गोवा, 25 नोभेम्बर, 2026:
महाराष्ट्रको तटीय क्षेत्रमा आधारित मराठी कमेडी-ड्रामा चलचित्र बाप्याले व्यक्तिगत छनोट र परिवर्तनशील सामाजिक धारणाको आत्मीय कथामार्फत लैङ्गिक पहिचान, पारिवारिक सम्बन्ध तथा सामाजिक स्वीकार्यताका विषयलाई उजागर गर्छ। यो चलचित्र ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) को इण्डियन प्यानोरमाअन्तर्गत मेनस्ट्रिम सिनेमा खण्डमा समावेश गरिएको छ। बाप्याका निर्देशक तथा निर्माता समीर तिवारी र अभिनेता गिरीश कुलकर्णीले महोत्सवको अवसरमा पीआईबीद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरे।
आफ्नो प्रारम्भिक मन्तव्यमा समीर तिवारीले चलचित्रको उद्देश्य समाजलाई उपदेश दिनु वा पाठ सिकाउनु नभई स्वीकार्यता, समझदारी र सम्बन्धबारे एउटा कथा प्रस्तुत गर्नु मात्र रहेको बताए। उनले भने, "यो केवल आफ्नो इच्छाअनुसारको व्यक्ति बन्न चाहने र वरपरका मानिसले उसलाई जस्तो छ, त्यस्तै रूपमा स्वीकार गर्ने व्यक्तिबारेको कथा हो।"

मराठी भाषामा चलचित्र निर्माण गर्ने निर्णयबारे बताउँदै तिवारीले कुनै कलाकारलाई केन्द्रमा राखेर कथा तयार गर्नुको सट्टा वास्तविक कथामा आधारित इमानदार चलचित्र बनाउन चाहेको बताए।
चलचित्र निर्माणका क्रममा सामना गर्नुपरेका चुनौतीहरू स्मरण गर्दै तिवारीले यस परियोजनाका लागि आर्थिक सहयोग जुटाउन कठिन भएको बताए। सम्भावित लगानीकर्ताहरूले पटकथाको प्रशंसा गरे पनि चलचित्रको विषयवस्तुलाई जोखिमपूर्ण मानेका थिए। मुख्य पात्र बाप्याका लागि कलाकार छनोट गर्नु अर्को ठूलो चुनौती थियो, किनकि आफ्नोभन्दा फरक लैङ्गिक पहिचान भएको पात्रको भूमिका निर्वाह गर्न धेरै अभिनेत्रीहरू हिचकिचाएका थिए। उनले अभिनेत्री राजश्री देशपाण्डेले निडर भएर उक्त भूमिका स्वीकार गरेको र त्यसलाई चुनौतीपूर्ण सिर्जनात्मक अवसरका रूपमा लिएको भन्दै प्रशंसा गरे।
लैङ्गिक धारणामा आइरहेको परिवर्तनबारे विचार राख्दै तिवारीले समाज क्रमशः महिला र पुरुषबीचका परम्परागत भिन्नताहरू मेटाउने दिशामा अघि बढिरहेको बताए। व्यक्तिको पहिरन, व्यवहार र पहिचानसम्बन्धी व्यक्तिगत छनोटलाई लिएर आलोचना वा भेदभाव गर्न नहुने उनको भनाइ थियो। उनले टिप्पणी गरे, "हरेक पुरुषभित्र एक महिला हुन्छिन् र हरेक महिलाभित्र एक पुरुष हुन्छन्। समाज जति छिटो अघि बढ्छ, लैङ्गिकताबीचका सीमारेखाहरू त्यति नै धमिला हुँदै जान्छन्।" उनले कठोर सामाजिक धारणाभन्दा माथि उठ्नुपर्ने आवश्यकतामा जोड़ दिए।

अभिनेता गिरीश कुलकर्णीले प्रत्येक व्यक्तिलाई सम्मानका साथ र पूर्वाग्रहरहित व्यवहार गर्नुको महत्त्वमाथि प्रकाश पारे। प्रकृतिको उदाहरण दिँदै उनले मानिसहरूले विभिन्न स्वरूपका रूखबिरुवालाई कुनै मूल्याङ्कन नगरी स्वीकार गर्ने गरेको र मानव सम्बन्धमा पनि यही भावना अपनाउनुपर्ने बताए।
समाज निर्माणमा कलाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै कुलकर्णीले सिनेमा तथा अन्य कलाका स्वरूपले समकालीन वास्तविकताको प्रतिबिम्ब उतार्ने मात्र नभई सामाजिक प्रगतिका लागि मार्गदर्शनसमेत गर्ने बताए। उनले बाप्याले सांस्कृतिक जरालाई नत्यागी परिवर्तनशील समयअनुसार परम्परालाई नयाँ ढङ्गले व्याख्या गर्ने प्रयास गरेको बताए। उनले भने, "हामी आफ्नो परम्परालाई बिर्सिरहेका छैनौँ, बरु त्यसलाई नयाँ ढङ्गले व्याख्या गर्दै अगाड़ि बढ़ाइरहेका छौँ। आफ्नै जरालाई बलियो बनाउँदै हामी भविष्यबारे पनि सोचिरहेका छौँ। यसै प्रक्रियाबाट अपार प्रेमको भावना उत्पन्न हुन्छ।"
कुलकर्णीले स्वीकार्यता र प्रेमलाई चलचित्रको मूल भावना रहेको पनि बताए। भाषा, पहिरन र पहिचानमा रहेका भिन्नतालाई अँगाल्नु नै विविधतामा एकताको भारतको विशिष्ट शक्ति भएको उनको भनाइ थियो। भारतका दार्शनिक परम्पराहरूको सन्दर्भ उल्लेख गर्दै उनले स्वीकार्यता र पूर्वाग्रहरहित भएर वर्तमानलाई हेर्ने क्षमता भारतीय चिन्तनमा गहिरोसँग जरा गाड़ेर बसेको बताए। उनले भने, "मलाई लाग्छ, मैले व्यक्तिगत रूपमा आफैँभित्र यो यात्राको अनुभव गरेँ र त्यसैलाई हामीले चलचित्रको पर्दामा उतार्न सक्यौँ।"

सांस्कृतिक तथा बौद्धिक आदानप्रदानको मञ्चका रूपमा आईएफएफआईको महत्त्वबारे प्रकाश पार्दै कुलकर्णीले यस महोत्सवले भारत तथा विदेशका चलचित्रकर्मी र दर्शकहरूलाई एकै ठाउँमा ल्याउने बताए। यसले विविध सिनेमेटिक दृष्टिकोणसँग परिचित हुने र अर्थपूर्ण छलफलमा सहभागी हुने अवसर सिर्जना गर्ने उनको भनाइ थियो।
पत्रकार सम्मेलनको सञ्चालन श्रीमती सुप्रिया घायताडकले गरेकी थिइन्।
पूरा पत्रकार सम्मेलन यहाँ हेर्नुहोस्:
आईएफएफआईएलओआईडी यहाँ पढ्नुहोस्: https://www.pib.gov.in/iffi/57/iffiLoid.aspx?yr=2026&lang=1®=48
*******
MPS/TWB