PIB Backgrounder
azadi ka amrit mahotsav

काशी तमिल संगमम ५.०


तिरुक्कुरल पयिल्वोम्: भारतभरिका शैक्षिक संस्थानहरूमा तिरुक्कुरलको पहुँच विस्तार

पोस्ट गरियो: 25 NOV 2026 9:41AM by PIB Gangtok

नयाँ दिल्ली, 25 नोभेम्बर, 2026:

काशी तमिल संगममले तमिलनाडु र काशी (वाराणसी) बीचको दीर्घकालीन सांस्कृतिक, भाषिक तथा सभ्यतागत सम्बन्धलाई उजागर गर्दै ‘एक भारत श्रेष्ठ भारत’ को भावनालाई प्रतिबिम्बित गर्दछ। यसको पाँचौँ संस्करण २८ नोभेम्बरदेखि १२ दिसम्बर २०२६ सम्म आयोजना हुनेछ। यस संस्करणको मुख्य विषय “तिरुक्कुरल पयिल्वोम् – तिरुक्कुरल अध्ययन गरौँ” रहेको छ, जसको उद्देश्य युवा विद्यार्थीहरूमाझ तिरुक्कुरलका कालजयी शिक्षाहरूको प्रवर्द्धन गर्नु हो। यस अवसरमा तमिलनाडुबाट करिब १,४०० प्रतिनिधिले वाराणसी, प्रयागराज र अयोध्याको भ्रमण गर्नेछन्। देशव्यापी विद्यार्थी सहभागिता कार्यक्रमअन्तर्गत १,००० उच्च शैक्षिक संस्थानलाई सहभागी गराइनेछ। यसका साथै, तमिलनाडुका शिक्षकहरूले उत्तर प्रदेशका विद्यालय तथा कलेजहरूमा तिरुक्कुरलको परिचय गराउनेछन्। शैक्षिक आदानप्रदान, सांस्कृतिक कार्यक्रम तथा बहुभाषिक पहुँचका माध्यमबाट यस पहलले पारस्परिक समझदारीलाई अझ गहिरो बनाउने, जनस्तरको सम्बन्ध सुदृढ गर्ने र भारतको साझा सम्पदालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

 

काशी तमिल संगममबारेमा

काशी तमिल संगममले तमिलनाडु र काशीबीचको प्राचीन सभ्यतागत सम्बन्धलाई उजागर गर्दछ। यी दुवै प्राचीन ज्ञानका केन्द्र हुन्। भारतका उत्तरी र दक्षिणी क्षेत्रबीचको सांस्कृतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दै दुवै राज्यका धेरै मानिसले आफ्नो धार्मिक परम्पराअन्तर्गत काशी र रामेश्वरमको भ्रमण गर्दै आएका छन्।

तमिलनाडुका धेरै मानिस पुस्तौँदेखि हनुमान घाट र केदार घाट आसपास बसोबास गर्दै आएका छन्। धर्मपुरम अधीनमका स्वामी कुमारगुरुपर तमिलनाडुबाट काशी आउनुभएको थियो र उहाँले केदार घाटमा केदारेश्वर मन्दिर निर्माण गर्नुभएको थियो। २०० वर्ष पुरानो कुमारस्वामी मठ र मार्कण्डेय आश्रम पनि यही घाटमा अवस्थित छन्। तमिलनाडुको तेन्कासीलाई दक्षिणको काशी भनिन्छ। बनारस हिन्दू विश्वविद्यालयमा महाकवि सुब्रमण्यम भारतीका नाममा समर्पित एक अध्ययनपीठ रहेको छ।

सन् २०२२ मा घोषणा गरिँदा तय गरिएको संगममको बृहत् उद्देश्य दुई क्षेत्रका ज्ञान तथा सांस्कृतिक परम्परालाई नजिक ल्याउनु, साझा सम्पदाबारे समझदारी विकास गर्नु र दुवै क्षेत्रका मानिसबीचको सम्बन्धलाई अझ गहिरो बनाउनु हो।

पहिलो काशी तमिल संगमम् सन् २०२२ मा ‘आजादीका अमृत महोत्सव’का अवसरमा आयोजना गरिएको थियो। यसका चार संस्करणमार्फत दुई क्षेत्रबीच ज्ञान, भाषा, परम्परा र जीवनका अनुभवहरूको आदानप्रदानलाई सहज बनाइएको छ। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यसलाई “‘एक भारत, श्रेष्ठ भारत’को भावनालाई अझ गहिरो बनाउने जीवन्त कार्यक्रम” भन्नुभएको छ।

