प्रधानमन्त्रीको कार्यालय
azadi ka amrit mahotsav

“मन की बात” को 122 औं शृङ्खलामा प्रधानमन्त्रीको सम्बोधनको मूलपाठ (25.05.2025)


Posted On: 25 MAY 2025 11:38AM by PIB Gangtok

मेरा प्यारा देशवासीहरू, नमस्कार। आज सम्पूर्ण देश आतङ्कवाद विरुद्ध एकजुट छ, आक्रोशले भरिएको छ, सङ्कल्पबद्ध छ। आज हरेक भारतीयको यही सङ्कल्प छ, हामीले आतङ्कवादलाई समाप्त गर्नैपर्नेछ। साथीहरू, “अपरेशन सिन्दूर”का समय, हाम्रा सेनाहरूले जुन पराक्रम देखाए, त्यसले हरेक हिन्दुस्तानीको शिर उच्च गरिदिएको छ। जुन सुस्पष्टताका साथ, जुन सटीकताका साथ, हाम्रा सेनाहरूले सीमापारीको आतङ्कवादी ठेगानाहरूलाई ध्वस्त गरे, त्यो अद्भूत छ। अपरेशन सिन्दूरले विश्वभरी आतङ्कका विरुद्ध लडाईलाई नयाँ विश्वास अनि उत्साह दिएको छ।

साथीहरू, अपरेशन सिन्दूर एउटा सैन्य मिशन मात्र होइन, यो हाम्रो सङ्कल्प, साहस अनि बद्लिँदो भारतको तस्वीर हो र यस तस्वीरले सम्पूर्ण देशलाई देशभक्तिको भावले भरिदिएको छ, तिरङ्गामा रङ दिएको छ। तपाईंहरूले देख्नुभयो होला, देशका कैयौं शहरमा, गाउँहरूमा, स-साना कस्बाहरूमा तिरङ्गा यात्रा निकालिए। हजारौं मानिस हातमा तिरङ्गा लिएर देशको सेना, उसका प्रति वन्दन-अभिनन्दन गर्न निक्लिए। कतिपय शहरमा नागरिक सुरक्षा स्वयंसेवी बन्नका लागि  धेरै ठूलो सङ्ख्यामा युवाहरू एकजुट भए, र हामीले देख्यौं, चण्डीगढको भिडियो धेरै भाइरल भएको थियो। सोशल मिडियामा कविताहरू लेखिँदै थियो, सङ्कल्प गीत गाइँदै थियो। स-साना बच्चाले चित्र बनाइरहेका थिए, जसमा ठूलो सन्देश लुकेको थियो। म तीन दिनअघि बीकानेर गएको थिए। त्यहाँ बच्चाहरूले मलाई यस्तै एउटा चित्र उपहार दिए। अपरेशन सिन्दूरले देशका मानिसहरूलाई कतिसम्म प्रभावित गरेको छ भने कैयौं  परिवारले यसलाई आफ्नो जीवनको हिस्सा बनाएका छन्। बिहारको कटिहारमा, युपीको कुशीनगरमा, अनि अन्य कैयौं शहरमा, त्यस समय जन्मिएका बच्चाहरूको नाम सिन्दूर राखिएको छ।

साथीहरू, हाम्रा जवानहरूले आतङ्कका अड्डाहरूलाई ध्वस्त गरे, यो उनीहरूको अदम्य साहस थियो र त्यसमा सामेल थियो भारतमा बनेका हतियार, उपकरण अनि तकनिकीको तागत। त्यसमा आत्मनिर्भर भारतको सङ्कल्प पनि थियो। हाम्रा  ईञ्जिनियर, हाम्रा टेक्निसियन हरेकको पसीना यस विजयमा सामेल छ। यस अभियानपछि सम्पूर्ण देशमा भोकल फर लोकरलाई लिएर एउटा नयाँ ऊर्जा देखिँदैछ। कैयौं कुराले मनलाई छुने गर्दछ। एकजना आमा-बुबाले भने, “अब हामी आप्नो बच्चाहरूलाई केवल भारतमा बनेका खेलौना किन्नेछौं। देशभक्तिको शुरुवात बाल्यकालदेखि नै हुन्छ।” केही परिवारले शपथ लिएका छन्, “हामी आफ्नो आउँदो छुट्टी देशको कुनै सुन्दर ठाउँहरूमै बिताउनेछौं।” कैयौं युवाले “वेड इन इण्डिया”को सङ्कल्प लिएका छन्, उनीहरूले देशमै विवाह गर्नेछन्। कसैले यसो पनि भनेका छन्, “अब हामी जुनै पनि उपहार दिनेछौं, त्यो कुनै भारतीय शिल्पकारको हातले बनिएको हुनेछ।”

