प्रधानमन्त्रीको कार्यालय
प्रधानमन्त्रीले एनएक्सटी सङ्गोष्ठीमा भाग लिए
प्रधानमन्त्रीले न्यूजएक्स वर्ल्ड च्यानलको लोकार्पण गरे
विश्वले नजिकबाट 21 औं शताब्दीको भारतलाई हेरिरहेको छ : पीएम
आज विश्व भारतको आयोजन अनि नवाचार कौशलको साक्षी बनिरहेको छ : पीएम
मैले राष्ट्रलाई “भोकल फर लोकल” र “लोकल फर ग्लोबल”को परिकल्पना प्रस्तुत गरेको थिए र आज त्यो परिकल्पना साकार भइरहेको देख्दैछौं : पीएम
आज भारत विश्वको नयाँ कारखानाका रूपमा उदाइरहेको छ। हामी कार्यबल मात्र नभएर विश्वबल हौं : पीएम
“न्यूनतम सरकार, अधिकतम शासन” कुशल अनि प्रभावी शासनको मन्त्र हो : पीएम
भारत अनन्त नवाचारको भूमि बन्दैछ : पीएम
भारतका युवाहरू हाम्रो शीर्ष प्राथमिकता हो : पीएम
राष्ट्रिय शिक्षा नीतिले विद्यार्थीहरूलाई पाठ्यपुस्तकदेखि पर चिन्तन गर्ने अवसर दिएको छ : पीएम
Posted On:
01 MAR 2025 12:36PM by PIB Gangtok
प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीको भारत मण्डपममा एनएक्टटी सङ्गोष्ठीमा भाग लिए। उपस्थित भेलालाई सम्बोधित गर्दै उनले न्यूजएक्स वर्ल्डको लोकार्पणको अवसरमा हार्दिक बधाई दिए। यस नेटवर्कमा हिन्दी, अङ्ग्रेजी लगायत विभिन्न क्षेत्रीय भाषा सामेल रहेको र आज यो वैश्विक बन्नपुगेको बताए। यसका साथै कैयौं अध्येतावृत्ति अनि छात्रवृत्तिको शुभारम्भबारे उल्लेख गर्दै यी कार्यक्रमहरूका लागि शुभकामना दिए।
विगतमा पनि यस प्रकारको मिडिया कार्यक्रममा भाग लिएको भए तापनि न्यूजएक्स वर्ल्डले नयाँ दिशा तय गरेकोमा उनले बधाई दिए। देशमा यस प्रकारको मिडिया कार्यक्रम परम्परा बनिसकेको भए तापनि न्यूजएक्स वर्ल्डले यसलाई नयाँ आयाम दिएको उनले उल्लेख गरे। यस सङ्गोष्ठीले राजनीतिमुखी विषयको तुलनामा नीति अनि नीति केन्द्रित विषयमा चर्चा गरेको उनले बताए। यस सङ्गोष्ठीले विविध क्षेत्रका प्रतिनिधिबाट चर्चा-परिचर्चालाई बढी महत्त्व दिएको प्रधानमन्त्रीले बताए। यसका साथै नवाचारको मोडलमा काम गरेको हर्ष व्यक्त गर्दै अन्य मिडियाले पनि अभिनव रूपमा यस प्रवृत्ति अनि साँचालाई समृद्ध बनाउने आशा व्यक्त गरे।
“विश्वले नजिकबाट 21 औं शताब्दीको भारतलाई हेरिरहेको छ,” प्रधानमन्त्रीले भने। विश्वभरीका मानिसहरू भारतको भ्रमण गरी भारतलाई बुझ्न इच्छुक रहेको उनले बताए। भारत सरकारात्मक समाचार सिर्जना हुने साथै दिनहुँ नयाँ कीर्तिमान स्थापित गर्ने र प्रत्येक दिन केही न केही नयाँ हुने देश रहेको कुरामाथि उनले बल दिए। प्रयागराजमा 26 फेब्रुअरीको दिन सम्पन्न महाकुम्भको अवसरमा नदी किनारामा स्थापित अस्थायी शहरमा करोडौं मानिसले स्नान गरी विश्वलाई चकित बनाएको उल्लेख गर्दै विश्व भारतको आयोजन एवं नवाचार कौशलको साक्षी बनेको उनले बताए। भारतले सेमीकण्डक्टरदेखि एयरक्राफ्ट क्यारियरसम्म निर्माण गरिरहेको उल्लेख गर्दै विश्वले विस्तारका साथ भारतको सफलताबारे सिक्न चाहेको र यो न्यूजएक्स वर्ल्डको निम्ति महत्त्वपूर्ण अवसर रहेको बताए।
