गोवा, २१ नोभेम्बर २०२६:
भारतको ५७औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) मा भारतीय प्यानोरमा गैर-कथानक चलचित्र निर्णायक मण्डलले आज आयोजित पत्रकार सम्मेलनमा कठोर छनौट प्रक्रियाबारे आफ्ना विचारहरू साझा गर्दै भारतीय चलचित्रको विविधता, कथा-वाचनको शक्ति र चलचित्र निर्माणमा प्रविधिको बदलिँदो भूमिकालाई उजागर गर्यो। उक्त अन्तरक्रियाले ३५८ वटा उत्कृष्ट प्रविष्टिहरूमध्येबाट २० वटा चलचित्र छनौट गर्ने प्रक्रियाका क्रममा भएका छलफल तथा विचार-विमर्शको झलक प्रस्तुत गर्यो।

उक्त सत्रमा निर्णायक मण्डलका अध्यक्ष श्री हिमांशु शेखर खटुआका साथै निर्णायक मण्डलका सदस्यहरू श्रीमती आरती पटेल, श्री अभिजीत अरविन्द दलवी, श्रीमती रागिनी सोना, श्री शिव सन्नी, श्री शङ्खजीत दे र श्री धनेश यादव टी. आर. सहभागी थिए। उक्त अन्तरक्रियाको सञ्चालन पत्र सूचना कार्यालयका अतिरिक्त महानिर्देशक श्री महेश कुमारले गरेका थिए।
छनौट प्रक्रियालाई मार्गदर्शन गर्ने मूल सिद्धान्तबारे बोल्दै निर्णायक मण्डलका अध्यक्ष श्री हिमांशु शेखर खटुआले चलचित्रमार्फत भारतलाई यसको वास्तविक स्वरूपमा प्रस्तुत गर्नु नै निर्णायक मण्डलको प्रमुख प्रयास रहेको कुरामा जोड दिए। आईएफएफआई-को मूल विषयवस्तु स्टोरीज विदाउद बोडर्स- को सन्दर्भ उल्लेख गर्दै उनले छनौट गरिएका चलचित्रहरूले कथा-वाचनको विश्वव्यापी भावनालाई प्रतिबिम्बित गर्नुका साथै देशका बहुआयामिक पहिचान, जनजीवनका वास्तविक अनुभव र सांस्कृतिक समृद्धिलाई समेट्ने प्रयास गरेको बताए।
छनौट प्रक्रियाबारे थप व्याख्या गर्दै श्री खटुआले निर्णायक मण्डलले परम्परागत चलचित्रसम्बन्धी ढाँचा र मूलधारका दृष्टिकोणभन्दा बाहिर गएर विभिन्न चरणमा कठोर मूल्याङ्कन गरेको कुरा उल्लेख गरे। यस प्रक्रियामा देशका विभिन्न भागका विशिष्ट दृष्टिकोण र प्रभावशाली कथावस्तु प्रस्तुत गर्ने चलचित्रहरूको पहिचान गर्नु समावेश थियो। उनले छनौट गरिएका चलचित्रहरूले सामूहिक रूपमा भारतका विविध रीतिरिवाज, परम्परा र सांस्कृतिक परिवेशलाई प्रतिबिम्बित गर्ने बताए। निर्णायक मण्डलको समग्र दृष्टिकोणमा जोड दिँदै उनले चलचित्रहरूलाई शैली वा कथा-वाचनजस्ता अलग-अलग पक्षका आधारमा मात्र नभई समग्र रूपमा मूल्याङ्कन गरिएको स्पष्ट पारे।

