम्बेडकरले समाज सुधार तथा राष्ट्रनिष्ठाको उच्च आदर्श प्रस्तुत गरे। भारतमाताका ती सबै महान सन्तानलाई म सादर नमन गर्दछु, जसको आदर्शमा अघि बढ्दै हाम्रो देश स्वतन्त्र भयो र अघि बढ्यो।
आज 14 अगस्तको दिनलाई हामी विभाजन विभीषिका स्मृति दिवसका रूपमा मनाउँछौं। हामी ती लाखौं देशवासीलाई याद गर्छौं, जो विभाजनसँग जोडिएका हिंसामा मारिए वा विस्थापनको त्रासदी झेल्न बाध्य भए। साम्प्रदायिक हिंसाका कारण लाखौं मानिस शरणार्थी बन्नुपरेको थियो र विभाजनको विभीषिका सहनु परेको थियो। तरै पनि, उनीहरूले आफ्नो पहिचान छोडेनन्।
जब हाम्रो देश स्वतन्त्र भयो, त्यस समय देशको विभाजनको गम्भीर परिणामका साथसाथै 550 भन्दा धेरै रियासतलाई नवस्वाधीन भारतसँग जोड्नु पनि एउटा असाधारण चुनौती थियो। सरदार पटेलले राजशाही व्यवस्थालाई समाप्त गरी हाम्रो स्वाधीन लोकतन्त्रमा उनीहरूको विलय गराए। एक कृतज्ञ राष्ट्रको तर्फबाट, आधुनिक भारतको एकताका शिल्पकार, लौहपुरुष सरदार वल्लभभाई पटेलको पावन स्मृतिलाई म सादर नमन गर्दछु।
प्यारा देशवासीहरू,
“भारतका जनमानस”द्वारा निर्मित हाम्रो संविधान नागरिकहरूको भागीदारीमा आधारित छ। लोकतन्त्रकी जननी भारतभूमिका निवासीहरूमा जनभागीदारीको भावना सदादेखि विद्यमान रहेको छ। त्यस भावनालाई, नयाँ ऊर्जाका साथ, हाम्रा देशवासीले अघि बढाइरहेका छन्। राष्ट्रिय अभियानहरूलाई जनभागीदारीद्वारा अघि बढाइँदैछ। यो हाम्रो लोकतन्त्रको प्रेरक उपलब्धि हो।
प्रतिष्ठा अनि अवसरको समानता तथा व्यक्तिको गरिमा, हाम्रो संविधानका प्रमुख आदर्श हुन्। आज साधारण पृष्ठभूमिका मानिसले, अनेकौं क्षेत्रमा असाधारण योगदान दिइरहेका छन्। यसबाट मेरो यो विश्वास दृढ हुन्छ कि आजको भारतमा हरेक व्यक्तिले ठूलो सपना देख्न पनि सक्छन् र त्यसलाई पूरा पनि गर्नसक्छन्।
हाम्रो संविधानमा कार्यपालिका, विधायिका तथा न्यायपालिकाका उत्तरदायित्त्वहरू स्पष्ट रूपमा उल्लेख छन्। जनप्रतिनिधिहरूको कर्तव्य हुन्छ, विधायिकामा, जनआकाङ्क्षाहरूलाई अभिव्यक्त गरून्। कार्यपालिकाको कर्तव्य हुन्छ, जनहित अनि राष्ट्रहितका नीतिहरूलाई कार्यरूप दिऊन्। न्याय-व्यवस्थासँग जोडिएका प्रत्येक व्यक्तिको कर्तव्य हुन्छ, अभावका कारण कुनै पनि व्यक्ति न्यायबाट वञ्चित नहोऊन्। हरेक नागरिकलाई, विशेष गरी वञ्चित वर्गका मानिसले, समानताका आधारमा, सम्मानका साथ, समयमा न्याय पाउनुपर्दछ।
प्यारा देशवासीहरू,
पछिल्लो एक दसकदेखि केही बढी समयमा हाम्रो देशले
तेज गतिले समावेशी विकास गरेको छ,
विरासत अनि विकासको समन्वयलाई प्राथमिकता दिएको छ, तथा
विकासमा बाधक दसकौं पुराना अनेकौं अवरोधहरू हटाएको छ।