प्रत्येक संस्करणमा तमिलनाडुका विद्यार्थी, शिक्षक, कारीगर, विद्वान्, आध्यात्मिक अगुवा तथा सांस्कृतिक क्षेत्रमा संलग्न व्यक्तिहरूले काशीमा एक सप्ताहदेखि दस दिनसम्म बिताउँदै आएका छन्। उनीहरूले काशीका मन्दिरहरू, तमिलनाडुसँग सम्बन्धित स्थलहरू तथा नजिकैका अयोध्या र प्रयागराज सहरहरूको भ्रमण गरेका छन्। सहभागीहरूले गोष्ठी, छलफल, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता तथा प्रदर्शनीका क्रममा काशीका समकक्षीहरूसँग पनि भेटघाट गरेका छन्।

संगममको आयोजना शिक्षा मन्त्रालयअन्तर्गतको उच्च शिक्षा विभागले आईआईटी मद्रास, बनारस हिन्दू विश्वविद्यालय, केन्द्रिय शास्त्रीय तमिल संस्थान (सीआईसीटी), चेन्नई र उत्तर प्रदेश सरकारसँगको सहकार्यमा गर्दै आएको छ। संस्कृति, रेल्वे, पर्यटन तथा वस्त्र मन्त्रालयलगायत विभिन्न केन्द्रिय मन्त्रालय तथा विभागहरू पनि यसका साझेदार रहेका छन्।

काशी तमिल संगमम ५.०: तिरुक्कुरल पयिल्वोम

संगममको पाँचौँ संस्करण २८ नोभेम्बरदेखि १२ दिसम्बर २०२६ सम्म “तिरुक्कुरल पयिल्वोम् – तिरुक्कुरल अध्ययन गरौँ” भन्ने मूल विषयमा आयोजना हुनेछ।

तिरुक्कुरल नैतिकता र आचरणसम्बन्धी शास्त्रीय तमिल ग्रन्थ हो। यसका रचयिता तिरुवल्लुवरले यसलाई तीन भागमा विभाजन गर्नुभएको छ: अराम (सद्गुण), पोरुल (सम्पत्ति) र इनबम (प्रेम)। यस ग्रन्थमा १,३३० वटा द्विपदी छन्। सीआईसीटीले यसलाई संविधानको आठौँ अनुसूचीमा समावेश सबै २२ भाषासहित २५ भारतीय भाषामा अनुवाद गरेको छ। यसका अतिरिक्त विभिन्न विदेशी भाषा र ब्रेल लिपिमा पनि अनुवाद गरिएको छ।

पाँचौँ संस्करणका उद्देश्यहरू:

  • तिरुक्कुरलको नैतिक तथा सदाचारसम्बन्धी ज्ञानलाई देशभरका युवा तथा विद्यार्थीहरूमाझ पुर्‍याउनु।
  • शैक्षिक सहभागिता, बहुभाषिक स्रोतसामग्री र व्यापक जनपहुँचमार्फत यस ग्रन्थका मूल्यहरूको अध्ययन, बुझाइ तथा दैनिक जीवनमा प्रयोग गर्न प्रोत्साहित गर्नु।
  • विभिन्न शैक्षिक विधा र भाषिक पृष्ठभूमिका विद्यार्थीहरूमाझ तिरुक्कुरलबारे व्यापक समझदारी प्रवर्द्धन गर्नु।

काशी तमिल संगमम् ५.० का प्रमुख पहलहरू

विद्यार्थी सहभागिता कार्यक्रम

विभिन्न शैक्षिक विधा र भाषिक पृष्ठभूमिका विद्यार्थीहरूमाझ तिरुक्कुरलबारे व्यापक समझदारी प्रवर्द्धन गर्न १,००० उच्च शैक्षिक संस्थानमार्फत देशव्यापी विद्यार्थी सहभागिता कार्यक्रम सञ्चालन गरिनेछ। यसमा व्यवस्थित अध्ययन, अनुसन्धान तथा क्याम्पसमा आधारित गतिविधिहरू समावेश हुनेछन्।

