57th International Film Festival of India 2026
20 – 28 Nov 2026

दर्शकलाई हँसाउनु गम्भीर सिर्जनात्मक काम हो: आईएफएफआई २०२६ मा अनिल रविपुडी

पोस्ट गरियो: 25 NOV 2026 3:47PMby PIB Gangtokरिलिज आईडी: 2341496Views: 4

गोवा, 25 नोभेम्बर, 2026:

५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) अन्तर्गत गोवामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता चलचित्र निर्माता श्री अनिल रविपुडीले आफ्नो चलचित्र माना शङ्करा वर प्रसाद गारुबारे बोल्दै “दर्शकलाई हँसाउनु चुनौतीपूर्ण सिर्जनात्मक काम” रहेको बताउनुभयो। १६४ मिनेट लामो तेलुगु भाषाको यो फिचर चलचित्र आईएफएफआई २०२६ को इण्डियन प्यानोरमाअन्तर्गत मुख्यधाराको चलचित्र खण्डका लागि छनोट भएका पाँच चलचित्रमध्ये एक हो। पत्रकार सम्मेलनमा निर्देशकसँगै निर्माता श्री साहु गरापति, सुश्री के. सुस्मिता र अभिनेत्री सुश्री क्याथरिन ट्रेसा पनि उपस्थित हुनुहुन्थ्यो।

“कमेडी सधैँ गम्भीर विषय हुन्छ,” श्री रविपुडीले भन्नुभयो। चिरञ्जीवीजस्ता सुपरस्टारसँग जोड़िएका अपेक्षाहरूलाई ध्यानमा राख्दै पारिवारिक भावनासँग कमेडीलाई सन्तुलनमा राखेर लेखन गर्नु चुनौतीपूर्ण हुने, उहाँले बताउनुभयो। कुन ठट्टाले दर्शकलाई आकर्षित गर्छ भन्ने कुरा अनुमान गर्न कठिन हुने उहाँको भनाइ थियो। आफ्नो लेखन टोलीको सहयोगको प्रशंसा गर्दै निर्देशकले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने कथाहरू सिर्जना गर्ने आफ्नो प्रयास रहेको बताउनुभयो।

श्री रविपुडीद्वारा लेखन तथा निर्देशन गरिएको माना शङ्करा वर प्रसाद गारु राष्ट्रिय सुरक्षा अधिकारीको कथामा आधारित छ, जसको पेसाप्रतिको समर्पणका कारण उनी आफ्नी पत्नी र छोराछोरीबाट टाढ़िएका हुन्छन्। छः वर्षपछि उनी आफ्नै परिवारसँग पुनःसम्बन्ध स्थापित गर्ने उद्देश्यले उनीहरू अध्ययन गर्ने विद्यालयमा जागिर लिन्छन्। कमेडी र एक्सनलाई पारिवारिक भावनासँग जोड़ेको यस चलचित्रले पेसागत कर्तव्य र व्यक्तिगत सम्बन्धबीचको द्वन्द्व तथा पुनर्मिलनको सम्भावनालाई प्रस्तुत गरेको छ।

चिरञ्जीवीलाई निर्देशन गर्दाको अनुभव स्मरण गर्दै श्री रविपुडीले आफूले बाल्यकालदेखि नै उहाँका चलचित्रहरू हेर्दै हुर्किएको बताउनुभयो। वर्षौँदेखि चिरञ्जीवीले निर्वाह गर्नुभएका विविध भूमिकाबारे आफ्नो जानकारीले उहाँका विशिष्ट अभिनय क्षमता उजागर गर्ने सरल पारिवारिक कथा तयार गर्न सहयोग पुगेको उहाँले बताउनुभयो।

सङ्क्रान्तिको छेकमा प्रदर्शन हुने चलचित्रहरूसँग आफ्नो सम्बन्धबारे बोल्दै निर्देशकले चाड़पर्वको समयमा परिवारका सदस्यहरू एकसाथ भेला हुने र चलचित्र हेर्न हलसम्म पुग्ने भएकाले यो समय पारिवारिक मनोरञ्जनात्मक चलचित्रका लागि स्वाभाविक रूपमा उपयुक्त हुने बताउनुभयो। चलचित्रले दर्शकलाई दैनिक जीवनका तनावबाट आवश्यक राहत प्रदान गर्ने उल्लेख गर्दै उनीहरूको अनुहारमा मुस्कान ल्याउन पाउनु नै यस्ता चलचित्र निर्माणलाई निरन्तरता दिने आफ्नो प्रमुख प्रेरणा रहेको उहाँले बताउनुभयो।

चलचित्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी सुश्री क्याथरिन ट्रेसाले अनुभवी अभिनेता चिरञ्जीवीसँग काम गर्नु आफ्ना लागि सिक्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो। गम्भीर भूमिकाबाट हल्का तथा मनोरञ्जनात्मक भूमिकातर्फको आफ्नो यात्राबारे बोल्दै उहाँले अभिनयमा बहुमुखी प्रतिभा र निर्देशकको दृष्टिकोण बुझ्नुको महत्त्वमा जोड़ दिनुभयो। व्यावसायिक मनोरञ्जनात्मक चलचित्रमार्फत अझ व्यापक दर्शकमाझ पुग्ने चाहना रहेको उल्लेख गर्दै आईएफएफआईका लागि चलचित्र छनोट भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।

चलचित्र महोत्सवहरूमा मुख्यधाराका चलचित्रलाई पनि मान्यता दिइएकोमा स्वागत गर्दै श्री रविपुडीले विभिन्न प्रकारका चलचित्रलाई समेट्ने निर्णायक मण्डलीको प्रयासको प्रशंसा गर्नुभयो। महोत्सवहरूले कलात्मक तथा प्राविधिक उत्कृष्टताको उत्सव मनाउनुका साथै ठूलो सङ्ख्यामा दर्शकसँग सम्बन्ध स्थापित गर्न सफल व्यावसायिक चलचित्रलाई पनि मान्यता दिनसक्ने उहाँले बताउनुभयो।

आईएफएफआईमा यस चलचित्रको प्रस्तुतिले विविध चलचित्र परम्परासँगै लोकप्रिय सिनेमाको महत्त्वलाई पनि उजागर गरेको छ। यसले ती कथाहरूको उत्सव मनाउँछ जसले हास्य, भावना र साझा अनुभवमार्फत परिवारलाई एकै ठाउँमा ल्याउँदछ।

कार्यक्रमको सञ्चालन स्वाति अग्रवालले गर्नुभएको थियो।

पूरा पत्रकार सम्मेलन यहाँ हेर्नुहोस्:

आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्:     https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341496
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026