पोस्ट गरियो:
13 NOV 2026 2:01PM by PIB Gangtok
नयाँ दिल्ली, १३ नोभेम्बर २०२६:
प्रधानमन्त्री श्री नरेन्द्र मोदी आज कर्नाटकको बेङ्गलुरूस्थित प्रशान्ति कुटीरमको स्वर्ण जयन्ती समारोहमा सहभागी हुनुभयो। यस अवसरमा उपस्थित समूहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सबैलाई कन्नड भाषामा अभिवादन गर्नुभयो र बेङ्गलुरूमा योगको अद्भूत ऊर्जा अनुभव गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो। कर्नाटक शताब्दीयौँदेखि योगको केन्द्र र यस परम्परालाई समृद्ध बनाउने कैयौँ आचार्य तथा विद्वानहरूको जन्मभूमि रहेको उल्लेख गर्दै वहाँले कन्नड सिनेमाका महानायक डा.. राजकुमारको योगदानको पनि स्मरण गर्नुभयो। “यहाँ यस्ता योग साधकहरू पनि हुनुहुन्छ, जसले कला जगतका साथै योगको पनि सेवा गर्नुभयो,” श्री मोदीले भन्नुभयो।
कर्नाटकको समृद्ध विरासतमाझ प्रशान्ति कुटीरमको ५० वर्षीय यात्रालाई प्रत्येक नागरिकले जान्नुपर्ने सेवा र समर्पणको अभूतपूर्व गाथाको रूपमा वर्णन गर्दै प्रधानमन्त्रीले एउटा सामान्य केन्द्रबाट विशाल आन्दोलनमा रूपान्तरण भएको यसको यात्रामाथि प्रकाश पार्नुभयो। “एउटा सामान्य योग केन्द्र कसरी यति विशाल आन्दोलनमा रूपान्तरण भयो भन्ने कुरा आफैमा एउटा प्रेरणा हो,” प्रधानमन्त्री मोदीले भन्नुभयो।
उक्त ऐतिहासिक समारोहको अवसरमा परिसरमा धेरैवटा नयाँ सुविधाहरूको उद्घाटन भएको उल्लेख गर्दै प्रधानमन्त्रीले एस-व्यासा परिवारलाई उनीहरूका निरन्तर पहलहरूका लागि शुभकामना दिनुभयो। “स्वर्ण जयन्तीको अवसरमा म यहाँहरू सबैलाई र प्रशान्ति कुटीरमसँग आबद्ध लाखौँ साधकहरूलाई बधाई दिँदछु,” श्री मोदीले भन्नुभयो।
यस वर्ष प्रशान्ति कुटीरमको स्वर्ण जयन्तीसँगै परेको एच. भी. शेषाद्रीको जन्म शताब्दीमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शेषाद्री जीले चरित्र निर्माणद्वारा राष्ट्र निर्माणको अभियानमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएको प्रधानमन्त्रीले बताउनुभयो। देशलाई सफलताको शिखरमा पुर्याउन समर्पित, सक्षम र अनुशासित नागरिकहरूको आवश्यकता पर्छ भन्ने कुरालाई वहाँले आत्मसात गर्नुभएको थियो भनी प्रधानमन्त्रीले बताउनुभयो।
अरूलाई माथि उठाउन, मानिसहरूलाई एकवद्ध गर्न र राष्ट्र सेवाका लागि तयार गर्न पर्दा पछाड़ि नै रहने एच.भी. शेषाद्रीको सरलता, प्रभावशाली व्यक्तित्व, व्यापक अनुभव र गहिरो विनम्रताको स्मरण गर्दै प्रधानमन्त्रीले शेषाद्री जीले प्रायः उद्धृत गर्ने एउटा उदाहरण साझा गर्नुभयो, जसमा आफ्नो सन्तानको निस्वार्थ पालन पोषण र सेवाका लागि रातभरि जागै रहने आमाबाट सिक्नुपर्ने कुरा उल्लेख छ। “यदि हामीले यो भावनालाई समाजका लागि विस्तार गर्यौँ भने समाजको कति ठूलो भलो हुनेछ,” श्री मोदीले भन्नुभयो।
एच. भी. शेषाद्रीले आमाको जस्तै पवित्रता र निस्वार्थ भावनाका साथ समाजको सेवा गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्रीले शेषाद्री जीको स्नेह र मार्गदर्शन निरन्तर प्राप्त गर्नु आफ्नो सौभाग्य रहेको बताउनुभयो। “वहाँसँग बिताएका समयका सम्झनाहरू र वहाँका शब्दहरू आज पनि मेरा लागि अत्यन्तै अमूल्य छन्,” प्रधानमन्त्री मोदीले भन्नुभयो।
