प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आइएनएस विक्रान्तमा दिवाली मनाए


आइएनएस विक्रान्त युद्धपोत मात्र होइन, यो 21 औं शताब्दीको भारतको कडा मेहनत, प्रतिभा, प्रभाव अनि प्रतिबद्धताको साक्षी हो : पीएम

आएनएस विक्रान्त आत्मनिर्भर भारत र मेड इन इण्डियाको विराट् प्रतीक हो : पीएम

तीनै सेवाबीच असाधारण समन्वयनको कारण अपरेशन सिन्दूरका समय पाकिस्तानलाई आत्मसमर्पण गर्न बाध्य बनाएको थियो : पीएम

बितेको दसकमा हाम्रो रक्षा बल आत्मनिर्भरतातर्फ तेज गतिमा बढिरहेको छ : पीएम

हाम्रो लक्ष्य भारतलाई शीर्ष रक्षा निर्यातक बनाउनु रहेको छ : पीएम

भारतीय नौसेना भारतीय महासागरको संरक्षकका रूपमा खडा छ : पीएम

हाम्रो सुरक्षा बलको वीरता अनि दृढ सङ्कल्पका कारण राष्ट्रले उल्लेखनीय कोशेढुङ्गा पार गरेको छ, हामीले माओवादी उग्रवाद उन्मूलन गरिरहेका छौं : पीएम

Posted On: 20 OCT 2025 12:53PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आइएनएस विक्रान्तमा दिवाली समारोहको अवसरमा सुरक्षाबलका कर्मीहरूलाई सम्बोधित गरे। आजको दिनलाई अविसमरणीय अनि उल्लेखनीय क्षण तथा अद्भूत क्षणका रूपमा उल्लेख गर्दै श्री मोदीले एकातिर विशाल महासागर र अर्कातिर भारत माताका वीर सैनिकहरूको अदम्य शक्तिबारे उल्लेख गरे। यसकै साथै एकातिर अनन्त क्षितिज अनि असीम आकाश र अर्कातिर अनन्त शक्तिका प्रतीक आइएनएस विक्रान्तको विशाल पराक्रम प्रस्तुत गर्ने उनले बताए। महासागरमा प्रतिबिम्बित घामको किरणले वीर सैनिकहरूद्वारा दीपावलीको अवसरमा दियो जलाएको बोध गराएकै उल्लेख गर्दै यसले प्रकाशको दिव्य मालाको स्वरूप प्रस्तुत गरेको प्रधानमन्त्रीले बताए। भारतीय नौसेनाका वीर जवानहरूका साथ दिवाली मनाउन पाउनु गर्वको कुरा रहेको पनि आशय उनले व्यक्त गरे।

आइएनएस विक्रान्तमा बिताएको एक रातको स्मरण गर्दै प्रधानमन्त्रीले यस अनुभवलाई शब्दमा बयान गर्न गाह्रो पर्ने बताए। महासागरमा गहन रात्रि अनि सूर्योदयले यस दिवालीलाई कैयौं अर्थमा स्मरणीय बनाएको उनले उल्लेख गरे। आइएनएस विक्रान्तबाट प्रधानमन्त्रीले 140 देशवासीलाई दिवालीको शुभकामना दिए।

राष्ट्रलाई आइएनएस विक्रान्त समर्पित गरेको क्षणको स्मरण गर्दै श्री मोदीले त्यस समय उनले विक्रान्त भव्य, राजसी, विशाल अनि अद्वितीय रहेको बताए। “विक्रान्त युद्धपोत मात्र नभएर, यो 21 शताब्दीको भारतको कडा मेहनत, प्रतिभा, प्रभाव अनि प्रभाव हो,” प्रधानमन्त्रीले जोड दिँदै भने। यसै दिन भारतले स्वदेश निर्मित आइएनएस विक्रान्त प्राप्त गरेको र भारतीय नौसेनाले औपनिवेशिक विरासतको प्रमुख प्रतीक पनि त्याग गरेको बताए। छत्रपति शिवाजी महाराजबाट प्रेरणा लिँदै नौसेनाले नयाँ ध्वज अङ्गीकार गरेको उनले बताए।

आइएनएस विक्रान्त आज आत्मनिर्भर भारत अनि मेड इन इण्डियाको शक्तिशाली प्रतीकका रूपमा खडा छ भन्दै प्रधानमन्त्रीले स्वदेश निर्मित आइएनएस विक्रान्तले महासागर चिर्दै अघि बढ्नुले भारतको सैन्य शक्ति प्रतिबिम्बित गर्ने बताए। केही महिनाअघि विक्रान्तको नाम मात्रले पाकिस्तानको निद्रा हरण गरेको उनले उल्लेख गरे। युद्धपोतका रूपमा आइएनएस विक्रान्तको नाम मात्र पनि शत्रुको धृष्टताको अन्त्य गर्न पर्याप्त रहेको उनले बताए।

