कृषि मन्त्रालय र किसान कल्याण
azadi ka amrit mahotsav

विकसित कृषि सङ्कल्प अभियानको पाँचौं दिन शिवराजसिंह चौहानले बिहारका किसानहरूसँग भेटघाट गरे


पूर्वी चम्पारणको पीपराकोठीको कृषि विज्ञान केन्द्र कार्यक्रम आयोजित

चम्पारणको पावन धरतीबाट महात्मा गान्धीले सत्याग्रह अनि अहिंसाको मन्त्र सम्पूर्ण विश्वलाई दिएका थिए : शिवराजसिंह चौहान

कृषि मन्त्रीको अर्थ हुन्छ किसानहरूको पहिलो सेवक : शिवराजसिंह चौहान

खेतको आकार सानो भए तापनि बिहारका किसानहरूले सून फलाइरहेका छन् : शिवराजसिंह चौहान

लिचीको उब्जनी 48 घण्टामा खराब नहोस्, यसका लागि ठोस शोध अनि प्रयास गरिनेछ : शिवराजसिंह चौहान

बिहारको चिउरा विदेशमा निर्यास होस्, यसको योजना बनाइनेछ : शिवराजसिंह चौहान

प्रधानमन्त्रीको सफल नीतिका कारण बिहारमा मकैको उत्पादन बढेको छ : शिवराजसिंह चौहान

145 करोड जनतालाई प्रशस्त भोजन उपलब्ध गराउनु प्रधानमन्त्री मोदीको लक्ष्य छ : शिवराजसिंह चौहान

“अन्नदाता सुखी भवः” अन्नदाता सुखी त देश सुखी : शिवराजसिंह चौहान

Posted On: 02 JUN 2025 5:30PM by PIB Gangtok

विकसित कृषि सङ्कल्प अभियानलाई लिएर देशभरीका किसानहरूमा उत्साह जारी छ। यसै क्रममा आज केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री शिवराजसिंह चौहानले अभियानको पाँचौं दिन बिहार, पूर्वी चम्पारणको पीपराकोठीमा किसानहरूसँग संवाद गरे। ओडिशा, जम्मू, हरियाणा, उत्तर प्रदेशका किसानहरूपछि केन्द्रिय मन्त्री चौहानले आज बिहारका किसानहरूसँग भेटघाट गरे।

यस अवसरलाई सम्बोधित गर्दै केन्द्रिय मन्त्री चौहानले पूर्वी चम्पारणको पीपराकोठी पुण्य भूमि रहेको बताए। यसै पावन धरतीबाट महात्मा गान्धीले सत्याग्रह अनि अहिंसाको मन्त्र सम्पूर्ण विश्वलाई दिएको उल्लेख गर्दै यहाँ आएर अभिभूत बनेको बताए। महात्मा गान्धीको आदर्श अनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्त्वमा पीपराकोठीमा कृषि विज्ञान केन्द्रको स्थापनासहित खेतीको उन्नतिका लागि अनेकौं कार्य गरिएको उनले जानकारी दिए। यस धरतीमा अङ्ग्रेजले किसानहरूमाथि अन्याय र अत्याचार गर्दा बापूले आन्दोलनको शुरुवात गरेको उल्लेख गर्दै यही आन्दोलनरूपी शस्त्र स्वतन्त्रताको हतियार बने हुँदा अङ्ग्रेजले 1947 मा भारत छोड्नुपरेको कारण यस पुण्य भूमिलाई बारम्बार प्रणाम गर्ने उनले बताए।

कृषि मन्त्रीको अर्थ किसानहरूको पहिलो सेवक रहेको उल्लेख गर्दै कृषि भारतीय अर्थव्यवस्थाको मेरुदण्ड अनि किसान त्यसको आत्मा रहेको बताए। प्रधानमन्त्रीको विकसित भारतको सङ्कल्प, विकसित कृषि अनि समृद्ध किसानबाट मिलेर पूरा हुने बताउँदै यसका लागि हामी सबै मिलेर प्रयास गर्नुपर्ने आशय व्यक्त गरे। केन्द्रिय मन्त्री चौहानले आज लिचीको खेती गर्ने किसानहरूसँग पनि संवाद गरे। लिची छिट्टै बिग्रिने प्रवृत्तिको भएका कारण यसलाई 48 घण्टाभित्र बिक्री गर्नुपर्ने हुन्छ र यस कारण कहिले-काहिँ मूल्य पाउन सकिँदैन भन्दै यस समस्याको समाधान गर्न कदम उठाउने उनले आश्वासन दिए। यस सम्बन्धमा केन्द्रिय कृषि मन्त्रीले भारतीय कृषि अनुसन्धान परिषदका वैज्ञानिकहरूलाई शोध गरी लिची छिट्टै खराब नहुने र किसानहरूले सही दाम पाउनसक्ने तकनिकी विकसित गर्न उनले निर्देश दिए। यस दिशामा शीत भण्डारणको सङ्ख्या बढाउने पनि उनले कुरा गरे।

