आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीईए)
पोस्ट गरियो:
25 NOV 2026 3:25PM by PIB Gangtok
नयाँ दिल्ली, 25 नोभेम्बर, 2026:
प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलासम्बन्धी मन्त्रिमण्डलीय समितिले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत डिजाइन, निर्माण, वित्त व्यवस्थापन, सञ्चालन तथा हस्तान्तरण (डीबीएफओटी) आधारमा कामराजर पोर्ट लिमिटेड (केपीएल) मा दोस्रो कन्टेनर टर्मिनल विकास गर्ने प्रस्तावित परियोजनालाई स्वीकृति दिएको छ। यस परियोजनाको अनुमानित लागत जीएसटीसहित ४,२८८.२६ करोड़ रुपियाँ रहेको छ। परियोजनाअन्तर्गत १८ मिटरको डिजाइन ड्राफ्ट र वार्षिक २० लाख २० फिट लम्बाइका कन्टेनर बराबरका एकाइ (टीईयू) ह्याण्डल गर्ने क्षमता भएको ९०० मिटर लामो कन्टेनर टर्मिनल दुई चरणमा विकास गरिनेछ।
सम्बन्धित खर्च:
पीपीपी घटकको अनुमानित परियोजना लागत जीएसटीसहित ४,२८८.२६ करोड़ रुपियाँ रहेको छ, जसमा पहिलो चरणका लागि २,४२९.३२ करोड़ रुपियाँ र दोस्रो चरणका लागि १,८५८.९४ करोड़ रुपियाँ समावेश छन्। डीबीएफओटी मोडेलअन्तर्गत छनोट गरिएको कन्सेसनायरले आवश्यक लगानीको व्यवस्था गर्नेछ। परियोजना प्रस्तावमा केपीएलले बेहोर्ने गरी छुट्टै रूपमा ४५० करोड़ रुपियाँ ड्रेजिङ लागत अनुमान गरिएको छ।
विवरण:
- परियोजनाअन्तर्गत ३० मिटर बर्थ चौड़ाइ र वार्षिक २० लाख टीईयू कन्टेनर ह्याण्डलिङ क्षमता भएको ९०० मिटर लामो दोस्रो कन्टेनर टर्मिनल विकास गरिनेछ। टर्मिनल दुई चरणमा निर्माण हुनेछ। पहिलो चरणको क्षमता ११ लाख टीईयू र दोस्रो चरणको क्षमता ९ लाख टीईयू हुनेछ।
- यो टर्मिनल १८ मिटरको डिजाइन ड्राफ्टसहित अधिकतम २४,३४६ टीईयू क्षमता र कुल ४०० मिटर लम्बाइ भएका ठूला कन्टेनर जहाजहरू सञ्चालन गर्न सक्ने गरी डिजाइन गरिएको छ। यसले ठूला मुख्य समुद्री मार्गमा सञ्चालन हुने जहाजहरू ह्याण्डल गर्ने केपीएलको क्षमता सुदृढ़ बनाउनुका साथै अन्तरराष्ट्रिय समुद्री मार्गहरूसँगको सम्पर्क विस्तार गर्नेछ।
- यस परियोजनाको उद्देश्य चेन्नई–एन्नोर औद्योगिक तथा आर्थिक क्षेत्र र विस्तारित दक्षिणी आन्तरिक भूभागबाट हुने कन्टेनरमा ढुवानी गरिने निर्यात–आयात (एक्जिम) मालसामानको बढ़्दो माग पूरा गर्नु हो। अटोमोबाइल तथा अटो पार्टपुर्जा, इन्जिनियरिङ सामग्री, इलेक्ट्रोनिक्स, रसायन तथा अन्य उत्पादित वस्तुहरू यस क्षेत्रका प्रमुख कार्गो उत्पादन गर्ने उद्योगहरू हुन्।
- केपीएलले आर्थिक वर्ष २०२५-२६ मा ४९.०८ मिलियन टन मालसामान र १,००८ वटा जहाज ह्याण्डल गरेको थियो। यसमा ७ लाखभन्दा अधिक टीईयू कन्टेनर कार्गो समावेश थियो। हालको कन्टेनर टर्मिनलको स्थापित क्षमता वार्षिक ८ लाख टीईयू रहेको छ र यसले आर्थिक वर्ष २०२५-२६ मा करिब ७ लाख टीईयू ह्याण्डल गरेको थियो, जुन करिब ८८ प्रतिशत क्षमताको उपयोग हो।
