57th International Film Festival of India 2026
20 – 28 Nov 2026

आईएफएफआई २०२६ मा ‘क्रिएटिभ माइन्ड्स अफ टुमोरो’को छैटौँ संस्करणले मनायो उदाउँदो चलचित्र निर्माण प्रतिभाको उत्सव


१३ चलचित्र निर्माण विधाका १०० युवा सिर्जनाकर्ताले ४८ घण्टे गहन चलचित्र निर्माणको चुनौतीलाई गरे पूरा

सम्पर्कमा रहनुहोस् र टोलीका रूपमा काम जारी राख्नुहोस्; सीएमओटी त केवल शुरुआत मात्र हो: आईएफएफआई महोत्सव निर्देशक आशुतोष गोवारिकर

पोस्ट गरियो: 25 NOV 2026 1:57PMby PIB Gangtokरिलिज आईडी: 2341537Views: 9

गोवा, 25 नोभेम्बर, 2026:

कथा विकास गर्नेदेखि त्यसलाई पर्दामा उतार्नेसम्मको प्रक्रियामा १०० जना युवा सिर्जनशील पेसाकर्मीले ४८ घण्टे गहन चुनौतीमार्फत आफ्नो चलचित्र निर्माण कौशलको परीक्षण गरेका छन्। गोवामा आज सम्पन्न ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) अन्तर्गत ‘क्रिएटिभ माइन्ड्स अफ टुमोरो’ (सीएमओटी) को छैटौँ संस्करणमा यो चुनौती सञ्चालन गरिएको थियो। यस पहलले देशभरका उदाउँदा प्रतिभाहरूलाई एकै ठाउँमा ल्याएको थियो। यस क्रममा पाँच टोलीले निर्माण गरेका चलचित्र प्रदर्शन गरिनुका साथै १५ विधामा पुरस्कार प्रदान गरिएको थियो।

समापन समारोहमा ५७औँ आईएफएफआईका महोत्सव निर्देशक तथा चलचित्र निर्माता आशुतोष गोवारिकर, सूचना तथा प्रसारण मन्त्रालयका अतिरिक्त सचिव प्रभात, राष्ट्रिय चलचित्र विकास निगम (एनएफडीसी) का प्रबन्ध निर्देशक तथा भारतीय चलचित्र तथा टेलिभिजन संस्थान (एफटीआईआई) का उपकुलपति धीरज सिंह र निर्णायक मण्डलीका सदस्यहरूको उपस्थिति रहेको थियो। ग्रेट ग्राण्ड जुरीमा आइमी बरुवा, प्रेमराज, मधु अप्सरा, रुमी जाफरी र मेधा खेरडेकर रेड्डी रहेका थिए।

सीएमओटी २०२६ का विजेताहरू

  1. उत्कृष्ट चलचित्र: वन लास्ट स्टप, निर्देशक मोहक गान्धी (रेड टोली), पुरस्कार राशि ५ लाख रुपियाँ।

  1. दोस्रो उत्कृष्ट चलचित्र: अ लिटल समथिङ, निर्देशक तमन्ना ठाकुर (ग्रिन टोली), पुरस्कार राशि ३ लाख रुपियाँ।