यस अवसरमा प्रधानमन्त्रीले भारतीय सशस्त्र बललाई विशेष रूपमा सलाम गरे। भारतीय नौसेनाले दुश्मनको मनमा बसाएको डर, भारतीय वायु सेनाले प्रदर्शित गरेको असाधारण कौशल तथा भारतीय सेनाको अदम्य साहस अनि तीनै सेवाबीच अद्वितीय तालमेलले पाकिस्तानलाई अपरेशन सिन्दूरका समय पलभरमै आत्मसमर्पण गर्न बाध्य बनाएको उनले उल्लेख गरे। यसमा संलग्न सबै सैनिक बधाईको पात्र रहेको उनले बताए.

दुश्मन सामुन्ने र युद्ध नजिक हुँदा, स्वतन्त्र रूपमा लड्ने शक्ति हुने पक्षले सधैं बढत हासिल गर्ने श्री मोदीले बताए। सशस्त्र बल शक्तिशाली बन्नका लागि आत्मनिर्भरता आवश्यक रहेको कुरामाथि उनले बल दिए। विगत एक दसकमा भारतीय सुरक्षा बल तेज गतिका साथ आत्मनिर्भरतातर्फ बढिरहेको कुरामा प्रधानमन्त्रीले गर्व व्यक्त गरे। सशस्त्र बलले हजारौं वस्तु अब आयात नगर्ने भनी चिन्हित गरेको हुँदा अत्यावश्यक सैन्य उपकरण अब स्वदेशमै विनिर्माण हुन थालेको उनले बताए। बितेको 11 वर्षमा भारतीय रक्षा उत्पादन तीन गुणा बढ्दै गत वर्ष ₹1.5 लाख करोड पार गरेको उनले उल्लेख गरे। अर्को उदाहरण प्रस्तुत गर्दै वर्ष 2014 देखि, भारतीय शिपयार्डले 40 वटाभन्दा धेरै स्वदेशी युद्धपोत अनि पनडुब्बी नौसेनालाई प्रदान गरेको मोदीले अवगत गराए। हाल, औसतमा एउटा नयाँ स्वदेशी युद्धपोत वा पनडुब्बी प्रत्येक 40 दिनभित्र नौसेनामा सामेल भइरहेको पनि उनले उल्लेख गरे।

“ब्रह्मोस अनि आकाश जस्ता क्षेप्यास्त्रले अपरेशन सिन्दूरका समय आफ्नो क्षमता साबित गरिरहेको छ। विश्वका कैयौं देशले यी क्षेप्यास्त्र खरिद गर्न इच्छा जाहेर गरिरहेका छन्” भन्दै प्रधानमन्त्रीले सबै तीन सुरक्षा बलको निम्ति हतियार अनि उपकरण निर्यात गर्ने क्षमता भारत निर्माण गरिरहेको बताए। भारतको लक्ष्य विश्वको शीर्ष रक्षा निर्यातकका रूपमा स्थापित हुनुरहेको उल्लेख गर्दै श्री मोदीले विगत एक दसकमा भारतको रक्षा निर्यात 30 गुणाभन्दा धेरै बढेको ठोकुवा गरे। यस सफलताको निम्ति रक्षा स्टार्टअप्स अनि स्वदेशी रक्षा एकाइहरूको उल्लेखनीय योगदान रहेको उनले श्रेय दिए।

भारतको शक्ति अनि क्षमताको परम्परा “ज्ञानाय दानाय च रक्षणाय” अर्थात् हाम्रो विज्ञान, समृद्धि र शक्ति मानवताको सेवा अनि सुरक्षाको निम्ति समर्पित रहेको सिद्धान्तमा आधारित छ भनी उनले बताए। राष्ट्रको अर्थनीति अनि प्रगति व्यापक रूपमा समुद्री मार्गमाथि निर्भर रहेको आजको अन्तर सम्बन्धित विश्वमा, भारतीय नौसेनाले वैश्विक स्थिरता सुनिश्चित गर्न महत् भूमिका खेल्दै आएको उनले उल्लेख गरे। विश्वको 66 प्रतिशत तेल आपूर्ति अनि 50 प्रतिशत कन्टेनरको पारगमन भारतीय महासागर हुँदै गुज्रिने श्री मोदीले प्रकाश पारे। भारतीय महासागरमा यी मार्गहरूको सुरक्षाका लागि भारतीय नौसेना रक्षकका रूपमा तैनाथ रहेको उनले बताए। यसका अतिरिक्त, मिशन आधारित तैनाथीको माध्यमद्वारा समुद्री डकैतीरोधी गस्ती अनि मानवीय परिचालनको माध्यमद्वारा भारतीय नौसेनाले वैश्विक सुरक्षा साझेदारका रूपमा काम गर्दैआएको उनले स्पष्ट पारे।