- भारतमा कन्टेनर कार्गोको आवागमन पछिल्लो पाँच वर्षमा औसत वार्षिक चक्रवृद्धि वृद्धिदर (सीएजीआर) करिब ७ प्रतिशतले बढ़ेको छ भने सोही अवधिमा केपीएलको कन्टेनर कार्गो आवागमन करिब ९.९ प्रतिशतले वृद्धि भएको छ। सम्भाव्यता अध्ययनले दक्षिण-पूर्वी क्षेत्रमा कन्टेनर कार्गो आवागमन निरन्तर बढ़्ने प्रक्षेपण गरेको छ, जसले केपीएलको क्षमता विस्तारको आवश्यकतालाई पुष्टि गर्दछ।
- यस परियोजनाको कार्यान्वयन डीबीएफओटी आधारमा ४० वर्षको कन्सेसन अवधिका लागि गरिनेछ, जसमा निर्माण अवधि ४८ महिना रहनेछ। कन्सेसन प्रदान गरिएको मितिदेखि २४ महिनाभित्र पहिलो चरणको निर्माण सम्पन्न गर्ने र २५औँ महिनादेखि व्यावसायिक सञ्चालन शुरु गर्ने लक्ष्य राखिएको छ। दोस्रो चरणको निर्माण २५औँ देखि ४८औँ महिनासम्म गरिनेछ र ४९औँ महिनादेखि पूर्ण व्यावसायिक सञ्चालन शुरु हुनेछ।
- यस परियोजनाको अनुमानित लागत जीएसटीसहित ४,२८८.२६ करोड़ रुपियाँ रहेको छ, जसमा पहिलो चरणका लागि २,४२९.३२ करोड़ रुपियाँ र दोस्रो चरणका लागि १,८५८.९४ करोड़ रुपियाँ समावेश छन्। डीबीएफओटी ढाँचाअन्तर्गत छनोट गरिएको कन्सेसनायरले यस लागतका लागि वित्त व्यवस्थापन गर्नेछ। यसका अतिरिक्त, परियोजना प्रस्तावमा उल्लेख गरिएअनुसार केपीएलले ड्रेजिङका लागि अनुमानित ४५० करोड़ रुपियाँ खर्च गर्नेछ।
- यस परियोजनालाई पारदर्शी तथा खुला विश्वव्यापी बोलपत्र प्रक्रियामार्फत कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ। कन्सेसनायरले आवश्यक वित्त व्यवस्थापन गर्नेछ र कन्सेसन सम्झौता तथा लागू शुल्क संरचनाका प्रावधानअनुसार प्रयोगकर्ता शुल्कमार्फत आफ्नो लगानी उठाउनेछ।
- यो परियोजना सामुद्रिक भारत भिजन २०३० र सामुद्रिक अमृतकाल भिजन २०४७ अनुरूप रहेको छ। यसले भारतको पूर्वी तटमा कन्टेनर प्रवेशद्वारका रूपमा केपीएलको स्थान सुदृढ़ बनाउने, सामुद्रिक ढुवानी तथा आपूर्ति शृङ्खलाको दक्षता सुधार गर्ने र निर्यात–आयात व्यापारको वृद्धिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।
कार्यान्वयन रणनीति तथा लक्ष्यहरू:
यस परियोजनाको कार्यान्वयन डीबीएफओटी मोडेलअन्तर्गत छनोट गरिएको कन्सेसनायरले गर्नेछ। ११ लाख टीईयू क्षमता भएको पहिलो चरण कन्सेसन प्रदान गरिएको मितिदेखि २४ महिनाभित्र सम्पन्न गरिनेछ र २५औँ महिनादेखि व्यावसायिक सञ्चालन शुरु हुनेछ। ९ लाख टीईयू क्षमता भएको दोस्रो चरण ४८औँ महिनासम्म सम्पन्न गरिनेछ र ४९औँ महिनादेखि पूर्ण व्यावसायिक सञ्चालन शुरु हुनेछ। परियोजना प्रस्तावमा बोलपत्र पेस गर्ने अन्तिम मितिअघि पर्यावरणीय तथा अन्य आवश्यक स्वीकृतिहरू समयमै प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ।
प्रमुख प्रभाव:
- वार्षिक २० लाख टीईयूको थप क्षमताले बढ्दो कन्टेनर कार्गो ह्याण्डल गर्ने केपीएलको क्षमता सुदृढ़ बनाउनेछ र तमिलनाडुका औद्योगिक केन्द्रहरू तथा आसपासका आन्तरिक भूभागबाट हुने निर्यात–आयात कार्गोका लागि थप प्रवेशद्वार उपलब्ध गराउनेछ।
