पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय
azadi ka amrit mahotsav

भारत ऊर्जा सप्ताह 2025 मा भारतको स्वच्छ खाना पकाउने ग्यासको मोडल प्रस्तुत : ग्लोबल साउथका लागि ब्लुप्रिन्ट


Posted On: 12 FEB 2025 3:06PM by PIB Gangtok

केन्द्रिय पेट्रोलियम एवं प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पूरीको अध्यक्षतामा भारत ऊर्जा सप्ताह 2025 को दोस्रो दिन स्वच्छ पाककलामाथि अधिकारप्राप्त गोलमेच आयोजित गरियो। मन्त्री पूरीले लक्षित सहायता, प्रबल राजनीतिक इच्छाशक्ति, तेल विपणन कम्पनीहरू (ओएमसी) द्वारा वितरण सञ्जालको डिजिटिकरण, स्वच्छ रूपमा खाना पकाउनेतर्फ सांस्कृतिक रूपान्तरण प्रोत्साहित गर्दै राष्ट्रव्यापी अभियानका माध्यमद्वारा स्वच्छ खाना पकाउने ग्याससम्म सर्वव्यापी पहुँच सुनिश्चित गर्न भारतले उल्लेखनीय सफलता हासिल गरेको अवगत गराए।

यस सत्रमा ब्राजिल, ताञ्जानिया, मलावी, सुडान, नेपाल लगायत इन्टरनेशनल ईनर्जी एजेन्सी (आइईए), टोटल ईनर्जी र बोस्टन कन्सल्टिङ ग्रूपका (बीसीजी) प्रतिनिधिहरू सामेल थिए।

भारतको मोडल सफल मात्र नभएर सोही प्रकारको ऊर्जा सम्बन्धी चुनौतीको सामना गरिरहेका ग्लोबल साउथमा पनि अनुसरण गर्नसकिने मन्त्री पूरीले बताए। भारतको प्रधानमन्त्री उज्ज्वला योजना (पीएमयुवाई) अन्तर्गत लाभार्थीहरूले केवल 7 सेन्ट प्रतिदिनको दरमा अति नै सुपथ मूल्यमा एलपीजी पाउने गरेको र अन्यले 15 सेन्ट प्रतिदिनको दरमा स्वच्छ खाना पकाउने ग्यास पाउने गरेको जानकारी दिए। व्यापक स्तरमा अङ्गीकरणको निम्ति यही सस्तोपन खेल परिवर्तक साबित भइरहेको उनले बताए।

चर्चाका क्रममा अन्तरराष्ट्रिय प्रतिनिधिहरूले स्वच्छ खाना पकाउने समाधानको पहुँच विस्तार गर्न आइपर्ने चुनौती अनि अनुभवहरू साझा गरे। ताञ्जानियाका उप-प्रधानमन्त्री तथा ऊर्जा मन्त्री मासाका बिटेकोले सहायता बढाउनका साथै एलपीजी, प्राकृतिक ग्यास र बायोग्यास लगायतका स्रोतको मिश्रणद्वारा 2030 सम्म 80 प्रतिशत फरिवारलाई स्वच्छ खाना पकाउने ग्यासतर्फ रूपान्तरित गर्ने रणनीति रेखाङ्कित गरे। तथापि, यसका लागि वित्तीय अडचन, पूर्वाधारको उच्च लागत अनि निजी क्षेत्रको सहभागिताका लागि नियामक सुधारको आवश्यकता लगायतका महत्त्वपूर्ण चुनौती रहेको पनि उल्लेख गरे।

सुडानका ऊर्जा मन्त्री डा. मोहेलदिन नईम मोहम्मद सइदले आफ्नो देशको ऊर्जा आवश्यकताको धेरै मात्रा आयात गर्ने हुँदा अन्तर पाट्न निजी क्षेत्र संलग्न हुन आवश्यक रहेको कुरामाथि बल दिए। व्यापक रूपमा अङ्गीकरणका लागि स्थानीय रूपमा सिलिण्डरको उत्पादन तथा किफायती आयात सुनिश्चित गर्नु अझै पनि ठूलो बाधा रहेको उनले बताए। रवाण्डा अनि नेपालका प्रतिनिधिले ईलेक्ट्रिक चुला र बायोग्यासको विस्तारद्वारा दाउरामाथि निर्भरता घटाउने प्रयास चलिरहेको कुरा साझा गरे।

भारतको सफलताले विशेष गरी सामर्थ्य, सुगम्यता अनि पूर्वाधारसित सम्बन्धित चुनौतीहरूलाई सम्बोधित गर्न अन्य देशले बहुमूल्य पाठ सिक्न सक्ने आइईएका उप-कार्यकारी निर्देशक मेरी बर्सले बताइन्। यसका साथै विश्वभरी स्वच्छ खाना पकाउने ग्यास विस्तार गर्न छूट दरमा वित्तपोषणका साथमा निजी-सार्वजनिक साझेदारीको (पीपीपी) भूमिकामाथि बल दिइन्। सांस्कृतिक स्वीकार्यता तथा नियामक समायोजन, जस्तै कर कटौती पनि व्यापक परिमाणमा अङ्गीकरणको निम्ति महत्त्वपूर्ण उपाय हुनसक्ने अवगत गराइन्।

