प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राष्ट्रिय पञ्चायतीराज दिवसको अवसरमा बिहारको मधुबनीमा ₹13,480 करोडभन्दा धेरैको विकास कार्य शुभारम्भ
बितेको दसकमा पञ्चायतहरूलाई सशक्त बनाउनका लागि एकपछि अर्को कदम उठाइएको छ, पञ्चायतहरूलाई तकनिकीको माध्यमद्वारा सुदृढ बनाइएका छन् : प्रधानमन्त्री
बितेको दसकमा ग्रामीण अर्थव्यवस्थालाई नयाँ गति प्रदान गरिएको छ : प्रधानमन्त्री
बितेको दसक भारतको पूर्वाधारको दसक रह्यो : प्रधानमन्त्री
मखाना आज देश अनि विश्वका लागि सुपरफूड हो, तर मिथिकाको त यो संस्कृतिको हिस्सा हो, यसै संस्कृतिलाई हामीले यहाँको समृद्धिको सूत्र बनाइरहेका छौं : प्रधानमन्त्री
140 करोड भारतीयको इच्छाशक्तिले अब आतङ्कका मुखियाहरूको कम्मर तोडेरै छोड्नेछ : प्रधानमन्त्री
आतङ्कवादलाई छोडिनेछैन, न्याय सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गरिनेछ, सम्पूर्ण देश यस सङ्कल्पप्रति दृढ छ : प्रधानमन्त्री
Posted On:
24 APR 2025 2:11PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रिय पञ्चायतीराज दिवसको अवसरमा बिहारको मधुबनीमा ₹13,480 करोडभन्दा धेरै लागतका कैयौं विकास परियोजनाको उद्घाटन, शिलान्यास अनि लोकार्पण गरे। प्रधानमन्त्रीले कार्यक्रममा उपस्थित जनभेलालाई 22 अप्रेल, 2025 को दिन पहलगाममा आतङ्कवादी हमलामा मारिएका मानिसहरूको आत्माको शान्तिका लागि मौन धारण गरी प्रार्थना गर्न अपील गरे। यस असरमा उपस्थित मानिसहरूलाई सम्बोधित गर्दै उनले पञ्चायतीराज दिवसको अवसरमा सम्पूर्ण देश मिथिला अनि बिहारसँग जोडिएको उल्लेख गरे। बिहारको विकासको उद्देश्यका साथ हजारौं करोड रुपियाँको परियोजनाहरूको उद्घाटन अनि शिलान्यास गरिएको उनले बताए। बिजुली, रेलवे, अनि पूर्वाधारको क्षेत्रमा यस पहलले बिहारमा रोजगारका नयाँ अवसरहरू सिर्जना गर्ने उनले जनाए। महान कवि अनि राष्ट्रिय प्रतीक रामधारीसिंह दिनकरजीको पुण्यतिथिमा उनले श्रद्धाञ्जलि अर्पण गरे।
महात्मा गान्धीले सत्याग्रहको मन्त्रलाई विस्तार गरेको भूमि बिहार रहेको उनले उल्लेख गरे। महात्मा गान्धीको यसै दृढ विश्वासतर्फ ध्यान आकर्षित गराउँदै भारतको तेज विकास यसका गाउँहरू बलियो भए मात्र तेज विकास सम्भव हुने बताए। पञ्चायतीराजको अवधारणा यसैमा निहित रहेको कुरामाथि उनले जोड दिए। बितेको दसकमा पञ्चायतहरूलाई सशक्त बनाउनका लागि निरन्तर कदम उठाइएको उनले बताए। पञ्चायतहरूलाई सुदृढ बनाउन प्रौद्योगिकीले महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै विगत एख दसकमा 2 लाखभन्दा धेरै ग्राम पञ्चायत इन्टरनेटद्वारा जोडिएको अवगत गराए। गाउँहरूमा 5.5 लाखभन्दा धेरै सामान्य सेवा केन्द्र स्थापित गरिएको जानकारी दिँदै पञ्चायतहरूको डिजिटिकरणको