हाम्रा देशवासीले महात्मा ज्योतिबा फुलेको 200 औं जयन्ती मनाइरहेको छ। महात्मा फुले अनि क्रान्ति-ज्योति सावित्रीबाई फुलेले सामाजिक न्याय, शिक्षा, महिला सशक्तिकरण अनि समानताको क्षेत्रमा ऐतिहासिक योगदान दिएका छन्। उनीहरूकै आदर्श अनुसार विगत केही वर्षको अवधिमा वञ्चित वर्गलाई अघि बढाउने लक्ष्यलाई राष्ट्रिय प्राथमिकता दिइएको छ। महिलाहरूको शिक्षाको क्षेत्रमा सफलताका नयाँ प्रतिमान स्थापित भएका छन्। 25 करोडऊन्दा धेरै मानिसलाई गरीबीबाट मुक्ति दिलाउन सफलता प्राप्त भएको छ। विश्वको सबैभन्दी बृहत् वित्तीय समावेश योजना रहेको प्रधानमन्त्री जनधन योजना अन्तर्गत करिब 59 करोड खाताधारी ब्याङ्किङ व्यवस्थासँग जोडीसकेका छन्। उनीहरूमा 32 करोडभन्दा धेरै महिला खाताधारी सामेल छन्। 80 करोड मानिसका लागि निःशुल्क राशनको व्यवस्थाद्वारा उनीहरूको खाद्य सुरक्षा सुनिश्चित गरिएको छ। आयुष्मान भारत प्रधानमन्त्री जनआरोग्य योजना अन्तर्गत 60 करोड मानिसलाई प्रतिवर्ष 5 लाख रुपियाँसम्मको निःशुल्क चिकित्सा सुविधा उपलब्ध गराइएको छ। किसान सम्मान निधि तथा किसान क्रेडिट कार्ड्सद्वारा खेती, डेयरी, कुखुरा पालन, मत्स्य पालन अनि मौरी पालन जस्ता गतिविधिसँग जोडिएका किसान भाइ-बहिनीहरूले सम्बल पाएका छन्।
विश्वको इतिहास साक्षी छ, सांस्कृतिक आत्मबलमा आधारित विकास गतिमान अनि स्थायी हुन्छ। आज देशमा सांस्कृतिक गौरवको भावले देशको सम्प्रभुतालाई आत्मिक शक्ति प्रदान गर्दछ भन्ने चेतना बलवती भइरहेको छ। हाम्रा पूर्वजहरूले ज्ञान-विज्ञान, कला-संस्कृति, अध्यात्म अनि सदाचारको अनमोल विरासत सुम्पेका छन्। हामी विरासत अनि विकासको समन्वयका साथ अघि बढिरहेका छौं।
हाम्रो देशमा सबैभन्दा विशाल अनि सबैभन्दा उत्तम डिजिटल पूर्वाधार विकसित गरिएको छ। गाउँहरूका स-साना पसलमा तथा पथ पसलहरूमा पनि डिजिटल भुक्तानी भइरहेका छन्। विश्वमा आधाभन्दा धेरै वास्तविक समय डिजिटल लेनदेन भारतमा भइरहेको छ। हाम्रा देशवासी अनि सरकारले मिलेर डिजिटल क्रान्तिको उदाहरण विश्व समुदायका सामु प्रस्तुत गरेका छन्। प्रविधिको उपयोग गरी सरकारले जनकल्याणका सुविधाहरूलाई पारदर्शी तरिकाले जनजनसम्म पुऱ्याएको छ।
हाम्रो देशमा राजमार्ग, जलमार्ग, रेलवे अनि हवाई मार्गका रूपमा आधुनिक पूर्वाधारको अभूतपूर्व विस्तार भएको छ। यसबाट नयाँ उद्यमहरूका लागि अवसर उत्पन्न भइरहेको छ, नयाँ रोजगार सिर्जना भइरहेका छन् तथा निवेशकहरूको विश्वास बढिरहेको छ।
प्यारा देशवासीहरू,