भारतले हालै विश्वकै सबैभन्दा विशाल चुनाउ सम्पन्न गरेको उल्लेख गर्दै साठी वर्षमा प्रथमपटक भारत सरकार तेस्रो कार्यकालका लागि सत्तामा फर्किआएको बताए। जनताको विश्वास विगत 11 वर्षको अनेकौं उपलब्धिमा आधारित रहेको रेखाङ्कित गर्दै यस नयाँ च्यानलले भारतको वास्तविक गाथाहरूलाई कुनै पक्षपातबिना सत्य रूपमा विश्वसामु पेश गर्ने आत्मविश्वास व्यक्त गरे।
केही वर्षअघि मैले “भोकल फर लोकल” र “लोकल फर ग्लोबल”को परिकल्पना राष्ट्रलाई प्रस्तुत गरेको थिए र आज हामी त्यो साकार भइरहेको देख्दैछैं, प्रधानमन्त्री मोदीले बताए। भारतको आयुष उत्पाद र योग लोकलबाट ग्लोबल बनेको उल्लेख गर्दै भारतको सुपरफूड मखानाले पनि श्रीअन्नका साथ वैश्विक मान्यता पाउन थालेको बताए। आफ्नो मित्र तथा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबोटले दिल्ली हाटमा पहिलोपटक भारतीय श्रीअन्नको परिकार चाखेको र आनन्दित बनेको पनि उनले उल्लेख गरे।
भारतको श्रीअन्न मात्र नभएर बेसार पनि लोकलबाट ग्लोबल बनेको र आज विश्वको 60 प्रतिशत बेसार भारतले आपूर्ति गरिरहेको उनले जानकारी दिए। भारतको कफीले पनि वैश्विक मान्यता पाएको र विश्वमा आज भारत कफी निर्यात गर्ने सातौं ठूलो राष्ट्र बनेको अवगत गराए। यसका साथै भारतको मोबाइल फोन, ईलेक्ट्रनिक उत्पादन अनि औषधिले वैश्विक मान्यता पाउन थालेको उनले जानकारी दिए। कैयौं वैश्विक पहलमा भारतले नेतृत्त्व दिइरहेको उल्लेख गर्दै हालै फ्रान्सको एआइ एक्सन समिट भारतले सह-आयोजित गरेको र अब पूर्णरूपले आयोजन गर्ने दायित्त्व लिने बताए। यसका साथै भारतले आफ्नो अध्यक्षताकालमा जी-20 सफलतापूर्वक आयोजित गरेको र यसै अवधिमा भारत-मध्यपूर्व-युरोप गलियारा नयाँ आर्थिक मार्गका रूपमा शुरु गरिएको बताए। भारतले ग्लोबल साउथलाई शक्तिशाली आवाज दिनका साथमा द्वीप राष्ट्रहरूका हितलाई प्राथमिकता दिएको उनले उल्लेख गरे। जलवायु सङ्कटलाई सम्बोधित गर्न भारतले मिशन लाइफको अवधारणा विश्वसामु प्रस्तुत गरेको उनले बताए। यसै गरी अन्तरराष्ट्रिय सौर गठबन्धन, आपदा अनुकूलन पूर्वाधार गठबन्धन जस्ता पहलमा भारतले नेतृत्त्व दिइरहेको पनि उनले उजागर गरे। धेरै भारतीय ब्राण्ड वैश्विक बनिरहेकोमा हर्ष व्यक्त गर्दै भारतीय मिडियाले पनि यस वैश्विक अवसरलाई बुझेर आत्मसात गर्न थालेको बताए।