  1. उत्कृष्ट निर्देशक: तमन्ना ठाकुर, अ लिटल समथिङ (ग्रिन टोली)।
  2. उत्कृष्ट अभिनयकर्ता: सिद्धि पारकर, शेल्स (ब्लु टोली)।
  3. उत्कृष्ट छायाकार: त्रियाशा मन्ना, वन लास्ट स्टप (रेड टोली)।
  4. उत्कृष्ट सम्पादक: नयन चोटालिया र मानव अग्रवाल, अ लिटल समथिङ (ग्रिन टोली)।
  5. उत्कृष्ट पटकथा लेखक: जितिन एस, शेल्स (ब्लु टोली)।
  6. उत्कृष्ट ध्वनि डिजाइन: अश्विन अशोक, टु सनसेट्स एण्ड जिरो सनराइजेस (एलो टोली)।
  7. उत्कृष्ट पार्श्वगायक: श्री पार्वती एस, शेल्स (ब्लु टोली)।
  8. उत्कृष्ट सङ्गीतकार: अक्षय अनमोल कटोरे, नील मछली (बेज टोली)।
  9. उत्कृष्ट पोसाक डिजाइन: सृष्टि वाघ र रुपालिका पल, वन लास्ट स्टप (रेड टोली)।
  10. उत्कृष्ट केश तथा मेकअप कलाकार: कशिश जैसवाल, शेल्स (ब्लु टोली)।
  11. उत्कृष्ट कला डिजाइन: सृष्टि वाघ र रुपालिका पल, वन लास्ट स्टप (रेड टोली)।
  12. उत्कृष्ट एनिमेसन तथा भिजुअल इफेक्ट्स कलाकार: हर्ष सहानी र प्रकाश कुमार मेहता, नील मछली (बेज टोली)।
  13. उत्कृष्ट भ्वाइस ओभर/डबिङ: सुदेक्षा सरकार, अ लिटल समथिङ (ग्रिन टोली)।

चलचित्र उद्योगसँग जोड़्ने सेतु

४८ घण्टे चलचित्र निर्माण चुनौती पूरा गरेकोमा सहभागीहरूलाई बधाई दिँदै अतिरिक्त सचिव प्रभातले सीएमओटीलाई उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीचको सेतुका रूपमा वर्णन गर्नुभयो। उहाँले यस पहलले युवा सिर्जनाकर्ताहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र उद्योगका व्यावसायिक व्यक्तिहरूसँग जोड़िने अवसर प्रदान गर्ने बताउनुभयो।

यस वर्षको मूल विषय “रुट्स एण्ड विङ्स: अनरिङ आवर रुट्स, एम्ब्रेसिङ आवर फ्युचर’’ बारे उल्लेख गर्दै उहाँले सांस्कृतिक विरासत, नवप्रवर्तन र प्रविधिको एकसाथ संयोजन भएको बताउनुभयो। उहाँले एभीजीसी-एक्सआर क्षेत्रमा बढ़िरहेका अवसरहरूतर्फ पनि ध्यानाकर्षण गराउनुभयो, जसले सिर्जनात्मक उद्योगमा युवा पेसाकर्मीहरूका लागि नयाँ सम्भावनाका ढोकाहरू खोलिरहेको छ।

महोत्सव निर्देशक आशुतोष गोवारिकरले सबै टोलीलाई उनीहरूको कामका लागि बधाई दिँदै चलचित्र निर्माण स्वभावैले सामूहिक कार्य भएको कुरामा जोड़ दिनुभयो। उहाँले चलचित्र कुनै एक व्यक्तिको काम नभई विभिन्न सिर्जनात्मक विधाका व्यक्तिहरू एकसाथ आउँदा तयार हुने परिणाम भएको सहभागीहरूलाई स्मरण गराउनुभयो। चुनौतीका क्रममा बनेका सम्बन्धलाई कायम राख्न प्रोत्साहित गर्दै उहाँले युवा चलचित्र निर्माताहरूलाई सम्पर्कमा रहन, टोलीका रूपमा काम जारी राख्न र यस अनुभवलाई अझ अगाडि बढाउन आग्रह गर्नुभयो। उहाँले सीएमओटी उनीहरूको यात्राको शुरुआत मात्र भएको बताउनुभयो।