विश्वका अनेकौं क्षेत्रमा युद्ध एवं अस्थिरताको सबै देशमाथि प्रभाव परिरहेको छ। यस्तो परिस्थितिमा, हाम्रो देशको अर्थव्यवस्था, सबैभन्दा तेज गतिले बढ्दो प्रमुख अर्थव्यवस्थाका रूपमा अघि बढिरहेको छ। आर्थिक अनुमानहरू अनुसार भारतको विकास दर विश्वको औसत विकास दरको तुलनामा दुई गुणाभन्दा धेरै रहनेछ। “आत्मनिर्भर भारत” अभियानद्वारा हाम्रो आर्थिक प्रगति अनि राष्ट्रिय सुरक्षाको आधार सुदृढ बनेको छ।
आधुनिक विकासको मार्गमा अघि बढ्नका साथसाथै पर्यावरण संरक्षणको क्षेत्रमा पनि भारतले विश्व स्तरमा अग्रणी योगदान दिइरहेको छ। सतत विकास लक्ष्य 2030 का केही लक्ष्यलाई हाम्रो देशले समयभन्दा अघि नै प्राप्त गरेको छ। नविकरणीय ऊर्जाको विकासले पछिल्लो केही वर्षमा अभूतपूर्व गति हासिल गरेको छ।
हाम्रो विदेश नीति, देशहितमा आधारित छ। शान्ति, सहयोग, संवाद तथा वसुधैव कुटुम्बकम्-को आदर्श हाम्रो विदेश नीतिको स्तम्भ हो। आर्थिक सहयोगबढाउन तथा पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि, हामीले अनेकौं देशका साथ मुक्त व्यापार सम्झौता गरेका छौं। ग्लोबल साउथका देशहरूमा हामीले अग्रणी भूमिका खेलिरहेका छौं। विश्व पटलमा हाम्रो देशको सम्मान बढेको छ। हामी नियम आधारित अन्तरराष्ट्रिय आदेशमा विश्वास राख्छौं। हाम्रो प्रयास संयुक्त राष्ट्र सङ्घसहित बहुराष्ट्रिय सङ्गठनहरूमा विश्व समुदायको समुचित प्रतिनिधित्त्व होस् भन्ने छ। हाम्रो यस प्रयासले अनेकौं देशको प्रबल समर्थन पाइरहेको छ।
प्यारा देशवासीहरू,
प्राकृतिक सम्पदाहरूमाथि हाम्री भावी पिँढीको पनि त्यति नै अधिकार छ, जति हाम्रो छ। हामीले हाम्रो कुनै पनि कार्यद्वारा, आउने पिँढीलाई यस अधिकारको प्रयोगमा अलिकति पनि कमी नहोस् भन्ने सुनिश्चित गर्नुपर्नेछ। हाम्रो प्रयास, हामीले उनीहरूलाई अरू धेरै समृद्ध प्राकृतिक सम्पदा प्रदान गर्ने हुनुपर्नेछ। पर्यावरण संरक्षणप्रति हाम्रो आस्था हाम्रो परम्पराको पनि हिस्सा हो। सन्ताली भाषाको एउटा सरल गीतमा हामीले गहिरो सन्देश पाउँछौं। पण्डित रघुनाथ मुर्मूद्वारा रचित त्यस गीतका केही शब्द यस प्रकार छन् : -
दारे गुजूग कान ञेल ते
मिरु चेणेय राग बयहा दाया हाया गे।
गुजूग कान आबोवा जाति धरम दारे
चेदाग बाबोन राग बयहा आबो अना ञेल ते।
यस गीतमा, एउटा रुख पूर्णरूपले सुकेर जानुका कारण रुँदै गरेको एउटा सुगाको वर्णन गर्दै कविले भनिरहेका छन्, “हे मेरा भाइहरू! मरिरहेको रुखलाई देखेर सुगा चरी दुखले भरिएको आवाजमा रोइरहेका छन्। हे मेरा भाइहरू! मानव संस्कृतिरूपी वृक्षको विनाश भएको देखेर हामी मानव समाजका मानिसहरूले विलाप किन गरिरहेका छैनौं?” यस गीतको सन्देश छ, सबै मनुष्यले मानवीय मूल्य अनि प्रकृतिको संरक्षणका लागि तत्पर रहनुपर्नेछ। एउटा हरियो रुख, मानव समाज नैतिक अनि स्वस्थ रहनुको प्रतीक हो। “एक पेड़ मां के नाम” तथा “पर्यावरणका लागि जीवनशैली” अर्थात् लाइफ जस्ता अभियानको भावनाका अनुरूप सबैले पर्यावरण संरक्षणका लागि व्यक्तिगत अनि सामूहिक प्रयास गर्नुपर्नेछ।