दसकौंसम्म विश्वले भारतलाई ब्याक अफिसको रूपमा हेर्ने गरेको भए तापनि आज भारत विश्वको निम्ति नयाँ कारखाना बनिरहेको प्रधानमन्त्रीले बताए। भारत कार्यबल मात्र नभएर विश्वबल बनेको उल्लेख गर्दै धेरै उत्पाद आयात गर्ने देश आज निर्यातको केन्द्र बनिरहेको बताए। पहिले स्थानीय बजारसम्म सीमित कृषकहरू आज आफ्ना उत्पादका साथ विश्व बजारसम्म पुग्न सफल बनिरहेको उनले उल्लेख गरे। पुलवामाको कोशे मटर, महाराष्ट्रको पुरान्दर अञ्जीर र कश्मीरको क्रिकेट ब्याटको आज विश्वभरी माग बढेर गएको उनले बताए। यसका साथै भारतको रक्षा उत्पादहरूले भारतीय अभियान्त्रिकी अनि प्रविधि विश्वसामु प्रदर्शित गरिरहेको पनि उनले अवगत गराए। ईलेक्ट्रनिक्सदेखि अटोमोबाइल क्षेत्रसम्म विश्व आज भारतको परिमाण अनि क्षमताको साक्षी बनिरहेको प्रधानमन्त्री मोदीले बताए। “भारतले विश्वलाई उत्पादहरू मात्र आपूर्ति नगरेर वैश्विक आपूर्ति शृङ्खलामा पनि विश्वसनीय साझेदार बन्दैछ,” उनले थपे।
विभिन्न क्षेत्रमा भारतको नेतृत्त्व वर्षौंको कडा मेहनत अनि योजनाबद्ध नीति निर्णय रहेको स्पष्ट पार्दै, विगत दस वर्षको प्रगति उनले साझा गरे। पहिलेका अधुरा पुल अनि सडकहरू आज उत्तम सडक अनि द्रूतमार्गका रूपमा अग्रगमनको सपनाका साथ नयाँ गतिले अघि बढिरहेको बताए। यात्रा समय अनि लागत घट्नुले उद्योगहरूलाई लजिस्टिक्सको प्रत्यावर्तन समय घटाउने अवसर प्रदान गर्दै अटोमोबाइल क्षेत्रलाई उल्लेखनीय रूपमा लाभान्वित बनाइरहेको कुरामाथि उनले बल दिए। वाहनहरूको बढ्दो मागका साथमा ईभी उत्पादनलाई प्रोत्साहनका कारण भारत आज प्रमुख अटोमोबाइल उत्पादक एवं निर्यातक बनिरहेको उनले बताए।
यस्तै प्रकारको परिवर्तन ईलेक्ट्रनिक्स विनिर्माणको क्षेत्रमा पनि देखिन थालेको उनले बताए। विगत एक दसकमा प्रथमपटक 2.5 करोड परिवारसम्म विद्युत पुगेको परिणामस्वरूप ईलेक्ट्रनिक उपकरणको माग अनि उत्पादन पनि बढेको उनले उल्लेख गरे। यसका साथै सुपथ डाटाले मोबाइल फोनको माग बढाउनका साथमा मोबाइल फोनको सेवाको उपलब्धतामा वृद्धिले डिजिटल उपकरणको खपत पनि बढेर गएको प्रधानमन्त्रीले उजागर गरे। पीएलआइ योजना जस्ता कार्यक्रमले उक्त मागलाई अवसरमा परिणत गर्दै भारतलाई प्रमुख ईलेक्टनिक्स निर्यातक बनाएको उनले बताए। भारतको ठूलो लक्ष्य तय गरी हासिल गर्ने लक्ष्य “न्यूनतम सरकार, अधिकतम शासन”को मन्त्रमा निहित रहेको उल्लेख गर्दै यसले सरकारको हस्तक्षेप वा दबाउबिना कुशल अनि प्रभावी शासन