पोस्ट गरियो:
17 NOV 2026 9:25PM by PIB Gangtok
नयाँ दिल्ली, १७ नोभेम्बर २०२६:
डा. टी.भी. सोमनाथन, क्याबिनेट सचिवले आज नयाँ दिल्लीस्थित भारत मण्डपममा नीति आयोगद्वारा आयोजित ‘मिशनका रूपमा नेतृत्व’ विषयक राष्ट्रिय कार्यशालाको समापन सत्रमा आईजीओटी कर्मयोगी मञ्चमा ‘कर्मयोगी सङ्कल्प’ को शुभारम्भ गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेको अवसरमा नीति आयोगद्वारा आयोजना गरिएका पाँचवटा राष्ट्रिय कार्यशालाको शृङ्खलामध्ये यो पहिलो कार्यशाला हो।
‘कर्मयोगी सङ्कल्प’ अन्तर्गत प्रत्येक निजामती कर्मचारीले आफ्नो नेतृत्व अभ्यासमा विशेष परिवर्तन ल्याउने एउटा प्रतिबद्धता अभिलेख गर्नेछन्। उक्त प्रतिबद्धतामा अधिकारीले कहाँ कार्य गर्ने, नेतृत्वका कुन-कुन गुणहरू विकास गर्ने, त्यसबाट नागरिकले कस्तो परिवर्तन अनुभव गर्ने र त्यसका लागि अधिकारीले के-कस्ता कदम चाल्ने भन्ने विषय उल्लेख गरिनेछ। भारत मण्डपममा उपस्थित सहभागीहरू तथा आईजीओटी कर्मयोगी मञ्चमार्फत सहभागी भएका अधिकारीहरूले शुभारम्भकै अवसरमा आफ्ना प्रतिबद्धताहरू अभिलेख गरेका छन्। सरकारी अधिकारीहरूका यी प्रतिबद्धताहरूको अनुगमन कर्मयोगी भारतले गर्नेछ। यस सङ्कल्पलाई मन्त्रालयहरू, राज्य सरकारहरू तथा प्रशिक्षण संस्थानहरूमार्फत अघि बढाइनेछ। सुशासन दिवसका रूपमा मनाइने २५ डिसेम्बर २०२६ सम्ममा उक्त मञ्चमा २५,००० प्रतिबद्धता अभिलेख गर्ने लक्ष्य राखिएको छ।
दिनको सुरुवात प्रधानमन्त्रीका प्रधान सचिव डा. पी.के. मिश्राको उद्घाटन मन्तव्यबाट भएको थियो। त्यसपछि सन् २००१ को भूकम्पपछि कच्छको पुनर्निर्माण, कोभिड–१९ को प्रतिकार्य, लखपति दीदी तथा अन्तरिक्ष अर्थतन्त्रको क्षेत्र खुला गरिएको विषयमा प्रत्यक्ष अनुभवहरू प्रस्तुत गरिए। केस क्लिनिकमा प्रत्येक समूहले आफूलाई तोकिएको घटनासँग सम्बन्धित एउटा निर्णयको समीक्षा गर्दै उक्त निर्णयमा सार्वजनिक हितका लागि के आवश्यक थियो, त्यसका सामु के-कस्ता चुनौतीहरू थिए र कार्यान्वयनका क्रममा निर्णयलाई त्यसको मूल उद्देश्यमा कसरी केन्द्रित राखियो भन्ने विषयमा छलफल गरे।
‘विकसित भारतका लागि नेतृत्व’ विषयमा आयोजित प्यानल छलफलको सञ्चालन नीति आयोगका पूर्व प्रमुख कार्यकारी अधिकृत श्री बी.भी.आर. सुब्रह्मण्यमले गर्नुभएको थियो। प्यानलका सदस्यहरूमा उत्तर प्रदेश सरकारका नगर विकास तथा ऊर्जा मन्त्री श्री अरविन्द कुमार शर्मा, भारतीय व्यवस्थापन संस्थान अहमदाबादका प्राध्यापक विशाल गुप्ता, नास्कमका पूर्व अध्यक्ष तथा नीति आयोगका विशिष्ट अधिकारी सुश्री देबजानी घोष र उत्तर प्रदेशको हरदोईका संयुक्त मजिस्ट्रेट सुश्री नारायणी भाटिया सहभागी हुनुहुन्थ्यो।
