प्रधानमन्त्रीको कार्यालय
खगोल विज्ञान र खगोल भौतिकीमाथि 18 औं अन्तर्राष्ट्रिय ओलम्पियाडका लागि प्रधानमन्त्रीको भिडियो सन्देशको मूल पाठ
Posted On:
12 AUG 2025 6:42PM by PIB Gangtok
64 देशहरूका 300 भन्दा अधिक चम्किला ताराहरूसित जोड़िन पाउनु मेरो लागि एकदमै खुशीको कुरा हो। खगोल विज्ञान अनि खगोल भौतिकीमाथि 18 औं अन्तर्राष्ट्रीय ओम्पियाडको लागि म तपाईहरूलाई भारतमा हार्दिक स्वागत गर्दछु। भारतमा परम्पराको मिलन नवप्रवर्तनसंग, अध्यात्मको मिलन विज्ञानसित, अनि जिज्ञासाको मिलन सृजनशीलतासित हुँदछ। सदियौंदखि भारतीयहरू आकाशलाई नियालीरहेका छन् अनि गहिरो प्रश्नहरू सोध्दै आइरहेका छन्। उदाहरणका लागि पाँचौ शताब्दीमा आर्यभट्टले शुन्यको आविष्कार गरेका थिए। उनी नै पहिलो व्यक्ति थिए जसले पृथ्वी आफ्नै कक्षमा घुम्छ भन्ने कुरा बताएका थिए। शाब्दिक अर्थमा भन्नुपर्दा उनले शुन्यबाट शुरू गरेर इतिहास रचेका थिए।
आज हामी लद्दाखमा संसारकै एउटा उच्चतम खगोलीय वेधशालामध्ये एकको आयोजना गर्न लागिरहेका छौं। समुद्र तहदेखि 4,500 मिटरको ऊँचाईमा रहेको यस स्थानबाट ताराहरूसित हात मिलाउन सकिन्छ जस्तै अनुभूति हुन्छ। पुणेस्थित हाम्रो विशाल मिटरवेभ रेडियो टेलीस्कोप संसारको सबैभन्दा संवेदनशील रेडियो टेलिस्कोपहरूमध्ये एउटा हो। यसले हामीलाई पल्सर, क्वासर अनि आकाशगंगाहरूको रहस्य बुझ्न सहयोग गरिरहेको छ।
भारतले स्क्वायर किलोमिटर एरे अनि लिगो-इण्डिया जस्ता वैश्विक मेगा-विज्ञान परियोजनाहरूमा गर्वका साथ योगदान दिंदछ। दुई वर्ष अघि हाम्रो चन्द्रयान-3 ले इतिहास रचेको थियो। हामी चन्द्रमाको दक्षिणी ध्रुवको नजिक सफलतापूर्वक अवतरण गर्ने पहिलो देश भयौं। हामीले आदित्य-एल 1 र वेधशालाको माध्यमबाट सूर्यमाथि पनि आफ्नो ध्यान केन्द्रित गरिरहेका छौ। यसले सूर्यका ज्वालाहरू, आँधीहरू, र सूर्यको मनस्थिति परिवर्तनहरूमा निगरानी राख्दछ। गत महिनामात्र ग्रुप क्याप्टेन शुभांशु शुक्लाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि आफ्नो ऐतिहासिक मिशन पूरा गरेका छन्। यो सम्पूर्ण भारतीयहरूको लागि गर्वको क्षण हो अनि तपाईहरू जस्ता युवा अन्वेषणकर्ताहरूको लागि एउटा ठूलो प्रेरणा पनि हो।
साथीहरू,