प्रधानमन्त्रीको कारगर नीतिहरूको परिणामस्वरूप बिहारमा मकैको खेती तेजीका साथ बढिरहेको र हालमा आएर यसको प्रयोग ईथेनलमा पनि हुन थालेको उनले बताए। पहिले 12 सयदेखि 15 सय रुपियाँ प्रति क्विन्टल बिक्री हुने मकैको मूल्य ईथेनलका कारण बढेको उनले उल्लेख गरे। यसका साथै पहिलेको 23-24 क्विन्टल प्रति हेक्टरबाट बढेर यसको उब्जनी 50 देखि 60 क्विन्टल प्रति हेक्टर पुगेको पनि उनले अवगत गराए।

बासमतीका साथसाथै अन्य प्रकारका धानको उत्पादन वृद्धि गर्नका लागि वैज्ञानिकहरूलाई शोध गरी उन्नत प्रजातिको बिउ विकसित गर्न उनले निर्देश दिए। बिहारमा किसानहरूसँग खेतको आकार सानो भए तापनि उनीहरूले यस धरतीमा सून फलाइरहेको उनले बताए। हालै धानका दुई प्रजाति विकसित गरिएको जानकारी दिँदै शोधको माध्यमद्वारा 20 प्रतिशत कम पानी लागे तापनि 30 प्रतिशत धेरै उब्जनी दिने यस्ता दुई नयाँ प्रकारको धान विकसित गरिएको उनले जानकारी दिए।

प्रधानमन्त्रीको नेतृत्त्वमा बिहारको फसलको उत्पादन बढाउन कुनै कसर बाँकी नछोड्ने उल्लेख गर्दै 145 करोड जनतालाई भरपूर भोजन सुनिश्चित गराउने प्रधानमन्त्री मोदीको लक्ष्य रहेको उनले बताए। अन्नका साथसाथै फल-फूल अनि सब्जी इत्यादिको उत्पादन बढाउन पनि उनले जोड दिए।

पहलगाम आतङ्की हमलाको निन्दा गर्दै पाकिस्तानको हिमाकतलाई प्रधानमन्त्रीको नेतृत्त्वमा त्यस्तै भाषामा उत्तर दिइएको उल्लेख गर्दै 25 मिनटमा पाकिस्तानको आतङ्की अड्डाहरू ध्वस्त गरी पाकिस्तानलाई तीन दिनमै घुँडा टेकाएको उनले बताए। 80 प्रतिशत पानी पाकिस्तानको भागमा पार्ने सिन्धु जल सम्झौतालाई पनि रद्द गरिएको र प्रधानमन्त्रीले कडा शब्दमा पाकिस्तानलाई खून अनि पानी एकसाथ बग्न नसक्ने स्पष्ट बताएको उल्लेख गर्दै भारतको पानी भारतका किसानहरूको निम्ति रहेको उनले स्पष्ट पारे।

नकली कीटनाशक बनाउने कम्पनीहरू विरुद्ध कडा कदम उठाइरहेको उल्लेख गर्दै नकली कीटनाशक बनाउनहरू विरुद्ध कडा कार्वाही गर्दै कसैलाई नछोडिने उनले खबरदारी गराए। खेतामा चमत्कार अनि गङ्गा अनि जमुना जस्तै “ल्याबलाई ल्याण्ड”सँग जोड्नका लागि नै विकसित कृषि सङ्कल्प अभियान बनाइएको उनले बताए। यस अभियान अन्तर्गत 16 हजार वैज्ञानिक प्रयोगशालाबाट निक्लेर गाउँ-गाउँ गाई किसानहरूसँग सीधै संवाद गरिरहेको उनले बताए।

अन्त्यमा केन्द्रिय कृषि मन्त्री शिवराजसिंह चौहानले सबैलाई एक राष्ट्र, एक कृषि, एक टीमको मन्त्रलाई आत्मसात गर्दै अघि बढ्ने आह्वान जनाए। किसानहरूको समृद्धिका लागि हरसम्भव प्रयास गरिने बताउँदै उत्पाद कसरी बढाउने, बिहारको चिउरा कसरी विदेशमा निर्यात गर्नसकिन्छ, यसका लागि योजना बनाइने उनले आश्वासन दिए। “अन्नदाता सुखी भवः” नै सबैथोक रहेको र देशका अन्नदाता सुखी भए देश पनि सुखी हुने उनले बताए। यस अवसरमा पूर्वी चम्पारणका सांसद राधामोहन सिंहसहित विधायक, वैज्ञानिक, अधिकारीगण अनि धेरै सङ्ख्यामा किसानहरू उपस्थित थिए।

*********


(Release ID: 2133334)