एच. भी. शेषाद्रीको अर्को अविस्मरणीय शिक्षा, जब कसैले समाजलाई दुवै हातले दिन्छ, तब समाजले लाखौँ हातले फिर्ता दिन्छ भन्ने कुराको स्मरण गर्दै प्रधानमन्त्रीले यो सत्य आफ्नो जीवनमा पटक -पटक फलदायी भएको देखेको बताउनुभयो। “जनताको सेवा गरिरहँदा मलाई सधैँ वहाँहरूको आशिर्वाद प्राप्त भएको छ, र यो मेरो जीवनको एउटा धेरै ठूलो पुँञ्जी हो,” श्री मोदीले भन्नुभयो।
एच. भी. शेषाद्रीको परिवारमा निस्वार्थ सेवाको यही भावना स्पष्ट देखिने कुरा औँल्याउँदै प्रधानमन्त्रीले आफ्नो समर्पित कार्यमार्फत वहाँको अभियानलाई अघि बढ़ाउनुभएकोमा डा. एच. आर. नागेन्द्र र डा. आर. नागरत्नाको प्रशंसा गर्नुभयो। “म वहाँहरूको प्रत्येक प्रयासको पनि सराहना गर्दछु, र वहाँहरूलाई अभिनन्दन गर्दछु,” प्रधानमन्त्री मोदीले भन्नुभयो।
भारत औपनिवेशिक शासनको साङ्लोमा बाँधिएको र लाखौँ स्वतन्त्रता सेनानीहरूले स्वाधीनताकालागि सङ्घर्ष गरिरहेको युगको स्मरण गर्दै प्रधानमन्त्रीले राष्ट्रको आध्यात्मिक चेतना जागृत गर्न स्वामी विवेकानन्द जस्ता राष्ट्रिय ऋषिहरूले निर्वाह गर्नुभएको समानान्तर भूमिकामाथि प्रकाश पार्नुभयो। “वहाँले भारतका युवाहरूलाई योगको मार्ग देखाउनुभयो,” श्री मोदीले भन्नुभयो।
स्वामी विवेकानन्द जस्ता ऋषिहरूको प्रेरणाले प्रशान्ति कुटीरम र एस-व्यासा जस्ता संस्थानहरूलाई जन्म दिएको बताउँदै प्रधानमन्त्रीले यी संस्थानहरूले जनसाधारणलाई योगसँग जोड़नेमात्र नभएर आधुनिक वैज्ञानिक अनुसन्धान गरेको, विश्वभरि सेवा पुर्याइरहेका साधक, शिक्षक, चिकित्सक तथा दार्शनिकहरूलाई प्रशिक्षित गरेको र योग, आयुर्वेद, प्राकृतिक चिकित्सा तथा आधुनिक चिकित्सा पद्धतिलाई एकीकृत गरी समग्र स्वास्थ्य प्रणाली निर्माण गरेको उल्लेख गर्नुभयो। वहाँले तनाव र जीवनशैलीजन्य रोगहरूमा उनीहरूले गरेको अनुसन्धानको प्रशंसा गर्दै भन्नुभयो, “यस दिशामा गरिएको अनुसन्धान कार्यले सम्पूर्ण विश्वको सेवा गरेको छ, र यी प्रयासहरूका लागि म प्रशान्ति कुटीरमको सराहना गर्दछु।”
वितेका १२ वर्षमा भारतले आफ्नो संस्कृति, पहिचान र वैज्ञानिक विरासतलाई पूर्ण आत्मविश्वासका साथ विश्वअघि प्रस्तुत गरेको कुरामा जोड़ दिँदै प्रधानमन्त्रीले यसैको परिणामस्वरूप अस्ट्रेलिया, अफ्रिका र अमेरिकाभरि करोड़ौँको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिएको तथा विश्वभरिका विद्यालय, संस्थान र कार्यस्थलहरूमा योगले प्रवेश पाएको बताउनुभयो। वहाँले साउदी अरेबियाले योगलाई खेलकुद गतिविधिको रूपमा मान्यता दिएको र त्यहाँको खेलकुद मन्त्रालयले भारतको आयुष मन्त्रालयसँग सम्झौतामा हस्ताक्षर गरेको कुरा पनि उल्लेख गर्नुभयो। “विदेशी नागरिकहरूले योगको प्रवर्द्धन गरिरहेका उदाहरणहरू निरन्तर अघि आइरहेका छन्, र देशले पनि उनीहरूलाई पद्मश्रीद्वारा सम्मानित गरेर उनीहरूको गौरव बढ़ाइरहेको छ,” श्री मोदीले भन्नुभयो।
