पोस्ट गरियो:
19 NOV 2026 1:01PM by PIB Gangtok
नयाँ दिल्ली, १९ नोभेम्बर २०२६:
केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री श्री पीयूष गोयलले १८ नोभेम्बर २०२६ मा रोममा इटालीका उपप्रधानमन्त्री तथा विदेश मामिला एवं अन्तर्राष्ट्रिय सहकार्य मन्त्री महामहिम एन्टोनियो ताजानीसँग भारत–इटाली आर्थिक सहकारितासम्बन्धी संयुक्त आयोग (जेसीईसी) को २३औँ बैठकको सह-अध्यक्षता गर्नुभयो। मन्त्रीहरूले द्विपक्षीय आर्थिक तथा वाणिज्यिक सहकार्यमा भएको प्रगतिको समीक्षा गर्नुका साथै व्यापार, लगानी तथा औद्योगिक साझेदारी विस्तार गर्ने उपायबारे छलफल गर्नुभयो। उहाँहरूले संयुक्त रणनीतिक कार्ययोजना २०२५–२०२९ तथा सन् २०२६ को मे महिनामा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले इटालीको भ्रमण गर्दा भएका सहमतिका आधारमा भारत–इटाली विशेष रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता पुनः व्यक्त गर्नुभयो।
छलफलका क्रममा सवारीसाधन तथा अन्तरिक्ष र विमानन उद्योग, उद्योग ४.०, कृषि तथा कृषि प्रविधि, सम्पर्क सञ्जाल तथा ऊर्जा, महत्त्वपूर्ण खनिज, विज्ञान तथा नवप्रवर्तन, संस्कृति तथा पर्यटन, सीप विकास र उद्यमशीलतासम्बन्धी सहकार्यका विषय समेटिएका थिए। दुवै पक्षले भारतको बढ्दो उत्पादन क्षमता र दक्ष जनशक्ति तथा इटालीको उन्नत उत्पादन, इन्जिनियरिङ, मेसिनरी र प्रविधिसम्बन्धी क्षमताबीचको परिपूरकतालाई विशेष महत्त्व दिए। उनीहरूले उद्योग क्षेत्रको थप सहभागिता, संयुक्त उद्यम, प्रविधि साझेदारी तथा विश्वव्यापी मूल्य शृङ्खलामा एकीकरणलाई प्रोत्साहन गर्ने विषयमा जोड दिए।
मन्त्रीहरूले भारत–युरोपेली सङ्घ (ईयू) स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ताको सफल निष्कर्षको स्वागत गर्दै यसबाट बजार पहुँच विस्तार, व्यापार तथा लगानी प्रवाह वृद्धि र आपूर्ति शृङ्खला सुदृढ बनाउन सकिने सम्भावनाबारे छलफल गर्नुभयो। यस सन्दर्भमा उहाँहरूले २०२९ सम्ममा द्विपक्षीय व्यापार २० अर्ब युरो पुर्याउने साझा लक्ष्यप्रति पुनः प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, व्यापारको विविधीकरण र लगानी विस्तारको आवश्यकतामा जोड दिनुभयो।
आफ्नो भ्रमणका क्रममा श्री पीयूष गोयलले १७ नोभेम्बर २०२६ मा वाल्टर टोस्टो एसपीए, नोर्डइम्पियान्टी सिस्टम, एटिटेक, मागाल्डी समूह र ब्राको समूहलगायत इटालीका प्रमुख कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता पनि गर्नुभयो। भेटवार्तामा भारतमा लगानी, उत्पादन तथा प्रविधि साझेदारीका अवसरमा केन्द्रित रहेर छलफल भयो।
मन्त्रीले रोममा आयोजित भारत–इटाली व्यापार तथा नवप्रवर्तन मञ्चलाई पनि सम्बोधन गर्नुभयो। मञ्चमा सरकारका वरिष्ठ अधिकारी, उद्योग सङ्घ तथा इटालीका कम्पनीका प्रतिनिधिका साथै १२ वटा नवप्रवर्तनमा आधारित नयाँ उद्यमसहित भारतका करिब ८० जना व्यवसायी प्रतिनिधिको सहभागिता रहेको थियो। मञ्चको आयोजनाअघि श्री गोयलले भारतीय व्यवसायी प्रतिनिधिमण्डलसँग इटाली तथा युरोपको व्यापक बजारमा भारतीय व्यवसायका लागि उपलब्ध अवसरबारे छलफल गर्नुभयो। यसमा भारत–ईयू स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुन सक्ने अवसरहरू पनि समावेश थिए।
