कृषि मन्त्रालय र किसान कल्याण
azadi ka amrit mahotsav

आईसीएआर–सीआईएफएद्वारा १४औँ भारतीय मत्स्यपालन तथा जलकृषि मञ्च आयोजना


मत्स्यपालन तथा जलकृषिका क्षेत्रमा नवप्रवर्तन र दिगो विकासका उपायहरू खोज्न भारतसहित ६ देशका १,००० भन्दा बढी प्रतिनिधि सहभागी

पोस्ट गरियो: 19 NOV 2026 1:47PM by PIB Gangtok

नयाँ दिल्ली, १९ नोभेम्बर २०२६:

मत्स्यपालन तथा जलकृषिसम्बन्धी एक प्रमुख अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन १४औँ भारतीय मत्स्यपालन तथा जलकृषि मञ्च (१४ आईएफएएफ) आज ओडिशाको भुवनेश्वरस्थित आईसीएआर–केन्द्रीय स्वच्छजल जलकृषि संस्थान (आईसीएआर–सीआईएफए) मा सुरु भयो। १८ देखि २० नोभेम्बर २०२६ सम्म तीन दिन आयोजना हुने यस सम्मेलनको संयुक्त आयोजना एसियाली मत्स्य समाजको भारतीय शाखा (एएफएसआईबी), आईसीएआर–सीआईएफए, भारत सरकारको मत्स्यपालन विभाग, राष्ट्रिय मत्स्य विकास बोर्ड (एनएफडीबी), ओडिशा सरकारको मत्स्यपालन तथा पशु संसाधन विकास विभाग र जलकृषि व्यवसायीहरूको सङ्घले गरेका हुन्।

“जलकृषि तथा मत्स्यपालनमा रूपान्तरण: विज्ञान र समाजबीचको सम्बन्ध विस्तार” भन्ने मूल नाराका साथ आयोजना भइरहेको यस सम्मेलनमा वैज्ञानिक ज्ञानको विकास, प्राविधिक नवप्रवर्तनको प्रवर्द्धन तथा अनुसन्धानकर्ता, नीतिनिर्माता, उद्योग क्षेत्रका सरोकारवाला र कृषक समुदायबीच सहकार्य सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको छ।

सम्मेलनको उद्घाटन एसियाली–प्रशान्त क्षेत्रको जलकृषि केन्द्र सञ्जाल (एनएसीए), बैंककका महानिर्देशक डा. एडुआर्डो लियानोले गर्नुभयो। उद्घाटन सम्बोधनका क्रममा उहाँले जलकृषि क्षेत्रको रूपान्तरणका लागि नवप्रवर्तन र प्रविधिको प्रयोगलाई तीव्रता दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो।

भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) का मत्स्य विज्ञानसम्बन्धी उपमहानिर्देशक डा. जे. के. जेना ले अत्याधुनिक अनुसन्धानमा लगानी बढाउनुका साथै सुदृढ मूल्य शृङ्खलाको विकास गर्नुपर्ने महत्त्व औँल्याउनुभयो। राष्ट्रिय मत्स्य विकास बोर्ड (एनएफडीबी) का प्रमुख कार्यकारी डा. बी. के. बेहराले माछा मार्ने समुदायको जीविकोपार्जन सुधार गर्न मत्स्य सहकारी संस्थाहरूलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। हरियाणाको कुन्डलीस्थित राष्ट्रिय खाद्य प्रविधि, उद्यमशीलता तथा व्यवस्थापन संस्थान (निफ्टेम) का पूर्वकुलपति डा. सी. वासुदेवप्पाले माछाको गुणस्तर सुनिश्चित गर्नुका साथै उपभोक्ताको स्वीकार्यता बढाउनुको महत्त्व औँल्याउनुभयो।

अन्य विशिष्ट वक्ताहरूमा एनएसीएका पूर्वमहानिर्देशक डा. ए. ई. एकनाथ, एएफएसआईबीका सचिव डा. के. एम. राजेश, मुम्बईस्थित आईसीएआर–केन्द्रीय मत्स्य शिक्षा संस्थानका पूर्वनिर्देशक डा. दिलीप कुमार र मङ्गलुरुको निट्टे विश्वविद्यालयस्थित खाद्य तथा कृषि सङ्गठन (एफएओ) सन्दर्भ केन्द्रका सल्लाहकार डा. आई. करुणासागर पनि सहभागी हुनुहुन्थ्यो। उहाँहरूले मत्स्यपालन तथा जलकृषिका क्षेत्रमा देखा परिरहेका प्राथमिकता, अनुसन्धानका उपलब्धि र भविष्यका अवसरहरूबारे आफ्ना विचार राख्नुभयो।

यसअघि, आईसीएआर–सीआईएफएका निर्देशक तथा सम्मेलनका संयोजक डा. पी. के. साहूले विशिष्ट व्यक्तित्वहरू तथा प्रतिनिधिहरूलाई स्वागत गर्नुभयो। उहाँले विज्ञान, उद्योग र कृषकबीचको सम्बन्ध सुदृढ बनाउने, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने तथा अनुसन्धानका नतिजालाई कृषक समुदायका लागि व्यावहारिक समाधानमा रूपान्तरण गर्ने महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले यस मञ्चमा भारतसहित अन्य ६ देशका १,००० भन्दा बढी सहभागीहरू जुटेको जानकारी दिनुभयो। सहभागीहरूमा वैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व, नीतिनिर्माता, उद्यमी, उद्योग क्षेत्रका प्रतिनिधि तथा कृषकहरू रहेका छन्।

तीनदिने सम्मेलनमा दिगो मत्स्य व्यवस्थापन, जलीय पारिस्थितिक प्रणालीको संरक्षण, कृत्रिम बुद्धिमत्ता (एआई), जीन सम्पादन, सटीक जलकृषि, उन्नत प्रजनन प्रविधि, दाना विकास, जलीय जीवहरूको स्वास्थ्य तथा आनुवंशिक सुधारलगायतका प्रमुख विषयमा छलफल हुनेछ।

यससँगै आयोजना गरिएको प्रदर्शनीमा २० वटा संस्थाले मत्स्यपालन तथा जलकृषिसम्बन्धी प्रविधि, नवप्रवर्तन, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिरहेका छन्। प्रदर्शनीले उद्योग क्षेत्रका सरोकारवाला, अनुसन्धानकर्ता तथा कृषकहरूलाई आपसी अन्तरक्रिया गर्ने, प्राविधिक समाधानहरूबारे जानकारी लिने र सहकार्यका साझेदारी स्थापना गर्ने अवसर प्रदान गरेको छ। उद्घाटन समारोहमा वैज्ञानिक प्रकाशनहरू विमोचन गर्नुका साथै यस क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप प्रतिष्ठित मत्स्य वैज्ञानिकहरूलाई जलकृषि व्यवसायीहरूको सङ्घका फेलो पुरस्कार पनि प्रदान गरियो।

तीनदिने यस मञ्चको उद्देश्य वैज्ञानिक विचार आदानप्रदानलाई सहज बनाउनु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्नु र भारतको मत्स्यपालन तथा जलकृषि क्षेत्रको दिगो, समावेशी एवं प्रविधिमा आधारित विकासका लागि कार्यान्वयनयोग्य रणनीतिहरू पहिचान गर्नु रहेको छ।

********

MPS/TWB


(रिलिज आईडी: 2338407) आगन्तुक काउन्टर : 8
मा यो विज्ञप्ति पढ्नुहोस्: English , Urdu , हिन्दी , Assamese , Kannada