कारण जन्म अनि मृत्यु प्रमाण पत्र अनि भूमि स्वामित्त्व प्रमाण पत्र जस्ता दस्तावेजहरूसम्म सुगम पहुँच जस्ता अतिरिक्त फाइदा पुगेको उनले उल्लेख गरे। स्वतन्त्रताको दसकौंपछि देशले नयाँ संसद भवन पाएको र अर्कोतिर देशभरी 30 हजार नयाँ पञ्चायत भवनहरू पनि निर्माण गरिएको उनले बताए। पञ्चायतहरूका लागि पर्याप्त धन सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै विगत एक दसकमा पञ्चायतहरूलाई ₹2 लाख करोडभन्दा धेरै धनराशि प्राप्त भएको र त्यसको उपयोग गाउँहरूको विकासका लागि गरिएको उनले दाबी गरे।
ग्राम पञ्चायतहरूका सामु सबैभन्दा ठूलो समस्या भूमि विवादसँग जोडिएको कुरा उजागर गर्दै कुन भूमि आवासीय, कृषियोग्य हो, पञ्चायतको स्वामित्त्वमा रहेको वा सरकारी स्वामित्त्व रहेको भन्ने विषयमा प्रायः असहमति हुने गरेको उल्लेख गरे। यस समस्याको समाधानका लागि भूमि अभिलेखहरूको डिजिटिकरण भइरहेको र यसबाट अनावश्यक विवादलाई प्रभावी तरिकाले सम्बोधित गर्न सघाउ पुग्ने उनले स्पष्ट पारे।
पञ्चायतहरूले सामाजिक भागीदारीलाई सुदृढ बनाएको उल्लेख गर्दै महिलाहरूलाई पञ्चायतमा 50 प्रतिशत आरक्षण दिने बिहार देशको पहिलो राज्य रहेको पनि उनले दाबी गरे। आज बिहारमा आर्थिक रूपले कमजोर वर्ग, दलित, महादलित अनि पछौटेवर्गका साथमा अति नै पछौटेवर्गका महिलाहरूले धेरै सङ्ख्यामा जनप्रतिनिधिका रूपमा काम गरिरहेको प्रधानमन्त्रीले बते। यसलाई साँचो सामाजिक न्याय अनि वास्तविक सामाजिक भागीदारी बताउँदै बढी भागीदारीले लोकतन्त्र सुदृढ बन्ने उल्लेख गरे। यसै दृष्टिकोणलाई दर्शाउँदै लोकसभा अनि राज्यसभामा महिलाहरूका लागि 33 प्रतिशत आरक्षण प्रदान गर्ने कानुन बनाइएको उल्लेख गर्दै, यसबाट सबै राज्यका महिलाहरूलाई फाइदा हुनका साथै हाम्रा बहिनी-छोरीहरूले अरू धेरै प्रतिनिधित्त्व पाउने उनले स्पष्ट पारे।
सरकारले महिलाहरूको आमदानी बढाउन र रोजगार अनि स्वरोजगारका नयाँ अवसरहरू सिर्जना गर्नका लागि मिशन मोडमा काम गरिरहेको कुरामाथि जोड दिँदै प्रधानमन्त्री मोदीले बिहारमा “जीविका दिदी” कार्यक्रमको परिवर्तनकारी प्रभावबारे जानकारी दिँदै यसले अनेकौं महिलाको जीवनमा परिवर्तन ल्याएको उल्लेख गरे। आज बिहारमा महिलाहरूका स्वयंसहायता समूहलाई करिब ₹1,000 करोडको वित्तीय सहायता प्रदान गरिएको र यसले महिलाहरूको आर्थिक सशक्तिकरणलाई अझ प्रबल बनाउनका साथै देशमा 3 करोड लखपति दिदी बनाउने लक्ष्यमा योगदान पुऱ्याउने उनले बताए। बितेको एक दसकमा ग्रामीण अर्थव्यवस्थाले नयाँ गति पाएको उल्लेख गर्दै गाउँका गरीबहरूका लागि घर, सडक, ग्यास कनेक्सन, पानीको कनेक्सन अनि सौचालयको निर्माण भएको र यसले ग्रामीण क्षेत्रमा लाखौं-करोडौं रुपियाँ आएको उनले बताए। रोजगारका नयाँ अवसरहरू