साथीहरू, यही त हो भारतको असली तागत।, जनमनको जुटाऊ, जन भागीदारी। म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु, आउनुहोस्, यस अवसरमा एउटा सङ्कल्प गरौं – हामी आफ्नो जीवनमा जहाँ पनि सम्भव हुनेछ, देशमै बनेका वस्तुहरूलाई प्राथमिकता दिनेछौं। यो आर्थिक आत्मनिर्भरताको मात्र कुरा होइन, यो राष्ट्र निर्माणमा भागीदारीको भाव हो। हाम्रो एक कदम, बारतको प्रगतिमा धेरै ठूलो योगदान बन्नसक्दछ।

साथीहरू, बसबाट कतै आउनु-जानु कति सामान्य कुरा हो। तर म तपाईंहरूलाई एउटा यस्तो गाउँका बारेमा बताउन चाहन्छु, जहाँ पहिलोपटक एउटा बस पुगेको छ। यस दिनका लागि त्यहाँका मानिसहरूले वर्षौंदेखि प्रतीक्षा गरिरहेका थिए। र जब गाउँमा पहिलोपटक बस पुग्यो, तब मानिसहरूले ढोल-नगाडा बजाएर त्यसको स्वागत गरे। बसलाई देखेर मानिसहरूको खुशीको कुनै ठेगाना थिएन। गाउँमा पक्की सडक थियो, मानिसहरूलाई आवश्यक थियो, तर पहिले कहिले पनि यहाँ बस गुड्न सकेको थिएन। किन, किनभने यो गाउँ माओवादी हिंसाबाट प्रभावित थियो। यो ठाउँ छ महाराष्ट्रको गढचिरौली जिल्लामा, र यस गाउँको नाम हो काटेझरी। काटेझरीमा आएको यस परिवर्तनलाई वरिपरीका सम्पूर्ण क्षेत्रमा महसुस गरिँदैछ। अब यहाँ स्थिति तेजीका साथ सामान्य भइरहेको छ। माओवाद विरुद्ध सामूहिक लडाईले अब यस्ता क्षेत्रहरूसम्म बुनियादी सुविधा पुग्न थालेको छ। गाउँका मानिसहरूको भनाई छ, बस आएपछि उनीहरूको जीवन धेरै सजिलो हुनेछ।

साथीहरू, मन की बातमा हामीले छत्तीसगढमा भएको बस्तर ओलम्पिक्स र माओवाद प्रभावित क्षेत्रमा विज्ञान प्रयोगशालामाथि चर्चा गरिसकेका छौं। यहाँका बच्चाहरूमा विज्ञानको उत्साह छ| उनीहरूले खेलकूदमा पनि असाधारण काम गरिरहेका छन्। यस्तै प्रयासबाट थाहा लाग्छ, यस्ता इलाकाहरूमा बसोबासो गर्ने मानिसहरू कति साहसी हुन्छन्। यी मानिसहरूले अनेकौं चुनौतीका बीच आफ्नो जीवनलाई उत्तम बनाउने बाटो रोजेका छन्। मलाई के कुरामा धेरै खुशी लागेको छ भने 10 औं अनि 12 औं को परीक्षामा दन्तेवाडा जिल्लाको परिणाम धेरै शानदार आएको छ। करिब पन्चानब्बे प्रतिशत परिणामका साथ यो जिल्ला दसौंको परिणाममा शीर्षमा आएको छ। अर्कातिर, 12 औं को परीक्षामा पनि यस जिल्लाले छत्तीसगढमा छैटौं स्थान हासिल गरेको छ। सोच्नुहोस्! जुन दन्तेवाडामा कुनै समय माओवाद चरममा थियो, त्यहाँ आज शिक्षाको परचम लहराई रहेको छ। यस्तो परिवर्तनले हामी सबैलाई गर्वले भरिदिने गर्दछ।