बोस्टन कन्सल्टिङ ग्रूपका साझेदार राहुल पनन्दिकरले प्रबल राजनीतिक प्रतिबद्धता, लक्षित प्रभावी सहायता, तथा विशाल जनजागरूकता अभियान रेखाङ्कित गर्दै स्वच्छ खानी पकाउने ग्यासतर्फको रूपान्तरण प्रकाश पारे। अङ्गीकरणलाई निर्बाध बनाउन डिजिटल मञ्चद्वारा अन्तिम व्यक्तिसम्म एलपीजी वितरण सक्षम बनाउन तेल विपणन कम्पनीहरूको भूमिकाको पनि उनले सराहना गरे। यसका साथै दिगो उपयोग तथा आर्थिक वहनीयताका साथमा सामर्थ्यलाई सन्तुलित गर्न सिलिण्डर भर्ने मोडललाई परिष्कृत गर्न आवश्यक रहेको कुरा पनि उनले रेखाङ्कित गरे।

ग्लोबल साउथमा स्वच्छ खाना पकाउने प्रविधिको विस्तारमा सौर कूकरको सम्भावनाबारे उत्तर दिँदै मन्त्री पूरीले एकिकृत सौर प्यानलयुक्त उन्नत सौर कूकरबारे अवगत गराउँदै यो करिब $500 प्रति एकाइको दरमा उपलब्ध हुनका साथै आजीवन थप लागत नपर्ने जानकारी दिए। व्यापक रूपमा यसको अङ्गीकरणका लागि यसको वर्तमान मूल्य चुनौती रहेको भए तापनि, कार्बन वित्तपोषणको सदुपयोग अनि निजी क्षेत्रसँगको सहकार्यले लागत घटाउनका साथै लाखौंका लागि सौर खाना पकाउने साधन सम्भावित विकल्प बन्नसक्ने उनले बताए।

यो पहल एलपीजी बाहेकका खाना पकाउने साधनको विकल्पतर्फ अग्रसर हुन भारतको विविधिकरण तर्फको व्यापक प्रयास अनुरूप रहेको र यसले पारम्परिक जैवइन्धनमाथिको निर्भरता घटाउनका साथै कार्बन उत्सर्जन घटाउन देशको प्रतिबद्धतालाई बल प्रदान गर्ने उनले बताए।

विश्वभरी ऊर्जासम्म सुगम्यताको पहललाई सहयोग गर्ने भारतको प्रतिबद्धता दोहोऱ्याउँदै मन्त्री पूरीले चर्चाको समापन गरे। चुस्त सहायता अनि वहनीय नीतिका साथ भारतको मोडलले स्वच्छ खाना पकाउने साधनसम्म सुगम्यता हासिल गर्न चाहने अन्य विकासशील देशका लागि मापनीय समाधान प्रदान गर्ने कुरा उनले रेखाङ्कित गरे।  स्वच्छ खाना पकाउने साधनसम्म सर्वव्यापी सुगम्यता हासिल गर्नु आर्थिक अनिवार्यता मात्र नभएर, पारम्परिक जैवइन्धनको स्वास्थ्य अनि पर्यावरणमाथि गम्भीर प्रभावलाई ध्यानमा राख्दै नैतिक आवश्यकता पनि रहेको कुरामाथि उनले बल दिए।

गोलमेचले ऊर्जा रूपान्तरण तथा स्वच्छ खाना पकाउने साधनमा भारतको वैश्विक नेतृत्त्वको स्थानलाई पुष्टि गर्नका साथै स्वच्छ ऊर्जासम्म सर्वव्यापी सुगम्यता हासिल गर्न व्यापक अन्तरराष्ट्रिय सहयोगको मार्ग प्रशस्त गरेको छ।

भारत ऊर्जा सप्ता 2025 बारे

भारत ऊर्जा सप्ताहको परिकल्पना उद्योग जगतको मात्र सम्मेलनभन्दा व्यापक बनाउने उद्देश्यका साथ गरिएको थियो। वैश्विक ऊर्जा संवादलाई पुनःपरिभाषित गर्ने गतिशील मञ्च बनाउने हिसाबले यो तयार गरिएको थियो। केवल दुई वर्षभित्र, यस स्वयं वित्तपोषित पहलले स्पष्ट रूपमा यो उद्देश्य हासिल गर्दै विश्वकै दोस्रो सबैभन्दा विराट ऊर्जा कार्यक्रम बन्नपुगेको छ। यसको तेस्रो संस्करण 11 देखि 14 फेब्रुअरीसम्म नयाँ दिल्लीको यशोभूमिमा आयोजन भइरहेको छ, जसले वैश्विक ऊर्जा विमर्शलाई आकार दिन महत्त्वपूर्ण कोशेढुङ्गा प्रतिनिधित्त्व गर्नेछ।

******


(Release ID: 2102324) Visitor Counter : 32