  • सहभागी प्रत्येक संस्थानले तिरुक्कुरलमा रुचि राख्ने विद्यार्थीहरूको मूल्याङ्कन गरी योग्यताका आधारमा एक जना विद्यार्थीको नाम सिफारिस गर्नेछ।
  • छनोट भएका विद्यार्थीहरूले अनलाइन शैक्षिक अभिमुखीकरण कार्यक्रममा सहभागी हुनेछन्। यो कार्यक्रम संविधानको आठौँ अनुसूचीमा समावेश २२ भाषाका साथै अङ्ग्रेजीमा सञ्चालन गरिनेछ।
  • त्यसपछि सीआईसीटीका बहुभाषिक अध्ययन सामग्रीसहित एक महिनाको अनुसन्धान तथा शैक्षिक सहभागिता कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रमका निर्देशिका तथा तोकिएका आवश्यकताहरू पूरा गर्ने सर्तमा छनोट भएका प्रत्येक योग्य विद्यार्थीले १०,००० रुपियाँ छात्रवृत्ति पाउनेछन्।
  • प्रत्येक विद्यार्थीले प्राध्यापकको मार्गदर्शनमा ४ देखि १० पृष्ठको लेख वा अनुसन्धान टिप्पणी तयार गर्नेछ र आफ्नो संस्थानमा तिरुक्कुरलबारे एक घण्टाको प्रस्तुति दिनेछ।

उत्तर प्रदेशका विद्यालय तथा कलेजहरूमा तिरुक्कुरल शिक्षण

संगममका क्रममा तमिलनाडुका ५० जना शिक्षकले उत्तर प्रदेशको भ्रमण गरी त्यहाँका विद्यालय तथा कलेजहरूमा तिरुक्कुरल पढाउनेछन्। तमिलनाडुका तिरुक्कुरल विशेषज्ञहरूले पनि वाराणसीका विद्यालय तथा कलेजहरूको भ्रमण गर्नेछन्। उनीहरूले अभिमुखीकरण मोड्युल, अन्तरक्रियात्मक सत्र तथा प्रश्नोत्तरीमार्फत विद्यार्थीहरूलाई यस ग्रन्थका मूलभूत मूल्यहरूबारे परिचित गराउनेछन्।

विद्यालयहरूमा पठन सत्र

नेसनल बुक ट्रस्टले राष्ट्रिय ई-पुस्तकालयसँगको सहकार्यमा वाराणसीका विद्यालयहरूमा पठन बानी, कथा वाचन तथा सिर्जनात्मक गतिविधिसम्बन्धी अन्तरक्रियात्मक सत्र सञ्चालन गर्नेछ।

उद्घाटन, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम

काशी तमिल संगमम ५.० को उद्घाटन २८ नोभेम्बर २०२६ मा हुनेछ भने समापन समारोह १२ दिसम्बर २०२६ मा आयोजना गरिनेछ। विद्यार्थी सहभागिता कार्यक्रमअन्तर्गत छनोट भएका विद्यार्थीहरू दुवै समारोहमा अनलाइन माध्यमबाट सहभागी हुनेछन्। बनारस हिन्दू विश्वविद्यालयले भारतीय भाषा समितिसँगको सहकार्यमा तिरुक्कुरलबारे राष्ट्रिय सम्मेलनको सहआयोजना गर्नेछ। संस्कृति मन्त्रालयले कार्यक्रमस्थलहरूमा सांस्कृतिक टोली, तिरुक्कुरलसम्बन्धी लघु चलचित्रहरूको प्रदर्शन तथा सांस्कृतिक प्रस्तुति उपलब्ध गराउनेछ। मुख्य कार्यक्रमस्थलमा तमिलनाडु र उत्तर प्रदेशका हस्तकला तथा हातकरघा सामग्रीका बिक्री केन्द्रहरू पनि स्थापना गरिनेछन्।

डिजिटल तथा जनपहुँच

काशी तमिल संगमम ५.० ले भारतभरिका अझ व्यापक दर्शक तथा पाठकहरूमाझ तिरुक्कुरलका शिक्षाहरूको पहुँच विस्तार गर्न प्रविधिको पनि प्रयोग गर्नेछ। सीआईसीटीको तिरुक्कुरल बहुभाषिक एपमा १,३३० वटै द्विपदी संविधानको आठौँ अनुसूचीमा समावेश २२ भाषामा अनुवादसहित उपलब्ध छन्। यस संस्करणका लागि सीआईसीटीको कार्यक्रममा छनोट गरिएका द्विपदीमा आधारित लघु एनिमेटेड भिडियो तथा चलचित्र र तिरुक्कुरलका अडियोबुकहरू पनि समावेश छन्। भारतीय रेल, भारतीय विमानस्थल प्राधिकरण र भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणसँगको समन्वयमा रेलवे स्टेसन, विमानस्थल तथा राजमार्गका टोल प्लाजाहरूमा यात्रु सूचना प्रणाली र साइनबोर्डमार्फत अनुवादसहितका द्विपदीहरू उपलब्ध गराउने योजना छ।

