गोवा, 27 नोभेम्बर, 2026।
५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को इण्डियन प्यानोरमा खण्डमा प्रस्तुत गरिएको पारो: द अनटोल्ड स्टोरी अफ ब्राइड स्लेभरीले विशेषगरी हरियाणाको मेवात क्षेत्रमा महिलाहरूलाई दुलहीका रूपमा किनबेच गर्ने विचलित पार्ने र निकै कम चर्चा हुने प्रथालाई उजागर गरेको छ। यस क्षेत्रमा ‘पारो’ शब्द विवाहका लागि किनेर वा बेचेर ल्याइएका महिलाहरूलाई जनाउन प्रयोग गरिन्छ।
पत्रकार सम्मेलनमा अभिनेत्री तथा निर्माता तृप्ति भोइरले यो चलचित्र बनाउन आफूले साढ़े चार वर्ष अनुसन्धान गरेको बताउनुभयो। यो उहाँको ओस्कार सूचीमा सूचीकृत दोस्रो चलचित्र हो। यस चलचित्रको सिर्जनात्मक यात्रामा तृप्ति भोइरले निर्माता, पटकथा लेखिका र मुख्य अभिनेत्री गरी तीनवटै जिम्मेवारी निर्वाह गर्नुभएको छ।

चलचित्र निर्माणसम्मको चुनौतीपूर्ण अनुसन्धान
भारतमा बेहुली दासत्वको प्रथालाई उजागर गर्ने वृत्तचित्र र सञ्चारमाध्यमका समाचार सामग्री हेरेपछि चलचित्रको अवधारणा जन्मिएको थियो। महिला मुद्दा र अधिकारमा केन्द्रित चलचित्रहरूका लागि परिचित भोइरले ती सामग्रीमार्फत थाहा पाएका वास्तविकताले आफूलाई निकै विचलित बनाएको बताउनुभयो।
एउटा गैरसरकारी संस्थाको सहयोगमा भोइर र उहाँकी आमाले पत्रकारको भेषमा ती गाउँहरूको भ्रमण गर्नुभयो। उहाँहरूले महाराष्ट्र, आन्ध्र प्रदेश, ओडिशा, बिहार, उत्तर प्रदेश, राजस्थान, गुजरात र दिल्लीका करिब ६२ देखि ६३ जना बेहुली दासत्वको सिकार भएका महिलाहरूसँग भेट गर्नुभएको थियो।
भोइरले बेहुलीको किनबेच लैङ्गिक असमानता र गरिबीमा जरा गाड़ेर रहेको बताउनुभयो। यो प्रथा हरियाणामा मात्र सीमित नभई व्यापक राष्ट्रिय चिन्ताको विषय भएको र विभिन्न राज्यका महिला तथा बालिकाहरू यसको सिकार भइरहेको उहाँले बताउनुभयो।
अनुसन्धानका क्रममा उजागर भएका सबैभन्दा विचलित पार्ने घटनामध्ये करिब ११ देखि १३ वर्ष उमेरकी एउटी बालिकालाई अत्यन्तै न्यून रकममा बेचिएको घटना पनि थियो। यही बालिकाको कथा चलचित्रकी मुख्य पात्रको प्रेरणा बन्यो, जसको भूमिका स्वयं तृप्ति भोइरले निर्वाह गर्नुभएको छ। यस पात्रमार्फत निर्देशकले अनगिन्ती महिलाहरूले भोगिरहेको पीड़ा, विवशता र क्रूर शोषणलाई पर्दामा प्रस्तुत गर्न खोज्नुभएको छ, जसका कथाहरू प्रायः सुनिँदैनन्।

सिनेमा बाहिर पनि सङ्घर्ष जारी
यस चलचित्रको महत्त्व कथा प्रस्तुतिमा मात्र सीमित छैन। तृप्ति भोइरले गैरसरकारी संस्था सेल्टर फाउण्डेसनले बेहुली दासत्वका सिकार भएका करिब २,००० महिलाको तथ्याङ्क सङ्कलन गरेको बताउनुभयो। उक्त तथ्याङ्क करिब एक वर्ष तीन महिनाअघि राष्ट्रिय महिला आयोगकी अध्यक्ष विजया रहाटकरलाई बुझाइएको थियो। त्यसपछि केन्द्र सरकारले तथ्य पत्ता लगाउने समिति गठन गरेको छ। उहाँले भन्नुभयो, “यस मुद्दालाई सम्बोधन गर्न कदम चालिएकोमा म सरकारलाई सलाम गर्छु। यो चलचित्र निर्माण गर्नुको अर्को कारण पनि यही हो।”
महिला बेचबिखन: विश्वव्यापी मुद्दा
भोइरले बेपत्ता हुने बालिका र यौन हिंसा विश्वभरकै चिन्ताका विषय रहेको पनि बताउनुभयो। पछिल्ला १५ देखि २० वर्षमा मानव बेचबिखन र वेश्यावृत्तिबारे जनचेतना उल्लेखनीय रूपमा बढ़े पनि बेहुली किनबेच र बेहुली दासत्वको प्रथाले तुलनात्मक रूपमा निकै कम ध्यान पाउने गरेको उहाँले बताउनुभयो। विश्वभरका चलचित्र महोत्सव र संस्थाहरूमा चलचित्र प्रदर्शनका क्रममा भएका अन्तरक्रियाले यस मुद्दामा अन्तरराष्ट्रिय स्तरमा थप जनचेतना र छलफल आवश्यक रहेको आफ्नो विश्वासलाई अझ बलियो बनाएको उहाँले बताउनुभयो।
पारो: द अनटोल्ड स्टोरी अफ ब्राइड स्लेभरी मार्फत तृप्ति भोइरले समाजको ओझेलमा परेको एउटा गम्भीर मुद्दालाई मूलधारको बहसमा ल्याउने र लैङ्गिक असमानता, बेहुली दासत्व तथा महिलाको गरिमा र अधिकारबारे संवाद शुरु गर्ने आशा राख्नुभएको छ।
पत्रकार सम्मेलनको सञ्चालन शुभङ्कर वशिष्ठले गर्नुभएको थियो।
आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्: https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
******
MPS/TWB