प्रोत्साहित गर्ने उनले बताए। विगत एक दसकमा सरकारले 15 सयभन्दा धेरै पुराना काम नलाग्ने कानूनहरू रद्द गरेको उल्लेख गर्दै त्यसमध्ये एउटा बृटिश शासन कालमा अधिनियमत नाट्य प्रदर्शन ऐनले सार्वजनिक ठाउँमा नृत्य गर्ने मानिसहरू पक्राउ गर्ने अधिकार दिने प्रधानमन्त्रीले उल्लेख गरे। यो कानून स्वतन्त्रताको 70 वर्ष पछिसम्म प्रभावी रहेको तर वर्तमान सरकारले त्यसलाई निरस्त गरेको जानकारी उनले दिए। यसका साथै, जनजाति अनि पूर्वोत्तरका मानिसहरूको जीवनरेखा मानिने बाँसको पनि उनले उदाहरण दिए। पहिले बाँसलाई रुखको दर्जा दिइएको हुँदा बाँस काट्दा पक्राउ पर्ने उनले बताए। तर वर्तमान सरकारले उक्त दसकौं पुराना कानूनलाई परिवर्तन गरी बाँसलाई घाँसको दर्जा दिएको उनले उल्लेख गरे। त्यस्ता काम नलाग्ने कानूनहरूप्रति पूर्वका नेताहरूका साथै लुट्येनका कुलीन वर्गको मौनताको उल्लेख गर्दै वर्तमान सरकारले त्यसलाई हटाउने काम गरेको उनले बताए।
दस वर्षअघि आइटीआर दर्ता गर्न साधारण व्यक्तिलाई कठिन पर्ने भए तापनि हालमा त्यो केही क्षणमै गर्नसकिने र फिर्ता पाउनुपर्ने रकम खातामा एकै दिनमा प्राप्त हुने उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा आयकर कानून सरलीकरण गर्ने प्रक्रिया शुरु गरिएको अवगत गराए। यसका साथै ₹12 लाखसम्मको आयमाथि करमुक्त गरिएको हुँदा यसबाट उल्लेखनीय रूपमा वेतनभोगी वर्ग लाभान्वित बन्ने र बजेटले युवा विशेषज्ञहरूलाई आफ्नो आकाङ्क्षा पूरा गर्दै बचत बढाउन सहयोग पुऱ्याएको जानकारी दिए। यसको उद्देश्य जीवनको सहजता, कारोबारी सहजताका साथमा देशवासी अनि उनीहरूका आकाङ्क्षालाई खुल्ला आकाश प्रदान गर्नुरहेको बताए। पहिले मानचित्र बनाउन सरकारको अनुमति आवश्यक पर्ने भू-स्थानिक डाटाबाट आज धेरै स्टार्टअप्स लाभान्वित बनिरहेको उनले उल्लेख गरे। सरकारले यसमा परिवर्तन गरी डाटाको इष्टतम उपयोग गर्न स्टार्टअप्स अनि निजी कम्पनीहरूलाई अनुमति प्रदान गरेको उनले बताए।
विश्वलाई शून्यको अवधारणा दिने भूमि भारत आज अनन्त नवाचारको भूमि बनिरहेको उल्लेख गर्दै भारतले नवचार मात्र नगरेर “इण्डोभेटिङ” अर्थात् भारतीय तरिकाले नवाचार गरिरहेको प्रधानमन्त्रीले बताए। भारतले सुपथ, सुगम्य अनि अनुकूलनशील समाधानहरू सिर्जना गरी द्वारपाल नबनी विश्वलाई ती समाधानहरू प्रदान गरिरहेको पनि प्रधानमन्त्रीले बताए। विश्वलाई सुरक्षित अनि किफायती डिजिटल भुक्तानी प्रणाली आवश्यक परेको बेला भारतले युपीआइ (युनिफाइड पेमेन्ट इन्टरफेस) प्रणाली विकसित गरेको उनले उल्लेख गरे। युपीआइ प्रविधिको लोकमैत्री