मेरा प्यारा देशवासीहरू, अब म सिंहसित जोडिएको एउटा ठूलो खबर तपाईंहरूलाई बताउन चाहन्छु। बितेको केवल पाँच वर्षमा गुजरातको गिरमा सिंहको सङ्ख्या 674 बाट बढेर 891 पुगेको छ। छ सय चौहत्तरबाट आठ सय एकानब्बे! सिंहको गणनापछि आएको सिंहहरूको यो सङ्ख्या धेरै उत्साहित गर्ने प्रकारको छ। साथीहरू, तपाईंहरूमध्ये धेरैले जान्न चाहनुहुन्छ होला, आखिर यो पशु गणना कस्तो हुन्छ? यो अभ्यास अति नै चुनौतीपूर्ण हुन्छ। तपाईंहरूलाई आश्चर्य लाग्नेछ कि सिंहको गणना 11 जिल्लामा, 35 हजार वर्ग किलोमिटर क्षेत्रफलमा गरिएको थियो।  गणनाकाागि टीमहरूले राउण्ड दी क्लक अर्थात् चौबीसै घण्टा यी क्षेत्रहरूमा निगरानी गरे। यस सम्पूर्ण अभियानमा जाँच अनि छड्के जाँच दुवै गरियो। यसद्वारा मिहिन तरिकाले सिंहहरूको गन्तीको काम पूरा हुनसक्यो।

साथीहरू, एशियाली सिंहको सङ्ख्यामा बढोत्तरीले के देखाउँछ भने जब समाजमा स्वामित्त्वको भाव प्रबल हुन्छ, तब कस्तो शानदार परिणाम आउँदछ। केही दसकअघि गिरको स्थिति अति नै चुनौतीपूर्ण थियो। तर त्यहाँका मानिसहरूले मिलेर परिवर्तन ल्याउने बिँडो उठाए। त्यहाँ नवीनतम प्रविधि साथमा वैश्विक सर्वोत्तम कार्यअभ्यास पनि अपनाइयो। यसैबीच गुजरात यस्तो पहिलो राज्य बन्यो, जहाँ व्यापक सङ्ख्यामा वन अधिकारीको पदमा महिलाहरूलाई तैनाथ गरियो। आज हामीले जुन परिणाम देखिरहेका छौं, त्यसमा उनीहरू सबैको योगदान छ। वन्यप्राणी संरक्षणका लागि हामीले यसरी नै सधैं जागरूक अनि सतर्क रहनुपर्नेछ।

मेरा प्यारा देशवासीहरू, दुई दिनअघि नै म पहिलो “राइजिङ नर्थईस्ट समिट”मा गएको थिए। त्यसअघि हामीले नर्थईस्टको सामर्थ्यलाई समर्पित “अष्टलक्ष्मी महोत्सव” पनि मनाएका थियौं। नर्थईस्टको कुरा केही फरक छ, त्यहाँको सामर्थ्य, त्यहाँको प्रतिभा साँच्चै नै अद्भूत छ। मलाई एउटा रोचक कुरा थाहा लागेको छ क्राफ्टेड फाइबर बारे। क्राफ्टेड फाइबर यो एउटा ब्राण्ड  मात्र नभएर, सिक्किमको परम्परा, बुनाईको कला अनि आजको फेशनको सोच, तीनैको सुन्दर सङ्गम हो। यसको शुरुवात डा. छिवाङनर्बू भोटियाले गरेका हुन्। पेशाले उनी पशुचिकित्सा डाक्टर हुन् र मनले सिक्किमको संस्कृतिको साँचो ब्राण्ड एम्बासेडर। उनले सोचे, बुनाईलाई एउटा नयाँ आयाम दिनुपर्नेछ। र यसै सोचबाट जन्म भयो क्राफ्टेड फाइबरको। उनले पारम्परिक बुनाईलाई आधुनिक फेशनसँग जोडे अनि यसलाई बनाए एउटा सामाजिक उद्यम। अब उनकोमा कपडा मात्र बन्दैन, त्यहाँ जिन्दगी पनि बुनिन्छ। उनले स्थानीय मानिसहरूलाई कौशल प्रशिक्षण दिन्छन्, उनीहरूलाई आत्मनिर्भर बनाउँछन्। गाउँका बुनकर, पशुपालक अनि स्वयंसहायता समूह यी सबैलाई जोडेर डा. भोटियाले रोजगारको नयाँ बाटो बनाएका छन्। आज स्थानीय महिला अनि कारिगरहरूले आफ्नो सीपद्वारा राम्रो कमाइ गरिरहेका छन्। क्राफ्टेड फाइबरको मजेत्रो, स्टोल, पञ्जा, मोजा, सबै, स्थानीय हतकर्घाबाट बनिएको हुन्छ। यसमा ऊन प्रयोग गरिन्छ, जुन खरायो अनि भेंडाको हुन्छ। रङ पूर्णरूपले प्राकृतिक हुन्छ – कुनै रसायन हुँदैन, केवल प्रकृतिको रङ्गत। डा. भोटियाले सिक्किमको पारम्परिक बुनाई अनि संस्कृतिलाई नयाँ पहिचान दिएका छन्। डा. भोटियाको कामले, परम्परालाई उत्साहसँग जोडिए त्यसले संसारलाई धेरै नै लोभ्याउन सक्दछ भन्ने हामीलाई सिकाउँछ।