भारतीय द्वीपहरूको सुरक्षा अनि अखण्डता सुनिश्चित गर्न भारतीय नौसेनाले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको प्रधानमन्त्रीले बताए। केही समयअघि प्रत्येक द्वीपमा 26 जनवरीको दिन राष्ट्रिय ध्वज फहराउने निर्णय लिइएको पनि उनले स्मरण गरे। नौसेनाले राष्ट्रिय सङ्कल्प पूरा गरेको र आज प्रत्येक भारतीय द्वीपमा नौसेनाद्वारा तिरङ्गा फहराउने काम गरिरहेको श्री मोदीले बताए।

भारतले तेज गतिमा प्रगति गरिरहँदा, ग्लोबल साउथका सबै राष्ट्रले पनि सँगसँगै अघि बढ्ने सुनिश्चित गर्ने दिशामा प्रयास भइरहेको प्रधानमन्त्रीले बताए। भारतले “महासागर समुद्री परिकल्पना”माथि काम गरिरहेको र धेरै देशका लागि विकासका साझेदार बनिरहेको उनले उल्लेख गरे। आवश्यक परेको स्थितिमा, विश्वको कुनै पनि ठाउँमा मावीय सहायता प्रदान गर्न भारत सधैं तयार रहेको उनले बताए। अफ्रिकादेखि दक्षिणपूर्व एशियासम्म, आपदाका समय, विश्वले भारतलाई वैश्विक सहयोगीका रूपमा हेर्ने गरेको उनेल बताए। वर्ष 2014 मा, छिमेकी मालदिवले पानीको सङ्कट झेल्दा भारतले “अपरेशन नीर” परिचालन गरी नौसेनाले त्यहाँ सफा पानी पुऱ्याएको श्री मोदीले स्मरण गरे। यसै गरी वर्ष 2017 मा श्रीलङ्कामा प्रलयकारी भल-बाढी आउँदा, भारतले सबैभन्दा अग्रपङ्क्तिमा खडा भई सहयोग प्रदान गरेको उनले बताए। वर्ष 2018 मा इण्डोनेशियामा सुनामी आउँदा भारत काँधमा काँध मिलाएर खडा भई राहत अनि उद्धार कार्यमा संलग्न भएको उनले बताए। यसका अतिरिक्त, म्यानमारमा भूइँचालोद्वारा पुऱ्याएको क्षति होस् वा मोजाम्बिकमा 2019 र 2020 मा माडागास्करमा सङ्कट, भारत सेवाभावका साथ जहाँ पनि पुगेको उनले स्मरण गरे।

भारतीय सुरक्षा बलले समय-समयमा विदेशमा फसेका मानिसहरूलाई सुरक्षित बाहिर झिकाउन अपरेशन गर्दैआएको पनि उनले उल्लेख गरे। यमनदेखि सुडान, जहाँ पनि आवश्यक पर्दा, उनीहरूको साहस अनि वीरताले विश्वभरी छरिएर बसोबासो गर्ने भारतीयहरूको विशासलाई बल प्रदान गरेको उनले बताए। यस्ता मिशनहरूको माध्यमद्वारा भारतले हजारौं विदेशी नागरिकहरूलाई पनि बचाएको उनले उल्लेख गरे।

भारतीय सशस्त्र बलले भूमि, समुद्र अनि वायु सबै क्षेत्रमा सबै परिस्थितिमा राष्ट्रको सेवा पुऱ्याएको उल्लेख गर्दै भारतीय समुद्री सीमा अनि कारोबारी हितरक्षा गर्न समुद्रमा तैनाथ गरिएको र वायु सेना हाम्रो आकाशलाई सुरक्षित राख्न सधै प्रतिबद्ध रहेको उनले बताए। भूमिमा,भत्भती पोल्ने गरम मरुभूमिदेखि कठ्याङ्ग्रिने जाडो हुने हिमनदीहरूसम्म, बीएसएफ अनि आइटीबीपी कर्मीका साथ सेना चट्टानझैं अडिग रहने गरेको उनले उल्लेख गरे। यसका साथै विभिन्न क्षेत्रमा एसएसबी, आसम राइफल्स, सीआरपीएफ, सीआइएसएफ अनि खुफिया तन्त्रले दृढतापूर्वक भारत माताको सेवा गरिरहेको पनि उनले बताए। राष्ट्रिय सुरक्षाका लागि भारतीय तटरक्षकले खेलिरहेको भूमिकाको सराहना गर्दै उनीहरूले नौसेनासँग तालमेल राख्दै भारतको तटीय क्षेत्रलाई दिन-रात सुरक्षित राख्ने काम गरिरहेको उनले बताए. राष्ट्रिय सुरक्षामा उनीहरूको यस महान अभियान अथाह रहेको पनि उनले स्पष्ट पारे।

