संस्कृति मन्त्रालय
महाकुम्भ 2025 मा माघे सङ्क्रान्ति
समयदेखि पर एउटा उत्सव, जीवनदेखि पर एउटा पल
Posted On:
14 JAN 2025 6:48PM by PIB Gangtok
हिउँदको अन्त्य र गरमको शुरुवातको सङ्केतक जस्तै माघे सङ्क्रान्तिको बिहान हुँदा, प्रयागराजमा त्रिवेणी सङ्गम तटमा दिव्य वैभवको दृश्य उत्पन्न भयो। महाकुम्भ 2025 को पहिलो अमृत स्नान (पवित्र डुबुल्की), माघे सङ्क्रान्तिको शुभ अवसरमा शुरु भयो, जसमा लाखौं श्रद्धालु अनि सन्तले मुटु कमाउने जाडो भए तापनि गङ्गा-यमुना-सरस्वतीको पवित्र त्रिवेणीमा डुबुल्की लगाए। पहिलो अमृत स्नानमा तीन करोड पचास लाखभन्दा धेरै भक्तले पवित्र सङ्गममा डुबुल्की लगाए, जसबाट महाकुम्भको पहिलो दुई दिनमै श्रद्धालुको कूल सङ्ख्या 5 करोडभन्दा धेरै पुग्यो। शुद्धि र आशीर्वादका प्रतीक आस्थाको यस पुनित कार्यले भारतीय संस्कृति र परम्पराको सार दर्शाउँदछ।
श्रद्धालुहरूले पवित्र स्नान गर्दै पवित्र र समृद्धिको कामना गरे। कैयौं मानिसले भगवान सूर्यलाई अर्घ्य दिए, पुण्य र मोक्षका लागि आशीर्वाद मागे, कारण माघे सङ्क्रान्ति सूर्य देवलाई समर्पित छ। वैज्ञानिक रूपमा यस पर्वले उत्तरी गोलार्धमा सूर्यको सङ्क्रमणलाई चिन्हित गर्दछ, जुन लामो दिन र छोटो रातको सङ्केतक हो। पवित्र डुबुल्की लगाएपछि, भक्तहरूले अनुष्ठान गरे र घाटमा प्रार्थना गरे। यसमा उनीहरूले तिल, खिचडी र अन्य पवित्र वस्तु देवलाई समर्पित गरे। श्रद्धालुहरूले गङ्गा आरतीमा पनि भाग लिए। परम्परा अनुसार उनीहरूले दान-पुण्य पनि गरे। श्रद्धालुहरूले तिल र खिचडी दान गरी यस पवित्र पर्वको पावनता बढाए।
क्यालिफोर्नियाका बासिन्दा भारतीय-अमेरिकी सुदर्शनले कुम्भ पर्वप्रति आफ्नो श्रद्धा व्यक्त गर्दै भने, “म 6 सालअघि अर्धकुम्भमा आएको थिए र मलाई यहाँ अति नै महत्त्वपूर्ण अनुभव प्राप्त भएको थियो। यसैले म यस महाकुम्भ मेलामा फेरि आएको छु कारण यो केही ऊर्जासँग जोडिने अति नै विशेष अवसर हो, जुन अरू कतै पनि पाउन सकिँदैन, र यसैले म यहाँ प्रार्थना गर्न र जीवन पथमा अघि बढ्नका लागि आशीर्वाद माग्न आएको हुँ।” महाकुम्भ पर्वमा मानिसहरूको आध्यात्मिक जागृतिका यस्ता अनेकौं कथा छन्।
महाकुम्भ कुनै साधारण पर्व होइन। यो एउटा महाघटना हो, जसले त्रिवेणी सङ्गमको घाटलाई आस्था र दिव्यतामा परिणत गरिदिन्छ। गहिरो र्तारिपछि ब्रह्म मुहूर्तमा सूर्यको पहिलो किरणले सङ्गमलाई स्पर्श गर्दा भक्तहरूको भीड जमिसकेको थियो। प्रत्येक मनुष्यले सङ्गममा पवित्र डुबुल्की लगाएर आत्मशुद्धि र आशीर्वाद मागिरहेका थिए। श्रद्धालुहरूको सामूहिक भक्तिले जनवरीको कठ्याङ्ग्रिने जाडो पनि एकदमै नगण्य जस्तो लागिरहेको थियो।
लाखौं मानिसको यस भीड बीच सन्तहरूका अखाडाको स्नान विशेष रूपले दर्शनीय थियो। पञ्चायती अखाडा महानिर्वाणीका नागा साधुहरूले भव्यताका साथ शाही अमृत स्नान गरे। भाला, त्रिशूल अनि तलवारले सुशोभित उनीहरू एक जुलूसमा भीडका बीच निक्ले जुन कुनै राजसी आगमनभन्दा कम थिएन। घोडा अनि रथहरूमा सवार भई उनीहरूका तपस्वी रूपले आध्यात्मिक ऊर्जा सञ्चार गर्दै उपस्थित जनसमुदायलाई सम्मोहित गेरको थियो। यसपछि भजन मण्डलीहरूका स्वरलहरीले स्थिति मनमोहक बनाएको थियो भने भजनका बीच भक्तजनको “हर हर महादेव” र “जय श्रीराम”को उद्घोषले हावामा दिव्य लयका साथ अलौकिक कम्पन उत्पन्न गरेको थियो।
सङ्गम तटमा यस्ता अद्भूत दृश्यमा परिवारहरूले पनि आस्थाको अर्को परत थपेको थियो। कतै पिताले आफ्ना बच्चाहरूलाई पवित्र सङ्गमको पहिलो झलक देखाउन आफ्नो काँधमा बोकेका थिए भने कतै छोराहरूले आफ्ना बुजुर्ग माता-पितालाई भीडले भरिएको घाटबीच पवित्र जलमा स्नान-अर्चना गराउन बाटो देखाउँदै डोऱ्याइरहेका थिए। यो भारतीय संस्कृतिको चिरस्थायी मूल्यको एउटा जीवन्त रूप थियो, जसमा श्रद्धा, कर्तव्य र एकता समाहित थियो।
