गोवा, 15 नोभेम्बर 2026
पूर्वोत्तर भारतका विविध संस्कृति, आकर्षक कथावस्तु र विशिष्ट चलचित्र निर्माण शैलीले ५७औँ भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) मा विशेष स्थान पाउने भएका छन्। यस महोत्सवको प्रतिष्ठित भारतीय पानोरमा खण्डका लागि पूर्वोत्तर क्षेत्रका चारवटा चलचित्र छनोट भएका छन्। सन् २०२६ नोभेम्बर २० देखि २८ तारिखसम्म गोवामा आयोजना हुने यस महोत्सवमा पूर्वोत्तरका दुई कथानक चलचित्र र दुई गैर-कथानक चलचित्र प्रदर्शन गरिनेछन्। यी चलचित्रमार्फत दर्शकले यस क्षेत्रको आदिवासी सांस्कृतिक विरासत, सामाजिक परिवर्तन र दैनिक जीवनका विविध पक्षबारे जानकारी पाउनेछन्।
कथानक चलचित्रतर्फ छनोट भएको ‘उरुम’ (स्पिरिट) ले आईएफएफआईको भारतीय पानोरमा खण्डमा छनोट हुने पहिलो न्यिशी भाषाको चलचित्र बनेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ। द्युयु तब्योद्वारा निर्देशित अरुणाचल प्रदेशको यस मनोवैज्ञानिक रहस्यप्रधान चलचित्रको महोत्सवमा विश्व प्रिमियरसमेत हुने तय भएको छ। अरुणाचल प्रदेशको दुर्गम पहाडी गाउँको पृष्ठभूमिमा आधारित यस चलचित्रले आफ्नी सानी छोरी गुमाएपछि विभिन्न दृश्य र अपराधबोधले सताइरहने एक पिताको कथामार्फत आदिवासी स्मृति, मानसिक आघात र लुकेका सत्यहरूलाई उजागर गरेको छ।

विश्व प्रिमियरका लागि छनोट भएको कथानक चलचित्रको सूचीमा ‘उरुम’ सँगै ‘सूर्यमुखी’ (सनफ्लावर) पनि समावेश छ। अभिनेता–निर्देशक तथा रङ्गमञ्चकर्मी अन्तरा जी.जी. चौधरीद्वारा निर्देशित यो असमिया चलचित्र सहरी परिवेशमा आधारित छ। चलचित्रमा दुई युवा सहकर्मी पुष्पल र प्रार्थनाको कथा प्रस्तुत गरिएको छ, जसको सुरुआती प्रतिस्पर्धा क्रमशः मित्रता र प्रेममा परिणत हुन्छ। तर, हराएको पैसाको एउटा झोला फेला परेपछि उनीहरू अप्रत्याशित नैतिक द्विविधामा पर्छन्। यस घटनाले उनीहरूको निर्णय र आपसी सम्बन्धको परीक्षा लिन्छ।

भारतीय पानोरमाको गैर-कथानक चलचित्र खण्डमा असम र मिजोरमका दुई भिन्न कथाहरू समेटिएका छन्। पुरस्कार विजेता चलचित्रकर्मी आइमी बरुवाद्वारा लेखन तथा निर्देशन गरिएको ३० मिनेट लामो असमिया वृत्तचित्र ‘रेड कार्पेट’ ले परम्परागत हातकरघा शिल्पकलाको चिरस्थायी विरासतको उत्सव मनाउँछ। असमको कार्बी आङ्लोङ पहाडी क्षेत्रमा आधारित यस चलचित्रले डोनकामोकाम गाउँकी एक कार्बी बुनकरको असाधारण यात्रालाई प्रस्तुत गर्छ, जसले उनलाई गाउँबाट कान्सको रेड कार्पेटसम्म पुर्याउँछ। उनको कथामार्फत वृत्तचित्रले आदिवासी शिल्पकारहरूको सङ्घर्षशीलता, कार्बी बुनाइ परम्पराको समृद्धि तथा पुर्ख्यौली शिल्पकलाको संरक्षणको महत्त्वलाई उजागर गरेको छ।

गैर-कथानक चलचित्रतर्फको अर्को छनोट ‘चलो इन्डिया विथ एरिक जी–मिजोरम’ हो, जुन राजदीप चौधरीद्वारा निर्देशित ४८ मिनेट लामो अङ्ग्रेजी वृत्तचित्र हो। यस चलचित्रमा बेलायतका पूर्व सांसद तथा इतिहासका शिक्षक एरिक ओलरेनशा ओबीईले मिजोरमको सामाजिक तथा सांस्कृतिक परिवेशको अन्वेषण गरेको यात्रा प्रस्तुत गरिएको छ। यसले राज्यको उच्च साक्षरता दर, नागरिक अनुशासन र जीवन्त फुटबल संस्कृतिको झलक प्रस्तुत गर्नुका साथै व्यापार, शिक्षा तथा सामुदायिक नेतृत्वमा मिजो महिलाहरूको महत्त्वपूर्ण योगदानलाई पनि उजागर गरेको छ।
*********
MPS/TWB