प्यानलका सदस्यहरूले माननीय प्रधानमन्त्री नरेन्द्र मोदीका नेतृत्वका सिद्धान्तहरू तथा विकसित भारत २०४७ को परिकल्पना साकार पार्न तिनको सान्दर्भिकताबारे आफ्ना विचारहरू प्रस्तुत गरे।
श्री अरविन्द कुमार शर्माले प्रधानमन्त्रीले गुजरातको मुख्यमन्त्रीका रूपमा कार्यभार सम्हालेको अवधिमा शासन व्यवस्थामा आएको आमूल परिवर्तनलाई उजागर गर्नुभयो। उहाँले नयाँ कार्यप्रणाली सिर्जना गर्ने, संस्थागत तथा मानव संसाधनको क्षमता विकास गर्ने र विकासको केन्द्रमा स्थानीय समुदायलाई राख्ने प्रधानमन्त्रीको क्षमतामाथि जोड दिनुभयो।
प्राध्यापक विशाल गुप्ताले महत्वाकाङ्क्षी लक्ष्यहरू हासिल गर्न सकिन्छ भन्ने विश्वास जगाउने प्रधानमन्त्रीको क्षमतामाथि प्रकाश पार्नुभयो। उहाँले राजनीतिक इच्छाशक्तिसँगै प्रशासनिक सुधार पनि अघि बढ्नुपर्नेमा जोड दिँदै सेवा भावलाई नेतृत्वको प्रमुख सिद्धान्तका रूपमा उल्लेख गर्नुभयो।
सुश्री देबजानी घोषले प्रविधिको मूल्याङ्कन अन्ततः मानिसहरू र समाजमा त्यसले पारेको प्रभावका आधारमा गरिनुपर्नेमा जोड दिनुभयो। उहाँले कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्राविधिक विकासको केन्द्रमा मानवकेन्द्रित सोचलाई राख्नुपर्ने आह्वान गर्दै नवप्रवर्तनले समाजमा अर्थपूर्ण परिवर्तन ल्याउने सुनिश्चित गर्नुपर्ने बताउनुभयो।
सुश्री नारायणी भाटियाले प्रधानमन्त्रीको फरक ढङ्गले सोच्ने क्षमता तथा एकअर्कासँग जोडिएका अवसरहरू पहिचान गर्ने क्षमतामाथि प्रकाश पार्नुभयो। उहाँले विशेष गरी गहिरो रूपमा कुरा सुन्ने र सहानुभूति राख्ने उहाँको अभ्यासलाई जोड दिनुभयो। युवा प्रशासनिक अधिकारीहरूसहित मानिसहरूलाई आफ्ना विचार राख्ने अवसर प्रदान गर्नु उहाँको नेतृत्वको सबैभन्दा महत्त्वपूर्ण गुणहरूमध्ये एक रहेको उहाँले उल्लेख गर्नुभयो।
प्रयोगात्मक अभ्यास सत्रमा सरकारी अधिकारीहरूले केस क्लिनिकबाट प्राप्त सिकाइलाई सहभागी अधिकारीहरूको हालको कार्यक्षेत्रसँग सम्बन्धित वास्तविक नेतृत्व चुनौतीहरूमा प्रयोग गरे।
