प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले कर्नाटकको बेङ्गलुरुमा १५,६०० करोड रुपियाँभन्दा अधिक मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन गरी राष्ट्रलाई समर्पित गरे, आधारशिला राखे तथा परियोजनाहरूको शुरुआत गरे


कुनै पनि राष्ट्रको विकास यात्रामा पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्छ; राम्रो सम्पर्क सञ्जालले प्रगति, रोजगारी र उद्योगका लागि नयाँ अवसरहरू सिर्जना गर्छ: प्रधानमन्त्री

जब विकासका अवसरहरू समाजका हरेक तहसम्म पुग्छन्, गरिबी विरुद्धको लडाइँ अझ सशक्त हुन्छ; यसकै प्रत्यक्ष परिणाम स्वरूप, हालैका वर्षहरूमा करिब ५० करोड नागरिकहरू चरम गरिबीबाट माथि उठेका छन्: प्रधानमन्त्री

दिल्ली-एनसीआर र मुम्बई महानगर क्षेत्रपछि बेङ्गलुरु देशको तेस्रो शहर बनेको छ जहाँ मेट्रो सञ्जालले ‘शतक' (१०० किलोमिटर वा सोभन्दा अधिकको सञ्जाल) पूरा गरेको छ: प्रधानमन्त्री

नम्मा मेट्रोको सफलता एउटा परियोजनामा मात्र सीमित छैन; यो जीवनयापनमा सहजता र यात्रामा सहजता सम्बन्धी देशको नयाँ दृष्टिकोणको सशक्त प्रतिबिम्ब हो: प्रधानमन्त्री

केही दिन अघि मात्र कर्नाटकले राज्यको पहिलो 'वन्दे भारत स्लिपर' रेल प्राप्त गरेको थियो; आज, कर्नाटकलाई गोवासँग जोड्ने अर्को 'वन्दे भारत' रेल समर्पित गरिएको छ: प्रधानमन्त्री

आज भारत चिपदेखि लिएर पानीजहाजसम्म तथा एआई र डेटा सेन्टरदेखि लिएर क्वान्टम कम्प्युटिङसम्मका उदीयमान प्रविधिहरूमा नेतृत्व हासिल गर्ने उद्देश्यका साथ अघि बढिरहेको छ: प्रधानमन्त्री

पोस्ट गरियो: 13 NOV 2026 4:17PM by PIB Gangtok

नयाँ दिल्ली: १३ नोभेम्बर २०२६:

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज कर्नाटकको बेङ्गलुरुमा १५,६०० करोड रुपियाँभन्दा अधिक मूल्यका विभिन्न विकास परियोजनाहरूको उद्घाटन गरे, राष्ट्रलाई समर्पित गरे, आधारशिला राखे तथा परियोजनाहरूको शुरुआत गरेका छन्। यस अवसरमा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कन्नड भाषामा अभिवादन व्यक्त गरे। उनले शहरकी आराध्य देवी अन्नम्मा ताई र नादाप्रभु केम्पेगोडाप्रति श्रद्धा अर्पण गर्दै आजको दिन बेङ्गलुरु र कर्नाटकको विकास यात्रालाई नयाँ गति दिने अवसर भएको बताए। यसमा सम्पर्क सञ्जाल र ऊर्जा सुरक्षासँग सम्बन्धित परियोजनाहरू सामेल छन्। "मेट्रो र रेलसँग सम्बन्धित परियोजनाहरूदेखि लिएर ऊर्जा सुरक्षाका कार्यहरूसम्म, यी सबै परियोजनाहरूले कर्नाटकको पूर्वाधारलाई नयाँ शक्ति प्रदान गर्नेछन्," श्री मोदीले जोड दिए। पूर्वाधार र मजबुत सम्पर्क सञ्जालले प्रगति, रोजगारी र उद्योगका नयाँ अवसरहरू सिर्जना गर्ने कुरामा जोड दिँदै प्रधानमन्त्रीले कर्नाटकका जनतालाई भर्खरै शुरु गरिएका परियोजनाहरूका लागि शुभकामना व्यक्त गरे। उनले भने, "यी परियोजनाहरूले 'विकसित कर्नाटक' को माध्यमद्वारा 'विकसित भारत' निर्माणको अभियानलाई नयाँ गति दिनेछन् र साथै 'टेक सिटी' (प्रविधि शहर) को रूपमा बेङ्गलुरुको पहिचानलाई अझ बलियो बनाउनेछन्।"