सिर्जना हुनका साथै मजदुर, किसान, वाहन चालक अनि पसलेहरूलाई पनि फाइदा भएको र उनीहरूले आमदानीको नयाँ बाटो पाएको उनले बताए। यसबाट विशेष रूपमा अनेकौं पिँढीदेखि वञ्चित रहेका समुदाय विशेष रूपमा लाभान्वित भएको उल्लेख गरे। प्रधानमन्त्री आवास योजनाको उदाहरण दिँदै यसको उद्देश्य देशमा कुनै पनि परिवार बेघर नरहोस् रक सबैको टाउकोमाथि पक्का छाना होस् भन्ने सुनिश्चित गर्नुरहेको उनले उल्लेख गरे। विगत एक दसकमा 57 लाख गरीब परिवारलाई पक्का घर प्रदान गरिएको र ती घरहरू आर्थिक रूपमा कमजोर वर्ग, दलित अनि पछौटे साथै पसमान्दा जस्ता अति पछौटे समुदायलाई प्रदान गरिएको उनले उल्लेख गरे। आउने वर्षहरूमा गरीबहरूलाई 3 करोड पक्का घर प्रदान गरिने उल्लेख गर्दै आज बिहारमा करिब 1.5 लाख परिवारले नयाँ पक्का घरमा प्रवेश गरिरहेको जानकारी दिए। देशभरी 15 लाख गरीब परिवारलाई नयाँ घर निर्माणका लागि स्वीकृति पत्र जारी गरिएको उल्लेख गर्दै यसमा बिहारका 3.5 लाख लाभार्थी पनि सामेल रहेको उनले अवगत गराए। आज करिब 10 लाख परिवारलाई पक्का घरको निम्ति वित्तीय सहायता पठाइएको र यसमा बिहारका 80 हजार ग्रामीण अनि 1 लाख शहरी परिवार सामेल रहेको पनि उनले जानकारी दिए।
“बितेको दसक भारतको पूर्वाधार विकासको दसक रहेको थियो” भन्दै आधुनिक पूर्वाधारले विकसित भारतको आधार बलियो बनाइरहेको उल्लेख गरे। पहिलोपटक 12 करोडभन्दा धेरै ग्रामीण परिवारलाई घरमा कलको माध्यमद्वारा पानीको कनेक्सन प्राप्त भएको उल्लेख गर्दै 2.5 करोडभन्दा धेरै घरमा बिजुली पुऱ्याइएको र जसले जीवनमा ग्यास चुलामा खाना पकाउने कल्पना गर्नसमेत गरेका थिएनन्, उनीहरूलाई ग्यास सिलिण्डर प्रदान गरिएको उनले बताए। बुनियादी सुविधा प्रदान गर्न धेरै कठिन पर्ने लद्दाख अनि सियाचिन जस्ता चुनौतीपूर्ण क्षेत्रमा पनि 4-जी अनि 5-जी मोबाइल कनेक्सन स्थापित गरिसकिएको उल्लेख गर्दै यसले देशको वर्तमान प्राथमिकता दर्शाउने उनले दाबी गरे। स्वास्थ्य सेवामा प्रगतिबारे अवगत गराउँदै एम्स जस्ता संस्थान कुनै समय दिल्ली जस्ता शहरमा सीमित रहे तापनि अब दरभङ्गामा पनि एम्सको स्थापना भइरहेको र विगत एक सदसकमा देशमा मेडिकल कलेजहरूको सङ्ख्या लगभग दुईगुणा भएको उनले जानकारी दिए। झञ्झारपुरमा एउटा नयाँ मेडिकल कलेजको निर्माणबारे जानकारी दिँदै गाउँहरूमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि देशभरी 1.5 लाखभन्दा धेरै आयुष्मान आरोग्य मन्दिर स्थापित गरिएको र बिहारमा मात्र 10 हजारभन्दा धेरै सामेल रहेको उनले बताए। जनऔषधि केन्द्र गरीब अनि मध्यम वर्गका लागि ठूलो राहत बनेको उल्लेख गर्दै यहाँ 80 प्रतिशत छूटमा दवाईहरू उपलब्ध हुने बताए। बिहारमा हाल 800 भन्दा धेरै जनऔषधि केन्द्र रहेको र यसबाट मानिसहरूको चिकित्सा खर्चमा ₹2 हजार करोड बराबरको बचत भइरहेको उनले अवगत गराए। आयुष्मान भारत योजना अन्तर्गत बिहारमा लाखौं परिवारले सित्थैमा उपचार गराइरहेको र यसको परिणामस्वरूप ती परिवारहरूको हजारौं करोड रुपियाँको बचत भएको उनले दाबी गरे।