प्रतिनिधिहरू र भ्रमण कार्यक्रम

तमिलनाडुबाट करिब १,४०० सहभागीहरू सात समूहमा विभाजित भएर आठदिने भ्रमणमा सहभागी हुनेछन्। प्रत्येक समूहमा करिब २०० जना रहनेछन्। यस भ्रमणमा चार दिनको यात्रा र चार दिनको भ्रमण तथा व्यवस्थित कार्यक्रमहरू समावेश छन्। भ्रमण तालिकामा वाराणसी, प्रयागराज र अयोध्या समेटिएका छन्। यस क्रममा सांस्कृतिक, शैक्षिक, विषयगत तथा आध्यात्मिक गतिविधिहरू सञ्चालन गरिनेछन्।

सहभागीहरू सातवटा समूहबाट आउनेछन्:

  • विद्यार्थी
  • शिक्षक
  • लेखक तथा सञ्चारकर्मी
  • कृषि तथा यससँग सम्बन्धित क्षेत्रका प्रतिनिधि
  • पेसाकर्मी तथा कारीगर
  • महिला
  • आध्यात्मिक अगुवा

वाराणसीमा बसाइका क्रममा प्रतिनिधिहरूले काशी विश्वनाथ मन्दिर, सारनाथ वा बीएचयू, रामनगर किल्ला र भारत माता मन्दिरलगायतका प्रमुख धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूको भ्रमण गर्नेछन्। भ्रमण तालिकामा गङ्गा आरती, गङ्गा स्नान, शैक्षिक सत्र तथा सांस्कृतिक कार्यक्रमहरू पनि समावेश छन्। त्यसपछि प्रतिनिधिहरूले प्रयागराजस्थित त्रिवेणी सङ्गम र अयोध्यास्थित श्रीराम मन्दिरको भ्रमण गर्नेछन्।

विशेष तमिल सम्पदा भ्रमणअन्तर्गत प्रतिनिधिहरूलाई महाकवि सुब्रमण्यम भारतीको पुर्ख्यौली घर, केदार घाट र लिटिल तमिलनाडुको काशी मठमा लगिनेछ। यसका साथै बीएचयूको तमिल विभागमा शैक्षिक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ।

पूर्ववर्ती संस्करणहरू

सन् २०२२ देखि २०२५ सम्म आयोजना गरिएका काशी तमिल संगममका पहिलो चार संस्करणले तमिलनाडु र काशीबीचको सांस्कृतिक, भाषिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाएका छन्। यही विरासतलाई अगाड़ि बढ़ाउँदै पाँचौँ संस्करणले जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने र दुवै क्षेत्रको साझा सम्पदाको उत्सव मनाउने लक्ष्य राखेको छ।

काशी तमिल संगमम १.० (नोभेम्बरदेखि दिसम्बर २०२२)

पहिलो संस्करण नोभेम्बरदेखि दिसम्बर २०२२ सम्म आयोजना गरिएको थियो। तमिलनाडुका विभिन्न १२ क्षेत्रका २,५०० भन्दा अधिक प्रतिनिधिहरू आठदिने भ्रमणका क्रममा वाराणसी, प्रयागराज र अयोध्या पुगेका थिए। उक्त कार्यक्रम वाराणसीस्थित बीएचयूमा आयोजना गरिएको थियो। प्रधानमन्त्रीले १९ नोभेम्बर २०२२ मा वाराणसीमा यसको उद्घाटन गर्नुभएको थियो। प्रतिनिधिहरूले समान व्यापार, पेसा तथा रुचि भएका व्यक्तिहरूसँग भेटघाट गर्न गोष्ठी तथा विभिन्न स्थलहरूको भ्रमणमा सहभागिता जनाएका थिए। काशीमा दुवै क्षेत्रका हस्तबुनाइका सामग्री, हस्तकला, ‘एक जिल्ला एक उत्पादन’का सामग्री, पुस्तक, वृत्तचित्र, परिकार तथा कला विधाहरूको एक महिने प्रदर्शनी आयोजना गरिएको थियो। यसका साथै शैक्षिक आदानप्रदान, गोष्ठी तथा विशेषज्ञ र विद्वान्हरूबीच छलफल पनि गरिएको थियो।

