57th International Film Festival of India 2026
20 – 28 Nov 2026

दैनिक जीवनदेखि अलौकिकसम्म: ५७औँ आईएफएफआई-मा ‘सर्वम माया’ निर्माणबारे निर्देशक अखिल सत्यन


“चलचित्रमा हास्यरस पनि नाटक र रोमाञ्चजत्तिकै शक्तिशाली हुन सक्छ”: अखिल सत्यन

पोस्ट गरियो: 24 NOV 2026 6:10PMby PIB Gangtokरिलिज आईडी: 2341479Views: 12

गोवा, २४ नोभेम्बर २०२६:

दैनिक भेटघाट र अत्यन्तै व्यक्तिगत अनुभवहरूबाट प्रेरणा लिँदै, मलयालम चलचित्र निर्देशक श्री अखिल सत्यनले आज गोवामा आयोजित ५७औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई)-को एउटा पत्रकार सम्मेलनमा आफ्नो अलौकिक कथावस्तुमा आधारित चलचित्र ‘सर्वम माया’-को निर्माणबारे कुराकानी गरे। सन् २०२५ मा निर्माण भएको यस मलयालम भाषाको चलचित्रमा निविन पोली र रिया शिबुको मुख्य भूमिका रहेको छ। उक्त चलचित्र आईएफएफआई २०२६ को इन्डियन पानोरमा खण्डमा प्रदर्शन भइरहेको छ।

‘सर्वम माया’- लाई आफ्नै माटोको मौलिक संवेदना बोकेको अत्यन्त व्यक्तिगत चलचित्रका रूपमा वर्णन गर्दै श्री अखिल सत्यनले यो चलचित्र निर्माण गर्ने क्रममा आफू र आफ्ना मित्र निविन पोली दुवैलाई डर लाग्ने विधाको चलचित्र अर्थात् हरर फिल्म बनाउने विषयमा शुरूमा केही आशङ्का रहेको स्मरण गरे। यस चलचित्रको अवधारणाले एउटा मन्दिरमा पहिले नास्तिक रहिसकेका एक पुजारीसँग भएको भेटपछि आकार लिएको थियो। दैनिक जीवनमा घटेको यही सामान्य घटनाले चलचित्रको असामान्य कथावस्तुलाई जन्म दिएको हो। चलचित्रमा एक नास्तिक पुजारीले भूतप्रेत भगाउने कार्य गर्ने र संयोगवश आफूलाई नयाँ पुस्ता जेन जीको एक प्रेतात्माको साथमा पाउने रोचक प्रसङ्ग प्रस्तुत गरिएको छ।

श्री अखिल सत्यनद्वारा लिखित अनि निर्देशित चलचित्र ‘सर्वम माया’- को कथा प्रभेन्दुको वरिपरि घुमेको छ। उनी एक सङ्गीतकार तथा नास्तिक हुन्, तर पारिवारिक परिस्थितिका कारण परम्परागत हिन्दू पुजारी बन्न बाध्य हुन्छन्। माया अर्थात् ‘डेलुलु’ नामले चिनिने एक युवतीको आत्मासँग भेट भएपछि उनको जीवनले अप्रत्याशित मोड़ लिन्छ। आफ्नो विगतका घटनाहरूलाई स्वीकार गर्न सङ्घर्ष गरिरहेकी ती युवतीको आत्मासँग प्रभेन्दुको अनौठो मित्रता गाँसिन्छ। उनीहरूबीच विकसित हुने यही असामान्य मित्रता आत्मखोजको एउटा यात्रामा परिणत हुन्छ, जहाँ आस्था, वियोग, प्रेम तथा मानवीय सम्बन्धको आत्मीयतामा निहित उपचारात्मक शक्तिजस्ता विषयलाई गहिराइका साथ प्रस्तुत गरिएको छ।

