पोस्ट गरियो:
17 NOV 2026 11:38AM by PIB Gangtok
१७ नोभेम्बर २०२६, नयाँ दिल्ली
रक्षामन्त्री राजनाथ सिंहले २०२६ नोभेम्बर १८ देखि १९ सम्म जापानको आधिकारिक भ्रमणका क्रममा भारत–जापान विदेश तथा रक्षामन्त्रीस्तरीय संवाद (२+२) को चौथो संस्करणमा सहभागिता जनाउनुका साथै आफ्ना जापानी समकक्षीसँग द्विपक्षीय छलफल गर्नुहुनेछ। टोकियोमा आयोजना हुने उक्त २+२ मन्त्रीस्तरीय संवादको सहअध्यक्षता रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री डा. एस. जयशङ्करले गर्नुहुनेछ भने जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमी र विदेशमन्त्री तोसिमित्सु मोतेगी पनि सहभागी हुनुहुनेछ। संवादका क्रममा द्विपक्षीय रणनीतिक तथा रक्षा सहकार्यका सम्पूर्ण पक्षको समीक्षा गरिने, क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे विचार आदानप्रदान गरिने र स्वतन्त्र, खुला, समावेशी तथा नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रप्रतिको दुवै देशको साझा प्रतिबद्धता पुनः पुष्टि गरिनेछ।
रक्षामन्त्री राजनाथ सिंह र जापानका रक्षामन्त्रीबीच हुने द्विपक्षीय वार्ता यस वर्ष उनीहरूबीचको तेस्रो भेट हुनेछ। २०२६ अगस्टमा नयाँ दिल्लीमा भएको भेटघाट तथा अक्टोबरमा सेबुमा आयोजित आसियान रक्षामन्त्रीस्तरीय बैठक–प्लसको अवसरमा भएको छलफललाई निरन्तरता दिँदै दुवै मन्त्रीले रक्षा उपकरण तथा प्रविधिमा सहकार्य अघि बढाउने, समुद्री सुरक्षालाई सुदृढ बनाउने, तीनवटै सैन्य सेवाबीच संयुक्त सैन्य अभ्यासको स्तर र जटिलता बढाउने तथा औद्योगिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा छलफल गर्नुहुनेछ।
भारत र जापान साझा लोकतान्त्रिक मूल्य, आपसी विश्वास तथा समान रणनीतिक हितमा आधारित विशेष रणनीतिक तथा विश्वव्यापी साझेदारी कायम राख्ने राष्ट्र हुन्। आगामी भ्रमणको उद्देश्य द्विपक्षीय रक्षा सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै दुवै देशबीच सञ्चालनगत तथा औद्योगिक सहकार्य अभिवृद्धि गर्न भावी कार्ययोजना तय गर्नु रहेको छ।
*********
MPS/TWB