दुई अर्थतन्त्रका परिपूरक क्षमताबाट उत्पन्न हुने अवसरहरूको खोजी गर्न मञ्चको एक हिस्साका रूपमा तीनवटा क्षेत्रगत गोलमेच छलफल आयोजना गरिए। औषधि तथा रसायन क्षेत्रसम्बन्धी छलफलमा औषधि उत्पादन, औषधिका सक्रिय तत्त्व (एपीआई), विशिष्ट रसायन, जैवप्रविधि तथा संयुक्त अनुसन्धान र विकासका क्षेत्रमा साझेदारीका अवसरहरू पहिचान गरियो। औद्योगिक यन्त्रसामग्री तथा कृषि–खाद्य क्षेत्रसम्बन्धी छलफलमा स्वचालन, प्रविधि हस्तान्तरण, खाद्य प्रशोधनका यन्त्रसामग्री, शीत शृङ्खला पूर्वाधार तथा प्याकेजिङका क्षेत्रमा सहकार्यका अवसरहरू औँल्याइए। यी सहकार्यको उद्देश्य उत्पादनपछिको क्षति घटाउनु र वस्तुको मूल्य अभिवृद्धि गर्नु रहेको छ। मोटर वाहन क्षेत्रसम्बन्धी छलफलमा विद्युतीय तथा नयाँ पुस्ताका यातायात प्रणाली, सवारीसाधनका पार्टपुर्जा, अनुसन्धान तथा नवप्रवर्तन र दिगो उत्पादनका क्षेत्रमा सहकार्यका सम्भावनाहरू खोजियो। तीनवटै छलफलमा सहभागीहरूले छलफललाई ठोस व्यावसायिक उपलब्धिमा रूपान्तरण गर्न संयुक्त उद्यम, लगानी साझेदारी तथा प्रविधि आदानप्रदानलाई प्रमुख माध्यमका रूपमा जोड दिए।
नवप्रवर्तन मञ्चको उद्घाटन इटालीको विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका विकास तथा निर्यात प्रवर्द्धन महानिर्देशक श्री माउरो बाटोच्ची र इटालीका लागि भारतकी राजदूत सुश्री वाणी रावले गर्नुभयो। श्री पीयूष गोयलले मञ्चभरि सहभागिता जनाउँदै भारतीय तथा इटालेली प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नुभयो। उहाँले दुवै पक्षलाई दिगोपन र प्रविधिजस्ता क्षेत्रमा सहकार्य तथा आपसी समन्वयका अवसरहरू खोज्न र दुवै देशका नवप्रवर्तन प्रणालीका परिपूरक क्षमताको उपयोग गर्न प्रोत्साहित गर्नुभयो।
पूर्ण सत्रमा व्यावसायिक सङ्घसंस्थाहरूले व्यापार मञ्चका उपलब्धिहरू प्रस्तुत गरे। त्यसपछि महामहिम श्री एन्टोनियो ताजानी र श्री पीयूष गोयलले सम्बोधन गर्नुभयो। सत्रहरूमा दुवै अर्थतन्त्रबीचको बलियो परिपूरकतालाई उजागर गर्दै भारत र इटालीबीचको आर्थिक साझेदारीलाई अझ गहिरो बनाउने साझा प्रतिबद्धतामा जोड दिइयो।
महामहिम श्री एन्टोनियो ताजानीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा दुवै मन्त्रीले द्विपक्षीय आर्थिक तथा वाणिज्यिक सम्बन्धका सम्पूर्ण पक्षहरूको समीक्षा गर्नुभयो र व्यापार, लगानी तथा औद्योगिक सहकार्यलाई थप सुदृढ बनाउने उपायहरूबारे छलफल गर्नुभयो। निरन्तर संवाद र अझ घनिष्ठ व्यावसायिक साझेदारीमार्फत दुवै प्रधानमन्त्रीको परिकल्पनालाई ठोस उपलब्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता उहाँहरूले दोहोर्याउनुभयो।
यस भ्रमणले भारत–इटाली विशेष रणनीतिक साझेदारीलाई नयाँ गति प्रदान गर्नुका साथै द्विपक्षीय व्यापार, लगानी र व्यावसायिक सहकार्य विस्तार गर्ने साझा प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
*********
MPS/TWB