काशी तमिल संगमम २.० (दिसम्बर २०२३)

दोस्रो संस्करण १७ देखि ३० दिसम्बर २०२३ सम्म वाराणसीको नमो घाटमा आयोजना गरिएको थियो र यसको उद्घाटन प्रधानमन्त्रीले गर्नुभएको थियो। यस संस्करणको एउटा विशेष पक्ष भ्रमणमा आएका प्रतिनिधिहरूका लागि प्रधानमन्त्रीको भाषणलाई वास्तविक समयमै एपमार्फत तमिल भाषामा अनुवाद गर्ने पहिलो व्यवस्था थियो। यस संस्करणको कार्यक्रमअन्तर्गत रेलमार्फत वाराणसी, प्रयागराज र अयोध्याको आठदिने भ्रमणको व्यवस्था गरिएको थियो। प्रतिनिधिहरू सात समूहमा यात्रा गर्ने तय गरिएको थियो। प्रत्येक समूहको नाम गङ्गा, यमुना, सरस्वती, सिन्धु, नर्मदा, गोदावरी र कावेरीजस्ता पवित्र नदीका नाममा राखिएको थियो। यसमा तमिलनाडु र काशीका कला, हातकरघा, हस्तकला तथा परिकारका स्टल, नमो घाटमा सांस्कृतिक कार्यक्रम र साहित्य, प्राचीन ग्रन्थ, दर्शन, आध्यात्मिकता, सङ्गीत, नृत्य, नाटक, योग, आयुर्वेद तथा आधुनिक नवप्रवर्तनसम्बन्धी शैक्षिक आदानप्रदान पनि समावेश थिए।

काशी तमिल संगमम ३.० (फरवरी २०२५)

तेस्रो संस्करण १५ देखि २४ फरवरी २०२५ सम्म आयोजना गरिएको थियो। यसले महर्षि अगस्त्यको विरासतलाई उजागर गर्दै भारतीय ज्ञान परम्परालाई समकालीन विमर्शसँग जोडेको थियो। यसमा तमिलनाडुका करिब १,००० प्रतिनिधिका साथै विभिन्न केन्द्रिय विश्वविद्यालयका थप २०० विद्यार्थी सहभागी भएका थिए। यस संस्करणको कार्यक्रममा पहिलोपटक प्रयागराजको महाकुम्भ र अयोध्यामा नवनिर्मित राम मन्दिरको भ्रमण समावेश गरिएको थियो। काशीमा महर्षि अगस्त्यसम्बन्धी प्रदर्शनी आयोजना गर्ने योजना बनाइएको थियो, जसमा उहाँका विद्वत्तापूर्ण कृतिहरूबारे गोष्ठी, कार्यशाला तथा पुस्तक विमोचन कार्यक्रम पनि समावेश थिए। यो संस्करण आधुनिक ज्ञान प्रणालीसँग भारतीय ज्ञान प्रणालीलाई एकीकृत गर्ने राष्ट्रिय शिक्षा नीति २०२० को जोड़अनुरूप आयोजना गरिएको थियो। यस संस्करणमा ८६९ भन्दा अधिक कलाकार र १९० स्थानीय लोक तथा शास्त्रीय कला समूहले प्रस्तुति दिएका थिए भने यसमा करिब २ लाख दर्शक सहभागी भएका थिए।

काशी तमिल संगमम् ४.० (दिसम्बर २०२५)

