57th International Film Festival of India 2026
20 – 28 Nov 2026

मूल्याङ्कनका लागि कथाको मानवीय चरित्र र गान्धीवादी आदर्शसँगको सम्बन्ध सबैभन्दा प्रमुख विचार: आईसीएफटी-युनेस्को गान्धी पदक निर्णायक मण्डलीका सदस्य मनोज कदम

पोस्ट गरियो: 26 NOV 2026 7:50PMby PIB Gangtokरिलिज आईडी: 2342439Views: 4

गोवा, 26 नोभेम्बर, 2026:

दसवटा फिक्सन फिचर चलचित्र ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) मा प्रतिष्ठित आईसीएफटी-युनेस्को गान्धी पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन्। यी चलचित्रले शान्ति, सहिष्णुता, सहानुभूति, सामाजिक न्याय र अन्तर-सांस्कृतिक संवादका विषयलाई प्रतिबिम्बित गर्छन्। महोत्सवको सन्दर्भमा पत्र सूचना कार्यालय (पीआईबी) द्वारा आयोजित पत्रकार सम्मेलनमा आईसीएफटी-युनेस्को गान्धी पदक निर्णायक मण्डलीका सदस्य श्री मनोज कदम र आईएफएफआईका क्रिएटिभ डाइरेक्टर श्री पंकज सक्सेनाले सञ्चारमाध्यमसँग कुराकानी गर्नुभयो।

यस कुराकानीका क्रममा श्री मनोज कदमले अर्थपूर्ण विचारहरू सम्प्रेषण गर्न र शान्तिको संस्कृतिलाई प्रवर्द्धन गर्न चलचित्रलाई माध्यमका रूपमा उपयोग गर्ने प्रतिस्पर्धाका लागि छनोट गरिएका चलचित्रहरूको साझा प्रतिबद्धताबारे प्रकाश पार्नुभयो।

चलचित्रहरूको मूल्याङ्कन गर्ने निर्णायक मण्डलीको दृष्टिकोणबारे स्पष्ट पार्दै कदमले कथाको मानवीय चरित्र र गान्धीवादी आदर्शहरू, विशेषगरी अहिंसा तथा चलचित्रमार्फत शान्ति प्रवर्द्धन गर्ने विचारसँग त्यसको सम्बन्ध सबैभन्दा प्रमुख पक्ष रहेको बताउनुभयो। उहाँले चलचित्रको कलात्मक र प्राविधिक गुणस्तरका साथै चलचित्र निर्माताले आफ्नो अभिप्रेत सन्देश सम्प्रेषण गर्ने क्रममा देखाउने इमानदारी र दृढ़ विश्वास पनि महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो।

यस वर्षको आईएफएफआईको ‘सीमाभन्दा परका कथाहरू’ भन्ने विषयवस्तुको उल्लेख गर्दै उहाँले छनोट गरिएका चलचित्रहरूले दर्शकहरूलाई विश्वका विभिन्न भागको यात्रा गराएका र अपरिचित संस्कृति तथा दृष्टिकोणबारे जानकारी प्रदान गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येक चलचित्रको आफ्नै क्षमता र कलात्मक मूल्य हुन्छ। यसले सम्बन्धित देशका सामाजिक-आर्थिक तथा सांस्कृतिक पक्षहरूलाई प्रतिबिम्बित गर्छ। विश्वका विभिन्न भागबाट आएका चलचित्रहरूले निर्णायक मण्डलीलाई पनि ती देशहरूको संस्कृति बुझ्न आफूसँगै यात्रामा लैजान्छन्। यही चलचित्रको शक्ति हो, जसले तपाईँलाई विश्वसँग परिचित गराउँछ।”

प्रतिस्पर्धामा रहेका केही चलचित्रबारे प्रकाश पार्दै कदमले स्ट्रबेरीज को उदाहरण दिनुभयो, जसले महिलामाथि हुने अन्यायविरुद्धको सङ्घर्ष चित्रण गर्नुका साथै महिला शक्तिको पुष्टि गर्छ। उहाँले द फल अफ द क्विन को पनि उल्लेख गर्नुभयो, जसले औषधिको पेटेन्ट र स्वास्थ्य सेवामा पहुँचसँग सम्बन्धित चिन्ताहरू उठाउँछ। त्यस्तै, स्क्रोल ले युवा पुस्ताका लागि महत्त्वपूर्ण सन्देश दिएको उहाँले बताउनुभयो। उहाँका अनुसार धेरै चलचित्रले सामाजिक समस्याहरूको चित्रण गर्नेमात्र नभई दर्शकहरूलाई व्यावहारिक समाधानबारे सोच्न पनि प्रोत्साहित गर्छन्। उहाँले दर्शकहरूको प्रतिक्रियाले मात्र कुनै चलचित्रको गुणस्तर निर्धारण गर्न नसक्ने धारणा पनि व्यक्त गर्नुभयो।