प्रकृत्तिबाट प्रोफेसर कार्लोस् मोन्टेस प्रभावित बनेको उल्लेख गर्दै आज फ्रान्स, युएई र सिङ्गापुर जस्ता देशले आफ्नो वित्तीय परितन्त्रमा युपीआइ सामेल गर्न थालेको उनले बताए। यसका साथै भारतको डिजिटल सार्वजनिक पूर्वाधार – इण्डिया स्ट्याकसँग जोडिन कैयौं देशले सम्झौतामा हस्ताक्षर गरिरहेको पनि उनले जानकारी दिए। कोभिड-19 महामारीको समय भारतको भ्याक्सिनले विश्वलाई देशको गुणस्तरीय स्वास्थ्य स्याहार समाधान प्रदर्शित गरेको उल्लेख गर्दै विश्वलाई लाभान्वित तुल्याउन आरोग्य सेतु एपलाई ओपन सोस्र बनाइएको उनले अवगत गराए। भारत प्रमुख अन्तरिक्ष शक्ति बनेको कुरामाथि बल दिँदै अन्य देशलाई पनि आफ्नो अन्तरिक्ष सम्बन्धी आकाङ्क्षा पूरा गर्न सहयोग गरिरहेको बताए। भारतले सार्वजनिक वस्तुका लागि एआइमाथि काम गर्नका साथै आफ्नो अनुभव अनि विशेषज्ञता विश्वसँग साझा गरिरहेको पनि उनले जानकारी दिए।
आइटीभी नेटवर्कद्वारा अनेकौं अध्येतावृत्ति शुरु गरेकोमा सराहना गर्दै भारतका युवाहरू उच्च प्राथमिकताका साथ विकसित भारतको सबैभन्दा विशाल लाभार्थी अनि हितधारक रहेको उनले बताए। राष्ट्रिय शिक्षा नीतिले बालकहरूलाई पाठ्यपुस्तकदेखि परसम्म चिन्तन गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै आज निम्न माध्यमिक स्तरदेखि नै स्कूलका विद्यार्थीहरूले कोडिङ सिक्दै एआइ अनि डाटा साइन्स जस्ता विषयको निम्ति तयारी गरिरहेको उनले बताए। अटल टिङ्करिङ ल्याबबारे बोल्दै यसले उदीयमान तकनिकीहरूबारे विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गरिरहेको र यस वर्षको बजेटमा 50 हजार नयाँ अटल टिङ्करिङ ल्याब सिर्जना गर्ने घोषणा गरिएको पनि जानकारी दिए।
समाचारको संसारमा विभिन्न समाचार एजेन्सीको सदस्यताले व्यापक समाचार प्रेषण गर्न सहयोग गरे जस्तै विद्यार्थीहरूलाई पनि अनुसन्धानको निम्ति सम्भव भएसम्म अनेकौं सूचना स्रोतसम्म सुगम्यता आवश्यक पर्ने प्रधानमन्त्री मोदीले बताए। पहिले धेरै महँगो मूल्यमा उनीहरूले विभिन्न पत्रिका खरिद गर्नुपर्ने भए तापनि शोधार्थीहरूलाई सरकारले “एक राष्ट्र एक सदस्यता” पहलद्वारा राहत प्रदान गर्नका साथै देशका प्रत्येक शोधार्थीका लागि विश्वव्यापी रूपमा प्रतिष्ठित पत्रिकाको निःशुल्क सुगम्यता सुनिश्चित गरेको जानकारी प्रधानमन्त्री मोदीले दिए। यस पहलका लागि सरकारले ₹6,000 करोडभन्दा धेरै खर्च गर्ने पनि उनले अवगत गराए। अन्तरिक्ष अनुसन्धान, जैवप्रविधि अनुसन्धान वा एआइ, जुनै क्षेत्र भए पनि प्रत्येक विद्यार्थीका लागि सरकारले सर्वोत्तम अनुसन्धन सुविधा सुनिश्चित गरिरहेको उल्लेख गर्दै, भारतका बालकहरू भविष्यका अगुवाका रूपमा उदाइरहेको उनले बताए।