केही समयअघि बेङ्गलुरु मेट्रोको नयाँ पिङ्क लाइनको उद्घाटन गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले बताए अनुसार यो करिडोरले आईआईएम बेङ्गलुरु, विभिन्न शैक्षिक संस्थाहरू तथा शहरभरि रहेका प्रमुख व्यापारिक, प्राविधिक र व्यावसायिक केन्द्रहरूसम्मको पहुँचमा उल्लेखनीय सुधार ल्याउनेछ। प्रधानमन्त्री मोदीले भने, "यसबाट बेङ्गलुरुका लाखौं मानिसहरूलाई आवतजावतमा सहजता मात्र हुनेछैन, तर उनीहरूको समय र पैसाको पनि बचत हुनेछ।"

यस क्षेत्रसँग गहिरो आत्मीय सम्बन्ध राख्ने स्वर्गीय अनन्त कुमारको हिजो 'पुण्य तिथि' (स्मृति दिवस) परेको कुरा स्मरण गर्दै प्रधानमन्त्रीले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे। प्रधानमन्त्री मोदीले भने, "आज यो मेट्रो लाइन देख्दा उनको आत्मा पनि पक्कै खुशी भएको हुनुपर्छ।"

बेङ्गलुरुलाई भारतको सिलिकन भेल्लीको रूपमा वर्णन गर्दै—जसले देशको कुल आईटी निर्यातको एक तिहाइभन्दा अधिक योगदान पुर्‍याउँछ र नवप्रवर्तन तथा आर्थिक वृद्धिको मुख्य चालकको रूपमा काम गर्छ—प्रधानमन्त्रीले भने, “केन्द्र सरकारले बेङ्गलुरु क्षेत्रको तीव्र विकासलाई प्राथमिकता दिएको छ।’’ उनले बताए अनुसार सन् २०१४ मा १७ किलोमिटर मात्र रहेको नम्मा मेट्रोलाई विस्तार गरेर आज १०० किलोमिटरभन्दा बढी पुर्‍याइएको छ। यससँगै, दिल्ली-एनसीआर र मुम्बई महानगर क्षेत्रपछि १०० किलोमिटर मेट्रो सञ्जालको कोसेढुङ्गा पार गर्ने बेङ्गलुरु भारतको तेस्रो शहर बनेको छ। प्रधानमन्त्री मोदीले जोड दिँदै भने, "नम्मा मेट्रोको यो सफलता जीवनयापनमा सहजता र यात्रामा सहजता सम्बन्धी देशको नयाँ सोचको परिणाम हो, साथै यो मध्यमवर्गीय परिवारहरूको जीवनस्तर सुधार्ने देशको प्रतिबद्धताको नतिजा पनि हो।"

भारतीय रेलले औपनिवेशिक युगको मानसिकता त्यागेर एउटा नयाँ विरासत निर्माण गरिरहेको बताउँदै प्रधानमन्त्रीले 'वन्दे भारत' रेल र 'अमृत भारत' स्टेशनहरूमार्फत भारतीय पहिचान झल्काउने प्रयास भइरहेको उल्लेख गरे। यस अन्तर्गत कर्नाटकका ६० भन्दा बढी स्टेशनहरू (जसमा चामराजनगर, चिक्कमगलुरु, सकलेशपुर र सुब्रह्मण्य रोड समावेश छन्) पर्दछन्। प्रधानमन्त्रीले यी स्टेशनहरूले आधुनिकता र संवेदनशीलताको सन्तुलन मिलाउँदै ज्येष्ठ नागरिक तथा दिव्याङ्गजनका लागि विशेष सुविधाहरू उपलब्ध गराएको कुरामा जोड दिए। प्रधानमन्त्री मोदीले भने, "पहिले विमानस्थलहरूमा मात्र पाइने सुविधा अहिले रेल स्टेशनहरूमा पनि गरिब तथा मध्यमवर्गीय परिवारहरूका लागि उपलब्ध गराउने प्रयास भइरहेको छ।"