मेरा प्यारा देशवासीहरू, आज म तपाईंहरूलाई एउटा यस्ता शानदार व्यक्तिबारे बताउन चाहन्छु, जो एक कलाकार पनि हुन् र जिउँदो-जाग्दो प्रेरणा पनि। नाम हो जीवन जोशी, उमेर 65 साल। अब सोच्नुहोस्, जसको नाम नै जीवन छ, उनी कति जीवन्तताले भरिएको होलान्। जीवनजी उत्तराखण्डको हल्दवानीमा बस्छन्। बाल्यकालमै पोलियोले उनको खुट्टाको तागत खोसेको थियो, तर पोलियोले उनको साहसलाई भने खोस्न सकेन। उनको हिँड्ने गति भलै केही सुस्त भए तापनि उनको मन कल्पनाको हरेक उडान उडिरह्यो। यसै उडानमा, जीवनजीले एउटा अनौठो कलालाई जन्म दिए र नाम राखे बगेट। यसमा उनी सल्लाको रुखबाट झर्ने सुक्खा बोक्राबाट सुन्दर कलाकृतिहरू बनाउँछन्। त्यो बोक्रा, जसलाई प्रायः नै मानिसहरूले बेकार सम्झन्छन्, जीवनजीको हातमा आउन साथ धरोहर बन्ने गर्दछ। उनको हरेक रचनामा उत्तराखण्डको माटोको सुगन्ध हुन्छ। कहिले पाहाडको लोक वाद्ययन्त्र, त कहिले लाग्छ, जस्तै पाहाडको आत्मा त्यस काठमा समाहित भएको छ। जीवनजीको काम कला मात्र नभएर साधना हो। उनले यस कलामा आफ्नो सम्पूर्ण जीवनलाई समर्पित गरेका छन्। जीवन जोशी जस्ता कलाकारले हामीलाई परिस्थिति चाहे जस्तै भए पनि, यदि इच्छाशक्ति प्रबल भए, असम्भव केही पनि चैन भन्ने स्मरण गराउँछ। उनको नाम जीवन  र उनले साँच्चै नै जीवन जिउनु के हुन्छ भन्ने देखाएका छन्।

मेरा प्यारा देशवासीहरू, आज कैयौं यस्ता महिलाहरू छन्, जसले खेतका साथसाथै आकाशको उँचाईमा पनि काम गरिरहेका छन्। हजूर, तपाईंले सही नै सुन्नुभयो, अब गाउँका महिलाहरू ड्रोन दिदी बनेर ड्रोन उडाइरहेका छन् र त्यसबाट खेतीमा नयाँ क्रान्ति पनि ल्याइरहेका छन्।

साथीहरू, तेलङ्गानाको सङ्गारेड्डी जिल्लामा केही समय अघिसम्म जुन महिलाहरू अन्यमाथि निर्भर रहनुपर्थ्यो, आज उनै महिलाहरूले ड्रोनद्वारा 50 ऐकर जमीनमा औषधि छर्कने काम पूरा गरिरहेका छन्। बिहान तीन घण्टा र साँझ दुई घण्टामा काम पूरा हुन्छ। घामको ताप पनि सहनुपर्दैन, विष जस्तो रसायनको पनि कुनै खतरा छैन। साथीहरू, गाउँलेहरूले पनि यस परिवर्तनलाई मनबाटै स्वीकार गरेका छन्। अब यी महिलाहरू ‘ड्रोन अपरेटर’ नभएर, ‘स्काई वारियर्स’का नामले जानिन्छन्। यी महिलाहरूले हामीलाई बताइरहेका छन् - परिवर्तन तब आउँछ जब तकनिकी अनि सङ्कल्प एक साथ चल्ने गर्दछ।

