प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीद्वारा रोजगार मेलालाई सम्बोधन


आज 51 हजारभन्दा धेरै युवालाई नियुक्ति पत्र प्रदान गरिएको छ, यस्ता रोजगार मेलाको माध्यमद्वारा दसौं लाख युवाहरूले सरकारमा स्थायी नोकरी पाएका छन्, अब यी युवाहरूले राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् : पीएम

आज भारतसँग अथाह शक्ति रहेको कुरा विश्वले स्वीकार गरिरहेको छ, एउटा हो जनसङ्ख्या र अर्को हो लोकतन्त्र, अर्को शब्दमा भन्नुपर्दा, सबैभन्दा विशाल लोकतन्त्र अनि सबैभन्दा धेरै युवा जनसङ्ख्या : पीएम

आज देशमा निर्माण भइरहेको स्टार्टअप्स, नवाचार अनि अनुसन्धानको परितन्त्रले राष्ट्रका युवाहरूको क्षमता बढाइरहेका छन् : पीएम

हालै अनुमोदित नयाँ योजना रोजगार आधारित सहुलियतको माध्यमद्वारा सरकारले निजी क्षेत्रमा पनि नयाँ रोजगार अवसर सिर्जना गर्न ध्यान केन्द्रित गरिरहेको छ : पीएम

आज भारतको सबैभन्दा प्रबल शक्ति भनेकै विनिर्माण क्षेत्र हो, धेरै सङ्ख्यामा विनिर्माण क्षेत्रमा नयाँ रोजगार सिर्जना भइरहेको छ : पीएम

विनिर्माण क्षेत्रलाई बढावा दिन, यस वर्षको बजेटमा मिशन विनिर्माण घोषित गरिएको छ : पीएम

अन्तरराष्ट्रिय श्रम सङ्गठनको (आइएलओ) प्रतिवेदनमा विगत एक दसकको अधिमा 90 करोडभन्

Posted On: 12 JUL 2025 1:11PM by PIB Gangtok

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले रोजगार मेलालाई सम्बोधित गर्दै आज भिडियो कन्फरेन्सिङको माध्यमद्वारा विभिन्न सरकारी विभाग अनि सङ्गठनमा नवनियुक्त युवाहरूलाई 51 हजारभन्दा धेरै नियुक्ति पत्र वितरण गरे। उपस्थित भेलालाई सम्बोधित गर्दै उनले भारत सरकारको विभिन्न विभागमा यी युवाहरूको निम्ति नयाँ जिम्मेवारी शुरु भएको बताए। विभिन्न विभागमा सेवा गर्ने अवसर पाएकोमा युवाहरूलाई बधाई दिँदै, फरक भूमिका भए तापनि, “नागरिक प्रथम”को सिद्धान्तद्वारा निर्देशित  उनीहरूको साझा लक्ष्य राष्ट्रिय सेवा रहनुपर्ने कुरामाथि उनले बल दिए।

भारतको जनसङ्ख्या अनि लोकतान्त्रिक आधारको अतुल्य शक्तिमाथि जोड दिँदै उनले विश्वको सबैभन्दा विशाल लोकतन्त्रका विशाल युवा जमातसँग दुवै स्वदेश अनि वैश्विक मञ्चलाई आकार दिने विशेष क्षमता रहेको उल्लेख गरे। भारतको विशाल युवाशक्ति सबैभन्दा ठूलो पूँजी रहेको र यस पूँजीलाई दीर्घकालीन समृद्धिमा परिणत गर्न सरकारले उत्प्रेरकको काम गरिरहेको प्रधानमन्त्रीले बताए।

“दुई दिनअघि मात्र म पाँचवटा देशको भ्रमणबाट फर्किए। मैले भ्रमण गरेको प्रत्येक देशमा भारतीय युवाहरूको शक्ति प्रबल रूपमा गुञ्जयमान भएको थियो। उक्त दौडाहामा हस्ताक्षर गरिएका सम्झौताहरूले दुवै देश अनि विदेशमा भारतीय युवाहरू लाभान्वित बन्नेछन्,” मोदीले बताए। रक्षा, फार्मासुटिकल्स, डिजिटल प्रविधि, ऊर्जा, दुर्लभ खनिज जस्ता महत्त्वपूर्ण क्षेत्रमा दौडाहाका समय हस्ताक्षर गरिएका सम्झौताहरूले दूरगामी फाइदा सिर्जना गर्ने उनले बताए। “यी पहलहरूले भारतको वैश्विक आर्थिक पक्षलाई सुदृढ मात्र नबनाएर, दुवै विनिर्माण अनि सेवा क्षेत्रमा युवा भारतीहरूको निम्ति अर्थपूर्ण अवसर पनि सिर्जना गर्नेछ,” मोदीले बताए।