डा. ब्रायन ग्रीनको आइआइटीका विद्यार्थीहरूका साथ बैठक अनि अन्तरिक्ष यात्री माइक मेसिमिनोको केन्द्रिय विद्यालयका विद्यार्थीहरूसँग बैठकलाई उल्लेखनीय अनुभव बताउँदै प्रधानमन्त्रीले भविष्यमा महत्त्वपूर्ण नवाचार भारतका स-साना विद्यालयबाट आउने विश्वास व्यक्त गरे।
भारतको आकाङ्क्षा अनि दिशाले हरेक वैश्विक मञ्चमा आफ्नो परचम लहराएको हेर्नु रहेको प्रधानमन्त्रीले बताए। यो सानो सोच अनि सानो कदमको समय नरहेको उल्लेख गर्दै एउटा मिडिया संस्थानका रूपमा न्यूजएक्स वर्ल्डले यस भावनालाई बुझेकोमा प्रसन्नता व्यक्त गरे। दस सालअघि देशको विभिन्न राज्यसम्म पुग्न ध्यान केन्द्रित गर्दै आज नेटवर्कले वैश्विक हुने साहसिक कदम उठाएको उनले रेखाङ्कित गरे। यो प्रेरणा अनि सङ्कल्प हरेक नागरिक अनि उद्यमीमा हुनुपर्ने उल्लेख गर्दै विश्वभरीका हरेक बजार, विश्राम कक्ष अनि भोजन गर्ने टेबलमा भारतीय ब्राण्ड हेर्ने आफ्नो दृष्टिकोण पनि प्रधानमन्त्रीले साझा गरे। “मेड इन इण्डिया” विश्वको मन्त्र बन्नुपर्ने उल्लेख गर्दै, मानिसहरू बिमार हुँदा “हील इन इण्डिया” अनि विवाहको योजना बनाउँदा “वेड इन इण्डिया”बारे सोच्नका साथै यात्रा, सम्मेलन, प्रदर्शनी अनि सङ्गीत कार्यक्रमका लागि भारतलाई प्राथमिकता दिनुपर्ने आफ्नो सपना व्यक्त गरे। आफूभित्र यस सकारात्मक दृष्टिकोण अनि शक्तिलाई बढावा दिनुपर्ने महत्त्वमाथि बल दिँदै यस प्रयासमा नेटवर्क अनि च्यानलको महत्त्वपूर्ण भूमिकालई उनले स्वीकार गरे। सम्भावनाहरू अनन्त रहेको र त्यसलाई साहस अनि दृढ सङ्कल्पका साथ वास्तविकतामा परिणत गर्नु हामीमाथि निर्भर रहने उनले उल्लेख गरे।
भारत आगामी 25 वर्षभित्र एउटा विकसित राष्ट्र बन्ने सङ्कल्पका साथ अघि बढिरहेको उनले बताए। आफ्नो सम्बोधनको समापनमा उनले आइटीभी नेटवर्कलाई विश्व मञ्चमा स्थापित गर्नका लागि यस प्रकारको सङ्कल्प लिएकोमा प्रोत्साहित गर्दै सफलतामाथि विश्वास व्यक्त गरे।
कार्यक्रममा आइटीभी मिडिया नेटवर्कका संस्थापक एवं राज्यसभा सांसद कार्तिकेय शर्मा, अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबोट, श्रीलङ्काका पूर्व राष्ट्रपति एवं प्रधानमन्त्री रानिल विक्रमसिङ्घेसहित अन्य गण्यमान्य व्यक्ति उपस्थित थिए।
********
(Release ID: 2107715)
Visitor Counter : 5
Read this release in:
Odia
,
Marathi
,
English
,
Urdu
,
Hindi
,
Assamese
,
Manipuri
,
Bengali
,
Punjabi
,
Gujarati
,
Tamil
,
Telugu
,
Kannada
,
Malayalam