गोवा, १९ नोभेम्बर २०२६:
‘स्टोरीज विदाउद बोडर्स’ भन्ने मूल नाराअन्तर्गत आयोजना हुने भव्य उद्घाटन समारोहमा भारत तथा विदेशका चलचित्र निर्माता, कलाकार र प्रतिनिधिहरू एकै ठाउँमा भेला हुनेछन्, उक्त साँझ सङ्गीत, सांस्कृतिक प्रस्तुति र चलचित्रसम्बन्धी उत्सवले रौनक थप्नेछ
भारतको ५७औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) भोलि नोभेम्बर २० देखि सुरु हुँदैछ। यस अवसरमा भारत तथा विश्वभरका चलचित्र निर्माता, कलाकार, प्रतिनिधि र चलचित्रप्रेमीहरूलाई स्वागत गर्न गोवा पूर्ण रूपमा तयार भएको छ। नौ दिनसम्म चल्ने यस महोत्सवले चलचित्र प्रदर्शन, सांस्कृतिक आदानप्रदान र सिर्जनात्मक गतिविधिमार्फत विश्वभरका चलचित्र क्षेत्रका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउनेछ।
‘स्टोरीज विदाउद बोडर्स’ भन्ने नारासहित आयोजना हुने यस वर्षको महोत्सवमा विभिन्न देश र संस्कृतिका चलचित्रहरू प्रदर्शन गरिनेछन्। यसले चलचित्रमार्फत सबैलाई जोड्ने साझा भाषाको उत्सव मनाउनेछ।
गोवाको डा. श्यामा प्रसाद मुखर्जी स्टेडियममा हुने उद्घाटन समारोहमा सङ्गीत र सांस्कृतिक कार्यक्रमका साथै औपचारिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछन्। यससँगै नौ दिनसम्म चल्ने महोत्सव सुरु हुनेछ।
समारोहको सुरुवात ध्वनि र प्रकाश प्रस्तुतिबाट हुनेछ। त्यसपछि राष्ट्रिय गीत र राष्ट्रिय गान गाइनेछ। औपचारिक उद्घाटनका क्रममा दीप प्रज्वलन र तुलसीको बिरुवामा पानी हाल्ने कार्यक्रम पनि हुनेछन्। यी कार्यहरूले प्रकाश, जीवन र नयाँ सुरुवातको सन्देश दिनेछन्।

उद्घाटन समारोहमा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति
समारोहमा गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्त र सूचना तथा प्रसारण मन्त्रालयका वरिष्ठ अधिकारीहरूले मन्तव्य राख्नेछन्।
उद्घाटन समारोहमा भारतीय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी हुनेछन्। उनीहरूमा सांसद रवि किशन, चलचित्र निर्माता तथा महोत्सव निर्देशक आशुतोष गोवारिकर, चलचित्र निर्देशक मधुर भण्डारकर र आनन्द एल. रायलगायत भारत तथा विदेशका चलचित्र क्षेत्रका अन्य विशिष्ट व्यक्तिहरू रहनेछन्।

रिकी केजको सिम्फोनिक अर्केस्ट्रा प्रस्तुति
कार्यक्रमको मुख्य आकर्षणमध्ये एक तीन पटक ग्रामी अवार्ड जितेका सङ्गीतकार तथा वातावरण संरक्षणकर्मी रिकी केजको सङ्गीत प्रस्तुति हुनेछ। ‘अ वर्ल्ड अफ सिनेमा थ्रु म्युजिक’ शीर्षकको यस प्रस्तुतिमा विभिन्न देशका संस्कृति र कथाहरूलाई सङ्गीतमार्फत प्रस्तुत गरिनेछ। यसले चलचित्र सबैलाई जोड्ने साझा माध्यम हो भन्ने कुरा देखाउनेछ।
यसपछि ‘म्युजिक विदाउद बोदर्स’ कार्यक्रम हुनेछ। यसमा विभिन्न देशका सङ्गीतकारहरूले आ–आफ्नो देशका सङ्गीत प्रस्तुत गर्नेछन्। यसले विभिन्न देशका संस्कृति र सङ्गीतलाई एकै ठाउँमा जोड्नेछ र महोत्सवको मूल नारालाई झल्काउनेछ।
आईएफएफआई-सँग जोडिएको मयूरको आकृतिलाई ‘बियन्ड द फ्रेम’ नामक विशेष नृत्य प्रस्तुतिमार्फत जीवन्त बनाइनेछ। यस नृत्यमा कलाकारहरूले आफ्नो कला र नृत्यका माध्यमबाट महोत्सवको विशेष पहिचान बनेको मयूरलाई प्रस्तुत गर्नेछन्।
