पोस्ट गरियो:
23 NOV 2026 1:00PM by PIB Gangtok
नयाँ दिल्ली, 23 नोभेम्बर, 2026:

युवा मामिला तथा खेलकुद मन्त्रालयले मेरा युवा भारत (माई-भारत) मार्फत संविधान दिवसको अवसरमा २४ देखि २६ नोभेम्बर २०२६ सम्म ‘विकसित भारत युवा संवाद’ आयोजना गर्नेछ। यो कार्यक्रम ३० भन्दा बढ़ी राज्य तथा केन्द्रशासित प्रदेशका ६०० भन्दा अधिक जिल्लाका ५०० भन्दा धेरै महाविद्यालयहरूमा सञ्चालन गरिनेछ। यस राष्ट्रव्यापी पहलको उद्देश्य १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूलाई भारतको विकास यात्रा, उपलब्धि तथा भविष्यका आकाङ्क्षाहरूसँग जोड़्नुका साथै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने प्रक्रियामा सक्रिय सहभागी बन्न प्रेरित गर्नु हो।
संविधान दिवसको भावनाअनुरूप विभिन्न संस्थाका सहभागीहरूले सामूहिक रूपमा भारतको संविधानको प्रस्तावना वाचन गर्नेछन् र यसमार्फत संवैधानिक मूल्य–मान्यता तथा संविधानमा निहित आदर्शप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउनेछन्। यस कार्यक्रमले अन्तरक्रियात्मक संवाद तथा सचेतना सत्रहरूमार्फत युवाहरूलाई सहभागी गराउन राष्ट्रव्यापी मञ्च पनि प्रदान गर्नेछ। यसले भारतको प्रगति, उदीयमान अवसरहरू तथा देशको भविष्य निर्माणमा आफ्नो भूमिकाबारे युवाहरूलाई चिन्तन गर्न प्रोत्साहित गर्नेछ।
यस परिकल्पनालाई जमिनी तहमा सार्थक सहभागितामा रूपान्तरण गर्न प्रतिष्ठित युवा आइकनहरूले सहभागी विश्वविद्यालय तथा महाविद्यालयहरूमा सत्रहरूको नेतृत्व गर्नेछन्। यी सहभागितामूलक कार्यक्रमहरूको एउटा प्रमुख अङ्गका रूपमा प्रत्येक युवा आइकनले ‘विकसित भारत@२०४७’ विषयवस्तुमा विशेष रूपमा तयार पारिएको प्रस्तुति दिनेछन्। उक्त प्रस्तुतिमार्फत विद्यार्थीहरूलाई भारतको विकास यात्रा, हालका वर्षहरूमा हासिल गरिएका उपलब्धि तथा सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने आकांक्षाबारे जानकारी गराइनेछ। प्रस्तुतिमा गरिबी न्यूनीकरण तथा सामाजिक-आर्थिक रूपान्तरण क्षेत्रमा देशले गरेको प्रगतिलाई उजागर गरिनेछ। यसअन्तर्गत समावेशी विकास तथा कल्याणकारी पहलहरूमार्फत लाखौँ मानिसको जीवनस्तर र जीविकोपार्जनका अवसरहरू सुधार गर्न गरिएका प्रयासहरू समेटिनेछन्। यसका साथै नक्सलवाद नियन्त्रण, शान्ति पुनर्स्थापना तथा पहिले प्रभावित क्षेत्रहरूमा विकासका लागि अनुकूल वातावरण सिर्जना गर्ने दिशामा भारतले हासिल गरेको उल्लेखनीय प्रगति पनि प्रस्तुत गरिनेछ। यसबाहेक स्वस्थ, सशक्त तथा लागुऔषधमुक्त समाज निर्माणको महत्त्वमा जोड़ दिइनेछ। लागूपदार्थको दुरुपयोगले व्यक्तिगत क्षमता, पारिवारिक कल्याण, सामाजिक प्रगति तथा राष्ट्रिय उत्पादकत्वमा कसरी असर पुर्याउँछ भन्ने विषयलाई पनि उजागर गरिनेछ। प्रस्तुतिमा ‘नशामुक्त भारत’ विकसित भारत@२०४७ को परिकल्पना साकार पार्न आधारभूत रहेको कुरालाई जोड़ दिइनेछ। यस रूपान्तरणलाई अघि बढ़ाउन युवाहरूले निर्णायक भूमिका खेल्नेछन्।
यी अन्तरक्रियालाई थप गहिराइ प्रदान गर्दै पद्म पुरस्कार विजेताहरूले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नेछन् र आफ्ना जीवनयात्रा, व्यक्तिगत अनुभव तथा अन्तर्दृष्टि साझा गर्नेछन्। उनीहरूले आफ्नो यात्रामा सामना गरेका चुनौती, हासिल गरेका महत्त्वपूर्ण उपलब्धि तथा आफ्नो यात्रालाई मार्गदर्शन गरेका मूल्य-मान्यताबारे प्रकाश पार्नेछन्। यी अन्तरक्रियाले युवा सहभागीहरूलाई उनीहरूका अनुभवबाट प्रेरणा लिने तथा राष्ट्र निर्माणमा योगदान पुर्याउन समर्पण, दृढ़ता र प्रतिबद्धताको महत्त्व बुझ्ने अवसर प्रदान गर्नेछन्।