भारतीय सुरक्षा बलको वीरता अनि साहसकै कारण राष्ट्रले माओवादी उग्रवादको उन्मूलन गर्ने दिशामा धेरै ठूलो उपलब्धि हासिल गरेको प्रधानमन्त्रीले बताए। भारत नक्सल-माओवादी उग्रवादबाट मुक्ति पाउने दिशामा नजिक पुगेको उनले बताए। वर्ष 2014 भन्दा अघि 125 वटा जिल्ला माओवादी हिंसाबाट प्रभावित रहेको भए तापनि अब यो घटेर केवल 11 पुगेको र मात्र 3 वटा जिल्ला बढी रूपमा प्रभावित रहेको उनले बताए। अब 100 वटा जिल्ला माओवादी आतङ्कको छायाँबाट पूर्णरूपले मुक्त भएको र खुल्ला सास फेर्दै पहिलोपटक दिवाली मनाइरहेको उनले अवगत गराए। लाखौं-लाख मानिसहरू डरको अनेकौं पिँढीपछि विकासको मुख्यधारामा सामेल हुनथालेको उनले बताए। माओवादीहरूले पहिले सडक, स्कूल, अस्पताल अनि मोबाइल टावर तथा राजमार्गको निर्माणमा बाधा पुऱ्याउने ठाउँहरूमा अहिले नयाँ उद्योगहरू स्थापित भइरहेको उनले जानकारी दिए। यो सफलता भारतीय सुरक्षा बलको समर्पण, बलिदान अनि साहसको कारण सम्भव भएको उनले बताए। त्यस्ता अनेकौं जिल्लामा मानिसहरूले पहिलोपटक दिवाली मनाइरहेकोमा प्रधानमन्त्रीले खुशी व्यक्त गरे। यी क्षेत्रहरूमा जीएसटी-बचत उत्सवको समय कीर्तिमानधारी खरिद एवं बिक्री दर्ता भएको पनि उनले उल्लेख गरे। माओवादी सन्त्रासका कारण संविधानको उल्लेखसम्म नहुने जिल्लाहरूमा स्वदेशीको मन्त्र गुञ्जिरहेको उनले बताए।

“भारतले तेज गतिमा प्रगति गर्दै 140 करोड नागरिकको सपना पूरा गरिरहेको छ। धरतीदेखि अन्तरिक्षसम्म, पहिले कल्पनादेखि पर मानिने उपलब्धि अहिले आएर साकार बन्दैछ” भन्दै प्रधानमन्त्रीले यस प्रगति, रूपान्तरणले बढ्दो विकास अनि आत्मविश्वास दर्शाउने उल्लेख गरे। राष्ट्र निर्माणको यस महान कार्यमा सशस्त्र बलले महत्त्वपूर्ण भूमिका खेल्ने उनले पुष्टि गरे। उनीहरू प्रवाहका अनुयायी मात्र नभएर आफ्नो दिशा तय गर्ने क्षमताका साथमा समयमा नेतृत्त्व गर्ने साहस अनि अनिश्चितता पार गर्ने वीरता र अजेयलाई पार गर्ने मनोभाव उनीहरूसँग निहित रहने श्री मोदीले बताए। हाम्रा सैनिकहरू अडिग खडा रहने पर्वत शिखरहरू भारतको विजय स्तम्भ तथा महासागरका विशाल लहरहरूले भारतको विजयघोष गुञ्जयमान गर्ने उनले घोषणा गरे। यसै गर्जनका बीच एउटा एकबद्ध आवाज गुञ्जिनेछ – “भारत माता की जय!” यसै जोश अनि प्रतिबद्धताका साथ प्रधानमन्त्रीले सबैमा दिवालीको हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो सम्बोधन समाप्त गरे।

**********


(Release ID: 2181209) Visitor Counter : 11