समारोहमा इन्डियन प्यानोरमा र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका निर्णायकहरूलगायत महोत्सवको प्रतिस्पर्धात्मक विधाका लागि चलचित्र छनौट गर्ने जिम्मेवारी पाएका चलचित्र निर्माता तथा चलचित्र क्षेत्रका अन्य विज्ञहरूलाई सम्मान गरिनेछ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका निर्णायकहरू
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको निर्णायक मण्डलको नेतृत्व चलचित्र निर्देशक आनन्द एल. रायले गर्नेछन्। यस मण्डलमा विश्वका विभिन्न देशका चर्चित चलचित्रकर्मीहरू रहनेछन्। उनीहरूमा सोल बेरुएसो पिचोन-रिभिएर (अर्जेन्टिना), बोग्दान मुरेसानु (रोमानिया), मारिया अलेहान्द्रा रोजास (कोलम्बिया) र रत्चापुम बुनबुनचाचोक (थाइल्यान्ड) रहेका छन्। उद्घाटन समारोहमा यी निर्णायकहरूलाई सम्मान गरिनेछ।
इन्डियन प्यानोरमा निर्णायक मण्डल
कथानक चलचित्र निर्णायक मण्डलको नेतृत्व राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक मधुर भण्डारकरले गर्नेछन्। त्यस्तै, गैर-कथानक चलचित्र निर्णायक मण्डलको नेतृत्व चलचित्र निर्देशक तथा सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटका पूर्व निर्देशक हिमांशु शेखर खटुआले गर्नेछन्।
वेभ्स फिल्म बजारको २० वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम प्रस्तुत गरिनेछ। यस कार्यक्रममा भारतीय चलचित्र निर्माताहरूलाई अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग जोड्न र उनीहरूबीच सिर्जनात्मक तथा व्यावसायिक सहकार्य बढाउन यसले खेलेको भूमिका प्रदर्शन गरिनेछ।

विश्वभरका चलचित्रका नौ दिन
दर्शकहरूले आईएफएफआई २०२६ मा चर्चित अन्तर्राष्ट्रिय चलचित्रदेखि लिएर नयाँ चलचित्र निर्माता र भारतका विभिन्न कथामा आधारित चलचित्रहरूलगायत विभिन्न प्रकारका चलचित्र हेर्न पाउनेछन्। यस महोत्सवमा ८६ देशका १५० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिनेछन्। यी चलचित्रले विभिन्न देशका कथा भन्ने शैली र दृष्टिकोणलाई गोवामा प्रस्तुत गर्नेछन्।
महोत्सवको उद्घाटन पोल्यान्डको चर्चित चलचित्र निर्देशक पावेल पाव्लिकोव्स्कीको चलचित्र फादरल्याण्ड - बाट हुनेछ। उनले सन् २०२६ को कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको पुरस्कार जितेका थिए। महोत्सवको बीचमा देखाइने चलचित्र आई म्याटर हो। यो चलचित्र अलिना शेर्बानले निर्देशन गरेका हुन्। रोमानिया, जर्मनी र बेल्जियमको संयुक्त निर्माणमा बनेको यस चलचित्रमा रोमानियाली र रोमानी भाषामा संवादहरू रहेका छन्। त्यस्तै, सिङ्गापुरका चलचित्र निर्देशक एन्थोनी चेनको चलचित्र वी आर अल स्ट्रेन्जर्स- को प्रदर्शनसँगै नोभेम्बर २८ मा नौ दिनसम्म चल्ने विश्व चलचित्र महोत्सव समापन हुनेछ। यस महोत्सवमा विभिन्न प्रतिस्पर्धा, विशेष चलचित्र प्रदर्शन र देशगत प्रस्तुतिमार्फत अन्तर्राष्ट्रिय चलचित्रहरूलाई पनि विशेष स्थान दिइनेछ। यस वर्ष स्पेन सम्मानित देश र रुस साझेदार देशका रूपमा रहनेछन्।
इन्डियन प्यानोरमाअन्तर्गत १८ भाषाका ७६ वटा चलचित्र प्रदर्शन गरिनेछ। भारतीय चलचित्रलाई महोत्सवमा विशेष स्थान दिनेछ। यसका साथै ब्रीक्स देशका सदस्य तथा साझेदार राष्ट्रहरूका चलचित्रलाई पनि विशेष प्राथमिकता दिइनेछ।
