पोस्ट गरियो:
11 NOV 2026 5:14PM by PIB Gangtok
नयाँ दिल्ली, 11 नोभेम्बर 2026
प्रधानमन्त्री १३ अनि १४ नोभेम्बरमा कर्नाटक र गुजरातको भ्रमणमा रहनुहुनेछ। बिहान लगभग १०:४५ बजी प्रधानमन्त्री प्रशान्ति कुटीरमको स्वर्ण जयन्ती समारोहमा सहभागी हुनुहुनेछ। यस अवसरमा वहाँले उपस्थित समूहलाई सम्बोधन पनि गर्नुहुनेछ। दिउँसो लगभग १२:४५ बजी प्रधानमन्त्रीले तावरेकेरेदेखि आईआईएम बेंगलुरू मेट्रो स्टेशनसम्मको मेट्रो सेवाको हरियो झण्डा देखाएर शुभारम्भ गर्नुहुनेछ र मेट्रोमा यात्रा गर्नुहुनेछ। दिउँसो लगभग १:१५ बजी प्रधानमन्त्रीले बेंगलुरूमा १५,६०० करोड़ रूपियाँभन्दा बढ़ी लागतका विभिन्न विकास परियोजनाहरूको शिलान्यास, उद्घाटन तथा राष्ट्रलाई समर्पण गर्नुहुनेछ। वहाँले यस अवसरमा उपस्थित समूहलाई सम्बोधन पनि गर्नुहुनेछ।
त्यसपछि, प्रधानमन्त्री मैसुरू जानुहुनेछ जहाँ दिउँसो लगभग ३:३० बजी प्रधानमन्त्रीले कसमस-मैसुरू प्लानेटेरियमको उद्घाटन गर्नुहुनेछ। यस अवसरमा वहाँले उपस्थित समूहलाई सम्बोधन पनि गर्नुहुनेछ।
१४ नोभेम्बरमा, दिउँसो लगभग १२ बजी प्रधानमन्त्रीले गुजरातको बनासकाँठास्थित अम्बाजी मन्दिरमा दर्शन र पूजाअर्चना गर्नुहुनेछ। अम्बाजी मन्दिर ५१ पूजनीय शक्तिपीठहरूमध्ये एक हो।
बेंगलुरूमा प्रधानमन्त्री
प्रधानमन्त्री स्वामी विवेकानन्द योग अनुसन्धान संस्थानको आवासीय मुख्यालय परिसर, प्रशान्ति कुटीरमको स्वर्ण जयन्ती समारोहमा सहभागी हुनुहुनेछ। सो अवसरमा उहाँले स्वर्ण जयन्ती प्रशासनिक भवनको शिलान्यास गर्नुहुनेछ र केरलको तिरुवनन्तपुरममा एस-व्यासा अफ-क्याम्पसको शुभारम्भ गर्नुहुनेछ।
१३ देखि २३ नोभेम्बर २०२६ सम्म 'विकसित भारत २०४७ तर्फ' भन्ने मूल ध्येय वाक्यका साथ आयोजना भइरहेको यस स्वर्ण जयन्ती समारोहले संस्था निर्माण र सेवाको पाँच दशक पूरा गरेको अवसरलाई चिन्हित गरेको छ। सन् १९७५ मा स्थापित प्रशान्ति कुटीरमको स्थापना आधुनिक विज्ञानलाई भारतको आध्यात्मिक ज्ञानसँग एकीकृत गर्ने उद्देश्यले गरिएको थियो। यो एस-व्यासा को मुख्य केन्द्र हो, जसलाई सन् २००२ मा मानित विश्वविद्यालय घोषणा गरिएको थियो र यो योग शिक्षा तथा अनुसन्धानमा समर्पित रहेको छ।
