प्रधानमन्त्रीको कार्यालय

जी-20 विकास मन्त्रीहरूको बैठकलाई पीएम मोदीको भिडियो सन्देशको पाठ


Posted On: 12 JUN 2023 10:03AM by PIB Gangtok

महामहिम महिला एवं भद्र पुरुष,

लोकतन्त्रकी जननीको सबैभन्दा प्राचीन जीवित शहरमा म सबैलाई न्यानो स्वागत जनाउन चाहन्छु। जी-20 विकास मन्त्रीहरूको बैठकका लागि यो अति उपयुक्त स्थान हो। युगौंदेखि काशी ज्ञान, चर्चा, विमर्श, संस्कृति अनि आध्यात्मिकताको केन्द्र रहिआएको छ। यसमा भारतको विविधताको भावना छ र यसले देशको विभिन्न भागका मानिकहरूका लागि मिलन विन्दुको काम गर्दैआएको छ। जी-20 को विकास एजेण्डा  काशी पनि पुगेकोमा म धेरै खुशी छु।

महामहिमगण,

ग्लोबल साउथका लागि विकास केन्द्रिय मुद्दा हो। ग्लोबल साउथका देशहरू वैश्विक कोभिडको महामारीबाट उत्पन्न व्यवधानबाट गम्भीर रूपमा प्रभावित भएका छन्। यसका साथै भू-राजनीतिक तनाउका कारण खाद्यान्न, इन्धन अनि उर्वरक सङ्कटले अर्को ठूलो घात गरेको छ। यस्तो परिस्थितिमा, तपाईंहरूले लिने निर्णयले समग्रमा मानवताको निम्ति धेरै महत्त्व राख्दछ। सतत विकास लक्ष्यलाई पछि पर्न नदिनु हाम्रो सामूहिक दायित्त्व हो भन्ने तथ्यमाथि म विश्वास गर्दछु। कोही पनि पछि नछुटून् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्नेछ। यसलाई हासिल गर्ने हामीसँग कार्ययोजना छ भन् कडा सन्देश विश्वलाई दिन यस समूहको निम्ति महत्त्वपूर्ण ठहर्दछ।

हाम्रा प्रयासहरू विस्तृत, समावेशी, निष्पक्ष र सतत हुनुपर्दछ। हामीले एसडीजी पूरा गर्न निवेश बढाउनका साथै धेरै मुलुकले सामना गरिरहेका ऋणको जोखिमलाई सम्बोधित गर्ने समाधान खोज्नुपर्नेछ। बहुपक्षीय वित्तीय संस्थानहरूमा योग्यता मापदण्ड विस्तार गर्न सुधार ल्याउँदै खाँचोमा परेकाहरूसम्म वित्त सुलभ हुने सुनिश्चित गर्न आवश्यक छ। भारतमा हामीले एक सयभन्दा धेरै आकाङ्क्षी जिल्लामा मानिसहरूको जीवनमा सुधार ल्याउने प्रयास गरेका छौं, जसलाई अल्प-विकसितको पकेटमा राखिएको थियो। हाम्रो अनुभवले अब यी आकाङ्क्षी जिल्लाहरू अब देशमा विकासको उत्प्रेरकका रूपमा उदाएको देखाउँदछ।  विकासको यस नमूनाको अध्ययन गर्न जी-20 विकास मन्त्रीहरूलाई आग्रह गर्न चाहन्छु। यो एजेण्डा 2030 लाई गति प्रदान गर्ने दिशामा प्रासङ्गिक हुनसक्नेछ।

महामहिमगण,

तपाईंहरूसमक्ष एउटा महत्त्वपूर्ण मुद्दा छ बढ्दो डाटा विभाजन। उच्च गुणस्तरको डाटा अर्थपूर्ण नीति बनाउन, कुशल संसाधन आबन्टन, र प्रभावी जनसेवा आपूर्तिको निम्ति महत्त्वपूर्ण छ। डाटा विभाजनको अन्तर पाट्नका लागि प्रौद्योगिकीको लोकतान्त्रिकरण एउटा महत्त्वपूर्ण उपकरण हो। भारतमा डिजिटिकरणले क्रान्तिकारी परिवर्तन ल्याएको छ। जनमानसको सशक्तिकरण गर्न, डाटा सुगम बनाउन, र समावेशिता सुनिश्चित गर्न प्रौद्योगिकीको उपयोग गरिँदैछ। साझेदार देशहरूसँग भारत आफ्नो अनुभव साझा गर्न इच्छुक छ। यी चर्चाहरूको तार्किक परिणति विकासशील देशहरूमा चर्चा, विकास र वितरणको निम्ति डाटालाई बढावा दिने दिशामा ठोस कार्वाहीको रूपमा हुने पनि आशा व्यक्त गर्दछु।

महामहिमगण,

भारतमा हामी नदी, रुख-पात, पाहाड अनि प्रकृतिका सबै तत्त्वलाई बढी सम्मान प्रदान गर्दछौं। पारम्परिक भारतीय विचारले पृथ्वीमुखी जीवनशैलीलाई प्रोत्साहित गर्दछ। गत वर्ष, संयुक्त राष्ट्रका महासचिवसँग मैले मिशन लाइफ-जीवनशैलीको शुभारम्भ गरे। यस समूहले पनि लाइफमाथि उच्च स्तरको सिद्धान्त प्रतिपादन गर्न काम गरिरहेकोमा म हर्षित छु। जलवायु कार्वाहीको दिशामा यो महत्त्वपूर्ण योगदान हुनेछ।

महामहिमगण,

एसडीजी हासिल गर्नका लागि लैङ्गिक समानता अनि महिला सशक्तिकरण महत्त्वपूर्ण छ। भारतमा हामी महिला सशक्तिकरणमा मात्र सीमित छैनौं। यहाँ महिलाको नेतृत्त्वमा विकास हुँदैछ। महिलाहरूले विकासको एजेण्डा तय गर्नका साथै विकास अनि परिवर्तनका वाहक पनि बनिरहेका छन्। महिलाको नेतृत्त्वमा विकासका लागि रूपान्तरणकारी कार्ययोजना अप्नाउन म तपाईंहरूलाई आग्रह गर्न चाहन्छु।

महामहिमगण,

काशीको भावनाले भारतको कालातीत परम्पराबाट ऊर्जा प्राप्त गर्दछ। मलाई आशा छ, तपाईंहरूले आफ्नो समय बैठक कक्षमा सीमित राख्नुहुनेछैन। म तपाईंहरूलाई काशीको भावना खोज्न र अनुभव गर्न प्रोत्साहित गर्न चाहन्छु। काशी मेरो निर्वाचन क्षेत्र हो भनेर यसो भनेको होइन। मलाई विश्वास छ, गङ्गा आरतीको अनुभव र सारनाथको दौडाहाले तपाईंहरूलाई अपेक्षित परिणाम हासिल गर्न प्रेरित गर्नेछ। एजेण्डा 2030 लाई बढावा दिन र दक्षिणी विश्वको आकाङ्क्षा पूरा गर्न चर्चा-परिचर्चा सफल बन्ने म आशा व्यक्त गर्दछु। धन्यवाद।

****



(Release ID: 1931700) Visitor Counter : 96