भारतले रेलवे, सडक अनि हवाई अड्डा जस्ता पूर्वाधारहरूको माध्यमद्वारा आफ्नो कनेक्टिभिटीलाई तेजीका साथ अघि बढाइरहेको उल्लेख गर्दै पटनामा पनि मेट्रो परियोजना चलिरहेको र देशभरी दुई दर्जनभन्दा धेरै शहरमा मेट्रो सुविधा उपलब्ध भएको जानकारी दिए। पटना अनि जयनगरबीच नमो भारत ऱ्यापिड रेल सेवा शुरु गर्ने घोषणा गर्दै यसले दुई स्थानबीचको यात्रा समय धेरै घट्ने र यस विकासले समस्तिपुर, दरभङ्गा, मधुबनी अनि बेगुसरायका लाखौं मानिस लाभान्वित हुने उनले बताए।
बिहारमा कैयौं नयाँ रेल लाइनको उद्घाटन अनि शुभारम्भको उल्लेख गर्दै यसमा सहरसा अनि मुम्बईबीच आधुनिक अमृत भारत रेल सेवा शुरुवातबारे पनि जानकारी दिए, जसबाट श्रमिक परिवारहरूलाई धेरै फाइदा हुनेछ। सरकारले मधुबनी अनि झञ्झारपुरसहित बिहारका कैयौं रेलवे स्टेशनको आधुनिकीकरण गरिरहेको जानकारी दिँदै दरभङ्गा हवाई अड्डादेखि मिथिला र बिहारमा हवाई सम्पर्कमा धेरै सुधार आएको साथै पटना हवाई अड्डाको पनि विस्तार गरिरहेको उनले बताए। यी विकास परियोजनाहरूले बिहारमा रोजगारका नयाँ अवसरहरू सिर्जना भइरहेको उनले अवगत गराए।
“किसानहरू ग्रामीण अर्थव्यवस्थाका मेरुदण्ड हुन्, र यो जति बलियो हुन्छ, त्यति नै गाउँ पनि बलियो हुन्छ र परिणामस्वरूप राष्ट्र पनि शक्तिसम्पन्न हुन्छ” भन्दै मिथिला अनि कोशी क्षेत्रमा बाढीको लगातार चुनौतीको उल्लेख गरे। सरकारले बिहारमा बाढीको प्रभाव घटाउनका लागि ₹11,000 करोड निवेश गर्न तयार रहेको र यसबाट बागमती, धार, बूढी गण्डक अनि कोशी जस्ता नदीहरूमा बाँध बनाउन सघाउ पुग्नका साथै नहरहरूको पनि विकास गरिने र यसबाट नदीको पानीबाट सिञ्चाईको व्यवस्था सुनिश्चित हुने प्रधानमन्त्रीले बताए। यस पहलबाट बाढीसित सम्बन्धित समस्या मात्र नघटेर यसबाट हरेक किसानको खेतसम्म पर्याप्त पानी पुग्ने पनि सुनिश्चित हुने उनले बताए।
मिथिलाको सांस्कृतिक प्रधान खाद्य पदार्थ मखानाले अब सुपरफूडका रूपमा वैश्विक मान्यता प्राप्त गरिसकेको उल्लेख गर्दै मखानालाई जीआइ ट्याग पनि प्रदान गरिएको र यसले आधिकारिक रूपमा यस क्षेत्रको उत्पादका रूपमा प्रमाणित गर्ने उनले जानकारी दिए। मखाना अनुसन्धान केन्द्रलाई राष्ट्रिय दर्जा दिइएको उल्लेख गर्दै मखाना बोर्डलाई लिएर बजेटमा गरिएको घोषणाबारे जानकारी दिए। यसबाट मखानाका किसानहरूको भाग्य बद्लिने आशा व्यक्त गर्दै बिहारको मखाना अब सुपरफूडका रूपमा अन्तरराष्ट्रिय बजारहरूसम्म पुग्ने उनले बताए। बिहारमा राष्ट्रिय खाद्य