यस कार्यक्रमले १९२६ मा बेंगलुरूमा जन्मिएका एक प्रख्यात चिन्तक, लेखक तथा सङ्गठक श्री होङ्गासन्द्र वेङ्कटरमैया शेषाद्रीजीको जन्म शताब्दीको पनि स्मरण गर्नेछ। वहाँ १९४६ मा राष्ट्रिय स्वयंसेवक सङ्घमा आबद्ध हुनुभएको थियो र १९८७ देखि २००० सम्म यसको सरकार्यवाहका रूपमा सेवा गर्नुभएको थियो। वहाँ एस-व्यासाका परिकल्पनाकारहरूमध्ये एक हुनुहुन्थ्यो र वहाँको प्रेरणा तथा मार्गदर्शनले प्रशान्ति कुटीरमको विकासलाई आकार दिन र दशकौंदेखि यस संस्थाको लक्ष्यलाई अघि बढ़ाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
प्रधानमन्त्रीले बेंगलुरूमा रू १५,६०० करोड़भन्दा बढ़ी लागतका विभिन्न विकास परियोजनाहरूको उद्घाटन गर्नका साथै राष्ट्रलाई समर्पण, शिलान्यास र हरियो झण्डा देखाएर शुभारम्भ गर्नुहुनेछ। यी परियोजनाहरूले शहरी गतिशीलता, विद्युत प्रसारण, नवीकरणीय ऊर्जा, पेट्रोलियम पूर्वाधार, फोहोर व्यवस्थापन र रेलवे लगायतका मुख्य क्षेत्रहरूलाई समेटेको छ।
प्रधानमन्त्रीले लगभग रू३,४७० करोड़को लागतमा निर्माण गरिएको कालेना अग्रहारादेखि तावरेकेरेसम्मको बेंगलुरु मेट्रोको 'पिंक लाइन' को उद्घाटन गर्नुहुनेछ। यो नयाँ दूरीले बेंगलुरूमा शहरी सम्पर्क सञ्जाललाई विस्तार गर्नेछ, दैनिक आवागमनलाई सहज बनाउनेछ, यात्राको समय घटाउनेछ र सार्वजनिक यातायात सुविधालाई सुदृढ़ गर्नेछ।
प्रधानमन्त्रीले लगभग रू४,४५० करोड़को लागतमा विकास गरिएको कोप्पल-द्वितीय र गदग-द्वितीयमा नवीकरणीय ऊर्जा क्षेत्रहरूको एकीकरणका लागि प्रसारण योजना (चरण-दुई) को पनि उद्घाटन गर्नुहुनेछ। यस प्रसारण प्रणालीले कर्नाटकको कोप्पल र गदग क्षेत्रबाट लगभग २ गिगावाट नवीकरणीय ऊर्जा क्षमतालाई ग्रिडमार्फत लगाभार्थीहरूमाझ थप प्रसारण र वितरण गर्न सहज बनाउनेछ। वहाँले लगभग रू१,३७० करोड़को लागतमा विकास गरिएको बिदरस्थित सौर्य ऊर्जा क्षेत्रका लागि प्रसारण योजनाको पनि उद्घाटन गर्नुहुनेछ। यस परियोजनामा बिदर पुलिङ स्टेशनको स्थापना समावेश छ र यसले सो क्षेत्रबाट २.५ गिगावाट सौर्य ऊर्जा निकासी गर्न सहज बनाउनेछ।
प्रधानमन्त्रीले रू३,४५० करोड़भन्दा बढ़ीको लागतमा दावणगेरे/चित्रदुर्ग र बल्लारी नवीकरणीय ऊर्जा क्षेत्रहरूको एकीकरणका लागि प्रसारण योजनाको शिलान्यास गर्नुहुनेछ। वहाँले रू१,१०० करोड़भन्दा बढ़ीको लागतमा दावणगेरे र बल्लारीमा थप नवीकरणीय ऊर्जा क्षमताको एकीकरणका लागि प्रसारण प्रणाली सुदृढ़ीकरण परियोजनाको पनि शिलान्यास गर्नुहुनेछ।