मेरा प्यारा देशवासीहरू, अन्तरराष्ट्रिय योग दिवस आउन अब एक महिनाभन्दा पनि कम्ति समय बचेको छ। यस अवसरले के याद दिलाउँछ भने यदि तपाईं अझै पनि योगदेखि टाढा हुनुहुन्छ भने अब योगसँग जोडिनुहोस्। योगले तपाईंको जीवन जिउने तरिका परिवर्तन गरिदिनेछ। साथीहरू, 21 जून, 2015 मा योग दिवसको शुरुवातपछि नै यसको आकर्षण लगातार बढिरहेको छ। यसपटक योग दिवसलाई लिएर विश्वभरी मानिसहरूमा जोश अनि उत्साह नजरमा आइरहेको छ। अलग-अलग संस्थानले आफ्नो तयारी साझा गरिरहेका छन्। बितेका वर्षका तस्वीरहरूले धेरै प्रेरित गरेको छ। हामीले देखेका छौं, अलग-अलग देशमा कुनै साल मानिसहरूले योग चेन बनाए, योग रिङ बनाए। यस्ता धेरै तस्वीर छन्, जहाँ एकसाथ चार पिँढी मिलेर योग गरिरहेका छन्। धेरै मानिसले आफ्नो शहरको प्रतिष्ठित स्थानलाई योगका लागि रोजेका छन्। तपाईंहरूले पनि यसपटक केही रोचक तरिकाले योग दिवस मनाउनेबारे सोच्न सक्नुहुन्छ।

साथीहरू, आन्ध्र प्रदेशको सरकारले “योगआन्ध्र” अभियान शुरु गरेको छ। यसको उद्देश्य सम्पूर्ण राज्यमा योग संस्कृतिलाई विकसित गर्नु हो। यस अभियान अन्तर्गत योग गर्ने 10 लाख मानिसको एउटा पूल बनाइँदैछ। मैले यस वर्ष विशाखापत्तनममा योग दिवस कार्यक्रममा सामेल हुने अवसर पाउनेछु। मलाई के कुरामा राम्रो लागिरहेको छ भने यसपटक हाम्रा युवा साथीहरूले, देशको विरासतसँग जोडिएका प्रतिष्ठित स्थानमा योग गर्नेछन्। कैयौं युवाले नयाँ रेकर्ड बनाउने र योग चेनको हिस्सा बन्ने सङ्कल्प लिएका छन्। हाम्रो करपोरेटहरू पनि यसमा पछि छैन। केही संस्थानले कार्यालयमै योग अभ्यासका लागि अलग ठाउँ तय गरेका छन्। केही स्टार्टअप्सले आफ्नो यहाँ कार्यालय योग समय तय गरेका छन्। यस्ता पनि मानिसहरू छन्, जो गाउँमा गएर योग सिकाउन तयारी गरिरहेका छन्। स्वास्थ्य अनि तन्दुरूस्तीलाई लिएर मानिसहरूको यस जागरूकताले मलाई धेरै आनन्द दिन्छ।

साथीहरू, योग दिवसका साथसाथै आयुर्वेदको क्षेत्रमा पनि केही यस्तो भएको छ, जसका बारेमा जानेर तपाईंहरूलाई धेरै खुशी लाग्नेछ। हिजो अर्थात् 24 मईको दिन डब्लुएचओका महानिर्देशक अनि मेरा मित्र तुलसीभाइको उपस्थितिमा एउटा एमओयुमा हस्ताक्षर गरियो। यस सम्झौताका साथै स्वास्थ्य हस्तक्षेपको अन्तरराष्ट्रिय वर्गिकरण अन्तर्गत एउटा समर्पित पारम्परिक औषधि मोड्युलमाथि काम शुरु भएको छ। यस पहलबाट आयुषलाई सम्पूर्ण विश्वमा वैज्ञानिक तरिकाले धेरैभन्दा धेरै मानिससम्म पुऱ्याउन सघाउ पुग्नेछ।