यस पहलले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको परिकल्पनाबाट प्रेरणा लिएको छ। प्रधानमन्त्री मोदीले १५ अगस्त, २०२३ मा लाल किल्लाको प्राचीरबाट गरेको सम्बोधनमा सन् २०४७ सम्म विकसित भारतको लक्ष्य साकार पार्न युवा शक्तिलाई निर्णायक भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको थियो। राष्ट्र निर्माणको प्रमुख संवाहकका रूपमा अमृत पुस्ता (अमृत पिँढ़ी) लाई पहिचान गर्दै यो कार्यक्रमले यस राष्ट्रिय परिकल्पना हासिल गर्न युवाहरूको ऊर्जा तथा नेतृत्व क्षमतालाई परिचालन गर्ने लक्ष्य राखेको छ।
विकसित भारत@२०४७ को परिकल्पनालाई कार्यरूप दिन माई-भारत (MY Bharat) पोर्टल (mybharat.gov.in) ले दर्ता तथा कार्यक्रमसम्बन्धी गतिविधिहरूका लागि डिजिटल मञ्चका रूपमा काम गर्नेछ। यसले युवाहरूको व्यापक सहभागिता सुनिश्चित गर्नुका साथै उनीहरूलाई माई-भारतको प्रणालीमा आबद्ध हुन सहजीकरण गर्नेछ। संस्थागत पहुँचलाई डिजिटल सहभागितासँग जोड़ेर यस पहलले देशभरका युवाहरूलाई सहभागिताका अवसरहरू विस्तार गर्ने तथा अर्थपूर्ण स्वयंसेवी गतिविधिहरूमा संलग्न हुन प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
यस कार्यक्रमले सहभागी महाविद्यालय तथा विश्वविद्यालयहरूसँग निरन्तर संस्थागत सम्बन्ध पनि स्थापित गर्नेछ। युवा सहभागितालाई निरन्तरता दिन, स्वयंसेवाको भावनालाई प्रवर्द्धन गर्न तथा भविष्यका माई-भारत पहलहरूको कार्यान्वयनमा सहयोग पुर्याउन यी संस्थाहरूमा पछि माई-भारत च्याप्टरहरू स्थापना गर्न सकिनेछ। यसले कार्यक्रमपछिसमेत सहभागिता, नेतृत्व तथा सेवाको भावनालाई अघि बढ़ाउन सक्ने सामाजिक रूपमा जिम्मेवार र उत्प्रेरित युवा नागरिकहरूको सञ्जाल विकास गर्न सहयोग पुर्याउनेछ।
‘विकसित भारत युवा संवाद’ मार्फत माई-भारतले अमृत पुस्ताको ऊर्जा, विचार तथा सम्भावनालाई विकसित भारत@२०४७ को राष्ट्रिय परिकल्पनातर्फ परिचालन गर्ने लक्ष्य राखेको छ। विकसित राष्ट्र बन्ने भारतको यात्रा समावेशी विकास, सामाजिक रूपान्तरण, शान्ति तथा सुरक्षा र आफ्ना नागरिकहरूको सशक्तीकरणमा आधारित छ। लागुऔषधमुक्त भारत केवल सामाजिक आकांक्षा मात्र नभएर प्रत्येक युवा नागरिकको सक्रिय सहभागिता जरूरी पर्ने राष्ट्रिय आवश्यकता पनि हो। ‘विकसित भारतका लागि नशामुक्त युवा’ भन्ने सन्देशसहित यस कार्यक्रमले सचेतनालाई कार्यमा, संवादलाई दृढ़ सङ्कल्पमा र युवा सहभागितालाई परिवर्तनका लागि राष्ट्रव्यापी अभियानमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।
यस संविधान दिवसमा माई-भारतले भारतका युवाहरूलाई संविधानको प्रस्तावना सामूहिक रूपमा वाचन गर्न, संविधानमा निहित आदर्शहरूप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउन तथा स्वस्थ, सशक्त र लागुऔषधमुक्त भारतका लागि आफ्नो आवाज बुलन्द गर्न आह्वान गर्दछ। विकसित भारत@२०४७ तर्फको यात्रा हाम्रा युवाहरूका आकांक्षाले मात्र होइन, उनीहरूले आज गर्ने छनोट र कार्यहरूले पनि निर्धारण गर्नेछ।
दर्ता, कार्यक्रमसम्बन्धी जानकारी तथा माई-भारतका पहलहरूमा सहभागी हुने अवसरहरूका लागि www.mybharat.gov.in मा जानुहोस्।
********
MPS/TWB