समापन सत्रमा नीति आयोगका सदस्य डा. आर. बालासुब्रमण्यमले दिनभरिका कार्यक्रमहरूको पुनरावलोकन प्रस्तुत गर्नुभयो। यसका साथै विभिन्न समूहहरूले निम्न विषयसँग सम्बन्धित चुनौतीहरूको समाधानका लागि आफ्ना कार्ययोजना प्रस्तुत गरे– दुर्गम आदिवासी बस्तीहरूमा मातृ स्वास्थ्य सेवाको निरन्तरता कायम राख्न तथा अनुगमन गर्न ‘एएसआर साथी’ (सुरक्षित प्रसवपूर्व सहायता), गैरसङ्क्रामक रोगहरूका लागि सर्वव्यापी स्वास्थ्य सेवा उपलब्ध गराउन व्यवस्थित सन्दर्भ प्रणालीलाई कार्यान्वयनमा ल्याउने, स्वयं सहायता समूहका उद्यममार्फत लखपति दिदीको आम्दानीलाई निरन्तरता दिन प्रत्येक सरस मेलाबाट वर्षभरि खरिदका प्रतिबद्धता सुनिश्चित गर्ने तथा स्वच्छ भारत मिशन–ग्रामीण (एसबीएम–जी) अन्तर्गत ढलको पानी व्यवस्थापनसम्बन्धी पूर्वाधारको प्रारम्भिक र दीर्घकालीन कार्यक्षमता सुनिश्चित गर्ने।
समापन मन्तव्यका क्रममा क्याबिनेट सचिव डा. टी.भी. सोमनाथनले भन्नुभयो, “नेतृत्वसम्बन्धी पाठहरू शैक्षिक पाठ्यक्रम र अनुसन्धानमार्फत अध्ययन गर्न सकिन्छ, तर सबैभन्दा मूल्यवान् पाठहरू सफल नेतृत्वकर्ताहरूलाई नजिकबाट नियालेर र उनीहरूसँग काम गरेर प्राप्त हुन्छन्।” माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता नेतृत्वकर्ताहरूसँग काम गर्दाको आफ्नो अनुभव उल्लेख गर्दै उहाँले निजामती कर्मचारीहरूले अपनाउन सक्ने प्रशासनिक नेतृत्वका प्रमुख अभ्यासहरूबारे प्रकाश पार्नुभयो। ‘कर्मयोगी सङ्कल्प’ ले यस कार्यशालाबाट प्राप्त सिकाइलाई कार्यक्षेत्रसम्म पुर्याउने उहाँले बताउनुभयो। डा. सोमनाथनले प्रभावकारी नेतृत्वलाई सफल नेतृत्वकर्ताहरूको अनुभवमार्फत सबैभन्दा राम्रोसँग बुझ्न सकिने उल्लेख गर्दै उनीहरूको प्रशासनिक सीपबाट सिक्नुको महत्त्वमाथि जोड दिनुभयो।
उहाँले उद्देश्यपूर्ण प्रश्न गर्ने, सक्रिय रूपमा कुरा सुन्ने, निर्णायक निर्णय लिने, जवाफदेहिता कायम राख्ने तथा निर्धारित प्रक्रियाको पालना गर्ने माध्यमबाट परिकल्पनालाई मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्नु नै प्रभावकारी प्रशासनिक नेतृत्व भएको बताउनुभयो।
विभिन्न समूहहरूले गरेको विश्लेषणलाई केस लेखकहरूले अध्ययन सामग्रीका रूपमा विकास गर्नेछन्। यी अध्ययन सामग्रीहरू निजामती कर्मचारी तथा प्रशिक्षण संस्थानहरूको प्रयोगका लागि आईजीओटी कर्मयोगी मञ्चमा प्रकाशित गरिनेछन्। प्रत्येक समूहले तयार पारेका कार्ययोजना तथा ‘कर्मयोगी सङ्कल्प’ अन्तर्गत अभिलेख गरिएका प्रतिबद्धताहरूले यस कार्यशालाबाट प्राप्त सिकाइलाई कार्यक्षेत्रसम्म पुर्याउनेछन्। यस शृङ्खलाको अर्को राष्ट्रिय कार्यशाला ‘सेवा प्रवाहका रूपमा शासन’ विषयमा जनवरी २०२७ मा आयोजना गरिनेछ। नीति आयोगका प्रमुख कार्यकारी अधिकृत श्री अनुराग जैनले धन्यवाद ज्ञापन गरेपछि कार्यशाला समापन भयो।




**********
MPS/TWB