यस महोत्सवमा नयाँ चलचित्र निर्देशकहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट पहिलो फिचर चलचित्र प्रतियोगिता आयोजना गरिनेछ। यसका साथै अन्तर्राष्ट्रिय प्रतियोगिता र आईसीएफटी-युनेस्को गान्धी पदकजस्ता अन्य प्रतियोगिताहरू पनि हुनेछन्। यी प्रतियोगितामार्फत विभिन्न विधाका उत्कृष्ट चलचित्रलाई सम्मान गरिनेछ।
आईएफएफआई २०२६ मा नयाँ विधाहरू
यस वर्षको महोत्सवमा चलचित्रका विभिन्न विधा र कथा प्रस्तुत गर्ने तरिकालाई समेट्न दुई नयाँ विधा थपिएका छन्। पहिलो विधा एनिमेसन हो। यसमा एनिमेसन चलचित्रका पाँच उत्कृष्ट चलचित्र प्रदर्शन गरिनेछन्। यी चलचित्रले यस क्षेत्रमा भएका नयाँ सिर्जना र प्रविधिलाई देखाउनेछन्। दोस्रो विधा फिल्म्स अबाउट फिल्म्स हो। यसमा पाँचवटा चलचित्र प्रदर्शन गरिनेछन्। यी चलचित्रमार्फत चलचित्र बनाउने कला र यसमा प्रयोग हुने सीपलाई विशेष रूपमा प्रस्तुत गरिनेछ।

गोल्डेन पिकक र सिल्भर पिकक पुरस्कार
महोत्सवका विभिन्न प्रतियोगितामा उत्कृष्ट चलचित्र र कलाकारहरूलाई प्रतिष्ठित गोल्डेन पिकक र सिल्भर पिकक पुरस्कार प्रदान गरिनेछ। यी पुरस्कारअन्तर्गत छवटा विधा रहेका छन्। उत्कृष्ट चलचित्रलाई गोल्डेन पिकक पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता (पुरुष), उत्कृष्ट अभिनेत्री, विशेष निर्णायक पुरस्कार र निर्देशकको पहिलो कथानक चलचित्रलाई सिल्भर पिकक पुरस्कार प्रदान गरिनेछ। यसका साथै सहिष्णुता, विभिन्न संस्कृतिबीच आपसी समझदारी र शान्तिको भावना बढाउने चलचित्रलाई आईसीएफटी-युनेस्को गान्धी पदक पनि प्रदान गरिनेछ।
‘क्रिएटिभ माइन्ड्स अफ टुमरो’ कार्यक्रममार्फत चलचित्र बनाउन चाहने युवाहरूले यस क्षेत्रका अनुभवी व्यक्तिहरूबाट सिक्ने र उनीहरूसँग मिलेर काम गर्ने अवसर पाउनेछन्। यस कार्यक्रममा विशेष कक्षा, कार्यशाला, अन्तरक्रियात्मक छलफल र ४८ घण्टाभित्र चलचित्र बनाउने चुनौतीजस्ता गतिविधि समावेश हुनेछन्। यी कार्यक्रमले युवाहरूलाई चलचित्र निर्माणको क्षेत्रमा नयाँ कुरा सिक्न र आफ्नो सीप विकास गर्न मदत गर्नेछन्।
चलचित्र प्रदर्शनबाहेक यस महोत्सवमा चलचित्र निर्माता, कलाकार, विद्यार्थी र चलचित्र उद्योगका व्यक्तिहरूबीच विभिन्न कार्यक्रममार्फत भेटघाट र छलफल गर्ने अवसर पनि मिल्नेछ। आईएफएफआई सँगै आयोजना हुने वेभ्स फिल्म बजारले सिर्जनात्मक विचार आदानप्रदान, आपसी सहकार्य र व्यावसायिक अवसरका लागि मञ्च प्रदान गर्नेछ। यसले चलचित्रकर्मी र निर्माताहरूलाई चलचित्रका खरिदकर्ता, वितरक तथा यस क्षेत्रसँग सम्बन्धित अन्य हितधारकहरूसँग जोड्नेछ।
सन् १९५२ मा स्थापना भएको आईएफएफआई-ले भारतीय तथा अन्तर्राष्ट्रिय चलचित्रहरू प्रदर्शन गर्ने, सांस्कृतिक आदानप्रदानलाई बढावा दिने र विश्वभरका चलचित्रकर्मी, चलचित्र उद्योगका व्यक्तिहरू तथा दर्शकहरूलाई एकै ठाउँमा ल्याउने महत्त्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको छ।
५७औं भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सवको आधिकारिक कार्यक्रम तालिका, २० देखि २८ नोभेम्बर २०२६ हेर्न यहाँ क्लिक गर्नुहोस्।
*********
MPS/TWB