आफ्नो कथावाचनमा हास्यरसको भूमिकाबारे बोल्दै श्री अखिल सत्यनले दर्शकहरूलाई आकर्षित गर्न चलचित्रले कथावस्तुसँग मेल नखाने हिंसा वा एक्सन दृश्यहरूमा भर पर्न आवश्यक नरहेको कुरामा जोड़ दिए। उनका अनुसार, हास्यरसले नाटक वा रोमाञ्चक दृश्यजत्तिकै प्रभावकारी रूपमा चलचित्रको व्यावसायिक आकर्षणमा योगदान पुर्‍याउन सक्छ, साथै कथालाई सुन्दरता र भावनात्मक गहिराइ पनि प्रदान गर्दछ। निविन पाउलीको स्वाभाविक हास्यचेतले उनीहरूको सहकार्यलाई अझै रमाइलो बनाएको पनि उनले बताए।

चलचित्र छनौट भएकोमा खुसी व्यक्त गर्दै उनले शुरूमा व्यावसायिक रूपमा सफल भइसकेको चलचित्र बुझाउन अनिश्चित रहे तापनि यसको भावनात्मक प्रभाव र कथाको गहिराइले महोत्सवमा प्रशंसा पाउन सक्ने विश्वास आफूमा रहेको बताए।

आफ्ना पिता तथा अनुभवी चलचित्र निर्देशक श्री सत्यन अन्थिकाडको प्रभावबारे सोधिएको प्रश्नमा श्री अखिलले आफ्ना चलचित्रहरूमा देखिने विशिष्ट स्थानीय तत्वहरू आफ्नै अनुभवबाट स्वाभाविक रूपमा आएको बताए। शुरूमा उनी विशेष गरी 'बम्बै' जस्ता चलचित्रहरूसहित श्री मणिरत्नमको सिनेमाप्रति आकर्षित भए तापनि बिस्तारै 'वरवेलपु' लगायत आफ्ना पिताका सिर्जनाहरूप्रति उनको बुझाइ र कदर अझ गहिरिँदै गयो। उनले अनुभवी अभिनेता तथा पटकथा लेखक श्री श्रीनिवासनको प्रभावलाई पनि स्वीकार गरे।

सूचना प्रविधिको क्षेत्रबाट चलचित्र निर्माणमा प्रवेश गरेका श्री अखिल सत्यनले चलचित्र उद्योगको पृष्ठभूमि नभएकाहरूलाई विशेष रूपमा लक्षित गर्दै इच्छुक चलचित्रकर्मीहरूलाई दुई मिनटको चलचित्रका लागि एउटा प्रभावशाली विचार लेखेर त्यसको छायाङ्कन र सम्पादनबाट शुरूवात गर्ने हौसला प्रदान गरे। सिनेमामा पहिलो पाइला चाल्न एउटा पेन्सिल र कागज नै प्रयाप्त हुनसक्ने तथा राम्ररी लेखिएको विचारले कसैको भविष्यको दिशा नै परिवर्तन गर्नसक्ने उनले बताए।

एक नास्तिक पुजारी र एक युवा आत्माबिचको असम्भव मित्रतामार्फत 'सर्वम् माया' ले हास्यरस, कोमलता तथा आस्था र वियोगमाथिका चिन्तनहरूलाई एकै ठाउँमा जोड़ेको छ। आईएफएफआई २०२६- को मूल नारा 'स्टोरीज विद्आउट बोडर्स' अनुरूप यस चलचित्रले स्थानीय अनुभवहरूमा जरा गाड़ेका कथाहरूले पनि सार्वभौमिक मानवीय संवेदनामार्फत दर्शकहरूसँग जोड़िन सक्ने क्षमतालाई प्रतिबिम्बित गर्दछ।

उक्त पत्रकार सम्मेलनको सञ्चालन श्री एलन सिबीले गरेका थिए।

आईएफएफआईएलओआईडी यहाँ पढ़्नुहोस्: https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48

*********

MPS/TWB


Great films resonate through passionate voices. Share your love for cinema with #IFFI2026 and #StoriesWithoutBorders. Tag us @pibindia on Instagram and @PIB_India on X, and we will help amplify your festival moments!

For accredited journalists, critics, bloggers, and vloggers seeking 1-on-1 interviews with filmmakers and festival juries, write to us at:
iffi.mediadesk@pib.gov.in with the subject line: Take One with PIB.


Official Release ID: 2341479
•
Media Centre: Goa
•
Festival Dates: Nov 20 – 28, 2026