प्रौद्योगिकी अनि प्रबन्धन संस्थानको स्थापना गरिने र यसले युवाहरूलाई खाद्य प्रसंस्करणसित सम्बन्धित लघु उद्यम स्थापित गर्न सहायता गर्ने प्रधानमन्त्री मोदीले जानकारी दिए। बिहारले कृषिका साथसाथै मत्स्य पालनमा पनि लगातार प्रगति गरिरहेको उल्लेख गर्दै मछुवाहरूलाई अब किसान क्रेडिट कार्डको लाभ प्रदान गरिरहेको र यसले मत्स्य पालनसित जोडिएका कैयौं परिवारलाई लाभ पुग्ने उनले बताए। पीएम मत्स्य सम्पदा योजना अन्तर्गत बिहारमा सयकडौं करोड रुपियाँ बराबरका परियोजनाहरू कार्यान्वित गरिएको पनि उनले बताए।
22 अप्रेलको दिन जम्मू-कश्मीरको पहलगाममा आतङ्कवादीद्वारा निर्दोष नागरिकहरूको नृशंस हत्यामाथि गहिरो दुख व्यक्त गर्दै प्रधानमन्त्री मोदीले सम्पूर्ण देश व्यथित बनेको र शोकाकुल परिवारका साथ एकजुटताका साथ खडा रहेको बताए। उपचार गराइरहेका मानिसहरूलाई चाँडै निको बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको पनि जानकारी दिए। परिवारहरूलाई भएको भारी नोक्सानीको उल्लेख गर्दै कसैले आफ्नो छोरा, भाइ वा जीवनसाथी गुमाएको बताए। पीडितहरू विभिन्न भाषा अनि क्षेत्रीय पृष्ठभूमिका रहेको उल्लेख गर्दै केही बङ्गाली, कन्नड, मराठी, ओडिया, गुजराती अनि केही बिहारी रहेको बताए। कारगिलदेखि कन्याकुमारीसम्म यस हमलामा समग्र देशमा समान रूपमा दुख अनि आक्रोश रहेको उल्लेख गर्दै यो हमला निहत्था पर्यटकहरूमाथि नभेर सम्पूर्ण भारतमाथि निर्लज्ज हमरा रहेको दाबी गरे। यस हमलाका जिम्मेवार आतङ्कवादीहरू अनि यसको षडयन्त्र गर्नेहरूले कल्पना गरेभन्दा पनि धेरै सजाय पाउनेछ भन्दै आतङ्कवादको बचेका गढहरूलाई समाप्त गर्ने समय आएको उनले बताए। “140 करोड भारतीयको इच्छाशक्तिले अब आतङ्कवादका मुखियाहरूको कम्मर तोड्नेछ”, उनले जोड दिँदै भने।
बिहारको धरतीबाट घोषणा गर्दै प्रधानमन्त्रीले भने, “भारतले हरेक आतङ्कवादी, तिनका मुखिया अनि समर्थकको पहिचान गर्नेछ, पत्तो लगाउनेछ र दण्डित गर्नेछ।” भारतले तिनीहरूलाई धरतीको कुनै पनि कुनासम्म लखेट्नेछ भन्दै आतङ्कवादबाट भारतको आत्मा कहिले पनि टुट्नेछैन र आतङ्कवादलाई दण्डित गर्नेछ, प्रधानमन्त्रीले गर्जनका साथ स्पष्ट पारे। न्याय सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गरिनेछ र पूरै देश आतङ्कवाद विरुद्ध यस सङ्कल्पप्रति दृढ छ, उनले बताए। मानवतामा विश्वास राख्ने हरेक व्यक्ति यस कठिन समय भारतको साथ खडा रहेको उल्लेख गर्दै यस कठिन घडीमा भारतको साथ दिने विभिन्न देशका मानिस अनि नेताहरूप्रति आभार व्यक्त गरे।