प्रधानमन्त्रीले रू८५० करोड़भन्दा बढ़ीको लागतमा निर्माण गरिएको मंगलुरूस्थित भारतको सबैभन्दा ठूलो भूमिगत एलपीजी भण्डारण गुफा राष्ट्रलाई समर्पण गर्नुहुनेछ। ८०,००० मेट्रिक टन भण्डारण क्षमता रहेको यस सुविधाले भारतको एलपीजी भण्डारण पूर्वाधारलाई उल्लेखनीय रूपमा सुदृढ़ गर्नेछ। यस परियोजनामा न्यु मंगलोर बन्दरगाहलाई मुख्य टर्मिनलसँग जोड़ने ९.४ किलोमिटर लामो एलपीजी पाइपलाइन पनि समावेश छ, जसले एलपीजीको प्रभावकारी ढुवानी र भण्डारणमा सहजता ल्याउनेछ। प्रधानमन्त्रीले बेंगलुरूस्थित मंगलोर रिफाइनरी एन्ड पेट्रोकेमिकल्स लिमिटेडको देवनगोन्थी मार्केटिङ टर्मिनल पनि राष्ट्रलाई समर्पण गर्नुहुनेछ। रू३३० करोड़को लागतमा निर्मित यस अत्याधुनिक सुविधाले कर्नाटकमा पेट्रोलियम पदार्थको भण्डारण र वितरण पूर्वाधारलाई सुदृढ़ गर्नेछ।
प्रधानमन्त्रीले बेंगलुरूको हरलकुन्टेस्थित गेलको कम्प्रेस्ड बायोग्यास प्लान्टको शिलान्यास गर्नुहुनेछ। यस प्लान्टले नगरपालिकाको दैनिक लगभग ३०० टन ठोस फोहोर प्रशोधन गरी १२.६ टन स्वच्छ कम्प्रेस्ड बायोग्यास उत्पादन गर्नेछ। यस परियोजनाले वैज्ञानिक फोहोर व्यवस्थापनलाई प्रवर्द्धन गर्नेछ, परम्परागत इन्धनमाथिको निर्भरता घटाउनेछ र स्वच्छ तथा दिगो वातावरण निर्माणमा योगदान पुर्याउनेछ।
प्रधानमन्त्रीले अमृत भारत स्टेशन योजना अन्तर्गत पुनर्विकास गरिएका चार रेलवे स्टेसनहरू - चामराजनगर, चिकमगलुरु, सकलेशपुर र सुब्रह्मण्य रोडको उद्घाटन गर्नुहुनेछ। पुनर्विकास गरिएका यी स्टेसनहरूले यात्रीहरूलाई अझ परिष्कृत सुविधाहरू प्रदान गर्नेछ र शहरको मुख्य केन्द्रका रूपमा काम गर्दै यस क्षेत्रमा स्थानीय व्यावसायिक गतिविधि तथा पर्यटनलाई प्रवर्द्धन गर्नेछ।
प्रधानमन्त्रीले २८४ किलोमिटर लामो गदग-होटगी दोहोरोकरण परियोजनाको एक हिस्साका रूपमा रहेको ४५ किलोमिटर लामो बागलकोट-वन्दल रेलवे लाइन दोहोरोकरण खण्ड राष्ट्रलाई समर्पण गर्नुहुनेछ। यस खण्डले यात्री तथा मालसामानको आवागमनमा सुधार ल्याउनेछ, स्थानीय व्यापारलाई टेवा पुर्याउनेछ र कुडगी एनटीपीसी प्लान्टमा कोइला आपूर्ति गर्न सहज बनाउनेछ।
प्रधानमन्त्रीले ५५ किलोमिटर लामो सकलेशपुर-सुब्रह्मण्य रोड घाट रेलवे खण्डको विद्युतीकरण पनि राष्ट्रलाई समर्पण गर्नुहुनेछ। भारतको सबैभन्दा चुनौतीपूर्ण रेलवे भूभागहरूमध्ये अवगमन हुने यस परियोजनाले एक महत्त्वपूर्ण इन्जिनियरिङ उपलब्धिलाई दर्शाउँदछ। यसको निर्माण सम्पन्न हुनका साथै अब सम्पूर्ण बेंगलुरू-मंगलुरू रेल मार्ग पूर्ण रूपमा विद्युतीकृत भएको छ।