- टर्मिनलको १८ मिटरको डिजाइन ड्राफ्ट र ठूला कन्टेनर जहाजहरू ह्याण्डल गर्न सक्ने क्षमताले अन्तरराष्ट्रिय सम्पर्क सुधार गर्ने, मुख्य समुद्री मार्गमा सञ्चालन हुने जहाजहरूलाई सीधा बन्दरगाहमा आउन सहज बनाउने तथा विदेशी गहिरो पानीका हब बन्दरगाहहरूमा निर्भरता र त्यससँग सम्बन्धित फिडर जहाज सञ्चालन खर्च घटाउने अपेक्षा गरिएको छ।
- यस परियोजनाले सामुद्रिक ढुवानी तथा आपूर्ति व्यवस्थापनको दक्षता सुधार गर्ने, व्यापार तथा उत्पादन क्षेत्रलाई सहयोग गर्ने, बन्दरगाहको राजस्व आर्जन क्षमता सुदृढ़ बनाउने र भारतको सामुद्रिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
- निर्माण अवधिमा यस परियोजनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ७५० जनाले रोजगारी पाउने र सञ्चालन चरणमा करिब ८०० जनाका लागि रोजगारीका अवसर थपिने अपेक्षा गरिएको छ।
- यस परियोजनाले घरेलु बन्दरगाहको क्षमता विस्तार तथा तमिलनाडु, कर्नाटक, आन्ध्र प्रदेश, तेलङ्गाना र आसपासका आन्तरिक भूभागका उद्योग तथा मौलिक उपकरण निर्माताहरूलाई रसदसम्बन्धी सहयोग सुधार गरेर आत्मनिर्भर भारतको उद्देश्यलाई समर्थन गर्नेछ।
- पीपीपी घटकमा आवश्यक लगानी छनोट गरिएको कन्सेसनायरले नै व्यवस्था गर्ने भएकाले भारत सरकारमाथि कुनै वित्तीय दायित्व पर्नेछैन।
पृष्ठभूमि:
- कामराजर पोर्ट लिमिटेड, जसलाई यसअघि एन्नोर पोर्ट लिमिटेडका नामले चिनिन्थ्यो, भारतका १२ प्रमुख बन्दरगाहमध्ये एक हो। यो बन्दरगाह पत्तन, पोत परिवहन तथा जलमार्ग मन्त्रालयअन्तर्गत चेन्नई पोर्ट अथोरिटीको पूर्ण स्वामित्वमा रहेको छ। तमिलनाडुको पूर्वी तटमा चेन्नईको औद्योगिक तथा आर्थिक क्षेत्रनजिक अवस्थित यस बन्दरगाहले कोइला, पेट्रोलियम, तेल तथा लुब्रिकेन्ट, एलएनजी, एलपीजी, कन्टेनर, अटोमोबाइल तथा सामान्य मालसामानलगायत विभिन्न प्रकारका कार्गो ह्याण्डल गर्छ।
- आर्थिक वर्ष २०२५-२६ मा केपीएलले करिब १,२८० करोड़ रुपियाँ राजस्व र ९२४ करोड़ रुपियाँ करअघिको नाफा (प्रोफिट बिफोर ट्याक्स) आर्जन गरेको थियो। पछिल्लो पाँच वर्षमा यस बन्दरगाहले कार्गो आवागमनमा औसत वार्षिक चक्रवृद्धि वृद्धिदर (सीएजीआर) १३.६४ प्रतिशत हासिल गरेको छ, जसले यसको आन्तरिक भूभागमा आर्थिक गतिविधि तथा व्यापार विस्तार भइरहेको प्रतिबिम्बित गर्छ।
- चेन्नई–एन्नोर क्षेत्र भारतको प्रमुख औद्योगिक तथा उत्पादन केन्द्रमध्ये एक हो। व्यापार तथा कन्टेनरीकरण विस्तार हुँदै जाँदा तमिलनाडु, दक्षिणी आन्ध्र प्रदेश र विस्तारित दक्षिणी आन्तरिक भूभागबाट हुने निर्यात–आयात कार्गोको ढुवानीलाई सहयोग गर्न थप कन्टेनर ह्याण्डलिङ क्षमता र ठूला जहाजका लागि दक्ष सुविधाहरू आवश्यक छन्।
**********
MPS/TWB