उदीयमान रोजगार परिदृश्यबारे बोल्दै प्रधानमन्त्रीले 21 औं शताब्दीको रोजगारको प्रकृतिमा तेज परिवर्तन आइरहेको बताए। नवाचार, स्टार्टअप्स अनि अनुसन्धानको महत्त्वमाथि जोड दिँदै उनले युवाहरूलाई ठूलो सपना देख्न सक्षम बनाउने परिवेश भारतमा विकसित भइरहेको बताए। नयाँ पिँढीमाथि आफ्नो गर्व अनि विश्वासबारे कुरा साझा गर्दै आकाङ्क्षा, दूरदृष्टि अनि केही नयाँ गर्ने प्रबल अभीप्साका साथ युवाहरू अघि आइरहेकोमा उनले हर्ष व्यक्त गरे।

निजी क्षेत्रमा पनि नयाँ रोजगार अवसर सिर्जना गर्नमाथि भारत सरकारले ध्यान केन्द्रित गरिरहेको छ, मोदीले बताए। हालै सरकारले रोजगार आधारित सहुलियत योजना नामक नयाँ योजना अनुमोदन गरेको छ। यस योजना अन्तर्गत सरकारले निजी क्षेत्रमा प्रथमपटक रोजगार पाउने युवाहरूलाई ₹15,000 प्रदान गर्नेछ। अर्को शब्दमा भन्नुपर्दा, प्रथम नोकरीको प्रथम वेतन सरकारले अंशदान गर्नेछ। यसका लागि सरकारले करिब ₹1 लाख करोड आबन्टित गरेको छ। यस योजनाले करिब 3.5 करोड नयाँ रोजगार सिर्जना गर्ने अपेक्षा गरिएको छ, मोदीले अवगत गराए।

राष्ट्रिय विकासलाई गति प्रदान गर्नका साथै रोजगार सिर्जना अनि विश्वको तेस्रो बृहत् अर्थनीति बन्ने दिशामा भारतको यात्रालाई रफ्तार दिन भारतको विनिर्माण क्षेत्रको रूपान्तरणकारी शक्तिमाथि प्रधानमन्त्रीले बल दिए। हालका वर्षमा, मेक इन इण्डिया पहललाई उल्लेखनीय रूपमा सुदृढ बनाउने काम भएको उनले बताए। पीएलआइ (उत्पादन आधारित सहुलियत) योजनाबाट मात्र 1.1 मिलियन रोजगार देशभरी सिर्जना गरिएको छ। मोबाइल फोन अनि ईलेक्ट्रनिक्स क्षेत्रमा अभूतपूर्व विस्तार भएको छ। आज भारतमा ₹11 लाख करोडभन्दा धेरै मूल्यको ईलेक्ट्रनिक्स विनिर्माण भइरहेको छ, जुन विगत 11 वर्षमा पाँच गुणा वृद्धि हो। पहिले देशमा केवल 2 देखि 4 वटा मोबाइल फोन विनिर्माण एकाइ थियो। आज भारतमा मोबाइल विनिर्माणसित सम्बन्धित 300 भन्दा धेरै एकाइ छन्, जसले लाखौं युवालाई रोजगार दिइरहेको छ, श्री मोदीले बताए।

रक्षा विनिर्माणमा वैश्विक दिग्गजका रूपमा भारतको उदयबारे बोल्दै ₹1.25 लाख करोडभन्दा धेरैको उत्पादन भइरहेको बताए। यसका साथै विश्वकै विशाल लोकोमोटिभ उत्पादक बन्नका अतिरिक्त, देशले लोकोमोटिभ, रेल कोच अनि मेट्रो कोच निर्यातको क्षेत्रमा व्यापक प्रदर्शनी गरिरहेको जानकारी दिए। यसै गरी अटोमोबाइल क्षेत्रले विगत पाँच वर्षमा मात्र $40 बिलियनभन्दा धेरैको एफडीआइ आकर्षित गरेको हुँदा नयाँ कारखानाहरू स्थापित हुनका साथै नयाँ रोजगार अवसरको सिर्जना र रेकर्ड वाहनको बिक्री भएको उनले बताए।

प्रधानमन्त्रीले भारतको कल्याणकारी पहलको दूरगामी प्रभावमाथि जोड दिँदै अन्तरराष्ट्रिय श्रम सङ्गठनको (आइएलओ) ताजा प्रतिवेदनको पनि उल्लेख गरे, जसमा विगत एक दसकको अवधिमा 90 करोडभन्दा धएरै भारतीय नागरिक सरकारी कल्याणकारी योजनाहरूको परिधिमा समेटिएको उल्लेख गरिएको छ। योजनाहरू कल्याणकारी लाभसम्म मात्र सीमित नरहेर व्यापक परिमाणमा विशेष गरी ग्रामीण बारतमा रोजगार सिर्जना गर्न पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको उनले स्पष्ट पारे।