साथीहरू, तपाईंहरूले स्कूलमा श्यामपट त देख्नुभएको होला, तर अब केही स्कूलमा ‘चिनी पट’ पनि लगाउन थालिएको छ, – ब्ल्याकबोर्ड होइन सुगर बोर्ड! सीबीएसईो यस अनौठो पहलको उद्देश्य हो बच्चाहरूलाई उनीहरूको चिनीको खपतप्रति जागरूक गराउनु। कति चिनी लिनुपर्छ, र कति चिनी खाइँदैछ – यो जानेर बच्चाहरूले स्वयं नै स्वस्थ विकल्प रोज्न थालेका छन्। यो एउटा अनौठो प्रयास हो र यसको असर पनि अति नै सकारात्मक हुनेछ। बाल्यकालदेखि नै स्वस्थ जीवनशैलीको बानी बसाल्न यो धेरै सहायक साबित हुनसक्नेछ। कैयौं अभिभावकले यसको सराहना गरेका छन् र मेरो विचारमा, यस्तो पहल कार्यालय, क्यान्टिन अनि संस्थानहरूमा पनि हुनुपर्नेछ, किनभने अन्त्यमा स्वास्थ्य नै सबैथोक हो। फिट इण्डिया नै स्ट्रङ इण्डियाको आधार हो।

मेरा प्यारा देशवासीहरू, स्वच्छ भारतको कुरा होस् र मन की बातका श्रोताहरू पछि रहून्, यस्तो कसरी हुनसक्छ र। मलाई पूरा विश्वास छ, तपाईंहरू सबैले आ-आफ्नो स्तरमा यस अभियानलाई बल दिइरहनु भएको छ। तर आज म उदाहरणका बारेमा बताउन चाहन्छु, जहाँ स्वच्छताको सङ्कल्पले पाहाड जस्तो चुनौतीलाई परास्त गरेको छ। तपाईंहरू सोच्नुहोस्, कुनै व्यक्ति हिउँले ढाकिएको पाहाडमा चढिरहेका छन्, जहाँ सास लिन पनि गाह्रो पर्ने गर्दछ, कदम-कदममा ज्यानलाई खतरा हुन्छ र फेरि पनि ती व्यक्ति त्यहाँ सफाईमा जुटेका छन्। यस्तै केही गरेको छ हाम्रो आइटीबीपीको टीमका सदस्यहरूले। यो टीम माउन्ट मकालू जस्तो विश्वको सबैभन्दा कठिन चोटीमा चढ्नका लागि गएको थियो। तर साथीहरू, उनीहरूले पर्वतारोहण मात्र गरेनन्, उनीहरूले आफ्नो लक्ष्यमा एउटा मिशनलाई जोडे – स्वच्छताको। चोटीको नजिक जुन फोहोर थुप्रिएका थिए, उनीहरूले त्यसलाई हटाउने बिँडो उठाए। तपाईं कल्पना गर्नुहोस्, 150 किलोभन्दा धेरै जैविक रूपमा नसड्ने फोहोर यस टीमका सदस्यहरूले आफूसँग लिएर तल आए। यति उँचाईमा सफाई गर्न्नु कुनै सजिलो काम हुँदैन। तर यसले के देखाउँछ भने जहाँ सङ्कल्प हुन्छ, त्यहाँ बाटो आफै बनिन्छ।

साथीहरू, यसैसँग जोडिएको एउटा जरुरी विषय हो – कागजको फोहोर र पुनःचक्रण। हाम्रो घर अनि कार्यालयहरूमा हरेक दिन धेरै कागजको फोहोर निक्लिने गर्दछ। सायद हामी यसलाई सामान्य मान्छौं, तर तपाईंहरूलाई आश्चर्य लाग्नेछ, देशको भूमिभरण फोहोरको लगभग एक चौथाई हिस्सा कागजसँग जोडिएको हुन्छ। मलाई यो कुरा जानेर राम्रो लाग्यो कि भारतका कैयौं  स्टार्टअप्सले यस क्षेत्रमा काम गरिरहेका छन्। विशाखापत्तनम, गुरुग्राम यस्ता कैयौं शहरमा कैयौं रिसाइकल पेपर बाट प्याकेजिङ बोर्ड बनाइँदैछ र कसैले डिजिटल तरिकाले खबर कागजको रिसाइक्लिङलाई सजिलो बनाइरहेका छन्। जालन जस्तो शहरमा केही स्टार्टअपले 100 प्रतिशत रिसाइकल्ड मटेरियलबाट प्याकेजिङ रोल अनि पोपर कोर बनाइरहेका छन्। तपाईंले यो पनि जानेर प्रेरित हुनुहुनेछ, एक टन कागजको रिसाइक्लिङबाट 17 वटा रुख काटिनबाट जोगिन्छ र हजारौं लिटर पानीको पनि बचत हुँदछ। अब सोच्नुहोस्, जब पर्वतारोहीले यति कठिन परिस्थितिमा फोहोर फर्काएर ल्याउन सक्छन् भने हामीले पनि आफ्नो घर वा कार्यालयमा पेपरलाई अलग गरी रिसाइक्लिङमा अवश्यै आफ्नो योगदान दिनुपर्नेछ। जब देशका हरेक नागरिकले देशका लागि म के उत्तम गर्नसक्नेछु बनी सोच्नेछन्, तब मिलेर हामी धेरै ठूलो परिवर्तन ल्याउन सक्नेछौं।