भारत वैज्ञानिक जिज्ञासालाई प्रोत्साहन गर्न र युवाहरूलाई सशक्त बनाउन गहिरो रूपमा प्रतिवद्ध छ। 1 करोड़ भन्दा अधिक विद्यार्थीहरूले अटल टिङकरिङ ल्याबमा प्रयोगात्मक तरिकाले एसटीईएमको अवधारणा बुझीरहेका छन्। यसले गर्दा सिक्ने अनि नवप्रर्वतनको संस्कृतिको विकास भइरहेको छ। ज्ञानको पहुँचलाई अझ लोकतान्त्रिक बनाउन हामीले एक राष्ट्र एक सदस्यता योजना शुरू गरेका छौं। यसले लाखौ विद्यार्थीहरू र शोधकर्ताहरूलाई नुशुल्क रूपमा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित पत्रिकाहरूमा निशुल्क पहुँच उपलब्ध गराउँदछ।
तपाईहरूलाई यो थाहा पाउँदा खुशी लाग्नेछ कि एसटीईएमको क्षेत्रमा महिलाहरूको सहभागितामा भारत अग्रणी देश हो। विभिन्न पहलहरू अन्तर्गत अनुसन्धानको क्षेत्रमा अरबौं डलरको निवेश भइरहेको छ। हामी तपाईहरू जस्ता विश्वभरिका युवा मस्तिष्कहरूलाई भारतमा आएर अध्य्यन, शोध अनि सहकार्य गर्न हार्दिक निमन्त्रणा दिन्छौं। कसलाई थाहा, अघिल्लो ठूलो वैज्ञानिक खोज यीनै साझेदारीहरूबाट जन्मिन सक्छ।
साथीहरू,
तपाईहरूले गर्ने हरेक प्रयासमा म तपाईहरूलाई यो सोच्नको लागि प्रेरित गर्न चाहन्छु कि हामीले मानवताको हितमा कसरी काम गर्न सक्छौं। जब हामी ब्रह्माण्डको अन्वेषण गरिरहेका छौं भने हामीले यो पनि सोध्नु पर्छ कि अन्तरिक्ष विज्ञानद्वारा पृथ्वीमा मानिसको जीवनलाई अझ कसरी सुधार गर्न सकिन्छ? कृषकहरूलाई कस्तो प्रकारले अझ राम्रो मौसम पूर्वानुमान दिन सकिन्छ? के हामीले प्राकृतिक आपदाहरूको पूर्वानुमान गर्न सक्छौं? के हामीले जंगलको आगो र पग्लँदै गएका हिमनदीहरूको निगरानी गर्न सक्छौं? के हामी सुदुरवर्ती क्षेत्रहरूमा असल सञ्चार व्यवस्था कायम गर्न सक्छौं? विज्ञानको भविष्य तपाईहरूको हातमा छ। यो कल्पना र करूणाका साथ वास्तविक संसारका समस्याहरूको समाधानमा निहित छ। म तपाईहरूलाई आग्रह गर्दछु कि तपाईहरू सोधि रहनुहोस्, “त्यहाँ के छ”? अनि यस कुरामा पनि ध्यान दिनुहोस् कि त्यसले यहाँ हामीलाई कसरी मद्दत गर्नसक्छ?
साथीहरू,
भारतले अन्तर्राष्ट्रिय सहकार्यको शक्तिमा विश्वास गर्दछ। यो ओलम्पियाडले त्यही भावनालाई दर्शाउँदछ। मलाई भनिएको छ कि ओलम्पियाडको यो संस्करण अहिलसम्म कै सबैभन्दा ठूलो हो। यस आयोजनलाई सम्भव बनाउनमा मद्दत गर्ने होमी भाभा विज्ञान केन्द्र अनि टाटा इन्सटिट्यूट अफ फण्डामेन्टल रिसर्चलाई धन्यवाद दिंदछु। उच्च लक्ष्य राख्नुहोस्, ठूलो सपना देख्नुहोस्। अनि याद राख्नुहोस्, भारतमा हामी विश्वास गर्छौं कि आकाश सीमितता होइन, यो त केवल शुरूवात मात्र हो।
धन्यवाद।
*********
(Release ID: 2155970)
Read this release in:
Marathi
,
Tamil
,
Telugu
,
Kannada
,
English
,
Urdu
,
Hindi
,
Manipuri
,
Bengali
,
Assamese
,
Punjabi
,
Gujarati
,
Malayalam