२ देखि १५ दिसम्बर २०२५ सम्म आयोजना गरिएको चौथो संस्करणको मुख्य विषय “तमिल कर्कलाम् – आउनुहोस् तमिल सिकौँ” रहेको थियो। यसमा तमिलनाडुका सातवटा क्षेत्रका १,४०० भन्दा अधिक प्रतिनिधिहरू एकै ठाउँमा भेला भएका थिए। यस संस्करणको एउटा प्रमुख विशेषता आधारभूत तमिल भाषा सिकाउन ५० जना प्रशिक्षित तमिल शिक्षक तथा संयोजकहरूको वाराणसी आगमन थियो। उनीहरूले ५० वटा विद्यालयका १,५०० भन्दा अधिक विद्यार्थीलाई तमिल भाषा सिकाएका थिए। तमिल कर्पोम् पहलअन्तर्गत काशीका ३०० महाविद्यालयतहका विद्यार्थीका लागि तमिलनाडुको शैक्षिक भ्रमण आयोजना गरिएको थियो। यस संस्करणमा तेन्कासीदेखि काशीसम्मको महर्षि अगस्त्य वाहन अभियान पनि समावेश थियो, जसले दुवै क्षेत्रको साझा सांस्कृतिक तथा सभ्यतागत विरासतलाई उजागर गरेको थियो। भारतीय रेलले प्रतिनिधिहरूका लागि सातवटा विशेष रेल सञ्चालन गरेको थियो भने प्राचीन तमिल ग्रन्थ तोल्काप्पियम्को चार भारतीय तथा छवटा विदेशी भाषामा अनुवाद पनि सार्वजनिक गरिएको थियो। यस संस्करणको समापन समारोह ३० दिसम्बर २०२५ मा रामेश्वरममा आयोजना गरिएको थियो।

साझा सभ्यतागत विरासतलाई निरन्तरता

काशी तमिल संगममले भारतको सांस्कृतिक आदानप्रदानको दीर्घकालीन परम्परालाई प्रतिबिम्बित गर्दछ, जहाँ भाषा, साहित्य, ज्ञान तथा साझा अभ्यासहरूले विभिन्न क्षेत्रका समुदायहरूलाई जोड़्दै आएका छन्। प्रत्यक्ष अन्तरक्रिया र सिकाइका माध्यमबाट मानिसहरूलाई एकै ठाउँमा ल्याउँदै यस पहलले पारस्परिक समझदारीलाई गहिरो बनाउने र तमिलनाडु तथा काशीबीचको सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ।

तिरुक्कुरलमा केन्द्रित पाँचौँ संस्करणले संगममको परम्परागत दायराभन्दा बाहिर गएर देशभरका शैक्षिक संस्थान तथा युवा विद्यार्थीहरूमाझ यस सहभागितालाई विस्तार गरेको छ। भाषिक तथा क्षेत्रीय सीमाभन्दा माथि उठेर शास्त्रीय तमिल ग्रन्थको अध्ययनलाई प्रोत्साहित गर्दै यसले भारतको साहित्यिक तथा दार्शनिक विरासतलाई अझ व्यापक समुदायका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ। यसरी काशी तमिल संगममले साझा ज्ञान, सांस्कृतिक समझदारी र जनस्तरको सम्बन्धमार्फत राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै एक भारत श्रेष्ठ भारतको भावनालाई निरन्तर अघि बढ़ाइरहेको छ।

सन्दर्भ

शिक्षा मन्त्रालय

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2326535

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2332761

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2198004

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1877338

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1869678

https://kashitamil.iitm.ac.in/

https://kashitamil.iitm.ac.in/programs

https://kashitamil.iitm.ac.in/events

https://www.kts.cict.in/about

https://www.kts.cict.in/programme

https://www.kts.cict.in/partners

https://www.kts.cict.in/schedule

https://static.pib.gov.in/WriteReadData/specificdocs/documents/2025/feb/doc2025214502301.pdf

प्रधानमन्त्री कार्यालय

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2197770

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1877325

उपराष्ट्रपति सचिवालय

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2197743

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2209893

रेल मन्त्रालय

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=2197516&reg=48&lang=1

विशेष सेवा र विशेषताहरू (पीआईबी)

https://www.pib.gov.in/PressReleasePage.aspx?PRID=1980376&reg=48&lang=1

पीआईबी ब्याकग्राउण्डर्स

https://static.pib.gov.in/WriteReadData/specificdocs/documents/2025/dec/doc2025121712401.pdf

https://static.pib.gov.in/WriteReadData/specificdocs/documents/2025/jun/doc202562561301.pdf

 

पीडीएफ हेर्नलाई यहाँ थिच्नुहोस्

पीआईबी शोध

********

MPS/TWB


(रिलिज आईडी: 2341814) आगन्तुक काउन्टर : 10
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Bengali , Gujarati , Tamil , Malayalam