साथीहरू, बितेका दिन खेलो इण्डिया गेम्सको धेरै धूम रह्यो। खेलो इण्डियालाई बिहारको पाँचवटा शहरमा आयोजित गरिएको थियो। त्यहाँ अलग-अलग श्रेणीमा म्याच आयोजित गरिएको थियो। सम्पूर्ण भारतबाट त्यहाँ पुगेका एथलिटहरूको सङ्ख्या पाँच हजारभन्दा पनि धेरै थियो। यी एथलिटहरूले बिहारको खेलकूद भावना को, बिहारका मानिसहरूबाट पाएको आत्मीयताको धेरै प्रशंसा गरे।

साथीहरू, बिहारको धरती अति नै खास छ, यस आयोजनमा यहाँ कैयौं विशिष्ट कुरा भयो। खेलो इण्डिया युथ गेम्सको यो पहिलो आयोजन थियो, जुन ओलम्पिक च्यानलको माध्यमद्वारा विश्वभरी पुग्यो। सम्पूर्ण विश्वका मानिसहरूले हाम्रा युवा खेलाडीहरूको प्रतिभा देखेर सराहना गरे। म सबै पदक विजेता, विशेष गरी शीर्षका तीन विजेता – महाराष्ट्र, हरियाणा अनि राजस्थानलाई बधाई दिन चाहन्छु।

साथीहरू, यसपटक खेलो इण्डियामा कूल 26 रेकर्ड बन्यो। भारोत्तोलन स्पर्धामा महाराष्ट्रकी अस्मिता धोने, ओडिशाका हर्षवर्धन साहू अनि उत्तर प्रदेशका तुषार चौधरीको शानदार प्रदर्शनले सबैको मन जित्यो। अर्कातिर, महाराष्ट्रका साईराज परदेशीले तीनवटा रेकर्ड बनाए। एथलेटिक्समा उत्तर प्रदेशका कादिर खान अनि शेख जीशान र राजस्थानका हंसराजले शानदार प्रदर्शन गरे। यसपटक बिहारले पनि 36 वटा मेडल आफ्नो नाम गऱ्यो। साथीहरू, जो खेल्छ, उही फुल्छ। युवा खेलाडी प्रतिभाका लागि टूर्नामेन्टले धेरै अर्थ बोक्दछ। यस प्रकारको आयोजनले भारतीय खेलहरूको भविष्यलाई सुशोभित गर्नेछ।

मेरा प्यारा देशवासीहरू, 20 मईको दिन ‘विश्व मौरी दिवस’ मनाइयो, अर्थात् एउटा यस्तो दिन जसले हामीलाई मह मिठास मात्र नभएर स्वास्थ्य, स्वरोजगार अनि आत्मनिर्भरताको पनि उदाहरण हो भन्ने स्मरण गराउँदछ। विगत 11 वर्षमा मौरी पालनमा, भारतमा एउटा मीठो क्रान्ति भएको छ। आजभन्दा 10-11 सालअघि भारतमा महको उत्पादन एक सालमा करिब 70-75 हजार मेट्रिक टन हुन्थ्यो। आज यो बढेर करिब-करिब सवा लाख मेट्रिक टन पुगेको छ। हामी मह उत्पादन र निर्यातमा विश्वको अग्रणी देशहरूमा आइपुगेका छौं। साथीहरू, यस सकारात्मक प्रभावमा राष्ट्रिय मौरी पालन र मह मिशनको ठूलो भूमिका छ। यस अन्तर्गत मौरी पालनसँग जोडिएका हजारौं किसानलाई प्रशिक्षण दिइयो, उपकरण दिइयो अनि बजारसम्म, उनीहरूको सीधै पहुँच बनाइयो।