तीर्थयात्रीहरूको व्यापक विविधता - विभिन्न भाषा बोल्ने, विभिन्न पारम्परिक पोशाक लगाएका अनि अनौठो सांस्कृतिक प्रथा पालन गर्ने श्रद्धालुहरूको उपस्थितिले सङ्गम तटमा एउटा अद्भूत सम्भावको दृश्य उत्पन्न गरेको थियो। विविधताका बीच यो एकता महाकुम्भको सबैबन्दा गहन आयाममध्ये एक हो। यहाँ भारतको सांस्कृतिक अनि आध्यात्मिक विरासत जीवन्त बनेको थियो, जसमा भारतीय तिरङ्गाका साथसाथै सनातन परम्पराको भगवा ध्वज लहराएको थियो, जुन देशको एकता र अखण्डताको प्रतीक हो।
प्रशासनद्वारा सावधानीपूर्वक बनाइएको योजनाबाट महाकुम्भ शान्तिपूर्ण साथै सुव्यवस्थित रहने सुनिश्चित गरिएको थियो। सङ्गमतर्फ जाने हरेक सडकमा अवरोध लगाइएका छन् र सुरक्षा अनि कुशल भीड प्रबन्धनका लागि गहनताका साथ जाँच गरिन्छ। पुलिस अनि सुरक्षाकर्मीहरूले मेला क्षेत्रमा गस्ती लगाइरहेका छन् भने उनीहरूको उपस्थिति महाकुम्भ नगरको विशाल क्षेत्रमा पुग्ने तीर्थयात्रीहरूका लागि आश्वस्त गर्ने दृश्य बनेको छ। स्वयंसेवकहरूको प्रयासले मेलामा शान्ति र सुरक्षा कायम छ जसले श्रद्धालुहरूलाई सहृदयता अनि कर्मठताका साथ निर्देशित गरिरहेका छन्।
सङ्गमको यात्रा वास्तवमा कैयौंका लागि यस पर्वभन्दा पनि पहिले नै शुरु भइसकेको थियो। युवा अनि बूढा तीर्थयात्रीहरू आफ्नो टाउकोमा कुम्लो-कुटुरो बोकेर कोशौं पैदल हिँड्दै यहाँ पुग्नुले पनि उनीहरूको अटूट विश्वासलाई दर्शाउँदछ। केही मानिसले रातका समै नै ताराहरूको जगमगाउँदो आकाशमुनि चिसो पानीको वास्ता नगरी पवित्र स्नान शुरु गरे। जसै-जसै घाम आकाशमा चढ्दै गयो, नागवासुकी मन्दिर अनि सङ्गम क्षेत्र भक्तिको विशाल केन्द्रविन्दु बन्नपुग्यो। बुजुर्ग भक्त, महिला अनि युवाहरू प्रार्थना र पवित्र अनुष्ठानमा भाग लिनका लागि त्यहाँ एकत्रित भए।
महाकुम्भ भारतीय विरासत र आध्यात्मिकताको प्रतिबिम्ब हो। माघे सङ्क्रान्तिमा अमृत स्नानलाई जीवनमा आशीर्वाद र सकारात्मकता ल्याउने उपाय मानिन्छ। सङ्गमको पवित्र जलमा डुबुल्की लगाउनाले सबै पाप धोइने र मोक्ष प्राप्त हुने भक्तहरूको मान्यता छ।
यसैबीच दिन ढलेपछि सङ्गम तटमा विभिन्न गतिविधि जारी रहेको थियो। श्रद्धालुहरूले दीप प्रज्ज्वलित गरी जलधारामा प्रवाहित गरे। दीपहरूको टिमटिमाउँदो ज्योति आशाको प्रतीक र प्रार्थना परमात्मासम्म पुऱ्याइरहेको भान हुने गर्दछ। गङ्गा, यमुना र सरस्वतीको सङ्गम गोँधुलीमा झलमलाएको थियो, मानौ स्वर्गले पृथ्वीलाई छोइरहेको छ। प्रयागराज पुगेर महाकुम्भ 2025 मा माघे सङ्क्रान्तिको साक्षी बन्नेहरूका लागि यो घटना मात्र नभेर जिउने, महसुस गर्ने र त्यसलाई आत्माभित्र समेट्ने जस्तो अनुभव थियो। यो समयको त्यो क्षण थियो, जसले सांसारिक अनि परमात्माबीच भेद मानौ मेटाइदिएको थियो।
एकजना सन्तको शब्दमा भन्नुपर्दा, “महाकुम्भ एउटा पर्व मात्र नभएर यसले शाश्वतदेखि हाम्रो सम्बन्धलाई स्मरण गराउँदछ। यो त्यो ठाउँ हो, जहाँ मानवताको अनगन्ति धागो देवत्त्व र एकताको तानाबाना बुन्नका लागि एक साथ मिल्ने गर्दछ।”
सन्दर्भ :
सूचना एवं जनसम्पर्क विभाग (डीपीआइआर), उत्तर प्रदेश सरकार
https://x.com/myogiadityanath/status/1879136547015962892?t=_aa-G1RJWaVKe7tUdOhi6A&s=08
https://x.com/MahaKumbh_2025/status/1879047867521999200
https://x.com/MahaKumbh_2025
*******
(Release ID: 2093059)
Visitor Counter : 7