पत्रकार सम्मेलनमा बोल्दै आईएफएफआईका कला निर्देशक पंकज सक्सेनाले आईसीएफटी-युनेस्कोको कार्यादेशले सहिष्णुता, शान्ति, समझदारी र अन्तर-सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने चलचित्र छनोटका लागि स्पष्ट रूपरेखा प्रदान गरेको बताउनुभयो। उहाँले समाज निर्माणमा चलचित्रको जिम्मेवारीबारे प्रकाश पार्दै यस माध्यमको प्रयोग कसरी गरिन्छ भन्ने आधारमा चलचित्रहरू लाभदायक र हानिकारक दुवै हुन सक्ने बताउनुभयो।

सक्सेनाले ग्लोबल साउथका समाजहरू, विशेषगरी तीव्र सामाजिक तथा सांस्कृतिक परिवर्तनबाट गुज्रिरहेका समाजहरू, चलचित्र सिर्जनशीलताका लागि उर्वर भूमि रहेको बताउनुभयो। केन्या, हाइटी र टर्कीजस्ता देशका चलचित्रहरूले दर्शकहरूलाई बदलिँदो सामाजिक वास्तविकता र सांस्कृतिक गतिशीलताबारे मूल्यवान् जानकारी प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो।

उहाँले चलचित्र निर्माताहरूले सामाजिक समस्याहरूको सधैँ निश्चित समाधान प्रस्तुत गर्न आवश्यक नरहेकोमा पनि जोड़ दिनुभयो। सान्दर्भिक प्रश्नहरू उठाउनु र जनमानसलाई सोच्न प्रेरित गर्नु पनि कलाका उत्तिकै आवश्यक कार्य रहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, “एक कलाकारको काम समाधान प्रस्तुत गर्नु हुन सक्छ, तर अनुत्तरित प्रश्नहरू छाड्नु पनि हुन सक्छ। यो बिल्कुल ठीक छ र हामी दुवै प्रकारका कलाकारहरूको सम्मान गर्छौँ।”

कथाहरूलाई भौगोलिक तथा सांस्कृतिक सीमाभन्दा पर पुग्न सक्षम बनाउने पक्षबारे सोधिएको प्रश्नको जवाफ दिँदै सक्सेनाले सौन्दर्यशास्त्र र सान्दर्भिकता अथवा रूप र विषयवस्तुलाई आवश्यक तत्त्वका रूपमा औँल्याउनुभयो।

पत्रकार सम्मेलनको सञ्चालन श्री महेश कुमारले गर्नुभएको थियो।

आईसीएफटी-युनेस्को गान्धी पदकबारे

युनेस्कोको संरक्षणमा पेरिसस्थित इन्टरनेसनल काउन्सिल फर फिल्म, टेलिभिजन एण्ड अडियोभिजुअल कम्युनिकेसन (आईसीएफटी) को सहकार्यमा आईएफएफआईको ४६औँ संस्करणमा स्थापना गरिएको आईसीएफटी-युनेस्को गान्धी पदकले महात्मा गान्धीका अहिंसा, सहिष्णुता, अन्तर-सांस्कृतिक समझदारी र शान्तिको संस्कृतिसम्बन्धी आदर्शहरू प्रतिबिम्बित गर्ने चलचित्रहरूलाई सम्मान गर्छ। यस वर्षको प्रतिस्पर्धाका लागि छनोट गरिएका दसवटा चलचित्र (सात अन्तरराष्ट्रिय र तीन भारतीय) ले विविध सांस्कृतिक पृष्ठभूमिका कथाहरूलाई एकसाथ प्रस्तुत गर्दै मानवीय सम्बन्ध, सामाजिक चुनौती र साझा मूल्यहरूलाई उजागर गर्छन्।

आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्:     https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

******

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2342439
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026