साथीहरू, यो परिवर्तन आँकडामा मात्र नभएर यो गाउँको जमीनमा पनि स्पष्ट नजर आउँछ। छत्तीसगढको कोरिया जिल्लाको एउटा उदाहरण छ, यहाँ आदिवासी किसानहरूले “सोन हनी” नाम गरेको एउटा शुद्ध जैविक महको brand बनाएका छन्। आज त्यो मह जीईएमसमेत अनेकौं अनलाइन पोर्टलमा बिक्री भइरहेको छ, अर्थात् गाउँको मेहनत अब ग्लोबल भइरहेको छ। यसै गरी उत्तर प्रदेश, गुजरात, जम्मू-कश्मीर, पश्चिम बङ्गाल अनि अरुणाचल प्रदेशमा हजारौं महिला अनि युवा अब मह उद्यमी बनिसकेका छन्। साथीहरू, र अहिले महको मात्रा मात्र नभएर त्यसको शुद्धतामाथि पनि काम चलिरहेको छ। केही स्टार्टअपले अब एआइ अनि डिजिटल प्रविधिद्वारा महको गुणस्तरलाई प्रमाणित गरिरहेका छन्। तपाईंहरूले अर्कोपटक मह खरिद गर्दा यी मह उद्यमीहरूद्वारा बनाइएका मह अवश्यै खरिद गर्नुहोला, कुनै स्थानीय किसानबाट, कुनै महिला उद्यमीबाट मह खरिद गर्ने कोशिश गर्नुहोला। किनभने, त्यस हरेक थोपामा स्वाद मात्र नभएर भारतको मेहनत अनि आशा घोलिएको हुनेछ। महको यो मिठास – आत्मनिर्भर भारतको स्वाद हो।

साथीहरू, जब हामीले महसँग जोडिएको देशको प्रयासको कुरा गरिरहेका छौं, तब म तपाईंहरूलाई अर्को एउटा पहलबारे पनि बताउन चाहन्छु। यसले हामीलाई के याद दिलाउँछ भने मौरीको सुरक्षा पर्यावरणको मात्र नभएर हाम्रो खेती र भावी पिँढीको पनि जिम्मेवारी हो। यो उदाहरण पूणे शहरको हो, जहाँ एउटा आवासीय समाजमा मौरीको एउटा बथानलाई हटाइएको थियो – सायद सुरक्षाका कारण वा डरले गर्दा। तर यस घटनाले कसैलाई सोच्न बाध्य गरायो। अमित नाम गरेका एकजना युवाले तय गरे, मौरीलाई हटाउनु होइन, बरू बचाउनुपर्नेछ। उनले स्वयं सिके, मौरीमाथि खोज गरे अनि अरूलाई पनि जोड्न शुरु गरे। बिस्तारै उनले एउटा टीम बनाए र त्यसलाई नाम दिए “बी फ्रेण्ड्स”, अर्थात् मौरीको मित्र। अब यस बी फ्रेण्ड्सले मौरीको बथानलाई एक ठाउँदेखि अर्को ठाउँ सुरक्षित तरिकाले सार्ने गर्दछ ताकि मानिसहरूलाई खतरा नहोस् र मौरी पनि जोगियोस्। अमितजीको यस प्रयासको असर पनि धेरै शानदार भयो। मौरीको बथान पनि जोगियो, मह उत्पादन पनि बढिरहेको छ र सबैभन्दा महत्त्वपूर्ण, मानिसहरूमा जागरूकता पनि बढिरहेको छ। यस पहलले जब हामी प्रकृतिका साथ तालमेल मिलाएर काम गर्छौं, तब त्यसको फाइदा सबैलाई हुन्छ भन्ने हामीलाई सिकाउँछ।

मेरा प्यारा देशवासीहरू, मन की बातको यस एपिसोडमा यसपटक यति नै, तपाईंहरूले यसै गरी देशका मानिसहरूका उपलब्धिहरूलाई समाजको निम्ति, उनीहरूका प्रयासलाई मेरोमा पठाइरहनुहोस्। मन की बातको अर्गो एपिसोडमा फेरि भेट्नेछौं, कैयौं नयाँ विषय अनि देशवासीहरूका नयाँ उपलब्धिको चर्चा गर्नेछौं। मलाई तपाईंहरूको सन्देशको प्रतीक्षा रहनेछ। तपाईंहरू सबैलाई धेरै धेरै धन्यवाद, नमस्कार।

*****


(Release ID: 2131103)