योगप्रतिको बढ्दो विश्वव्यापी लोकप्रियताले भारतप्रति जिज्ञासा जगाउने र यसको संस्कृति तथा परम्परागत ज्ञानप्रति आकर्षण बढ़ाउने, साथै सामूहिक प्रयासबाट विश्वव्यापी सम्बन्धका नयाँ ढोकाहरू खोल्ने कुरा औँल्याउँदै प्रधानमन्त्रीले आयुर्वेदको समानान्तर अन्तर्राष्ट्रिय विस्तारमाथि पनि प्रकाश पार्नुभयो।“विश्वका विभिन्न देशहरूमा १५० भन्दा अधिक आयुर्वेद प्रशिक्षण पाठ्यक्रमहरूले मान्यता पाएका छन्, र आयुर्वेदको विस्तारमा सहकार्यका लागि विश्वका २८ देशहरूसँग सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ,” प्रधानमन्त्री मोदीले उल्लेख गर्नुभयो।
योग र आयुर्वेदको लाभ प्रत्येक नागरिकसम्म पुगोस् भनेर सरकारले योगको प्रवर्द्धनसँगै धेरैवटा नियमहरूमा संशोधन गरेको बताउँदै प्रधानमन्त्रीले भारतमा योगासनलाई प्रतिस्पर्धात्मक खेलको रूपमा मान्यता दिइएको र खेलो इन्डिया तथा राष्ट्रिय खेलकुदमा विशेष स्थान दिइएको उल्लेख गर्नुभयो। “यो परिवर्तन भारतका लागि अत्यन्तै महत्त्वपूर्ण छ, किनकि यसले योगसँग जोडिएका व्यक्तिहरूका लागि प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमा सहभागी हुने मार्ग पनि खोलिदिएको छ,” श्री मोदीले भन्नुभयो।
छुट्टै आयुष मन्त्रालयको स्थापना तथा आयुर्वेदिक अनुसन्धान र पेटेन्टहरूलाई प्रदान गरिएको सहयोगमार्फत सरकारले आयुर्वेदको निरन्तर प्रवर्द्धन गरिरहेको विस्तृत विवरण दिँदै प्रधानमन्त्रीले यसले आयुष अर्थतन्त्रलाई लाखौँ करोड़ रूपियाँको उँचाइमा पुर्याउनका साथै वनस्पतिजन्य उत्पादनको निर्यात बढ़ाएको र पुस्तौँदेखि घर-घरमा प्रयोग हुँदै आएको भारतीय हर्दीको विश्वव्यापी मागसमेत वृद्धि गरेको बताउनुभयो। हर्दीको निर्यात बढ़ाउन चालिएका संस्थागत कदमहरूमाथि प्रकाश पार्दै प्रधानमन्त्री मोदीले बताउनुभयो, “हर्दीको उत्पादन, गुणस्तर र निर्यातलाई नयाँ शक्ति प्रदान गर्न हामीले राष्ट्रिय हर्दी बोर्ड पनि गठन गरेका छौँ।” प्रधानमन्त्रीले भन्नुभयो।
भारतको प्राचीन विज्ञान र आधुनिक अनुसन्धानका लाभहरू मानवतासँग साझा गर्नुका साथै युवाहरूका लागि अवसर सिर्जना गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिँदै प्रधानमन्त्रीले विदेशी चिकित्सा पर्यटकहरूको यात्रालाई सहज बनाउन 'ई-आयुष भिसा' सुविधा शुरू गरिएको र जामनगरमा 'डब्लुएचओ ग्लोबल ट्रेडिसनल मेडिसिन सेन्टर' स्थापना गरिएको उल्लेख गर्नुभयो। “यसको माध्यमबाट परम्परागत चिकित्सा पद्धतिमा अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गरिँदैछ,” श्री मोदीले भन्नुभयो।
विश्व बैंकको हालैको प्रतिवेदनले १२ देखि १३ वर्षमा लगभग ५० करोड़ भारतीयहरू चरम गरीबीबाट मुक्त भएको देखाएको र यसबाट ऊर्जावान् बनेर १४० करोड़ नागरिकहरू 'विकसित भारत' निर्माणतर्फ अघि बढ़ीरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रशान्ति कुटीरमको सहयोगमा परिवारहरूका निम्ति योगमार्फत स्वास्थ्यलाई प्राथमिकता दिने नयाँ मार्ग खोलिएको बताउनुभयो। प्रधानमन्त्रीले संस्थानलाई नयाँ लक्ष्यहरूको मार्गचित्र तयार गर्न आग्रह गर्नुभयो। “प्रशान्ति कुटीरमले पनि त्यहाँको युवा ऊर्जाको लाभ प्राप्त गर्नेछ साथै देशले पनि प्राप्त गर्नेछ,” प्रधानमन्त्री मोदीले भन्नुभयो।
******
MPS/TWB