चलचित्र निर्माणमा कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रभावबारे बोल्दै श्री खटुआले मानवीय कल्पनाशक्ति, संवेदनशीलता र दृष्टिकोण विशिष्ट तथा अपूरणीय नै रहने कुरामा जोड दिए। एआईलाई एउटा उपयोगी सिर्जनात्मक उपकरणका रूपमा स्वीकार गर्दै उनले प्रविधिले यसका पछाडि रहेको मानवीय मस्तिष्कको स्थान लिनुको सट्टा कलात्मक अभिव्यक्तिलाई सहयोग र समृद्ध बनाउनुपर्ने धारणा व्यक्त गरे।
आफ्नो अनुभव साझा गर्दै निर्णायक मण्डलकी सदस्य श्रीमती आरती पटेलले छनौट प्रक्रियालाई एकातिर अत्यन्तै चुनौतीपूर्ण र अर्कोतिर निकै सन्तोषदायी अनुभवका रूपमा वर्णन गरिन्। विशेषगरी, प्राप्त चलचित्र प्रविष्टिहरूमा समेटिएका विषयवस्तु, मूलभाव र दृष्टिकोणहरूको असाधारण विविधतालाई ध्यानमा राख्दा यो अनुभव निकै व्यापक रहेको उनले बताइन्। उनले चलचित्र भाषिक, भौगोलिक र सांस्कृतिक सीमाहरूभन्दा माथि रहेको उल्लेख गर्दै यसलाई मानिसहरू र समुदायहरूलाई एकअर्काको नजिक ल्याउने विश्वव्यापी भाषाका रूपमा व्याख्या गरिन्।
श्री अभिजीत अरविन्द दलवीले यी चलचित्रहरूले भारतका विभिन्न सामाजिक अवस्था र सांस्कृतिक विशेषताहरूलाई फरक फरक शैलीमा प्रस्तुत गरेर निर्णायक मण्डललाई भारतका विविध पक्षलाई समेट्ने विस्तृत झलक देखाएको बताए। उनले प्राप्त चलचित्रहरूले भारतको चलचित्र निर्माण परम्पराको समृद्धि र चलचित्र निर्माताहरूले आफ्नो वरपरको वातावरणलाई आ-आफ्नै तरिकाले प्रस्तुत गर्ने शैलीलाई झल्काएको पनि बताए।
निर्णायक मण्डलसँगको आफ्नो सहभागितालाई सिकाइको एउटा महत्त्वपूर्ण अवसरका रूपमा वर्णन गर्दै श्रीमती रागिनी सोनाले महोत्सवको मूल विषयवस्तु स्टोरीज विदाउद बोडर्स- को प्रशंसा गरिन् र यसलाई सुन्दर तथा अर्थपूर्ण बताइन्। उनले विभिन्न सीमाहरू पार गरेर साझा मानवीय अनुभवहरूमार्फत दर्शकहरूलाई एकअर्कासँग जोड्ने कथाहरूको महत्त्वमाथि जोड दिइन्।

श्री शिव सन्नीले चलचित्रको परिवर्तनकारी शक्तिबारे चर्चा गर्दै अर्थपूर्ण कथा-वाचनले मनोरञ्जन प्रदान गर्ने मात्र नभई मानिसहरूलाई सोच्न बाध्य पार्ने, उनीहरूको दृष्टिकोणमा परिवर्तन ल्याउने र समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने पनि बताए।
पत्रकार सम्मेलनले चलचित्र छनौट गर्ने निर्णायक मण्डलको दृष्टिकोण र भारतीय प्यानोरमाका लागि चलचित्रहरू छनौट गर्दा ध्यान दिइने पक्षहरूबारे बुझ्ने अवसर प्रदान गर्यो। विभिन्न क्षेत्र, संस्कृति र जनजीवनका अनुभवमा आधारित कथाहरूलाई एकै ठाउँमा समेटेर यस छनौटले भारतीय चलचित्रको समृद्धि प्रस्तुत गर्नुका साथै भौगोलिक र सांस्कृतिक सीमाभन्दा बाहिरका दर्शकहरूलाई पनि जोड्ने भारतीय प्यानोरमाको भूमिकालाई पुनः पुष्टि गरेको छ।
आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस् : https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
********
MPS/TWB