“तेजीका साथ विकासको निम्ति शान्ति र सुरक्षा सबैभन्दा महत्त्वपूर्ण शर्त हो” भन्दै विकसित भारतको निम्ति विकसित बिहार आवश्यक रहेको उल्लेख गरे। बिहारको विकास सुनिश्चित गर्न र राज्यका हरेक वर्ग अनि हरेक क्षेत्रसम्म प्रगतिको लाभ पुऱ्याउनका लागि प्रयास चलिरहेको उल्लेख गर्दै पञ्चायतीराज दिवसको अवसरमा कार्यक्रममा सामेल हुने सबैप्रति आभार व्यक्त गर्दै उनले आफ्नो सम्बोधनको समापन गरे।
यस कार्यक्रममा बिहारका राज्यपाल आरिफमोहम्मद खान, बिहारका मुख्यमन्त्री नीतिश कुमार, केन्द्रिय मन्त्री राजीवरञ्जन सिंह, जीतनराम माझी, गिरिराजसिंह, चिराग पासवान, नित्यानन्द राय, रामनाथ ठाकुर, डा. राजभूषण चौधरीसहित अन्य गणमान्य व्यक्ति उपस्थित थिए।
पृष्ठभूमि
प्रधानमन्त्रीले बिहारको मधुबनीमा राष्ट्रिय पञ्चायतीराज दिवस कार्यक्रममा भाग लिए। यस अवसरमा उनले सर्वश्रेष्ठ प्रदर्शन गर्ने पञ्चायतहरूलाई मान्यता प्रदान गर्दै राष्ट्रिय पञ्चायत पुरस्कार पनि प्रदान गरे।
प्रधानमन्त्रीले बिहारको गोपालगञ्ज जिल्लाको हथुआमा करिब ₹340 करोडको लागतमा रेल अनलोडिङ सुविधा रहेको एलपीजी बोटलिङ प्लान्टको आधारशिला राखे। यसबाट आपूर्ति शृङ्खलालाई सुव्यवस्थित गर्न र थोक एलपीजी परिवहनको दक्षतामा सुधार ल्याउन सघाउ पुग्नेछ।
क्षेत्रमा बिजुलीको पूर्वाधारलाई बढावा दिँदै प्रधानमन्त्रीले ₹1,170 करोडभन्दा धेरैको परिचयोजनाको आधारशिला राखे र पुनर्गठित वितरण योजना अन्तर्गत बिहारमा बिजुली क्षेत्रमा ₹5,030 करोडभन्दा धेरैको कैयौं परियोजनाको पनि उद्घाटन गरे।
देशभरी रेल सम्पर्क बढाउने आफ्नो प्रतिबद्धता अनुरूप प्रधानमन्त्रीले सहरसा अनि मुम्बईबीच अमृत भारत एक्सप्रेस, जयनगर अनि पटनाबीच नमो भारत ऱ्यापिड रेल अनि पिपरा अनि सहरसा तथा सहरसा अनि समस्तिपुरबीच ट्रेनहरूलाई हरियो झण्डा देखाए। सुपौल पिपरा रेल लाइन, हसनपुर बिथान रेल लाइन अनि छपरा र बगहामा 2 लेनको दुईवटा रेल ओभरब्रिज पनि प्रधानमन्त्री मोदीले उद्घाटन गरे। खगडिया-अलौली रेल लाइनलाई उनले राष्ट्रलाई समर्पित गरे। यी परियोजनाहरूबाट सम्पर्कमा सुधार हुनका साथै क्षेत्रमा समग्र सामाजिक-आर्थिक विकास हुनेछ।
प्रधानमन्त्रीले दीनदयाल अन्त्योदय योजना – राष्ट्रिय ग्रामीण आजीविका मिशन (डीएवाई-एनआरएलएम) अन्तर्गत बिहारको 2 लाखभन्दा धेरै स्वयंसहायता समूहलाई सामुदायिक निवेश निधि अन्तर्गत ₹930 करोडको लाभ वितरित गरे।
प्रधानमन्त्रीले पीएमएवाई-ग्रामीणका 15 लाख नयाँ लाभार्थीलाई स्वीकृति पत्र सुम्पिनका साथै देशभरीका 10 लाख पीएमएवाई-जीका लाभार्थीहरूलाई किस्ती जारी गरे। उनले बिहारमा 1 लाख पीएमएवाई-जी र 54,000 पीएमएवाई-यु घरहरूमा गृह प्रवेशको अवसरमा केही लाभार्थीलाई चाबी पनि सुम्पे।
******
(Release ID: 2124143)
Visitor Counter : 10
Read this release in:
English
,
Urdu
,
Hindi
,
Marathi
,
Manipuri
,
Assamese
,
Gujarati
,
Odia
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam