प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सोल लिडरशीप कन्क्लेभको प्रथम संस्करणको उद्घाटन


दी स्कूल अव् अल्टिमेट लिडरशीप (सोल)-ले राष्ट्रिय र वैश्विक स्तरमा उत्कृष्टता हासिल गर्ने नेतृत्त्वलाई आकार दिनेछ : पीएम

आज भारत वैश्विक शक्तिकेन्द्रका रूपमा उदाइरहेको छ : पीएम

नेतृत्त्वहरूले प्रचलन स्थापित गर्नुपर्दछ : पीएम

भावी नेतृत्त्वमा सोलको उद्देश्य विकसित भारत निर्माण गर्न प्रत्येक क्षेत्रमा शक्ति अनि आत्मा प्रस्थापित गर्ने हुनुपर्नेछ : पीएम

भारतलाई वैश्विक उत्कृष्टताका नयाँ संस्थानहरू विकास गर्नसक्ने नेतृत्त्व आवश्यक छ : पीएम

साझा उद्देश्यका लागि बाँधिएको बन्धन खूनभन्दा गाढा हुन्छ : पीएम

Posted On: 21 FEB 2025 12:54PM by PIB Gangtok

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज नयाँ दिल्लीको भारत मण्डपममा “दी स्कूल अव् अल्टिमेट लिडरशीप (सोल)” नेतृत्त्व सङ्गोष्ठी, 2025 को प्रथम संस्करणको उद्घाटन गरियो। विशिष्ट नेतृगणका साथमा भावी उदीयमान युवा नेतृत्त्वहरूलाई स्वागत जनाउँदै प्रधानमन्त्री मोदीले केही कार्यक्रम अति आत्मीय हुने गरेको र यो कार्यक्रम त्यस्तै एक रहेको बताए। राष्ट्र निर्माणका लागि उत्तम नागरिकको विकास आवश्यक रहेको र प्रत्येक क्षेत्रका लागि उत्कृष्ट नेतृत्त्वको विकास गर्न त्यति नै आवश्यक रहेको प्रधानमन्त्री मोदीले उल्लेख गरे। प्रत्येक क्षेत्रका लागि उत्कृष्ट नेतृत्त्व विकास गर्न समयको माग रहेको उल्लेख गर्दै, विकसित भारतको विकास यात्रामा “दी स्कूल अव् अल्टिमेट लिडरशीप (सोल)” महत्त्वपूर्ण कोशेढुङ्गा रहेको उनले बताए। सोल सङ्गठनका रूपमा मात्र सीमित नरहेर यो भारतको सामाजिक जीवनको आत्मा बन्ने उनले बताए। अर्को शब्दमा भन्नुपर्दा, सोलले सुन्दरतापूर्वक आध्यात्मिक अनुभवको सार प्रस्तुत गर्नेछ, उनले भने। सोलका सबै हितधारकप्रति अभिवादन जनाउँदै प्रधानमन्त्री मोदीले निकट भविष्यमा गुजरातको गिफ्ट शहर नजिक सोलको विशाल क्याम्पस तयार हुने पनि घोषणा गरे।

आज सोलले आफ्नो यात्राको पहिलो कदम चालिरहेको बेला, भारतले संस्थानको भविष्यलाई आकार दिन आफ्नो महत्त्वपूर्ण भूमिका याद राख्नुपर्ने उनले बताए। स्वामी विवेकानन्दलाई उद्घृत गर्दै ती दूरदर्शी नेताले भारतलाई दासत्त्वको साङ्लोबाट मुक्त गरी केवल 100 प्रभावी अनि कुशल नेतृत्त्वको सहयोगमा रूपान्तरित गर्न चाहेको प्रधानमन्त्री मोदीले बताए। सोही जोशका साथ देश अघि बढ्नुपर्ने उल्लेख गर्दै, प्रत्येक नागरिकले 21 औं शताब्दीको विकसित भारतको सपनालाई साकार बनाउन अनवरत काम गरिरहेको बताए। करिब 140 करोड जनसङ्ख्या भएको देशका लागि प्रत्येक क्षेत्रमा असल नेतृत्त्व आवश्यक रहेको कुरा पनि उनले रेखाङ्कित गरे। दी स्कूल अव् अल्टिमेट लिडरशीपले राजनीतिको क्षेत्र लगायत विश्वभरी अमेट छाप छोड्ने नेतृत्त्वगण रचना गर्ने उनले आशा व्यक्त गरे। यसका साथै राष्ट्रको प्रगतिमा दुवै मानव अनि प्राकृतिक संसाधनको महत्त्वपूर्ण भूमिकाबारे पनि उनले प्रकाश पारे। पर्याप्त प्राकृतिक संसाधन नभए तापनि गुजरात मानव पूँजीमा आधारित आफ्नो नेतृत्त्वका कारण शीर्ष राज्यका रूपमा स्थापित हुनसकेको उनले उदाहरण पेश गरे। “मानव संसाधनको अपार सम्भावना हुने गर्दछ,” उनले भने। नवाचारलाई नेतृत्त्व प्रदान गर्नका साथै कौशललाई प्रवाहित गर्नसक्ने संसाधन 21 औं शताब्दीको माग रहेको उनले बताए। विभिन्न क्षेत्रमा कौशलको बढ्दो महत्त्वबारे उल्लेख गर्दै नयाँ कौशललाई आत्मसात गर्नका लागि नेतृत्त्व विकासको आवश्यकता रहेको र यसलाई वैज्ञानिकतम अनि संरचनागत दृष्टिकोणका साथ अनुसरण गर्नुपर्ने उनले बताए। यस प्रक्रियामा सोल जस्ता संस्थानले महत्त्वपूर्ण भूमिका खेल्ने कुरा गर्दै यस दिशामा अघिबाटै काम शुरु भइसकेकोमा उनले हर्ष व्यक्त गरे। नयाँ शिक्षा नीतिको प्रभावी कार्यान्वयनका लागि राज्यका शिक्षा सचिव, राज्य परियोजना निर्देशक अनि अन्य अधिकारीहरूका लागि कार्यगोष्ठीहरू आयोजन गरिएको उनले बताए। यसै गरी गुजरातको मुख्यमन्त्री कार्यालयका कर्मचारीहरूका लागि नेतृत्त्व विकास शिविर आयोजन गरिएको र यो शुरुवात मात्र रहेको र सोलले नेतृत्त्व विकासका लागि विश्वको शीर्ष संस्थान बन्ने लक्ष्य राख्नुपर्ने उनले बताए।

“भारत वैश्विक शक्ति केन्द्रका रूपमा उदाइरहेको छ” भन्दै प्रधानमन्त्रीले सबै क्षेत्रमा यो गति अनि वेगलाई बढाउनका लागि विश्व स्तरीय नेतागण अनि अन्तरराष्ट्रिय नेतृत्त्व आवश्यक पर्ने बताए। सोल जस्ता नेतृत्त्व संस्थान खेल परिवर्तक बन्नसक्ने सम्भावनाबारे उल्लेख गर्दै, यस्ता अन्तरराष्ट्रिय संस्थान विकल्प नभएर आवश्यकता रहेको बताए। “प्रत्येक क्षेत्रमा ऊर्जावान नेतृत्त्वको आवश्यकता छ, जसले वैश्विक मञ्चमा राष्ट्रको हितलाई प्राथमिकता दिँदै वैश्विक जटिलता अनि आवश्यकताका लागि समाधान खोज्न सक्छन्”, प्रधानमन्त्रीले रेखाङ्कित गरे। यस्ता नेतृत्त्वले स्थानीय मनोभाव कायम गर्दै वैश्विक दृष्टिकोण राख्न आवश्यक रहेको कुरमाथि उनले जोड दिए। भारतीय मन अनि अन्तरराष्ट्रिय मनस्थिति दुवै बुझ्नसक्ने तथा रणनीतिक निर्णय लिन, सङ्कट प्रबन्धन गर्न र भविष्यगामी चिन्तन गर्न सक्षम व्यक्तित्त्व तयार गर्न आवश्यक रहेको उनले बताए। अन्तरराष्ट्रिय बजार अनि वैश्विक संस्थानसँग प्रतिस्पर्धा गर्न, अन्तरराष्ट्रिय कारोबारी गतिकी बुझ्नसक्ने नेतृत्त्व आवश्यक रहेको कुरा प्रधानमन्त्रीले प्रकाश पारे। व्यापक परिमाण अनि कार्यक्षेत्रका साथमा उनीहरूबाट उच्च अपेक्षा गर्नसकिने त्यस्ता नेतृत्त्व तयार गर्न सोलको भूमिका रहनुपर्ने कुरा उनले बताए। भावी नेतृत्त्व सत्तासम्म मात्र सीमित नरहेर नेतृत्त्वको भूमिकामा नवाचार अनि प्रभाव पनि आवश्यक पर्ने कुरा सबैले याद राख्नुपर्ने प्रधानमन्त्री मोदीले सुझाउ दिए। देशमा आवश्यकता अनुसार व्यक्तिहरू उदाउन आवश्यक रहेको उनले बताए। सोलले ती व्यक्तिहरूमा सूक्ष्म चिन्तन, जोखिम उठाउने क्षमता र समाधानमुखी मनस्थिति विकास गर्ने उनले बताए। यस संस्थानले बाधाकारी परिवर्तनका बीच काम गर्न तयार नेतृत्त्वहरू निर्माण गर्ने कुरामा उनले विश्वास जाहेर गरे।

केवल अनुगमन गर्नुको साटो दिशा-धारा स्थापित गर्ने नेतृत्त्व सिर्जना गर्न आवश्यक रहेको कुरामाथि बल दिँदै कूटनीतिदेखि प्राविधिक नवाचारसम्मका विविध क्षेत्रमा भारतले नयाँ नेतृत्त्व प्रदान गर्दै जाँदा, देशको प्रभाव अनि प्रतिष्ठा पनि अनेकौं गुणा बढ्ने प्रधानमन्त्री मोदीले बताए। भारतको सम्पूर्ण परिकल्पना अनि भविष्य प्रबल नेतृत्त्वको पिँढीमाथि निर्भर रहने उल्लेख गर्दै, प्रधानमन्त्री मोदीले स्थानीय शिक्षा-दीक्षाका साथ वैश्विक चिन्तन मिश्रण गरी अघि बढ्नुपर्ने महत्त्वमाथि बल दिए। शासन अनि नीति निर्धारणलाई विश्व स्तरीय बनाउनुपर्ने आवश्यकता रेखाङ्कित गर्दै नीति निर्धारक, नोकरशाह अनि उद्यमीहरूले विश्वकै सर्वोत्तम कार्यप्रणाली सामेल गरी नीति तर्जुमा गरे यो कुरा हासिल गर्नसकिने प्रधानमन्त्रीले रेखाङ्कित गरे। यस सम्बन्धमा सोल जस्ता संस्थानले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए।

विकसित भारत निर्माण गर्न सबै क्षेत्रमा तेज प्रगतिको आवश्यकता दोहोऱ्याउँदै प्रधानमन्त्री मोदीले शास्त्रहरूको उल्लेखका साथ मानिसहरूले महान व्यक्तित्त्वहरूको आचरण अनुसरण गर्नुपर्ने कुरामाथि बल दिए। यस कारण भारतको राष्ट्रिय परिकल्पना अनुसार आत्मचिन्तन अनि आचरण गर्ने नेतृत्त्व महत्त्वपूर्ण रहेको उनले रेखाङ्कित गरे। सोलको उद्देश्य विकसित भारत निर्माणका लागि आवश्यक शक्ति अनि भावना प्रस्थापित गर्ने हुनुपर्ने उनले बताए। एकपटक प्रबल नेतृत्त्व स्थापित भएपछि, आवश्यक परिवर्तन अनि सुधार प्राकृतिक रूपमा अघि बढ्ने कुरामा उनले विश्वास व्यक्त गरे।

लोक नीति अनि सामाजिक क्षेत्रमा शक्ति अनि भावना दुवै विकास गर्न आवश्यक रहेको कुरामाथि बल दिँदै प्रधानमन्त्री मोदीले डीप-टेक, अन्तरिक्ष, जैवप्रविधि, नविकरणीय ऊर्जा जस्ता उदीयमान क्षेत्रका लागि नेतृत्त्व तयार गर्न आवश्यक रहेको उल्लेख गरे। यसका साथै खेल, कृषि, विनिर्माण अनि सामाजिक सेवा जस्ता पारम्परिक क्षेत्रका लागि नेतृत्त्व तयार गर्नुको महत्त्वबारे पनि उनले प्रकाश पारे। भारतले सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्ने आकाङ्क्षा मात्र नराखेर त्यसलाई हासिल पनि गर्नुपर्नेछ, उनले भने। “भारतलाई वैश्विक उत्कृष्टताका नयाँ संस्थानहरू विकास गर्नसक्ने नेतृत्त्वको खाँचो छ”, प्रधानमन्त्री मोदीले बताए। भारतको इतिहास यस्ता संस्थानहरूको गौरवमय गाथाले भरिएको उल्लेख गर्दै त्यही भावनालाई पुनरूद्धार गर्न आवश्यक रहेको कुरामाथि उनले बल दिए। कार्यक्रममा उपस्थितमध्ये धेरै सक्षम व्यक्ति रहेको कुरामाथि विश्वास व्यक्त गर्दै, संस्थान उनीहरूका सपना अनि परिकल्पनालाई निखार्ने प्रयोगशाला बन्नुपर्ने प्रधानमन्त्री मोदीले बताए। आज राखिएको आधारशिला भावी पिँढीका लागि गर्वको स्रोत बन्नुपर्ने र उनीहरूले यसलाई आगामी 25-50 वर्षपछि गर्वका साथ याद गर्ने उनले बताए।

संस्थानसँग करोडौं भारतीयको आकाङ्क्षा र सपनाबारे स्पष्ट बुझाई हुन आवश्यक रहेको कुरामाथि पनि उनले बल दिए। चुनौती अनि अवसर दुवै प्रदान गर्ने क्षेत्र अनि कारक स्पष्ट रूपमा परिभाषित हुनुपर्ने उल्लेख गर्दै, साझा लक्ष्य र सामूहिक प्रयासका साथ अघि बढ्दा, परिणाम असाधारण हुने उनले बताए। साझा उद्देश्यका साथ बाँधिएको बन्धन खूनभन्दा गाढा हुने उल्लेख गर्दै यसले मनलाई एकबद्ध पार्नका साथै उत्साहलाई प्रेरित गरी समयसँगै खरो उत्रने उनले बताए। उल्लेखनीय साझा लक्ष्य अनि उद्देश्यले नेतृत्त्वको अनि सामूहिक भावना विकास गर्ने उनले उल्लेख गरे। व्यक्तिहरूले आफ्नो लक्ष्यप्रति समर्पित हुँदै सर्वोत्तम क्षमता उजागर गर्ने उल्लेख गर्दै साझा उद्देश्यले व्यक्तिको सर्वोत्तम पक्ष उजागर मात्र नगरेर बृहत्तर उद्देश्य अनुरूप आफ्नो क्षमता पनि बढाउने कुरामाथि उनले बल दिए। यसै प्रक्रियाले उच्च स्तर प्राप्तिको निम्ति आवश्यक कौशल हासिल गर्ने नेतृत्त्व विकास गर्ने उनले उजागर गरे।

“साझा उद्देश्यले अभूतपूर्व सामूहिक भावना विकास गर्दछ”, भन्दै प्रधानमन्त्री मोदीले साझा उद्देश्यका साथ मानिसहरू सहयात्रीका रूपमा अघि बढ्दा प्रबल आत्मीयता विकास हुने बताए। टोली निर्माणको यस प्रक्रियाले नेतृत्त्वको विकास हुने उनले बताए। साझा उद्देश्यको सर्वोत्तम उदाहरण भारतीय स्वतन्त्रता सङ्ग्राम रहेको उल्लेख गर्दै, त्यसले राजनीति मात्र नभएर सबै क्षेत्रमा नेतृत्त्व निर्माण गरेको उनले उळ्लेख गरे। स्वतन्त्रता आन्दोलनको भावना पुनः जाग्रत गराउँदै अघि बढ्नका लागि त्यसबाट प्रेरणा लिनुपर्ने कुरामाथि प्रधानमन्त्रीले जोड दिए।

संस्कृतको एउटा श्लोक उद्घृत गर्दै प्रधानमन्त्रीले भने, ”मन्त्रमा परिणत गर्न नसकिने त्यस्तो कुनै शब्द छैन, औषधि बन्न नसक्ने त्यस्तो कुनै वनस्पति छैन र असमर्थ त्यस्ता कुनै व्यक्ति छैन।“ नियोजकहरूले समुचित रूपमा व्यक्तिहरूलाई उपयोग अनि मार्गदर्शन गर्न आवश्यक रहेको उल्लेख गर्दै सोलले त्यस्ता नियोजकको भूमिका खेल्नुपर्ने बताए। कार्यक्रममा उपस्थित धेरै नेताले आफअनो नेतृत्त्वकलालाई सिक्दै निखारेको पनि उनले उल्लेख गरे। विकासको विभिन्न स्तरमाथि जोड दिँदै प्रधानमन्त्री मोदीले एउटा उद्धरण उद्घृत गरे : आत्म-विकासको माध्यमद्वारा व्यक्तिगत सफलता, टोली विकासको माध्यमद्वारा सङ्गठनात्मक विकास र नेतृत्त्व विकासको माध्यमद्वारा विस्फोटक वृद्धि। यी सिद्धान्तबाट सबैले आफ्नो कर्तव्य अनि योगदान नित्य याद राख्नुपर्ने कुरामाथि उनले बल दिए।

21 औं शताब्दीका साथै यसअघिको दसकमा जन्मिएका युवाहरूले देशमा नयाँ सामाजिक व्यवस्थालाई आकार दिइरहेको र यो भारतको साँचो अर्थमा पहिलो विकसित पिँढी बन्ने उल्लेख गर्दै उनीहरू “अमृत पिँढी” रहेको प्रधानमन्त्री मोदीले उल्लेख गरे। नवस्थापित संस्थान सोलले यस “अमृत पिँढी”को नेतृत्त्व विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वास व्यक्त गर्दै संस्थानसित सम्बन्धित सबैप्रति उनले हार्दिक शुभकामना व्यक्त गरे।

यस अवसरमा भोटाङका प्रधानमन्त्री डासो छिरिङ तोपगे, सोल बोर्डका अध्यक्ष सुधीर मेहता तथा उपाध्यक्ष हसमुख अधिया लगायत अन्य गणमान्यले पनि कार्यक्रमलाई सम्बोधित गरे। भोटाङ नरेशको जन्मदिन जस्तो महत्त्वपूर्ण दिनमा पनि यस कार्यक्रममा उपस्थित भइदिएकोमा प्रधानमन्त्री मोदीले भोटाङका प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।

पृष्ठभूमि

21 देखि 22 फेब्रुअरीसम्म चल्ने दुई दिने सोल लीडरशीप कन्क्लेभले शीर्ष मञ्चका रूपमा काम गर्नेछ, जहाँ राजनीति, खेलकूद, कला अनि सञ्चार माध्यम, आध्यात्मिक जगत, लोक-नीति, कारोबार अनि सामाजिक क्षेत्र जस्ता विविध विषयका नेतृत्त्वले आफ्नो प्रेरक जीवन यात्राबारे अनुभव साझा गर्दै नेतृत्त्वसित सम्बन्धित आयाममाथि चर्चा गर्नेछन्। यस सङ्गोष्ठीले सहकार्य अनि विचार नेतृत्त्वको परितन्त्रलाई पोषित गर्दै युवा जमातलाई प्रेरित गर्न दुवै विफलता अनि सफलताबाट सिक्ने प्रक्रिया सुगम बनाउनेछ।

स्कूल अव् अल्टिमेट लिडरशीप गुजरातको एउटा उदीयमान नेतृत्त्व संस्थान हो जसले सार्वजनिक हितलाई अघि बढाउन प्रामाणिक नेतृत्त्वहरूलाई सक्षम बनाउनेछ। यसको लक्ष्य भारतमा औपचारिक प्रशिक्षणको माध्यमद्वारा राजनीतिक नेतृत्त्वको परिदृश्यलाई विस्तृत बनाउनका साथै राजनीतिक वंशबाट मात्र नभएर, प्रतिभा, प्रतिबद्धता अनि लोक सेवाका लागि उत्साहद्वारा माथि उठ्न चाहनेहरूलाई पनि सामेल गर्नुरहेको छ। सोलले आजको विश्वमा नेतृत्त्वको जटिल चुनौतीमाथि नियन्त्रण पाउनका लागि आवश्यक अन्तरदृष्टि, कौशल र विशेषज्ञता ल्याउँदछ।

***********


(Release ID: 2105252) Visitor Counter : 13