मेरा प्यारा देशवासीहरू,
मलाई शिक्षाको क्षेत्रमा हाम्रा छोरीहरूले प्रभावशाली प्रदर्शन गरिरहेको देख्दा धेरै प्रसन्नता हुन्छ। साथै, कृषि उत्पादकता बढाउनमा योगदान दिने ड्रोन दिदीहरूदेखि लिएर वायु सेनामा फाइटर कम्ब्याट लिडर बन्नेसम्म, विभिन्न क्षेत्रमा महिलाहरूको भागीदारी बढिरहेको छ। हालै ग्लासगोमा सम्पन्न भएको राष्ट्रमण्डल खेल भारतको कूल 13 स्वर्ण पदकमध्ये 8 स्वर्ण पदक छोरीहरूले जीतेका छन्। महिलाहरूको आर्थिक आर्थिक आत्मनिर्भरता बढिरकहेको छ। स्वयं सहायता समूहका 10 करोडभन्दा धेरै महिला सदस्यहरू छन्। 3 करोड महिलालाई लखपति दिदी बनाउने लक्ष्य तय गरिएको थियो। यस लक्ष्यलाई प्राप्त गरिसकिएको छ। अब हाम्रो देश 3 करोड महिलालाई नयाँ लखपति दिदी बनाउने लक्ष्यतर्फ अग्रसर छ। मुद्रा योजना अन्तर्गत सहायता प्राप्त गर्ने उद्यमीहरूमा करिब दुई-तिहाई लाभार्थी महिलाहरू छन्।
महिलाहरूको आर्थिक आत्मनिर्भरताको प्रयासका साथसाथै उनीहरूले विभिन्न क्षेत्रमा नेतृत्त्व प्रदान गरिरहेको हामीले देखिरहेका छौं। मतदानमा महिलाहरूको बढ्दो भागीदारी हाम्रो गणतन्त्रको विशेष सफलता हो। लोकसभा अनि विधानसभाहरूमा महिलाहरूलाई 33 प्रतिशत प्रतिनिधित्त्व आरक्षित गर्नका लागि, वर्ष 2023 मा “नारी शक्ति वन्दन” अधिनियम पारित गरिसकिएको छ। यस अधिनियमको लक्ष्य प्राप्त गरिए महिलाहरूको नेतृत्त्व बढ्नका साथै हाम्रो लोकतन्त्र अरू बढी समावेशी बन्नेछ।
देशको कूल जनसङ्ख्यामध्ये 65 प्रतिशत मानिसको आयु 35 भन्दा कम्ति छ। यो युवा जनसङ्ख्या हाम्रो सबैभन्दा मूल्यवान सम्पदा हो। हाम्रो देशका युवा प्रतिभाशाली छन्, सङ्कल्पबद्ध छन् र कुशल छन्। धरातल स्तरमा, युवाहरूद्वारा गरिएका विभिन्न समस्याको अभिनव अनि व्यावहारिक समाधान देखेर मैले समाज अनि देशको निम्ति उनीहरूको प्रतिबद्धताको परिचय पाउँछु। केवल 28 वर्षको औसत आयु भएका युवा टीमद्वारा हालै रकेटको सफल प्रक्षेपण गरी अन्तरिक्ष अन्वेषणको एउटा नयाँ चरण शुभारम्भ गरिएको छ।
हाम्रा अनेकौं युवाले स्वरोजगारको मार्गमा बढ्दै रोजगार प्रदान गर्ने संस्कृति अपनाइरहेका छन्। युवा उद्यमीहरूको भागीदारीबाट हाम्रो देशमा एउटा बलियो स्टार्टअप परितन्त्र विकसित भएको छ। विश्वका ठूला-ठूला उद्यम भारतका युवाहरूको प्रतिभा अनि लगनबाट प्रभावित रहन्छन् तथा उनीहरूलाई नेतृत्त्व भूमिकामा नियुक्त गर्छन्। यस्ता युवाहरूले विश्व समुदायमा भारतको युवा शक्तिको गरिमा बढाएका छन्। हाम्रा युवा पिँढीले भारतको स्वर्णिम भविष्य प्रति मेरो आस्थालाई अझ प्रबल बनाउँछ।
हाम्रा विद्यार्थी, भारतका भविष्य निर्माता हुन्। जुन प्रकारले राष्ट्रिय सुरक्षाका लागि सरकार अनि समाज एकजुट हुन जरुरी छ, त्यसै गरी विद्यार्थीहरूको वर्तमान अनि भविष्यको सुरक्षाका लागि सबैको सम्मिलित प्रयास आवश्यक छ। सार्वजनिक परीक्षाहरूले विद्यार्थीका लागि अवसरको द्वार खोल्दछ। यसै कारण, सरकारले यी परीक्षाहरूमा सुधारको निम्ति व्यापक कदम उठाइरहेको छ। यी सुधारहरूको उद्देश्य, सार्वजनिक परीक्षाहरूमा अनुचित साधनहरूमाथि पूर्णरूपले अङ्कुश लगाउनु, परीक्षा प्रणालीलाई अरू बढी पारदर्शी बनाउनु तथा युवाहरूका लागि सुरक्षित अनि भरोसायोग्य बनाउनु रहेको छ।
सरकारको प्रयास तथा नयाँ आर्थिक गतिविधिद्वारा युवाहरूका लागि अनेकौं प्रकारका नयाँ अवसर उत्पन्न भइरहेका छन्। यस्ता अवसरहरूबारे जानकारी प्राप्त गरी हाम्रा युवाले सफलताको नयाँ मार्ग रोज्न सक्छन्।
हाम्रा युवाहरूको शारीरिक एवं मानसिक स्वास्थ्य देशको भविष्यको आधार हो। परिवार अनि समाजको पनि जिम्मेवारी हुन्छ, हाम्रा युवा उत्साहका साथ अघि बढी रहून्।
खेलकूदलाई युवाहरूको विकास अनि राष्ट्र निर्माणको माध्यमका रूपमा अपनाइँदैछ। खेलो इण्डिया कार्यक्रम अन्तर्गत स्थानीय स्तरदेखि लिएर राष्ट्रिय स्तरसम्म देशको सबै क्षेत्रका लागि खेलकूद परितन्त्र उपलब्ध गराइँदैछ। खेलकूदलाई बढावा दिनका लागि सरकारले अभूतपूर्व निवेश गरिरहेको छ। यी प्रयासहरूको राम्रो परिणाम अघि आइरहेका छन्। अन्तरराष्ट्रिय खेल स्पर्धाहरूमा हाम्रा खेलाडीहरूको प्रदर्शन अनि उपलब्धि उच्च शिखरसम्म पुगिरहेका छन्।
एकातिर हाम्रो देशमा सबैभन्दा विशाल युवा जनसङ्ख्या छ भने अर्कातिर वरिष्ठ नागरिकहरूको सङ्ख्या पनि निरन्तर बढिरहेको छ। सरकारले वरिष्ठ नागरिकहरूको जीवन उत्तम बनाउनका लागि अनेकौं कदम उठाएको छ। 70 साल अनि यसभन्दा धेरै उमेरका करिब 6 करोड वरिष्ठ नागरिकका लागि प्रति वर्ष 5 लाख रुपियाँसम्मको निःशुल्क स्वास्थ्य सेवा सुविधा उपलब्ध छ। वरिष्ठ नागरिहरूप्रति आफ्नोपनको भावना तथा उनीहरूको आत्मसम्मानलाई कायम गर्नका लागि पूरै समाज संवेदनशील बन्नुपर्नेछ।
प्यारा देशवासीहरू,
