कृषि मन्त्रालय र किसान कल्याण
केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री श्री शिवराजसिंह चौहानद्वारा ग्वालियरमा 64 औं अखिल भारतीय गहूँ एवं जौं अनुसन्धान कार्यकर्ता गोष्ठीलाई सम्बोधित
लागत घटाउँदै गहूँ अनि जौंको उत्पादन बढाउन आवश्यक : श्री चौहान
Posted On:
27 AUG 2025 9:07AM by PIB Gangtok
केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री श्री शिवराजसिंह चौहानले भारत आज गहूँ अनि धानको उत्पादनमा आत्मनिर्भर भए तापनि खेतीलाई लाभकारी बनाउन उत्पादन बढाउनका साथसाथै लागत घटाउन त्यति नै जरुरी रहेको बताए। ग्वालियरस्थित राजमाता विजयाराजे सिन्धिया कृषि विश्वविद्यालयमा आयोजित 64 औं अखिल भारतीय गहूँ एवं जौं अनुसन्धान कार्यकर्ता गोष्ठीमा मुख्य अतिथिका रूपमा उनले सम्बोधित गरिरहेका थिए। गोष्ठीको शुरुवातमा कृषि वैज्ञानिक डा. एमएस स्वामीनाथनको शताब्दी वर्षको स्मरण गर्दै उनले श्रद्धाञ्जलि अर्पित गरे र देशमा खाद्यान्न आत्मनिर्भरतामा उनको योगदान अविस्मरणीय रहेको बताए। किसानहरूको मेहनतलाई नमन गर्दै उनले किसानहरूको परिश्रम र वैज्ञानिकहरूको शोधको बलमा भारत आज वैश्विक स्तरमा सुदृढ कृषि राष्ट्रका रूपमा खडा हुनसकेको बताए।
बितेको 10-11 वर्षमा गहूँको उत्पादन 86.5 मिलियन टनबाट बढेर 117.5 मिलियन टन पुगेको र यो करिब 44 प्रतिशतको वृद्धि रहेको कृषि मन्त्रीले बताए. यो उपलब्धि उल्लेखनीय भए तापनि अझै प्रति हेक्टर उत्पादनलाई वैश्विक औसतको बराबरमा ल्याउने दिशामा काम गर्नुपर्ने उनले बताए। गहूँ अनि धानको पर्याप्त उत्पादन भइसकेको तर आयातमाथि निर्भरता घटाउन अब दाल अनि तेलदानाको उत्पादकता बढाउनुपर्ने समयको माग रहेको उनले बताए। जौं जस्तो परम्परागत अनाजको औषधीय महत्त्व रहेको हुँदा यसको प्रोत्साहनमाथि पनि ध्यान दिन आवश्यक रहेको कुरामाथि उनले बल दिए।
बायोफोर्टिफाइड गहूँ विकसित गर्नका साथै असन्तुलित मलको उपयोगबाट माटोको गुणस्तरमा पर्ने दुष्प्रभावलाई रोक्ने दिशामा काम गर्न उनले वैज्ञानिकहरूलाई आग्रह गरे। यसका साथै परालको प्रबन्धन अनि किसानहरूलाई आधुनिक तकनिकी अपनाउनका लागि शिक्षित गर्न पनि त्यति नै आवश्यक रहेको उनले बताए। केन्द्र सरकारले किसानहरूलाई नकली मल अनि कीटनाशकबाट जोगाउन कडा कदम उठाइरहेको पनि उनले जानकारी दिए। जुन कम्पनीको उत्पादले फसललाई क्षति भएको छ, तिनीहरूको लाइसेन्स रद्द गर्न थालिएको र दोषीहरूमाथि पनि कडा कार्वाही हुने उनले स्पष्ट पारे।
लघु एवं सीमान्त किसानहरूका लागि एकिकृत खेती नै लाभकारी बाटो रहेको उल्लेख गर्दै यसमा खेतीका साथसाथै पशुपालन, मौरी पालन, मत्स्य पालन अनि बागवानी जोड्नुपर्ने कृषि मन्त्री श्री चौहानले बताए। सबै नागरिकलाई दैनिक जीवनमा स्वदेशी वस्तुहरूको उपयोग गरी देशको अर्थव्यवस्थालाई सुदृढ बनाउनका लागि सहयोग गर्न पनि उनले अपील गरे। यो सम्मेलन औपचारिकता मात्र नभएर यहाँबाट निक्लिएका सुझाउ अनि निष्कर्षहरूमाथि ठोस मार्गचित्र तयार गरी त्यसलाई लागू गरिने पनि उनले बताए।
“ल्याब टु ल्याण्ड”को लक्ष्य पूरा गर्नका लागि आफ्नो अनुसन्धानलाई किसानहरूसम्म पुऱ्याउन पनि उनले वैज्ञानिकहरूलाई आह्वान जनाए।
******
(Release ID: 2161213)