पछिल्ला १० देखि १२ वर्षमा भारतको रेल बजेट धेरै गुणा बढेको र कर्नाटकका लागि छुट्याइएको बजेटमा नौ गुणा वृद्धि भएको कुरा औंल्याउँदै प्रधानमन्त्रीले जानकारी दिए अनुसार आज कर्नाटकले चार अमृत स्टेशन र दुईवटा रेलमार्ग दोहोरोकरण तथा विद्युतीकरण परियोजनाहरू प्राप्त गरेको छ। साथै, पहिलो 'वन्दे भारत स्लिपर' रेल पाएको केही दिनमै कर्नाटकलाई गोवा जोड्ने अर्को नयाँ 'वन्दे भारत' रेल पनि प्राप्त भएको छ। श्री मोदीले भने, "यस रेलमार्फत मेङ्गलुरु लगायत कर्नाटकको सम्पूर्ण तटीय क्षेत्रका यात्रुहरूले 'सेमी-हाई-स्पीड' (अर्ध-तीव्र गतिको) रेलको नयाँ अनुभव लिन पाउनेछन्।"

इरान र खाडी क्षेत्रमा चलिरहेको द्वन्द्वले ऊर्जा सुरक्षाको महत्त्वलाई प्रस्ट पारेको बताउँदै प्रधानमन्त्रीले भने, पछिल्लो एक दशकमा चालिएका कदमहरूका कारण भारतले यो चुनौतीपूर्ण समयलाई सफलतापूर्वक पार गर्न सकेको छ। यी कदमहरूमा पेट्रोल, डिजेल र एलपीजीको उत्पादन विस्तार, कच्चा तेलको भण्डारण क्षमता वृद्धि, सौर्य, जल तथा वायु ऊर्जाको विकास, रेलमार्गको लगभग पूर्ण विद्युतीकरण र मेट्रो सञ्जालको विस्तार सामेल छन्। उनले कर्नाटकका तीन नयाँ परियोजनाहरूबारे पनि विस्तृत जानकारी दिए: ८०,००० मेट्रिक टन भण्डारण क्षमता थप्ने 'मेङ्गलुरु एलपीजी परियोजना', पेट्रोल, डिजेल र हवाई इन्धनको आपूर्तिलाई सहज बनाउने 'देवानगोन्थी मार्केटिङ टर्मिनल', र दैनिक १३ टन बायोग्यास उत्पादन गर्ने 'बेङ्गलुरु सीबीजी प्लान्ट'। प्रधानमन्त्री मोदीले भने, "यसले फोहोर व्यवस्थापनमा सुधार ल्याउनेछ र प्राकृतिक ग्यास आयातमा खर्च हुने रकमको पनि बचत हुनेछ।" चिप्सदेखि लिएर जहाजसम्म र एआई तथा डेटा सेन्टरदेखि लिएर क्वान्टम कम्प्युटिङसम्मका नयाँ प्रविधिहरूमा विश्वव्यापी नेतृत्व हासिल गर्ने भारतको प्रयासमा भरपर्दो विद्युत उत्पादन अपरिहार्य रहेको कुरामा जोड दिँदै प्रधानमन्त्रीले स्वच्छ ऊर्जाका लक्ष्यहरू प्राप्त गर्न देशले आफ्ना परमाणु ऊर्जा केन्द्रहरूको विस्तार गरिरहेको बताए। "आज भारतको नवीकरणीय ऊर्जा क्षमता ३०० गिगावाटभन्दा बढी पुगेको छ," प्रधानमन्त्री मोदीले भने।