सत्य अनि न्यायको पक्षमा, मानवता विरोधी शक्तिहरूमाथि विजय प्राप्त गर्ने भारतीय परम्परामाथि हामी गर्व गर्दछौं। 26 जुलाईको दिन हामीले कारगिल विजय दिवस मनायौं। त्यसअघि 7 मईको दिन अपरेशन सिन्दूर आरम्भ गरिएको एक वर्ष पूरा भएको अवसरमा हामीले हाम्रा सेनाको अतुल्य पराक्रमको स्मरण गऱ्यौं। आतङ्कवाद विरुद्ध त्यो ऐतिहासिक अपरेशन, भारतीय सेनाको अचूक क्षमताको प्रमाण हो। आतङ्कीहरूका साथै तिनका समर्थकलाई तिनीहरू चाहे जहाँ-कहीं पनि लुकेर बसेका हुन्, तर तिनीहरूले आफ्नो कर्तुतको सजाय अवश्यै पाउनेछन् भन्ने कठोर सन्देश दिइयो। आतङ्कवादलाई संरक्षण दिने देशका साथ अतीतमा सिन्धु जल सन्धि निलम्बन गर्नु हाम्रो देशका विशेष गरी किसानहरूको हितमा एउटा निर्णायक कदम हो।
दसकौंदेखि, नक्सलवाद देशको निम्ति गम्भीर चुनौती बनेको थियो। भारतलाई नक्सलमुक्त बनाउनु एउटा ठूलो उपलब्धि हो। अब नक्सल प्रभावित क्षेत्रहरूमा उत्साहको वातावरण छ तथा विकासको सर्वस्पर्शी धारा प्रवाहित भिरहेको छ। बस्तर ओलम्पिक्समा खेलाडीहरूले, बस्तर पण्डुममा कलाकारहरूले तथा यसका आयोजनमा दर्शकहरूले भारी सङ्ख्यामा भाग लिए।
राष्ट्र गौरवको रक्षाका लागि निर्मित मराठा सैन्य परम्परासँग जोडिएका 12 दुर्गलाई पछिल्लो वर्ष युनेस्कोको विश्व धरोहर सूचीमा स्थान दिइयो। र यस वर्ष भगवान बुद्धको प्रथम प्रवचन स्थल सारनाथलाई युनेस्को विश्व धरोहर सूचीमा सामेल गरियो। भारतभूमिमा एकातिर भगवान बुद्धसँग जोडिएको आध्यात्मिक स्मारक छ भने अर्कातिर आत्मसम्मान तथा आफ्नो गौरवशाली परम्पराको रक्षाका लागि युद्ध गर्ने हाम्रो प्रभावशाली क्षमताको प्रतीक पनि विद्यमान छ।
मेरा प्यारा देशवासीहरू,
सबै भारतवासीको विकास अनि कल्याण नै विकसित भारत निर्माणको वास्तविक लक्ष्य हो। तेलेगू भाषामा रचना गर्ने महान राष्ट्रवादी साहित्यकार गुरजाडा अप्पारावले, आफ्नो एउटा गीतमा, सबै भारतवासीलाई देशप्रेमको अमूल्य सन्देश दिएका छन्। उनले भनेका छन् :
देसमुनु प्रेमिंचुमन्ना, मंचि अन्नदि पेंचुमन्ना।
देसमंटे, मट्टि कादोय, देसमंटे, मनुषुलोय।
इन पंक्तियों का भाव है:
देश से प्रेम करो; भलाई को बढ़ाओ;
देश का अर्थ केवल मिट्टी ही नहीं है।
देश का अर्थ समस्त जनसमुदाय है।
मलाई विश्वास छ, समाजको भागीदारी अनि सरकारको प्रयासद्वारा गाउँ-गाउँमा, नगर-नगरमा, भारतको घर-घरमा बसोबासो गर्ने सबै मानि स्वस्थ, सुखी अनि समृद्ध बन्नेछन्।
आउनुहोस्, देशप्रेमको यस सर्व समावेशी भावनाका साथ हामी सबै स्वतन्त्र भारतलाई विकसित भारत बनाउने राष्ट्रिय साधनामा स्वयंलाई समर्पित गरौं।
धन्यवाद!
जय हिंद!
जय भारत!
*************
एमपीएस/टीडब्ल्यूबी
(रिलीज़ आईडी: 2299685)
आगंतुक पटल : 6
इस विज्ञप्ति को इन भाषाओं में पढ़ें:
Tamil
,
Telugu
,
Malayalam
,
Assamese
,
Bengali
,
Odia
,
English
,
Khasi
,
Urdu
,
हिन्दी
,
Marathi
,
Punjabi
,
Gujarati
,
Kannada