प्रधानमन्त्री आवास योजना जस्ता ध्वजवाहक कार्यक्रमबारे विस्तारमा बोल्दै यस अन्तर्गत 4 करोड पक्का घर निर्माण भइसकेको र 3 करोड निर्माणाधीन रहेको उनले जानकारी दिए। स्वच्छ भारत अभियान अन्तर्गत 12 करोड शौचालय निर्माणबाट प्लम्बर अनि निर्माण श्रमिकहरूले रोजगार पाएको र उज्ज्वला योजना अन्तर्गत प्रदान गरिएका 10 करोडभन्दा धेरै एलपीजी कनेक्सनबाट बोटलिङ पूर्वाधार अनि वितरण नेटवर्क विस्तार भएको परिणामस्वरूप हजारौं वितरण केन्द्र अनि लाखौं नयाँ रोजगार सिर्जना भएको पनि उनले दाबी गरे।

“घरको छप्परमा सौर ऊर्जा लगाउनका लागि प्रति परिवार ₹75 हजारभनदा धेरै धनराशि प्रदान गर्ने प्रधानमन्त्री सूर्यघर निःशुल्क बिजुली योजनाबाट घरेलु बिजुलीको बिल कम्ति हुनका साथै तकनिशियन, ईञ्जिनियर अनि सौर प्यानल निर्माताहरूको निम्ति रोजगार अवसर सिर्जना भइरहेको छ। नमो ड्रो नदिदीले ग्रामीण महिलाहरूलाई ड्रोन पाइलटका रूपमा प्रशिक्षित गरी सशक्त बनाएको छ,” प्रधानमन्त्री श्री मोदीले बताए।

देश 3 करोड लखपति दिदी बनाउने आफ्नो मिशनमा अघि बढिरहेको उल्लेख गर्दै हालसम्म 1.5 करोड महिलाले यो उपलब्धि हासिल गरिसकेको जानकारी दिए। ब्याह्क सखी, बीमा सखी, कृषि सखी अनि पशु सखी जस्ता विभिन्न योजनाले महिलाहरूलाई स्थायी रोजगार पाउन सक्षम बनाएको उनले बताए। प्रधानमन्त्री स्वनिधि योजनाले पथ पसले अनि फेरीवालाहरूलाई औपचारिक सहायता प्रदान गरेको हुँदा लाखौं मानिस मुख्यधाराको आर्थिक गतिविधिमा सामेल भएको पनि उनले दाबी गरे। यसका साथै प्रधानमन्त्री विश्वकर्मा योजनाले प्रशिक्षण, उपकरण अनि ऋणसम्म पहुँचको माध्यमद्वारा पारम्परिक कारिगर, शिल्पकार अनि सेवा प्रदाताहरूलाई सशक्त बनाइरहेको उनले अवगत गराए।

यस्ता अनगन्ती योजनाहरूको असर विगत दल सालमा 25 करोड मानिस गरीबीबाट बाहिरिएको प्रधानमन्त्रीले दाबी गरे। रोजगार अवसरबिना यस्तो परिवर्तन सम्भवन नहुने उल्लेख गर्दै आज विश्व ब्याङ्क जस्ता वैश्विक संस्थाले भारतको प्रशंसा गरिरहेको उनले बताए। समानताको स्तर सबैभन्दा धेरै रहेका शीर्ष देशमा भारतको गन्ती हुन थालेको उनले बताए।

वर्तमान चरणको विकासको महायज्ञ गरीबी उन्मूलन अनि रोजगार सिर्जनाका लागि समर्पित एउटा राष्ट्रिय मिशन रहेको उल्लेख गर्दै देशका युवा अनि सरकारमा नवनियुक्त युवाहरूलाई यस मिशनलाई नयाँ ऊर्जा अनि समर्पणका साथ अघि बढाउने पनि प्रधानमन्त्रीले आह्वान जनाए।

आफ्नो सम्बोधनको समापनमा प्रधानमन्त्रीले प्रत्येक नागरिकलाई ईश्वर मान्ने “नागरिक देवो भव”को मार्गदर्शक सिद्धान्त आह्वान गर्दै नवनियुक्त सदस्यहरूलाई सार्वजनिक सेवामा उज्ज्वल अनि सार्थक भविष्यको निम्ति हार्दिक बधाई अनि शुभकामना दिए।

पृष्ठभूमि

रोजगार सिर्जनालाई सर्वोच्च प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता अनुरूप, 16 औं रोजगार मेला देशभरी 47 स्थानमा आयोजित गरिनेछ। रोजगार मेलाले युवाहरूलाई सशक्त बनाउन र राष्ट्र निर्माणमा उनीहरूको भागीदारीको निम्ति सार्थक अवसर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। देशभरी आयोजित रोजगार मेलाको माध्यमद्वारा हालसम्म 10 लाखभन्दा धेरै नियुक्ति पत्र जारी गरिसकिएको छ।

देशभरीबाट चयनित नयाँ कर्मचारीहरूले रेल मन्त्रालय, गृह मन्त्रालय, डाक विभाग, स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालय, वित्तीय सेवा विभाग, श्रम एवं रोजगार मन्त्रालय तथा अन्य विभाग अनि मन्त्रालयमा कार्यभार ग्रहण गर्नेछन्।

********


(Release ID: 2144239)