केन्द्रीय योजनाहरूले भारतीय नागरिकहरूलाई विद्युत उपभोक्ताबाट विद्युत उत्पादकमा रूपान्तरण गरिरहेको कुरा औंल्याउँदै प्रधानमन्त्रीले जानकारी दिए अनुसार'पीएम सूर्य घर मुफ्त बिजुली योजना' अन्तर्गत देशभरका ६० लाखभन्दा अधिक परिवारहरूले — जसमा कर्नाटकका ४०,००० भन्दा अधिक परिवारहरू सामेल छन् — आफ्नो घरको छतमा सोलार प्लान्ट जडान गरेका छन्। यसका लागि उनीहरूलाई प्रति परिवार करिब ८०,००० रुपियाँको केन्द्रीय सहयोग उपलब्ध गराइएको छ। साथै, कर्नाटकका किसानहरूका लागि 'पीएम कुसुम योजना' को माध्यमद्वारा ८ लाखभन्दा अधिक सोलार पम्पहरू जडान गरी सिँचाइको व्यवस्था मिलाइएको छ, जसले विद्युत खर्च घटाउनुका साथै नयाँ आम्दानी र रोजगारीका अवसरहरू सिर्जना गरिरहेको छ। "यसको अर्थ, कर्नाटकका 'अन्नदाता' (किसानहरू) अब 'ऊर्जादाता' पनि बन्दैछन्," प्रधानमन्त्री मोदीले भने।

सन् २०१४ पछि 'सबका साथ, सबका विकास' को सङ्कल्पका साथ राष्ट्रिय स्तरमा गरिएको उद्देश्यमूलक कार्यान्वयन, जनसहभागिता र करदाताको पैसाको उचित उपयोगले मध्यम वर्गको विस्तार गरेको छ। यसले एउटा यस्तो नयाँ 'आकांक्षी वर्ग' जन्माएको छ, जसले घरेलु उपकरणहरू, दुईचक्के सवारी साधन, गुणस्तरीय शिक्षा, पोषण, स्वास्थ्य सेवा र पर्यटनजस्ता सुविधाहरूको खोजी गरिरहेको छ। प्रधानमन्त्रीले औंल्याए अनुसारयी बढ्दो आकांक्षाहरूले अटोमोबाइल, इलेक्ट्रोनिक्स, पर्यटन र सेवा क्षेत्रमा नयाँ औद्योगिक तथा रोजगारी वृद्धिलाई अघि बढाइरहेका छन्, जसले गर्दा यो 'नयाँ मध्यम वर्ग' भारतको आर्थिक विकासको एक प्रमुख चालक शक्ति बनेको छ। "कर्नाटक र विशेष गरी बेङ्गलुरुमा ठूलो सङ्ख्यामा रहेका यो 'नयाँ मध्यम वर्ग' को हितलाई केन्द्र सरकारले आफ्ना प्राथमिकताहरूमा राखेको छ," प्रधानमन्त्री मोदीले स्पष्ट पारे।

केन्द्र सरकारले मध्यम वर्गको बचत बढाउन र उनीहरूको हातमा खर्चयोग्य आम्दानी बढाउन निरन्तर काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले विभिन्न उपायहरूको चर्चा गरे। यसमा १२ लाख रुपियाँसम्मको वार्षिक आम्दानीलाई आयकरबाट मुक्त गर्नु, ज्येष्ठ नागरिक र घर भाडाबाट आम्दानी गर्नेहरूलाई फाइदा पुग्ने गरी टीडीएस नियमहरूमा संशोधन गर्नु र जीएसटीमा गरिएको सुधारको माध्यमद्वारा दैनिक उपभोग्य वस्तुहरूको लागत घटाउनु जस्ता कदमहरू समावेश छन्। “व्यक्तिगत स्वास्थ्य तथा जीवन बीमामा लाग्ने जीएसटी हटाएर हामीले बीमालाई अझ किफायती बनाएका छौं,” प्रधानमन्त्री मोदीले उल्लेख गरे।

कर्नाटकमा आज शुरु गरिएका परियोजनाहरूले राष्ट्रको विकास यात्रालाई अझ तीव्र बनाउने कुरा बताउँदै र त्यहाँका जनतालाई शुभकामना दिँदै आफ्नो सम्बोधन टुङ्ग्याउने क्रममा प्रधानमन्त्रीले मध्यमवर्गीय परिवारहरूलाई सशक्त बनाउने सरकारको प्रतिबद्धतामा जोड दिए। “हाम्रो प्रयास के छ भने मध्यम वर्गको बचत बढोस्, उनीहरूको क्रयशक्ति बलियो होस् र उनीहरूले आफ्ना परिवारका सपनाहरू पूरा गर्नुका साथै देशको आर्थिक प्रगतिमा पनि साझेदार बन्न सकून्,” श्री मोदीले भने।

*******

MPS/TWB


(रिलिज आईडी: 2336907) आगन्तुक काउन्टर : 4