प्रधानमन्त्रीले बेंगलुरु-मंगलुरु-मडगाउँ वन्दे भारत एक्सप्रेसलाई हरियो झण्डा देखाएर शुभारम्भ गर्नुहुनेछ, जसले बेंगलुरु, तटीय कर्नाटक र गोवाबीच द्रूत तथा आधुनिक रेल सम्पर्क प्रदान गर्नेछ। मडगाउँ पुग्नुअघि यस सेवाले हासन, सकलेशपुर, मंगलुरु, उडुपी, मुरुदेश्वर, गोकर्ण र कारवार लगायतका प्रमुख गन्तव्यहरूलाई जोड्नेछ, जसबाट यात्रीहरू लाभान्वित हुनेछन् र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ।
मैसुरूमा प्रधानमन्त्री
प्रधानमन्त्रीले कसमस-मैसुरू प्लानेटेरियमको उद्घाटन गर्नुहुनेछ, जसले देशको प्लानेटेरियम प्रविधि र खगोलशास्त्र शिक्षामा एक महत्त्वपूर्ण प्रगतिको सुरुवात गर्नेछ। भारतीय खगोल भौतिकी संस्थानद्वारा निर्मित कसमस-मैसुरू भारतको पहिलो एलईडी डोम प्लानेटेरियम हो। खगोलशास्त्र शिक्षा र प्रशिक्षण केन्द्रका रूपमा परिकल्पना गरिएको यो प्लानेटेरियम चामुण्डी पहाड़को फेदीमा अवस्थित मैसुरू विश्वविद्यालयको परिसरमा अवस्थित छ।
यस अत्याधुनिक सुविधामा लगभग ६,१५० प्यानल र ४.२ करोड़ व्यक्तिगत एलईडीहरू जड़ान गरिएको १५-मिटरको ढल्किएको डोम रहेको छ। निष्क्रिय डोममा तस्वीरहरू प्रदर्शन गर्न प्रोजेक्टर प्रयोग गर्ने परम्परागत प्लानेटेरियमहरू भन्दा फरक, यसका एलईडी प्यानलहरूलाई वास्तविक समयमा नियन्त्रण गर्न सकिन्छ, जसले यथार्थपरक दृश्य अनुभव र खगोलशास्त्र शिक्षाका लागि नयाँ सम्भावनाहरू प्रदान गर्दछ।
स्काई थिएटरले मैसुरूको इतिहास र खगोलशास्त्रबीचको सम्बन्धलाई उजागर गर्ने आन्तरिक चलचित्रका साथसाथै व्यावसायिक रूपमा निर्माण गरिएका खगोलशास्त्र सम्बन्धि कार्यक्रमहरू प्रदर्शन गर्नेछ। यी प्रदर्शनहरू कन्नड, अङ्ग्रेजी र हिन्दी भाषामा उपलब्ध हुनेछन्। यस केन्द्रमा प्रदर्शनी कक्षहरू, खगोलशास्त्रका नमुना र कलाकृतिहरू समेटिएको सङ्ग्रहालय, व्याख्यान कक्ष, प्रशिक्षण केन्द्र र अन्तरक्रियात्मक बाह्य प्रदर्शनीहरू पनि रहनेछन्।
यस केन्द्रका गतिविधिहरूले भारतीय खगोल भौतिकी संस्थानको अनुसन्धान, भारतभरि र अन्तरिक्षमा मल्टी वेभलेन्थ टेलिस्कोप सुविधाहरूको सञ्चालन, भविष्यका खगोलीय सुविधाहरूको विकास तथा राष्ट्रिय स्तरका जनचेतनामूलक कार्यक्रमहरूलाई सघाउ पुर्याउनेछन्।
*********
MPS/TWB