४८ घण्टा, पाँच टोली, एउटा सिर्जनात्मक चुनौती

चलचित्र निर्माण चुनौती २१ नोभेम्बरमा शुरु भएको थियो। यसमा १०० सहभागीलाई २०/२० जनाका पाँच टोलीमा विभाजन गरिएको थियो। टोलीहरूलाई रातो, हरियो, नीलो, पहेँलो र बेज रङका आधारमा पहिचान गरिएको थियो। 'रुट्स एण्ड विङ्स: अनरिङ आवर रुट्स, एम्ब्रेसिङ आवर फ्युचर’ भन्ने साझा विषयमा काम गर्दै प्रत्येक टोलीलाई ४८ घण्टाभित्रमा एउटा लघु चलचित्रको अवधारणा तयार गर्ने, छायाङ्कन गर्ने र निर्माण पूरा गर्ने जिम्मेवारी दिइएको थियो।

यस चुनौतीमा निर्देशन, अभिनय, छायाङ्कन, सम्पादन, ध्वनि डिजाइन, पटकथा लेखन, कला निर्देशन, एनिमेसन, भिजुअल इफेक्ट्स, सङ्गीत संयोजन, पार्श्वगायन, केश तथा मेकअप र पोसाक डिजाइनलगायत चलचित्र निर्माणका १३ विधाका सहभागीहरू एकत्रित भएका थिए। गोवाका विभिन्न स्थानमा छायाङ्कन गरेपछि टोलीहरू कला एकेडेमीस्थित विशेष पोस्ट-प्रोडक्सन केन्द्रमा पुगेका थिए। त्यहाँ उनीहरूले निर्धारित समयसीमा पूरा गर्न सम्पादन, ध्वनि मिश्रण तथा दृश्य परिष्करणका काम समयसँग प्रतिस्पर्धा गर्दै पूरा गरेका थिए।

निर्माण गरिएका चलचित्रहरूले उक्त विषयवस्तुप्रति सहभागीहरूको सिर्जनात्मक व्याख्याका साथै विभिन्न विधामा सहकार्य गर्न र चुनौतीपूर्ण परिस्थितिमा पनि निर्धारित समयभित्र काम सम्पन्न गर्न सक्ने उनीहरूको क्षमता प्रतिबिम्बित गरेका थिए।

उदाउँदा प्रतिभाका लागि अवसरका मार्ग निर्माण

सन् २०२१ मा स्थापना भएदेखि सीएमओटी उदाउँदा सिर्जनशील पेसाकर्मीहरूलाई सञ्चार तथा मनोरञ्जन उद्योगसँग जोड़्ने एउटा मञ्चका रूपमा विकसित भएको छ। यसका पूर्वसहभागीहरूले अन्तर्राष्ट्रिय चलचित्र निर्माणमा काम गर्ने अवसर पाएका छन् भने कान्स, बर्लिनेल, टोरन्टो अन्तरराट्रिय चलचित्र महोत्सव र अन्तरराष्ट्रिय एमी अवार्ड्सलगायतका मञ्च तथा महोत्सवहरूमा मान्यता प्राप्त गरेका छन्।

अघिल्लो संस्करणको एउटा उल्लेखनीय उपलब्धिका रूपमा १८ जना सहभागीलाई मुकेश छाब्रा कास्टिङ कम्पनी (एमसीसीसी) ले छनोट गरेको थियो। यसले उदाउँदा प्रतिभालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्ने यस पहलको सम्भावना देखाएको छ।

भारतीय चलचित्र तथा टेलिभिजन संस्थान (एफटीआईआई) ले राष्ट्रिय चलचित्र विकास निगम (एनएफडीसी) सँगको सहकार्यमा चलचित्र निर्माण चुनौतीको अवधारणा तयार गरी सञ्चालन गरेको थियो। एफटीआईआईका प्राध्यापकहरूले सम्पूर्ण प्रक्रियामा सहभागीहरूलाई मार्गदर्शन गरेका थिए भने गोवा मनोरञ्जन समाज (ईएसजी) ले राज्यका विभिन्न स्थानमा छायाङ्कनका लागि आवश्यक अनुमति उपलब्ध गराउन सहजीकरण गरेको थियो।

आईएफएफआईएलओआईडी यहाँ पढ़्नुहोस्:   https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1&reg=48

***********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341537
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026